
ॐ नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।
एक कान, दुई कान, मैदान ! – भन्ने उखान यहाँ चरितार्थ भयो ।
पाञ्चालराजले आयोजना गरेको स्वयंवर–सभामा आफ्नो बुद्धि–कौशल र पराक्रमले कृष्णालाई जितेर लैजाने, खरानी घसेका ब्राह्मण नै वीरवर अर्जुन थिए– भन्ने विस्मयोत्पादक वृत्तान्त पानीमा तेल फैले झैं द्रुततर वेगले जन–जन माझ सर्वत्र फैलियो ।
खास गुप्तचरहरूले ल्याइपुर्याएको यो विश्वसनीय–वृत्तान्त हस्तिनापुर दरबारमा वज्रपातसरह बज्रियो :
लाक्षागृहमा जलेर सकिए भनेका पाण्डवहरू माता कुन्तीसहित सकुशल जीवित छन् । दिव्य नारीरत्न कृष्णा तिनै पञ्चपाण्डवकी एकमात्र रमणी बनेकी छन् ।
सारा जनता अधर्मी पापिष्ठ राजा धृतराष्ट्र र कपटी शकुनि अनि दुष्टमति दुर्योधनलाई सराप्न थाले ।
आफ्नो गोप्य षड्यन्त्रको विफलता मात्र होइन भण्डाफोर समेत भएको थाहा पाएर तिलमिलाएका ती सबै दुष्टहरूका दलको एक गोप्य बैठक बस्यो । सबै निराश थिए । अब के गर्ने ? – बैठकको मूल एजेण्डा त्यही थियो ।
पहिले शकुनिले मुख खोले :
यसरी निराश भएर हुँदैन । दुश्मनलाई समूल नष्ट नगरी सुखै छैन । तिनीहरू बलिया पनि छन्, बाठा पनि छन् । वृष्णीवंशीय कृष्णहरू र चेदिराज शिशुपाल आदिले थाहा पाउनुभन्दा पहिले नै यिनीहरूलाई छिटो भन्दा छिटो सिद्ध्याउनुपर्छ, नत्र तिनीहरू राजा द्रुपदका साथ एक हुनेछन्, दुश्मन बलियो हुनेछ, हामीले जित्न असम्भव हुनेछ । लाक्षागृहको अग्निकाण्डबाट उम्किसकेका दुश्मनहरू अब चनाखा भइसकेका छन्, यिनलाई यसै छोड्यौं भने हाम्रो सर्वनाश निश्चित छ । अहिले सबैभन्दा उत्तम कर्तव्य मेरो विचारमा के हो भने– बलरामले हलो उठाउनुभन्दा पहिले नै हामीले यिनीहरूमाथि आक्रमण गरेर झयाप्झुप्पै पार्नुपर्छ ।
दुर्बुद्धि शकुनिका यी दुष्टतापूर्ण कुरा सुनेपछि सोमदत्तपुत्र भूरिश्रवाले यसरी नीतिसम्मत कुरा भने :
आफ्नो पक्ष र शत्रु पक्षका सातै प्रकृति : स्वामी, अमात्य, सुहृत्, कोश, राष्ट्र, दुर्ग र सेना यी सबै कुराको बलाबललाई बुझेर मात्र छ गुण अर्थात् : सन्धि, विग्रह, यान, आसन, द्वैधीभाव र समाश्रय यिनको प्रयोग गर्नुपर्दछ । स्थान, वृद्धि, क्षय, भूमि, मित्र र पराक्रम यी सबै कुरामा राम्ररी दृष्टिपात गरेर यदि शत्रु सङ्कटावस्थामा छ भने मात्र उसमाथि आक्रमण गर्नुपर्दछ । यस दृष्टिले हेर्दा सबै पक्षबाट अहिले शत्रु समृद्ध अवस्थामा छन् । मित्र, खर–खजाना, बल, पराक्रम आदि समस्त कुराले सम्पन्न पाण्डवहरू सत्कर्मद्वारा समस्त प्रजावर्गका प्रिय पनि छन् । यिनीहरूलाई मूढेबल प्रयोग गरेर हामीले किमार्थ जित्न सक्दैनौं । क्रोधले होइन, नीतिले काम लिऔं । लडेर होइन कि सामदानादि नीति प्रयोग गरेर उनीहरुलाई आफ्नो वशमा पार्नुपर्छ भन्ने मेरो सम्मति छ ।
आखिर उनीहरू किंकर्तव्यविमूढ भए ।
….
