
समस्त राजकुमारहरूको शिक्षा सम्पन्न भइसकेपछि, रंगशालामा शस्त्रास्त्र–विद्याको कला–कौशल प्रदर्शन–समारोह सम्पन्न भएको पनि एक वर्षपछि महाराज धृतराष्ट्रले धृति, स्थिरता, दयालुता, सरलता एवम् अविचल सौहार्द आदि सद्गुणहरूले समन्वित बुझेर, समस्त प्रजा–पालनका समग्र योग्यताले सम्पन्न भएका हुँदा ज्येष्ठ पाण्डव युधिष्ठिरलाई युवराज–पदमा अभिषिक्त गरिदिए ।
केही दिनमा नै युवराज युधिष्ठिरले आफ्नो उत्तम शीलस्वभाव, सदाचार, सद्व्यवहार एवम् मनोयोगपूर्वक प्रजापालन प्रतिको तत्परता आदि गुणहरूले आफ्नै पिता महाराज पाण्डुको कीर्तिलाई पनि ढाकिदिए । उता मध्यमपाण्डव भीमसेनले गदाग्रज बलरामजीसँग प्रतिदिन खड्गयुद्ध, गदायुद्ध र रथयुद्धको तालीम प्राप्त गरेर आफ्नो बल र पराक्रमद्वारा प्रशस्त कीर्ति कमाए । यता वीराग्रणी अर्जुनले क्षुर, नाराच, भल्ल, विपाठ आदि ऋजु, वक्र र विशाल अस्त्र–सञ्चालनको कौशल हासिल गरेर सर्वातिशायी धनुर्धरका रूपमा ख्याति कमाइसकेका थिए । कनिष्ठ पाण्डवद्वय नकुल र सहदेव शस्त्रास्त्र शिक्षा प्राप्त गरेर विचित्रयुद्धमा प्रवीण अतिरथी बनिसकेका थिए ।
यसरी पाण्डुपुत्रहरूको पराक्रम र ख्याति दिनानुदिन उत्तरोत्तर वृद्धि हुन लागेको देखेर महाराज धृतराष्ट्र मनमनै व्याकुल हुन लागे, चिन्ता–सन्तान–वितानको चक्रमा जेलिन लागे । अनि उनले एक दिन राजनीति र अर्थशास्त्रका पण्डित मन्त्रीप्रवर कणिकलाई बोलाएर एकान्तमा भने :
हे द्विजश्रेष्ठ, पाण्डवको दिनानुदिन समृद्ध हुँदै गएको समुन्नति र ख्यातिले मलाई पोलिरहेछ । यस अवस्थामा हे मन्त्रीप्रवर कणिक! मलाई के सल्लाह दिनुहोस् भने– मैले यिनीहरूसँग सन्धि गर्नु ठीक हो कि विग्रह ?
अनि ती कणिकले आफूलाई महाराजले यत्रो भरोसा र सम्मान गरेर सल्लाह माग्न लागेको बुझेर प्रसन्न हुँदै आफ्नो स्वभावानुसार राजनीति–सम्मत शत्रुविद्वेषी धारिला वचनहरू यसरी प्रस्तुत गर्न लागे :
हे महाराज, म आफूले बुझेका यी राजनीतिका सूत्रहरू हजुरका सामू विन्ती बिसाउँदैछु । मेरा कुराहरू तीता–पीरा भए भने पनि मप्रति दोषदृष्टि नराख्नुहोला ।
राजाले सधैं दण्ड दिनका लागि उद्यत हुनुपर्दछ –
नित्यमुद्यतदण्डः स्यान्नित्यं विवृतपौरुषः ।
अच्छिद्रस्छिद्रदर्शी स्यात् परेषां विवरानुगः ।। मभा, आप, १३९अ, ७ श्लो ।
राजाले सदा दण्डतत्पर रहनुपर्दछ, सदा पुरुषार्थ प्रकट गर्न तत्पर रहनुपर्दछ । आफ्नो दुर्बलता लुकाएर अर्काका दुर्बलतामाथि सदा दृष्टि राख्नुपर्दछ, शत्रुको कमजोरी देख्यो कि प्रहार गरिहाल्नुपर्दछ । सदा उद्यतदण्ड देखेर सारा प्रजाजन राजादेखि भयभीत रहन्छन् अनि जे भन्यो तेही मान्दछन् तेसैले सबै कार्य दण्डद्वारा नै सिद्ध गर्नुपर्दछ ।
