इज्जत

मूलः जेनू हैलतई
अनुवादः गोविन्द गिरी प्रेरणा

तिनीहरू तीनजना दिदी बहिनीहरू थिए। दुईजना इज्जतदार थिए र एउटी भने इज्जतदार थिइन । जो इज्जतदार थिए तिनीहरूको नाउँ थियो- मरिश्का र जूलान । जुन इज्जतदार थिइन, उसको नाउँ पुतय थियो।

पुतय कुनै सिने कलाकार थिइन, खाली एक प्रकारको खेलको पात्र समान ऊ सदाचारी जीवन बिताउँदिनथी। उसको एउरा धनी जमिन्दार साथी थियो र ऊ त्यसकै रखौटी बराबर थिई। उसले पुतयको लागि एउटा सुन्दर घर किनिदिएको थियो र पुतयले जे भने पनि पु-याइदिन्थ्यो। हिरा मोती जे भने पनि !

मरिश्का र जूलान पनि पुतयसँगै बस्थे। तिनीहरूको खाने लाउने सबै खर्च पुतयले नै धान्थी । पुतय वास्तवमा असल थिई । ऊ आफ्ना बहिनीहरूलाई इज्जतको दृष्टिले हेर्थी। दुई बहिनीहरूलाई आफ्नो इज्जतमा गर्व थियो र तिनीहरुलाई इज्जत जोगाउने असल लुगा र असल छालाका राम्रा जुत्ताहरू पनि पुगेका थिए ।

मरिश्का बढी मान मर्यादा खोज्ने खालकी थिई। उसको पढाइ स्नातकसम्म थियो । शिर ठाडो पारेर ऊ कुनै शिक्षण संस्थामा पढाउन चाहन्थी र छिटै कुनै नोकरी पाउने कुरामा ऊ विश्वस्त थिई। त्यसो त नोकरी पाउन ढिलो भैरहेको थियो जबकि पुतयको धनी साथी उसलाई सहायता गर्दै पनि थियो। सिफारिस त उसले कुलपतिसम्मबाट गराइसकेथ्यो र मेयरसँग पनि यस बारेमा कुरा चलाइसकेथ्यो ।

अर्की बहिनी भने स्वप्नलोक‌मा विचरण गर्ने खालकी युवती थिई । उसको सपनाको साकाररूप विवाह थियो र कुनै मध्यम श्रेणीका युवतीहरूले सोच्ने खालको सोचाईझैँ ऊ बिहाबारे सोच्थी। तीन कोठाको घर, चुलो, भाँडा इत्यादिको अन्त्यहीन झण्झटको शुरुवात ! उसको अस्तित्वको यही मात्र एउटा अभिलाषा थियो । त्यसलाई ऊ आफ्ना तिर्खालु आँखाले बाटो हेर्दै थिई – कहिले एउटा भद्र पुरुष पति परमेश्वरको स्वरूप धारण गरेर आउला र उसको जीवनको उध्दार गरिदेला ।

यस प्रकार तीनै दिदी बहिनीहरू एउटा एउटा आ-आफ्नो प्रकारको अभिलाषामा लिप्त थिए । मरिश्कालाई शिक्षण संस्थामा राम्रो पद‌मा जागिर भेट्टाउने, जुलानलाई लोग्ने पाउने र पुतयलाई आफ्ना दुवै बहिनीहरूको सपना पूरा भएको हेर्ने ।

एकदिन मरिश्का खुशीले उचालिंदै आई र भनी, “आखिर त्यो दिन आइहाल्यो । अब जागिर भेटिन्छ जस्तो छ। जसको हातमा यो जागिर छ त्यसले मलाई आज बेलुकी बोलाएको छ ।”

“ठीक छ, त्यो दिन त आयो ! पुतयले सहर्ष भनी ।

“लौ तेरो सपना त नजिक आयो,” पुतयले लामो तर चिसो सास फेर्दै भनी, “खै, आफ्नो सपना त कता हो कता हराएजस्तो छ।”

तीनैजना चिन्तामा डुबे । पुतयले केही क्षण सोचेर भनी, “मेरो विचारमा अब तेरो काम म गर्छु। तँ आफ्नो लागि लोग्ने खोज्न सक्दिनस्, म नै तेरो लागि लोग्ने खोजिदिने भएँ।”