यता सबै यथार्थ कुरा थाहा पाएपछि विदुर मनमनै प्रसन्न भए अनि महाराज धृतराष्ट्रका सामू गएर साभिनय हर्षपूर्वक भने :
महाराज, हाम्रो अहोभाग्यले कौरववंशको वृद्धि भएको छ ।
जन्मान्ध राजा धृतराष्ट्र पनि कुरै नबुझी फुर्किए :
अहोभाग्य, अहोभाग्य !
उनले के ठाने भने : दुर्योधनले स्वयंवर–सभामा विजय प्राप्त गरेर कृष्णालाई लिएर आएछ क्यारे । अनि भने :
द्रौपदीका लागि उत्तम आभूषण मगाओ, मेरो प्यारो छोरो दुर्योधन र द्रौपदीको धूमधामका साथ सवारी चलाओ ।
अनि विदुरले भने :
द्रौपदीले पाण्डवलाई वरण गरिन् । पाण्डवहरू राजा द्रुपदबाट सम्मानित र पूजित भएर पञ्चालदेशमा सकुशल रहेका छन् ।
विदुरका कुरा सुनेर कपटी राजा धृतराष्ट्रले बिग्रन लागेको मुखाकृति लुकाउँदै फेरि रुन्चेहाँसो निकालेर दोहोर्याए :
अहोभाग्य, अहोभाग्य !
अनि फेरि बठ्याइँ देखाउँदै भन्न थाले :
हे विदुर, युधिष्ठिर आदि जति पाण्डुका पुत्र हुन् त्यति नै वा त्योभन्दा पनि बढी मेरा पुत्र हुन् । उनीहरूप्रति मेरो अझ धेरै अपनत्व किन छ भने उनीहरू सकुशल मात्र होइन, महाबली द्रुपदनरेशका सम्बन्धी पनि हुन लागेका छन् । विदुर, तिमी नै भन त, यस संसारमा को यस्तो राजा होला जो बन्धु–बान्धवसम्पन्न राजा द्रुपदलाई मित्र बनाउन नचाहला ?
विदुरले भने :
हे महाराज, सय वर्षसम्म हजुरको यस्तै विवेक बनिरहोस् ।
अनि विदुर घर फर्के ।
…..
उनी जानासाथ दुर्योधन र कर्ण आइपुगे र धृतराष्ट्रका सामू भन्न लागे :
हे महाराज, विदुरका अगि तपाईंका दोष केलाउन हामी चाहन्नौ, तर तपाईंलाई यो के भएको ? उनका सामुन्ने तपाईं हाम्रा शत्रुहरूको प्रशंसा पो गर्नुहुन्छ त । अचम्मै लाग्छ, हामीले गर्नुपर्ने एक थोक छ, तपाइँ गर्न खोज्नुहुन्छ– अर्कै थोक ! हामीले त सदा पाण्डवहरुको कसरी हुन्छ शक्तिनाश पो गर्नुपर्यो त, नत्र उनीहरूले हाम्रो सर्वनाश गरिहाल्छन् नि !