जसरी कछुवाले आफ्ना अङ्ग खुम्च्याएर लुकाएर आत्मरक्षा गर्दछ ठीक तेसै गरी आफ्ना सबै अङ्ग : स्वामी, अमात्य, राष्ट्र, दुर्ग, कोष, बल र सुहृद् यिनीहरूको रक्षा गरेर आफ्ना दुर्बलताहरूलाई राजाले लुकाइराखोस्, आफूले शुरु गरेको शत्रु–उच्छेद–कृत्य पूरा नगरी नछोडोस् किनभने शरीरमा गडेको काँढो यदि आधा भाँच्चिएर गडिरह्यो भने पाकेर धेरै दिनसम्म दुःख दिइरहन्छ । शत्रुहरूको वध गर्नु नै सर्वोत्तम मानिन्छ । शत्रु कुनै विपदामा परेको छ भने ठीक तेसै बेला उसमाथि निर्दयतापूर्वक प्रहार गरोस् । जसरी थोरै आगाले पनि इन्धनको सहारा पाउनासाथ बिताइदिन सक्दछ तेसै गरी कमजोर भन्दा कमजोर शत्रुले पनि अलिकति कुनै साहारा पाउनासाथ खत्तम पार्नसक्दछ ।
आवश्यकता–अनुसार राजा कहिले अन्धो कहिले बहिरो पनि बनोस् । आफ्नो जोर नचल्ने रहेछ भने चूप लागेर बसोस्, धिक्कार निन्दा आदि सुने पनि नसुने जस्तो गरी बसोस्, आफ्नो धनुषलाई सिन्काजस्तो बनाओस् र शत्रुका दृष्टिमा दीन–हीन एवम् असमर्थ भएको अभिनय गरोस्, शिकारी सुते झैं थाहा नपाएजसरी रहोस् । जब शिकार विश्वस्त भएर वरिपरि निर्भीक भएर घुमफिर गर्न थाल्दछ अनि आफनो पञ्जामा फँस्ने पक्का भएपछि उठेर मर्मान्तक प्रहार गरोस् । अनेक कपटपूर्ण उपाय गरेर पनि शत्रुलाई विश्वस्त बनाएर अन्तमा वध गरोस् ।
अग्न्याधानेन यज्ञेन काषायेण जटाजिनैः ।
लोकान् विश्वासयित्वैव ततो लुम्पेत् वृको यथा ।। १९
अग्निहोत्र र यज्ञ गरेर, गेरुवा वस्त्र जटा र मृगचर्म धारण गरेर भए पनि पहिले लोकविश्वास आर्जन गरोस्, पछि अवसर आउनासाथ ब्वाँसाले जसरी शत्रुहरूमाथि जाइलागोस् र वध गरेरै छोडोस् । शौच, सदाचार आदिको पालनलाई अंकुशका रूपमा अर्थात् लोक–मानसबाट विश्वास तान्ने उपकरणका रूपमा प्रयोग गरोस् । जबसम्म समय बदलिएर आफ्नो अनुकूल हुँदैन तबसम्म शत्रुलाई आफ्ना काँधैमा बोक्नुपरे पनि बोकोस् तर जब अनुकूल समय आउँदछ अनि माटाको घडालाई जमीनमा बजारे जसरी बजारेर खतम पारोस् । शत्रुले जतिसुकै दीन वचन बोले तापनि जीवित नछोडोस् । दया नगरोस् । उसलाई मारी नै हालोस् ।
साम, दान, भेद अथवा दण्ड नीति प्रयोग गरेर भए पनि आफ्नो स्वार्थ सिद्ध गरोस्, शत्रुलाई ध्वस्त बनाएरै छाडोस् । हे राजन्, म यस सन्दर्भमा नीतिशास्त्रको मर्मज्ञ एउटा स्यालको कथा सुनाउँछु, ध्यानपूर्वक सुन्नुहोस् :
एउटा वनमा बडो बुद्धिमान् र स्वार्थ–साधनमा कुशल स्याल बस्दथ्यो । उसका चार मित्र थिए : बाघ, मूसो, ब्वाँसो र न्याउरीमूसो । एक दिन ती सबैले वनमा एउटा हृष्ट–पुष्ट हरिणलाई देखे । सबैको मुख रसायो – त्यो स्वादिलो शिकार देखेर । ती सबैले धेरै प्रयास गरे तर त्यसलाई पक्डिन सकेनन् । अन्तमा तिनले यस्तो सल्लाह गरे – स्यालले भन्यो : हेर साथी हो, हामीले धेरै प्रयास त गर्यौं तर त्यस मृगलाई शिकार गर्न सकेनौं । अब के उपाय गरौं भने, जब त्यो मृग सुतिरहेको हुन्छ तेसबेला मूसाले गएर खुसुक्क त्यसका दुवै खुर कुटुकुटु काटेर खाइदेओस् । अनि त्यो वेगले दौडन सक्नेछैन । तेसै बेला बाघले त्यसमाथि आक्रमण गरोस् । अनि त हामी सबै मिलेर भव्य भोज गरिहालुँला नि । हैन त ? त्यसो गरे कसो होला ?
