१. भीष्म पितामह

सत्यसन्ध शान्तनुनन्दन भीष्म आठौँ वसुको अंशबाट गंगाजीका गर्भमा उत्पन्न भए । ती महापराक्रमी र परमतेजस्वी थिए । जो महाभारतमा भीष्म पितामहका नामले प्रख्यात भए । यिनलाई इच्छामरणको वरदान प्राप्त थियो । आजीवन ब्रह्मचर्यमा रहने भीष्मप्रतिज्ञा गर्नाले नै यिनी भीष्मका नामले चिनिए ।

२.  विदुर

परापूर्वकालमा समस्त वेदार्थविद् महान् यशस्वी, ब्रह्मर्षि अणीमाण्डव्य थिए । उनले कुनै चोरी नगरेको भए तापनि चोरीको अभियोगमा उनलाई शूलीमा चढाइयो । परलोक पुगेपछि सबैभन्दा पहिले धर्मलाई बोलाएर उनले भने :

धर्मराज, कुनैबेला बाल्यकालमा मैले एउटा सिन्काले एउटा चराको बच्चालाई छेडेको थिएँ । त्यही एउटा कुरा मलाई याद आउँछ, अरु कुनै पाप पनि मैले गरेको थिइँन । मैले अगणित सहस्रगुना तपस्या गरेको छु , त्यसले त्यो एउटा सानो पापलाई किन नष्ट गरेन ? किन मेरो दारुण वध गरियो ? ब्राह्मणको वध गर्नु भनेको त सबै वधहरु भन्दा पनि भारी पाप हो ।

अनि, अणीमाण्डव्यले धर्मराजलाई यसरी शाप दिए :

हे धर्म, तिमीले मलाई यसरी शूलीमा चढाएर त्यही पाप गरेका छौ । त्यसैले तिमी पृथ्वीमा गएर शूद्रको योनिमा जन्मनुपर्नेछ ।

त्यसै शापका प्रभावले स्वयं धर्मले शूद्रयोनिमा जन्म लिए , तिनको नाम रह्यो : विदुर । यिनी परमज्ञानी  एवं महान् धर्मज्ञ थिए ।

३. सञ्जय

त्यसै बेला गवल्गणबाट सञ्जय नाम गरेका सूतको पनि जन्म भयो । जसले वरदानमा प्राप्त दिव्य चक्षुद्वारा दरबारमै बसी बसीकन महाभारत युद्धको प्रत्यक्ष वर्णन गरेर चक्षुहीन धृतराष्ट्रलाई सुनाएका थिए ।

४. कर्ण

राजा कुन्तीभोजकी कन्या कुन्तीका गर्भबाट सूर्यको अंशले महाबली कर्णको उत्पत्ति भयो । ती बालक जन्मँदै तेजोमय कर्ण र कुण्डलले सुशोभित थिए । तिनलाई जन्मनासाथ कुमारी आमा कुन्तीले लोकलज्जाका भयले जलप्रवाहमा बगाइदिएकी थिइन् । त्यसै अवस्थामा रथकर्मी सूतले फेला पारेर घरमा लगी पालपोस गरेर हुर्काएको हुँदा, असली आमाबाबुका बारेमा कसैलाई यथार्थ थाहा नभएकाले, उनलाई तिनै सूतका छोरा मानेर सूतपुत्र कर्ण भन्ने गरिन्थ्यो । यिनी महापराक्रमी भए तापनि अधर्मको पक्षमा लागेकाले पराजित बन्न पुगेका थिए ।

५. श्रीकृष्ण र बलराम

त्यसैताका भगवान् विष्णु समग्र जगत्को कल्याणार्थ वसुदेवजी द्वारा देवकीका गर्भबाट प्रकट हुनुभयो । उहाँ परमपुरुष परमात्मा हुनुहुन्छ । उहाँले नै धर्मको संरक्षण र पापको विनाशका निम्ति अन्धक र वृष्णिकुलमा बलराम र श्रीकृष्णका रूपमा अवतार लिनुभयो । यसरी जन्मिएका ती दुवै भाइ सकल शस्त्रास्त्रका ज्ञाता, महापराक्रमी एवं समस्त शास्त्रका ज्ञानमा पनि प्रवीण थिए । महाभारत युद्धमा श्रीकृष्णले धर्मसंरक्षणार्थ गाण्डीवी अर्जुनको सारथि बनेर पाण्डव पक्षलाई विजयी बनाउनुभएको थियो ।