धृतराष्ट्रले भने :
छोरा, म पनि गर्न त त्यही चाहन्छु नि, तर विदुरका अगि ठीक्क पार्नु परेन ? हे सुयोधन, हे कर्ण, अहिलेको परिस्थितिमा के गर्नु ठीक हुन्छ, अब मलाई भन त ।
दुर्योधनले भने :
केही उपाय मेरा विचारमा आएका छन्, पहिले त्यो सुन्नुहोस् –
१. पिताजी, अब गोप्य रूपले हाम्रा विश्वासिला र बाठा ब्राह्मणहरूलाई त्यहाँ पठाउनुपर्यो जसले कुन्ती र माद्रीका छोराहरूका बीच फाटो ल्याऊन् ।
२. अथवा, धेरै ठुलो धनराशि दिएर राजा द्रुपद र तिनका छोरा अनि मन्त्रीहरूलाई हामीले आफ्ना पक्षमा पारौं र पाण्डवहरूलाई त्याग्न लगाऔं ।
३. ब्राह्मणहरूलाई प्रशस्त धन दिएर त्यहाँ पठाऔं, जसले तिनीहरूलाई हस्तिनापुर जानु हानिकारक छ, यतै बस्नु सर्वथा उपयुक्त छ भन्ने सल्लाह दिऊन् ।
४. अथवा, केही चतुर गुप्तचरहरूलाई त्यहाँ पठाऊँ– जसले कुशलतापूर्वक पाण्डवहरूमा फाटो ल्याऊन् ।
५. अथवा, कृष्णालाई नै तिनले बहकाऊन् । पाँच–पाँच जना पतिलाई रिझाउनु भन्दा परित्याग गर्नु नै असल हो भनेर तिनीहरूलाई छोडिदिऊन् । अथवा, पाण्डवहरूमा द्रौपदीप्रति अनविश्वास पैदा गरिदिऊन् ।
६. अथवा, कुनै उपायकुशल मनुष्यले लुकेर छलपूर्वक भीमसेनको काम तमाम गरिदेओस् । उसैका बलमा त तिनीहरूले हामीलाई केही गन्दैनन् । कसै गरी भीमसेनलाई खतम पार्न सकियो भने तिनीहरू हामीसँग भिड्ने साहस नै गर्ने छैनन् ।
७. हे राजन्, अथवा ती सबै यहाँ आए पनि हाम्रै आज्ञाका वशवर्ती बनून् । हामी विस्तारै षड्यन्त्रपूर्वक तिनीहरूलाई खतम गर्ने योजना सम्पन्न गरौंला ।
८. अथवा, राम्रा राम्रा केटीहरूसँग सल्काएर पाण्डवहरूको मन कृष्णाप्रति उदासीन बनाऔं ।
९. अथवा, पाण्डवहरूलाई यहाँ बोलाउन राधेय कर्णलाई पठाऔं अनि यहाँ ल्याएपछि विश्वसनीय मानिसहरूद्वारा ती सबैलाई खतम पारौं ।
यसरी आफ्ना कलुषित मनमा खेलिरहेका सारा क्षुद्र कुरा कहिसकेर अन्त्यमा दुर्योधनले भने :
पिताजी, मैले जानेको यही हो । यी मध्ये जुन उपाय उत्तम हुन्छ त्यही गरौं । नत्र अरु उपाय केही छ भने भन्नुहोस् । अथवा, कर्ण ! तिम्रो के विचार छ ?
कर्णले भने :
हे दुर्योधन, मेरा विचारमा तिम्रा यी कुनै पनि उपाय कामलाग्दा छैनन् । यस्ता उपायले पाण्डवहरूलाई वशमा ल्याउन वा सिद्ध्याउन सकिंदैन । म त के भन्छु भने पराक्रमभन्दा ठूलो कुरा क्षत्रियका निम्ति अरु केही छैन । पराक्रम गरौं, पाञ्चाल देशमाथि आक्रमण गरौं । द्रुपदलाई परास्त गरौं । पाण्डवहरूलाई बन्दी बनाएर ल्याऔं । साम दान आदि सबै बकबास हुन्, विक्रम नै सर्वोत्तम हो । पराक्रमका साथ पाण्डवहरूलाई पराजित गर र निष्कण्टक राज्य भोग । बस्, मेरो एकमात्र नीति यही हो ।
कर्णको सराहना गर्दै अन्त्यमा धृतराष्ट्रले भने :
तिमी पराक्रमी छौ, तिम्रा लागि यही नीति सर्वोत्तम हो । तर मेरो विचार के छ भने– भीष्म, द्रोण, विदुर र तिमीहरू दुई जना बसेर यस विषयमा पुनर्विचार गर र यस्तो निर्णय गर जो पछि परन्तुसम्मलाई दीगो होस् ।
….