स्यालको कुरा सबैलाई मन पर्यो । तदनुसार मूसाले हरिणका खुट्टा काटेर कमजोर बनाइदियो । लडखडाउँदै कुदेको हरिणलाई बाघले सजिलै झम्टिहाल्यो र उसको इहलीला समाप्त गरिदियो । हरिणको शरीर निश्चेष्ट भएर लडिरहेको देखेर प्रसन्न हुँदै स्यालले भन्यो : साथीहरूको जय होस् । अब तपाईंहरू चाँडै नदीमा गएर स्नान–ध्यान गरेर स्वच्छ भएर आउनुहोस् अनि भोज शुरु गरौंला । तेतिन्जेल म यहाँ भोजनको रक्षा गरेर बस्छु ।
हतार–हतार नुवाइ–धुवाइसकेर बाघ आइपुग्यो र के देख्यो भने स्याल चिन्ताले ग्रस्त भएर मलीन मुख लाएर बसेको छ । बाघले के भयो भनेर सोद्धा स्यालले भन्यो : तपाईं नुहाउन गएपछि मूसो यहाँ आएको थियो, उसले के भन्यो भने– यो हरिण त मैले पो मारेको हो त, मेरो बाहुबलको आश्रय लिएर त्यो बाघले आज भोक मार्ने भयो । तपाईंप्रतिको यो अपमानजनक कुरा सुनेर मलाई सारै नै ग्लानि भयो । बाघले भन्यो : ओहो, उसले त मेरो आँखै खोलिदियो । हो त नि, तेस्ता नाथे मूसाको बाहुबलको सहाराले मजस्ता बाघले शिकार गर्नु पनि धिक्कार नै हो । अब म जान्छु र आफ्नै पौरखले भोजन गर्छु । – यति भनेर बाघ त्यहाँबाट बिदा भयो ।
त्यसपछि स्नान सकेर मूसो आइपुग्यो । स्यालले भन्यो : मूसा भाइ, तिम्रो कल्याण होस् । तर न्याउरीमूसा दाइले यहाँ आएर के भने, पहिले त्यो सुन : बाघले दाँत गाडेको हुँदा यो शिकार विषाक्त भइसकेको छ, म त यस्तो विषालु कुरा खान्नँ । यो कुरा सुनेर – अबुइ! धन्न मुख गाडिनछु – भन्दै डराएर मूसो पनि दुलोभित्र पस्यो ।
त्यसपछि आइपुग्यो ब्वाँसो । स्यालले भन्यो : ए ब्वाँसा भाइ, आज तिमीसँग बाघ बूढो सारै रिसाएको छ । आज तिम्रो खैरियत छैन । अहिले बघिनीलाई लिएर यतै आउन लाग्दैछ । यति कुरा सुनेर ज्यान बचाउन भनेर ब्वाँसोले पनि कुलेलम ठोकेछ । अन्तमा आइपुग्यो न्याउरीमुसो । स्यालले भन्यो : ए न्याउरे, मैले आफ्ना बाहुबलले सबैलाई ठेगान लाइदिएँ । आइज, सक्छस् भने तँ पनि । न्याउरीमुसोले भन्यो : जब बाघ, ब्वाँसो र बुद्धिमान् मुसाको त केही लागेन भने, हे वीरशिरोमणि! तिम्रा अगि मेरो के लाग्छ र ? भैगो यो शिकार तिमी नै खाऊ, म तिमीसँग लड्न सक्दिनँ – भनेर हार मानेर चूपचाप वन पस्यो ।
यसरी अन्त्यमा त्यो धूर्त–शिरोमणि स्यालले एक्लै त्यो भव्य शिकार हजम गर्यो ।
यो कथा सुनाएर अन्तमा कणिकले भने : हे महाराज, हो यस्तै आचरण गर्ने राजाले नै सदा सुख र समुन्नति प्राप्त गर्दछ । डरपोकेलाई डर देखाएर, शूरवीरलाई हात जोडेर आफनो वशमा पार्नुपर्दछ, लोभीलाई धन दिएर, आफूबराबर र आफूभन्दा कमजोरलाई पराक्रमले वशमा ल्याउनुपर्दछ ।
भयेन भेदयेत् भीरुं शूरमञ्जलिकर्मणा ।
लुब्धमर्थप्रदानेन समं न्यूनं तथौजसा ।।
