राजनीतिक भट्टीमा सेकिँदा मानव मुटु
शासकहरू कानुनका कोलमा पेल्न चाहन्छन् मानव मुटु
र मरेको किरो कमिलाले तानेझैँ
घिसार्न चाहन्छन् त्यसको पिनालाई
विधाताका झड्केला सन्तति
अपराध कोरल्छन् विधानका तानाबाना बुनेर
र निचोर्छन् मुटु र भन्ने गर्छन्
हामी अपराधका भट्टीबाट सुन पगाल्दै छौँ

लाग्न थालेको छ
ढुङ्गाको मुटु भइदिएको भए
योगदान हुन्थ्यो देशलाई
गिटी भएर कतै
वा कतै पर्खालमा सुशोभित
सिमेन्टीकै माला लाएर
गोलो र घुरिलो भइदिएको भए
लोहोरो बनाएर चलाउँथे होला अचार पिँध्न
वा, कसैले मूर्ति बनाएर सजाउँथ्यो
वा, बनाउँथ्यो कसैले बिहेमा पुज्ने शिला
तर मुटु भएन ढुङ्गाजस्तो
न भयो फूलको थुँगोजस्तो हल्का
किन उद्विकास गरेको यस्तो देशविकास गर्न नसक्ने मुटु प्रिय प्रकृति?
अनि किन रोप्छन् राजनीति गर्नेहरू जनजनका मुटुमा भाला?
कहिले करका नाउँमा, कहिले दण्डका नाउँमा र कहिले भोटका नाउँमा?