“ओहो पुतय ! तैंले चाहे के हुँदैन ? तँ के गर्न सक्दिनस् र !” जूलानले उमङ्गपूर्ण आवाजमा भनी ।

पुतयले प्रेमको रसले भिजेकी बहिनीको मुखतिर हेदै भनी, “हामी पनि बौलाही नै हौं। पहिले यस बारेमा क्यै सोच विचार गरेनौं । यसरी त तँ कुनै राज कुमारको बाटो हेदी हेर्दै जिन्दगी नै बिताउलिस् ! यो संसारमा पैसा नै सबथोक हो। तरुना राम्रा केटाहरूले तँमाथि आँखा नगाड्‌नुको कारण एउटै छ । उनीहरूले तँसँग पैसा छैन भन्ठानेका छन् । मैले मनमनै निर्णय गरिसकेकी छु, अब म तँलाई दाइजो स्वरूप बीस हजार रुपैयाँ दिन्छु ।”

जूलान खुशी र आश्चर्यले हे-याहे-यै भई र मुस्किलले ओठ खोल्न सकी, “बीस हज्जार !”

मरिश्काको हृदय खुसीले चुर्लुम्म भयो, “संसारमा हाम्रीजस्ती दिदी कोही पनि छैन होला !”

पुतयले मनमनै हिसाब गरेर भनी, “मसँग जम्माजम्मी बीस हजार छ, म सबै तँलाई दिन्छु !”

जब राति मरिश्का जागिर हातमा हुने मानिसलाई भेटेर फर्किई, त्यतिबेला ऊ निकै उदास थिई ।

“क्यै सङ्‌कट प-यो ?”

“अँ, त्यसै सम्झे हुन्छ ।”

“तर कुरा चाहिँ के भयो ?”

“ठाउँ खाली छ, जागिर पनि तुरुन्तै भेटिन्छ। तर त्यो वेकूफ बूढो…”

“घुस माग्छ कि क्या हो ? पैसा माग्छ ?”

“अँ, घुस नै हो तर पैसा होइन…”

“तैंले के जवाफ दिइस् ?”

मरिश्का झोंक्किई, “तँ के सम्झन्छेस् ! म त्यस्ता मान्छेलाई कसरी आफू सुम्पन सक्छु ? किन त्यस्तो दुस्साहस गर्थें ? मेरो सिध्दान्त….”

पुतयले हडबडाउँदै भनी, “भगवानको लागि मलाई अन्यथा नसम्झी, म जान्दछु तँ इज्जत‌दार छेस्, तर मैले सोधेको यति हो कि कुरा कसरी टुङ्गि‌यो ?”

“म फरक्क फर्केर त्यो अफिसबाट आएँ। आउँदा मैले भनेर आएँ, तेरो जागिर तैं राख, म भोकै मर्छु तर इज्जतमा कालो दाग लाग्न दिन्नँ ।”

जूलानले पनि मरिश्काको भनाइमा सही थाप्दै भनी, “तैंले ठीक गरिस्, बिल्कूल ठीक ! यसै गर्नु पर्थ्यो !”

तर मरिश्का त्यस्तो घातक जवाफ दिएर पनि सन्तुष्ट थिइन। रुन्चे अनुहार लगाएकी थिई । “भन्दैथ्यो, आज एकदिन अझै सोच, भोलि आएर भेट्नू । म जान त जान्नँ तर मेरो दुर्भाग्य, यो मौका उम्क्यो भने त्यस्तो जागिर मैले कहिल्यै पाउने छैन । कस्तो राम्रो जागिर थियो !”

“अँ, हुन त हो…,” पुतय सोच्न थाली।

“शायद कुनै उपाय भेटिन्छ कि…,” मरिश्काले सोच विचार गर्दै भनी ।

“कस्तो उपाय ?” पुतयले सोधी ।

“के भने कसैले गएर उसलाई भेटोस् र सम्झाओस् म त्यस्तो खालकी केटी होइन…. उसले आफ्नो कुर्सीको अनुचित फाइदा नउठाओस् !”

“तर को जान्छ उसलाई सम्झाउन ?” सँगै बसेकी जूलानले सोधी ।

मरिश्काले हिचकिचाउँदै भनी, “यही पुतय… यसलाई कुरा गर्ने तरिका पनि थाहा छ। यो त कुरैकुरामा मान्छेलाई हात लिन असाध्यै सिपालु छे…।”

पुतयको अनुहार कालोनीलो भयो, “ए त्यसो भए तैंले मलाई जा भनेकी ?”