कसम खाएर, धन दिएर, विष खुवाएर अथवा धोका दिएर भए पनि शत्रुलाई वध गर्नुपर्दछ । यदि धेरै घमण्ड गर्दछ भने गुरु नै भए पनि पनि दण्ड दिनु नै उचित हुन्छ । आफ्नो काम निकाल्नका लागि शत्रुका समक्ष रीस उठेकै भए पनि हाँसेर कुरा गरोस्, शत्रुमाथि प्रहार गर्नुभन्दा पहिले, प्रहार गरिरहँदा पनि मीठो बोलोस्, वध गरिसकेपछि दया देखाओस्, शोक गरोस्, रोओस् र आँशू बहाओस् :
प्रहरिष्यन् प्रियं ब्रूयात्, प्रहरन्नपि भारत ।
प्रहृत्य च कृपायीत शोचेत च रुदेत च ।। ५६
शत्रुलाई सम्झाइ–बुझाइ गरीकन, धर्मको हवाला दिएर, धन दिएर, सद्व्यवहार गरेर अनि आश्वासन दिएर पनि उसका मनमा विश्वास पैदा गरोस्, अनि मौका आउनासाथ उसमाथि प्रहार गरिहालोस् । जो विश्वासपात्र छैन उसमाथि त विश्वास गर्ने कुरै भएन तर जो विश्वासिलो छ तेसमाथि पनि अतिविश्वास नगरोस्, अतिविश्वासले नै राजालाई समूल उच्छेद गर्छ ।
अञ्जलिः शपथः सान्त्वं शिरसा पादवन्दनम् ।
आशाकरणमित्येवं कर्तव्यं भूतिमिच्छता ।।
अवसर–अनुसार हात जोड्नु, कसम खानु, आश्वासन दिनु, गोडामा ढोग्नु, आशाको पाशमा बाँध्नु, यी सबै काम ऐश्वर्य–प्राप्तिको इच्छा गर्ने राजाको कर्तव्य हो । नीतिज्ञ राजा यस्तो वृक्ष जस्तो बनेर रहोस् जसमा फूल त खूबै फुलून् तर फल नलागोस्, अर्थात् गफ र आश्वासन त प्रशस्त दिओस् तर त्यसको पूर्ति चाहिँ उसले कहिल्यै नगरोस् । फल लागिहाले पनि रुखमा चढ्न अत्यन्त कठिन होस् अर्थात् कसैलाई स्वार्थसिद्ध गर्न बाधा पुर्याओस् । फल फलेपनि त्यो काँचो होस् तर पाकेको जस्तो देखियोस् अर्थात् अरुलाई स्वार्थसाधन गर्न कहिल्यै पनि नदिओस् ।
क्षुरो भूत्वा हरेत् प्राणान् निशितः कालसाधनः ।
प्रतिच्छन्नो लोमहारी द्विषतां परिकर्तनः ।। ८९
फलामले बनेको छुरा शान लगाएर धारिलो बनाइन्छ अनि छालाको दापमा लुकाएर राखिन्छ । समय आएपछि त्यसले काम तमाम गर्न सक्छ । त्यसै गरी राजाले पनि आफ्नो मनोभाव लुकाएर राखोस् र अनुकूल साधनहरूको संग्रह गरिरहोस् । अनि मौका मिल्नासाथ छुराले झैं निर्दयतापूर्वक शत्रुको काम तमाम गरिदेओस् ।
अन्तमा कणिकले भने : हे राजन्, हजुरले पनि यही नीतिको अनुसरण गरेर पाण्डव र अरु मानिसहरूसँग पनि यथोचित व्यवहार गर्दै रहनुहोस् । यसरी काम गर्नुहोस् जसले स्वयं संकटको समुद्रमा नडुबियोस् । हजुर समस्त कल्याणकारी साधनहरूले सम्पन्न सर्वश्रेष्ठ महाराजा हुनुहुन्छ । हे नरेश्वर, तपाईंका भतिजा पाण्डुपुत्रहरू अत्यन्त बलवान् छन् । तपाईं तिनीहरूबाट आफूलाई बचाउनुहोस्, यसका लागि यस्तो नीति कार्यान्वयन गर्नुहोस् जसले गर्दा पछि पछुताउन नपरोस् ।
यति भनिसकेर कणिक त आफ्ना घर गैहाले । यता राजा धृतराष्ट्र भने शोकार्त हुँदै गए अनि उनका मनमा पाण्डुपुत्रहरूलाई यस्तै उपायले ठेगान लगाउन पाए पनि हुन्थ्यो भन्ने विचार प्रगाढ हुँदै गयो ।
…..
मभा, आप, १३९ अध्यायबाट ।
२०८१ माघ १८ गते शुक्रवार । ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

