
धर्म
के हाम्रा समस्त कर्म
अनि हाम्रा समस्त धारणाहरू नै
धर्म होइनन् र ?
त्यो कुन तत्त्व हो ?
जुन न त कर्म हो
न धारणा,
बरु एक कौतूहल
अनि एक विस्मय हो,
जुन तिम्रो आत्मामा
निरन्तर स्पन्दित भइरहन्छ –
ती क्षणहरूमा पनि
जब तिम्रा हातहरूले
ढुंगा फोर्दै हुन्छन्
या त चर्खा घुमाउँदै हुन्छन्
त्यस्तो को होला ?
जसले आफ्नो आस्थालाई
आफ्ना कर्महरूबाट
अनि आफ्ना विश्वासहरूलाई
आफ्ना व्यवसायबाट
पृथक् गर्न सक्दो हो
त्यस्तो को होला ?
जसले जीवनका प्रत्येक पललाई
आफ्ना सामू फिंजाएर
भन्न सक्दो हो‑
यति ईश्वरको भाग हो
अनि यति मेरो,
यति मेरो आत्माको भाग हो
अनि यतिचाहिं
मेरो शरीरको
तिम्रा जीवनका पलहरू
आकाशमा उडिरहेका पखेरुका पखेटा झैं
आफूदेखि आफैंसम्मको यात्रा गर्दछन्
जसले सदाचरणलाई
आफ्नो सबैभन्दा राम्रो पहिरनलाई झैं
केवल धारण गर्दछ भने
बरु ऊ नाङ्गै बसोस्
यही असल हुनेछ,
त्यसबेला हावा र घामले
उसको छालालाई छेडेर
प्वाल पार्न सक्ने छैनन्
जुन व्यक्ति
आफ्ना आचरणलाई
नैतिकताद्वारा परिभाषित गर्ने गर्दछ
उसले एकान्त वनमा
स्वच्छन्द गाउन रमाउने पक्षीलाई
पिंजरामा थुनिदिनेछ,
उन्मुक्त गान
डण्डी र जालीहरूका पछाडिबाट गुन्गुनाइँदैन
जसका लागि
पूजा एउटा आँखीझ्याल हो
जुन खुल्न पनि सक्छ
र बन्द हुन पनि
त्यो व्यक्ति अहिलेसम्म
आफ्नो आत्माको भवनमा पसेकै छैन
जसका झ्याल–ढोकाहरू
यो सूर्योदयदेखि त्यो सूर्योदयसम्म
सधैं खुलिरहेकै हुन्छन्
तिम्रो दैनिक जीवन
तिम्रो मन्दिर अनि तिम्रो धर्म हो
जब तिमी यसमा पस्छौ
आफ्नो सर्वस्व लिएर पस
आफ्नो हलो
खलाँती अनि
हथौडा र बाँसुरी
सबैथोक लिएर जाऊ
ती सारा वस्तुहरू लिएर जाऊ ‑
जसलाई तिमीले
आफ्नो आवश्यकता
अथवा
आफ्नो प्रसन्नताका लागि बनाएका हौ,
किनभने आफ्नो ध्यानावस्थामा
तिमी न त आफ्नो सफलताबाट
धेरै माथि उठ्न सक्छौ
न त आफ्ना असफलताबाट
धेरै तल खस्न सक्छौ
आफूसँग सारा जन‑समाजलाई लैजाऊ
किनभने
आराधनाको अवस्थामा
तिमी आफूलाई
न त उनीहरूको आशाभन्दा अधिक
माथि उठाउन सक्दछौ
न त उनीहरूको निराशाभन्दा अधिक
तल खसाउन सक्छौ
यदि तिमी ईश्वरलाई
चिन्न चाहन्छौ भने
उखान हाल्ने व्यवसायमा नलाग
त्यसो गर्नुभन्दा बरु
आफ्नै छेउछाउतिर नजर लगाऊ
अनि तिमीले देख्नेछौ‑
ऊ त
तिम्रा केटाकेटीहरूसँग
खेलिरहेको पो रहेछ
आकाशतिर हेर
तिमीले देख्नेछौ‑
ऊ त बादलहरूमा पो
चल‑फिर गर्दैछ
बिजुलीहरूमा
आफ्ना भुजाहरू फैलाउँदैछ
अनि वर्षामा
धरतीतिर उत्रिंदैछ
तिमी एक पल
उसलाई
फूलहरूमा मुस्कुराउँदै गरेको देख्नेछौ
अनि अर्को पल
माथि उठेर
रुखहरूमा हात हल्लाउँदै ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