६. सात्यकि र कृतवर्मा

सत्यकबाट सात्यकि र हृदिकबाट कृतवर्माको जन्म भयो । ती दुवै अस्त्रविद्यामा निपुण थिए । उनीहरु भगवान् श्रीकृष्णका अनुगामी थिए ।

७. द्रोण

एकपल्ट उग्रतपस्वी महर्षि भारद्वाजको द्रोणी पर्वतका गुफामा वीर्य स्खलित भयो । त्यो विस्तारै विस्तारै स्वयं पुष्ट हुँदै गयो । त्यसैबाट कालान्तरमा द्रोण जन्मिए । ती अतुल बलवीर्यशाली पराक्रमी भए । उनलाई गुरु द्रोणाचार्यका नामले सारा संसारले चिन्न लाग्यो । यिनी धनुर्विद्याका परमाचार्य थिए ।

८. कृप र कृपी

कुनै बेला गौतमगोत्रीय शरद्वान्को नरकट घारीमा वीर्य स्खलित भयो । नरकटको धारिलो पातमा परेर त्यो दुई भागमा बाँडियो । ती दुई भागबाट कालान्तरमा एक बालक र एक बालिका जन्मिए । तिनको नाम रह्यो कृप र कृपी । कृपीको द्रोणाचार्यसँग बिहा भयो । कृप महाबली गुरु कृपाचार्यका नामले प्रसिद्ध भए । यिनी परम पराक्रमी एवं धनुर्विद्यामा निपुण थिए ।

९. अश्वत्थामा

द्रोणाचार्य र कृपीको सन्तानका रूपमा अश्वत्थामाको जन्म भयो । यिनी अत्यन्त पराक्रमी भए तापनि प्रतिशोधको भीषण ज्वालावलीले दग्ध बनेकाले यिनले अन्तमा अभिशप्त जीवन भोग्नुपर्यो ।

१०. धृष्टद्युम्न

यज्ञकर्मको अनुष्ठानका समयमा प्रज्वलित अग्निबाट धृष्टद्युम्न उत्पन्न भए । जो साक्षात् अग्निदेव झैं तेजस्वी थिए । ती वीर पराक्रमी पुरुष द्रोणाचार्यको विनाशका लागि धनुष लिएर प्रकट भएका थिए ।

११. द्रौपदी 

त्यसै यज्ञको वेदीबाट तेजस्विनी द्रौपदी पनि उत्पन्न भइन् । त्यसैले तिनको नाम याज्ञसेनी भयो । उनी श्यामवर्णकी भएकीले उनलाई कृष्णा पनि भनिन्छ ।  ती अत्यन्त सुन्दरी थिइन् । महाभारतकी नायिका तिनी पञ्चपाण्डवकी पत्नी बनिन् । यिनीलाई दुर्योधन र दुःशासनले अत्यन्त अभद्र व्यवहार गरेर अपमानित गरेपछि यिनी प्रतिशोधको भीषण ज्वालाले दग्ध बनिन् । यिनै विद्रोहिणी नारीका प्रेरणाले महाभारतको भयानक युद्ध घटित भयो ।

१२. शकुनि र गान्धारी

प्रह्रादका शिष्य नग्नजित् राजा सुबलका रूपमा प्रकट भए । देवताहरुको कोपले गर्दा उनको सन्तान शकुनि धर्मको विनाशक बनेर जन्मियो । गान्धारनरेश सुबलको छोरो शकुनि सौबल नामले र छोरी गान्धारीका नामले चिनिए । यी दुवै भाइ बहिनी अर्थशास्त्रको ज्ञानमा निपुण थिए । शकुनिको कपटपूर्ण जुआको जञ्जालमा फसेर पञ्चपाण्डवको दुर्गति भएको थियो ।

