अध्यायः १०
एउटा वकीलले सोध्यो : कानुनको सम्बन्धमा बताउनुहोस् ।
अलमुस्तफाले भन्यो :
तिमी कानुन बनाउँदा प्रसन्न हुन्छौ ।
तिनलाई खारेज गर्दा अझ आनन्द मान्छौ ।
जसरी समुद्र किनारमा क्रीडारत बालकहरू एकचित्त भएर बालुवाको धरहरा ठड्याउँछन् र खिस्खिताएर हाँस्दै ढलाउँछन् ।
तर जब तिमी बालुवाको धरहरा बनाउँछौ त्यतिबेलासम्म समुद्रले धेरै बालुवा किनारमा ल्याउँछ, जब तिमी धरहरा भत्काउँछौ, समुद्र तिमीसँग हाँस्छ ।
निर्दोषहरूको हाँसोमा समुद्रले सधैँ साथ दिन्छ ।
परन्तु जसका निम्ति जीवन एक समुद्र हुँदैन र मानव निर्मित कानुन बालुवाका धरहरा जस्तै क्षणभङ्गुर हुँदैनन्,
जसका निम्ति जीवन एक पत्थर हो र त्यसलाई कानुनको खिनोले काटेर आफूजस्तै मूर्ति बनाउँछन् उनीहरूको के हालत होला ?
त्यो लङ्गडालाई के भन्ने जसले नर्तकहरूलाई घृणा गर्छ ?
जंगलका बाह्रसिङ्गे र मृगलाई लक्ष्यहीन डुलुवा र आवारा सम्झने तर आफ्नो काँधको जुवालाई प्रेम गर्ने गोरुलाई के भन्ने ?
आफ्नो काँचुली फेर्न नसक्ने तर अरूलाई निर्वस्त्र र निर्लज्ज सम्झने बूढो सर्पलाई के भन्ने ?
सबभन्दा पहिला विहेको भोजमा आउने र खानसम्म खाएर थाकेपछि भोजभतेरका आयोजना गैरकानुनी हुन्, आयोजकहरू कानुन मिच्नेहरू हुन् भन्दै उठेर हिँड्नेलाई के भन्ने ?
तिनीहरू पनि सूर्यकै प्रकाशमा उभिएका छन् तर पिठ्यूँ फर्काएर । यसबाहेक म तिनीहरूलाई के भन्न सक्छु ?
तिनीहरूले आफ्नो छायामात्र देख्छन् र तिनीहरूका छायाँ नै तिनका कानुन हुन् ।
छाया पार्ने बस्तुबाहेक तिनीहरूका निम्ति सूर्य बाँकी के होर ?
कानुन स्वीकार गर्नुको अर्थ तल झुकेर धर्तीमा आफ्नो छायाको प्रारूप कोर्नु बाहेक अरू के हो र ?
तर सूर्यको सम्मुख पारेर हिँड्ने तिमीहरूलाई धर्तीमा कोरिएका कुन आकृतिहरूले पक्रेर राख्न सक्छन् ?
हावासँगै यात्रा गर्ने तिमीहरूलाई कुन मौसम चक्रले मार्ग निर्देश गर्न सक्छ ?
तिमीले आफ्नो काँधको जुवा कसैको कारागृहको ढोकामा भाँचेनौ भने मानवको कुन कानुनले तिमीलाई बाँध्न सक्छ ?
तिमी नाच्दा कसैको फलामको साङ्लोमा ठोकिन्नौ भने कुन कानुनको तिमीले डर मान्नुपर्छ ?
तिमीले आफ्ना वस्त्र च्यात्यौ तर टुक्राहरू अरू हिँड्ने मार्गमा फ्याँकेनौ भने कसले तिमीलाई कठघरामा ल्याउँछ ?
अर्फालिजका जनताहरू, तिमीहरूले ढोलको आवाज दवाउन सक्छौ, वीणाका तारहरू खुकुल्याउन सक्छौ तर चखेवालाई गीत गाउन कसले रोक्न सक्छ ?
मूल लेखकः खलिल जिब्रान ।
अनुवादः नेत्र आचार्य र पुष्प आचार्य ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।