कुनै युगमा
कहिल्यै कसैको दास बनेन जो,
कुनै युगमा
कसैको उपनिवेश बनेन त्यो।

सधैँ स्वाधीन हुनुका
गौरवले बाँच्दै आयो
अरूले एक्काइसौँ शताब्दी भनिरहँदा,
जससँग त्रिपन्न सय वर्ष पुरानो
सभ्यता जीवन्त छ।

सत्ताइस सय वर्ष पहिलादेखि
शान्तिको सन्देश छर्दै आएको
इतिहास छ जसको;
आकाशमा चन्द्र–सूर्य हुँदादेखि
आकाशमा चन्द्र–सूर्य रहँदासम्मको
अस्तित्व–प्रतीक

सार्वभौम नेपालको
सरकार, व्यवस्थापिका,
कार्यपालिका र न्यायपालिका
सबैको साझा प्रतीक
सिंहदरबार
जल्यो कसरी ?

जसरी इतिहासमा
भीम मल्लहरू मारिए
र नेपाल दरबारले विवेक गुमायो

जसरी बलभद्रले
पानी खानै नपाएर
फिरङ्गीकै लागि
अन्यत्र हेलिनुपर्‍यो;

जसरी भीमसेन थापाले
आफैँलाई
स्वघातको सिकार
बनाउनुपर्‍यो;

जसरी सुगौली सन्धि हुँदै गर्दा
नेपाल दरबारले
गुमनाम रहनुपर्‍यो;

जसरी पहिला विदेशी युद्धमा
यहाँका सपुतले
भाडै नपाई
भाडाका टट्टुका नाउँमा
ज्यान गुमाउनुपर्‍यो;

जसरी गोर्खाका नाउँमा
आज पनि “नेपाली हुँ” भन्नेहरू
फिरङ्गी
र फिरङ्गीका दासहरूलाई
सलाम ठोक्छन्;

जसरी मदन भण्डारीहरू
मारिए
र मारिइरहन्छन्;

जसरी पृथ्वीनारायणका सन्ततिहरू
दरबारभित्रै
वंशनाशका सिकार हुन्छन्;

जसरी उनैका वंशीय पनि
क्रूर शासक बन्न
उनीहरूबाटै
कुतकुत्याइन्छन्;

जसरी
चन्द्र–सूर्यअङ्कित झण्डा ओढेर
त्यही चन्द्र–सूर्यअङ्कित झण्डामा रहेको
राष्ट्रको अस्तित्व
जल्लादहरूले जलाउँछन्,

र त्यसैलाई
जनआन्दोलनको
प्रतिष्ठा दिइन्छ !