सन् १४९४ मा नेदरल्यान्ड्सका लेखक सेबस्टियन ब्रान्टले व्यंग्यात्मक पुस्तक लेखेका थिए, ‘द सिप अफ फुल्स’ । व्यंग्यको पुट सो पुस्तकबाट प्रभावित भएर पिटर ब्रुगेल द एल्डरले ‘नेदरल्यान्डिस प्रोभर्ब्स’ शीर्षकमा यो चित्र बनाएका थिए । तैल चित्र यो कृति ११७ बाई १६३ सेमीको छ । हाल जर्मनीस्थित एक म्युजियममा रहेको यो चित्रको विशेषता भन्नु नै एउटा चित्रभित्र सयौँ सुक्ति, उक्ति, गाउँखाने कथा, नैतिक दृष्टान्त लगायतका कुराहरू अटाउनु हो ।
को हुन् पिटर ?
नेदरल्यान्डको ब्रेडा नजिकैको गाउँमा जन्मिएका पिटर ब्रुगेल द एल्डरले चित्रकारितामा रूचि जागेपछि एन्टर्प शहरमा यसको प्रशिक्षण लिए । उनले छोटो समयमा नै एन्टर्प शहरमा आफ्नो सिक्का जमाए । उनी पछि त पेन्टर्स गिल्ड नामक संस्थाको अध्यक्षसमेत बने ।
उनका गुरू त्यो बेलाका राम्रै कलाकार थिए, पिटर कोकी भान एल्स्ट । उनले आफ्नै गुरूकी छोरीलाई सन् १५५२ मा विवाह गरेका थिए । पछि उनले इटालीको भ्रमणताका खोप्ने कलाको निकै ठूलो व्यापार देखेर त्यसमा भविष्य देखे । खोप्ने कला त्यो बेला नयाँ कला थियो, जहाँ काठ वा कडा धातुमा खोपेर चित्र बनाइथ्यो ।
सन् १५६३ ताका उनी एन्टर्पबाट ब्रसेल्स बसाइँ सरे । त्यहाँका खान्दानी र शाही परिवारका लागि उनले पेन्टिङ तयार पारिदिनेदेखि लिएर अनेकन् कामहरू गरे । उनले आफ्नो सिर्जनशीलतालाई यति माझे कि उनले महत्त्वाकांक्षी चित्रकलाहरू पनि त्यही बेला बनाए ।
यो चित्रमा के हेर्ने ?
१. तपाईंले तल एउटा मान्छेले हातमा छुरी लिएर भित्तामा टाउको ठोकिरहेको देख्नु भएको हुनसक्छ । उखानै छ नि, भित्तामा टाउको हान्नु भनेको मूर्खताको उम्दा नमूना हो । कस्तो मूर्खता भन्ने कुरा त्यस व्यक्तिले लगाएको लुगा, उसको एउटा मात्र जुत्ताजस्ता कुराले प्रस्ट्याएको छ । अर्कोतर्फ दोस्रो मूर्खता टाउको फुटाउनुअघि नै उसले गोडामा चोट पुर्याइसकेको छ भन्ने दृष्टान्त जुत्ता लगाएको गोडामा लगाएको पट्टीबाट थाहा हुन्छ ।
२. अलि बीचतिर गएपछि तपाईंले रातो लुगा लगाएकी स्त्री र उसले उसको पतिलाई ओढाइदिएको नीलो लुगा एउटा चर्चित उखान हो कि लोग्नेलाई एकोहोर्याउने स्त्री खतरनाक हुन्छन् । त्यो बेला नीलो रङको प्रयोग धोकाको प्रतीक मानिनन्थ्यो । त्यही कुरा यहाँ दर्शाउन बूढो लोग्नेको तरूनी र आकर्षक स्त्री देखाएका छन् ।
३. बीचतिर तपाईंले एउटा पृथ्वीको ग्लोब देख्नुहुन्छ । यसलाई कुनै महत्त्वपूर्ण घटनाले पृथ्वी नै थर्थराएको बुझाउने उखानको प्रतिविम्वित हो ।
४. दायाँपट्टि कुनामा तपाईंले एउटा पाउरोटी बनाउने व्यक्ति भक्लक्क सुतेको देख्नु हुन्छ । त्यो चाहिँ हाम्रो नेपालीमा दिनभरि करायो दक्षिणा हरायो भनेजस्तो दिनभरि खटे पनि पेट पाल्न सकिने कमाउन सकिएन भन्ने उखानलाई सम्झाइएको छ ।
५. यस्तै अर्को एउटा दृश्य छ, कुँडोमा राखिएको दूध पोखिँदा थाप्लोमा हात राखेर उठाइरहेको । डन्ट क्राई ओभर स्पिल्ड मिल्क अर्थात् पोखिएको दूधमा विलाप गर्नु हुँदैन भन्ने उखान सम्झाउन उनको यो दृश्य काफी छ ।
६. उता खोलामा माछाले माछा खाइरहेको र एक जना मान्छेले पैसा खोलामा फ्याँकिरहेको देखिन्छ । ठूलो माछोले सानोलाई खान्छ भन्ने उखान सम्झाउन त्यो पर्याप्त छ । त्यस्तै ‘नेकी कर, दरिया में बहा’ भन्ने हाम्रो तराईतिरको भनाइ सम्झाउन त्यहाँ एक जना मान्छेले पैसा खोलामा फ्याँकिरहेको छ ।
७. अर्कोतिर दायाँपट्टि नाउ तयार पारिरहेको व्यक्ति तपाईंले देख्नुहुन्छ । त्यहाँ एउटा उखान छ, जब लाग्छ हावा, तयार पार नाउ । त्यसैलाई इंगित गर्न खोजिएको छ । त्यसैको दायाँतिर घोडीछेउमा काम नपा बुहारी पाडाको कन्नो कन्याऊ शैलीको उखान सम्झाउने गरी घोडाको कन्नो कन्याउने तयारीमा रहेको व्यक्ति देखिन्छ ।
यी त हामीले झट्ट हेर्दा देख्ने वा दिमागमा आउने सुक्ति, उक्ति, लोककथाका टिप्पणीहरू हुन् । यस्ता अनेकन् कुरा यहाँ देख्न सकिन्छ ।
पिटरको स्मरण
उनका अनेकन् पेन्टिङ अझै जीवित छन् । तीमध्ये ‘हार्भेस्टर्स’ नामक एउटा कृतिलाई धेरैले कला मर्मज्ञहरूले उम्दा सिर्जना मान्छन् । खासमा त्यहाँ अगस्तदेखि सेप्टेम्बर महिनासम्म खेती समेट्ने समय हो । त्यो बेला गाउँभरिका मानिस भेला भएर बाली काट्नेदेखि लिएर त्यसलाई उत्सव मनाउने परम्परालाई निकै रोचक तरिकाले देखाएका छन् । उनको अर्को ‘द मन्थ्स’ पेन्टिङ पनि निकै सराहना गरिएको पेन्टिङमध्येमा पर्छ ।
आउनुस्, आज हामी यही चित्रकलालाई गहिरिएर अध्ययन गरौँ । यसका लागि तपाईंले तलको एड्रेसलाई अर्को ट्याबमा कपी गरी पेस्ट गर्नुहोला ।
Pieter_Brueghel_the_Elder_-_The_Dutch_Proverbs_-_Google_Art_Project.jpg (5649×4000) (wikimedia.org)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।