१३. धृतराष्ट्र पाण्डु र विदुर

राजा विचित्रवीर्यकी पत्नी क्षेत्रभूता अम्बिका र अम्बालिकाका गर्भबाट स्वयं व्यासमुनिद्वारा क्रमशः राजा धृतराष्ट्र र महाबली पाण्डुको जन्म भयो । धृतराष्ट्र जन्मान्ध थिए । पाण्डु अभिशप्त थिए, असमयमै उनको मृत्यु भएको थियो । व्यासद्वारा नै शूद्र जातिकी स्त्रीका गर्भबाट विदुरजीको जन्म भयो । ती धर्म र अर्थशास्त्रका विद्वान्, बुद्धिमान् र मेधावी पुरुष थिए ।

१४. पञ्च पाण्डव

पाण्डुका पत्नीद्वय कुन्ती र माद्रीका गर्भबाट पाँच पुत्र जन्मिए । ती थिए पञ्चपाण्डव । ती सबै उत्तम गुणले परिपूर्ण थिए । तीमध्ये धर्मराजबाट युधिष्ठिर, वायुदेवबाट भीमसेन, इन्द्रदेवबाट अर्जुन र अश्विनीकुमारद्वयबाट नकुल र सहदेवले जन्म लिए । यीमध्ये पहिला तीन कुन्तीका र पछिल्ला दुई माद्रीका सन्तान थिए । यी सबै अत्यन्त पराक्रमी योद्धा थिए । महाभारतका नायक यिनै पञ्चपाण्डव हुन् ।

१५. युयुत्सु

राजा धृतराष्ट्रबाट सयजना सन्तान जन्मिए । यी सबै बाहेक युयुत्सु पनि उनकै पुत्र थिए । वैश्यस्त्रीबाट जन्मिएकाले यिनी करण का नामले चिनिए । यिनी अत्यन्त कुशल योद्धा थिए ।

१६. धृतराष्ट्रका पुत्रहरु

धृतराष्ट्रका सय पुत्रहरुमध्ये जेठो दुर्योधन, अनि दुःशासन, दुर्मर्षण, विकर्ण, चित्रसेन, विविंशति, जय, सत्यव्रत, पुरुमित्र, र वेश्यापुत्र युयुत्सु यी एघार जना व्यक्तिहरु महारथी थिए ।

१७. अभिमन्यु

अर्जुन र सुभद्राको गर्भबाट अभिमन्युको जन्म भयो । उनी पाण्डुका नाती र श्रीकृष्णका भान्जा थिए । ती अत्यन्त वीर पराक्रमी थिए । महाभारत युद्धमा एक भीषण चक्रव्यूहमा फँसेर उनको असमयमै मृत्यु भयो ।

 १८. पञ्चपाण्डव–पुत्रहरु

द्रौपदीका गर्भबाट पञ्चपाण्डवका पाँचै भाइ सन्तान जन्मिए । युधिष्ठिरका प्रतिविन्ध्य, भीमसेनका सुतसोम, अर्जुनका श्रुतकीर्ति, नकुलका शतानीक, सहदेवका श्रुतसेन नामक छोरा भए । भीमसेनद्वारा हिडिम्बाको गर्भबाट पनि एक अत्यन्त बलशाली पुत्र जन्मियो : घटोत्कच ।

१९. शिखण्डी

राजा द्रुपदबाट शिखण्डी नामक कन्या जन्मिई । पछि गएर त्यो केटो भई । स्थूणकर्ण नामक यक्षले उसलाई केटो बनाइदिएको थियो । भीष्म पितामहका विरुद्ध यिनलाई युद्धमा प्रयोग गरियो ।

२०. अन्य

कौरवको महासमरमा युद्ध गर्न भनेर लाखौं लाख राजाहरु योद्धा बनेर आएका थिए । ती सबैको नाम भनेर सकिंदैन । माथि जुन मुख्य मुख्य पात्रहरुको नाम भनियो तिनैका अद्भुत चरित्रबाट यो महाभारत कथाको विस्तार भएको छ ।

महाभारत आदिपर्वको ६४ औँ अध्यायबाट ।