अनि सबैलाई बोलाइयो । सर्वपक्षीय बैठक बस्यो ।
त्यहाँ धृतराष्ट्र, भीष्म, विदुर, द्रोण, दुर्योधन र कर्ण थिए ।
भीष्मले भने :
मेरा लागि तिमीहरू सबै एकै हौ । मलाई पाण्डवहरूसँग विरोध वा युद्धजस्ता कुरा पटक्कै मन पर्दैन । हे दुर्योधन, जसरी यो राज्य तिमी पैतृक सम्पत्तिका रूपमा हेर्दछौ, त्यसै गरी उनीहरू पनि हेर्दछन् । हे धृतराष्ट्र, तिमीले अधर्मपूर्वक यस राज्यमाथि कब्जा गरेका छौ । तिमीभन्दा पहिले त यो पाण्डुकै थियो नि । अब चूपचाप प्रेमपूर्वक उनीहरूलाई आधा राज्य देऊ । यसैमा सबैको कल्याण छ । सौभाग्यले उनीहरू जिउँदै रहेछन्, नत्र मेरो शिर लाजले झुकेको थियो । तिमीलाई थाहा छ– जनताले पुरोचनलाई होइन, तिमीलाई नै लाक्षागृहको त्यो भीषण अग्निकाण्डको दोषी मान्दछन् । हे कुरुनन्दन, वीर पाण्डवहरूको जीवनकालमा उनीहरूको यो पैतृक सम्पत्ति तिमीहरू त के ? साक्षात् देवराज इन्द्रले पनि लिन सक्दैनन् । यदि तिमीलाई धर्मानुकूल चल्नु छ भने, यदि मेरो प्रिय बन्नु छ भने, यदि संसारमा केही भलाई गरेर जानु छ भने – खुरुक्क पाण्डवहरूलाई बोलाएर प्रेमपूर्वक आधा राज्य दिइहाल ।
द्रोणले भने :
म गङ्गातनय भीष्मका कुरामा पूर्ण सहमत छु । अझ म त के भन्दछु भने– हस्तिनापुरबाट उनीहरूलाई प्रशस्त उपहार पठाइयोस् र सम्मानका साथ सवारी चलाइयोस् । उनीहरूलाई धूमधामका साथ स्वागत गरियोस् र आधा राज्य दिइयोस् ।
विदुरले भने :
मेरो पनि उहाँहरूको विचारमा पूर्ण सहमति छ । हे महाराज ! दुर्योधन, कर्ण र शकुनिको बुद्धि खोटो छ । यिनीहरू मूर्ख हुन्, यिनका पछि नलाग्नुहोस् । पाण्डवहरूको वीरताका अगि कसैको केही लाग्दैन । त्यसमाथि उनीहरूका पक्षमा राजा द्रुपद, बलराम र स्वयं श्रीकृष्ण हुनुहुन्छ, तिनलाई जितौंला भन्ने सोच्नु परममूर्खता हो । त्यसै पनि लाक्षागृहको अग्निकाण्डले हाम्रो ठूलो बदनामी भएको छ । त्यो कलङ्क धुने पनि यो उत्तम अवसर हो । न्यायपूर्ण र सर्वोत्तम उपाय पनि यही हो । जनतामा विश्वास र पछि परन्तुसम्म सुयश जोगाइरहने उपाय पनि यही हो । पाण्डवहरूलाई सम्मानका साथ हस्तिनापुर भित्र्याउनुपर्छ र प्रेमका साथ उनीहरूको पैत्रृक सम्पत्ति अर्थात् आधा राज्य दिनुपर्दछ । यसैमा सबैको सुख, शान्ति र कल्याण छ ।
अन्त्यमा भीष्म, द्रोण र विदुरकै नीतिलाई धृतराष्ट्रले अनुमोदन गर्न कर लाग्यो ।
राज्यका तर्फबाट प्रशस्त उपहार लिएर पाण्डवहरूलाई हस्तिनापुर ल्याउनका लागि महात्मा विदुरलाई पाञ्चाल देशमा पठाउने निर्णय सर्वसम्मतिले पारित गरियो ।
महात्मा विदुरले पनि सहर्ष यो प्रस्ताव स्वीकार गरे ।
…..
महाभारत, आदिपर्व,१९९ अध्याय देखि २०४ अध्यायमा आधृत ।
२०८२ वैशाख २६ गते शुक्रवार,
ॐ अक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