मरिश्काले साहस बटुलेर भनी, “आफ्नी बहिनीको लागि त हो !… म बाजी ठोकेर भन्न सक्छु, तैंले गएर एकपल्ट उसलाई भनिस् भने मलाई जागिर दिन्छ, दिन्छ…।”

पुतयले जुलानतिर आँखा घुमाई। उसलाई जुलानले यो प्रस्ताव रद्द गर्छे भन्ने लागेको थियो । तर जुलान भनिरहेकी थिई, “साँच्चै पुतय, तँ कति असल छेस्, मेरो काम पनि तैंले नै गर्दिने भइस्, यो विचरी मरिश्कालाई पनि त केही गरिदे।”

“तर .. यदि त्यो बूढोले सुनेन भने … त्यसै यो काम गर्न तत्पर भएन भने…,” पुतयको जिब्रोको टुप्पामा तीतो रम परेझैँ भयो ।

दुवै दिदीबहिनी हाँस्दै भन्न लागे -“आ…छोड – तैंले गर्न सक्छेस्।”

मरिश्काले जागिर के भेट्टाएकी थिई, जूलानको भाग्य पनि जाग्यो। मरिश्काको साथमा एक सह प्राध्यापक उसको घरमा आउने जाने गर्न थाल्यो र जुलानलाई मन परायो। उसलाई थाहा भैसकेको थियो- जूलानको अर्थ हो बीस हज्जार रुपैयाँ । मरिश्का पनि बलेको आगोमा घीउ थप्ने काम गर्न थाली । एकदिन उसले भनी, “पुतयसँग बहिनीको बिहाको लागि प्रस्ताव राख!”

“मीस पुतयसँग ?” ऊ छक्क पर्यो ।

“अँ, उसले त यो घर चलाइरहेकी छ र बीस हजार पनि उसले नै दिने हो ।”

मरिश्का उसतिर आशाप्रद दृष्टिले हेर्न थाली ।

त्यो सह-प्राध्यापकले पुतयसँग भेटेर जुलानसँग बिहा गर्न आफ्नो इच्छा व्यक्त ग-यो ।

हर्ष र सन्तोषले पुतयको आँखा रसायो । उसको हृदयमा ममता यसरी छचल्कियो कि दुवैलाई सुखी वैवाहिक जीवनको आशीर्वाद दिई।

जूलान र उसको भावि पति खुसीले मानौं हाँसिरहेका तस्वीर बने। ऊ सधैं जुलानकहाँ आउन थाल्यो । ऊ निकै ठाँटबाँटसहित खाना खान्थ्यो र जमिन्दारको सिगार, चुरोट इत्यादि पिउँथ्यो। त्यसो त बेला बेलामा जुलानसँग ऊ यसो भन्ने गर्थ्यो, “मलाई यस प्रकारको सुख सुविधा मन पर्दैन । साँच्चै भन्ने हो भने मलाई तिम्रो दाइजो पनि स्वीकार गर्ने इच्छा छैन।”

जूलान सम्झाउँथी, “कस्तो उटपट्याङ कुरा गर्नु भएको ? यति ठूलो धनराशि पनि कहीं कसैले लत्याउला ?”

“हो… तर आखिर…. म मान्छु तिम्री दिदी साह्रै वेश छिन् तर सबभन्दा पहिले इज्जतको विचार गर्नुपर्छ । हो कि हैन भन त ?”

“यसमा त शङ्कै छैन,” जूलान पूरै विश्वाससाथ जवाफ दिन बाध्य हुन्थी।

“एक दिन हामी श्रीमानश्रीमती बनौं … अनि… ,” ऊ भन्थ्यो ।

“अनि के ?” ऊ सोध्थी।

“हेर मेरी प्राण! तिमी अन्यथा नसम्झ, तर म यसो सोच्छु, त्यसपछि हामी ऊभन्दा अलग कतै टाढा जानु वेश होला ।”

“जस्तो तिम्रो इच्छा !” जुलानले कुनै आज्ञाकारी पत्नीले झैं जवाफ दिई । यो जवाफले उसको भावि पतिको अनुहार चम्कियो।

तिनीहरू- जस्तो कि मैले पहिल्यै बताइसकेको छु, तीन दिदी बहिनीहरू थिए, तीमध्ये दुई इज्जतदार थिए । एउटी इज्जतदार थिइन ।

०००