शब्द: गोविन्द गिरी प्रेरणा
रेखाचित्र: कृष्ण मर्सानी

यौटा लेखक आफ्नो मुलुकमा प्रतिबन्धित हुन्छ, उसका कृतिहरु प्रतिबन्धित हुन्छन् तर विश्वले उसलाई सम्मान गर्छ, आदर गर्छ, उसका कृतिहरु खोजी खाजी प्रकाशन गर्छ भने–त्यो लेखकको नियतिलाई के भन्ने ? त्यस्तै नियति बोकेका विश्वविख्यात उपन्यासकार थिए, प्रमुद्य अनन्त तूर । पछि उनलाई आफ्नो मुलुक छोडेर पश्चिमी राष्ट्र भ्रमण गर्नसमेत प्रतिबन्ध लाग्यो । तर कुनै पनि वर्ष नोवेल पुरस्कार पाउने हकदारका रुपमा उनलाई कैयन् वर्ष चर्चा गरियो, तर पाएनन् ।

इण्डोनेशिया डच उपनिवेशको कडा नियन्त्रणमा रहेको अवस्थामा प्रमुद्य अनन्त तूरका पिता यौटा निजी विद्यालयका हेडमास्टर थिए । उनी फरवरी ६, १९२५ मा पूर्वी जाभाको ब्लोरा भन्ने गाउँमा जन्मेका थिए । आफ्नै पिताको विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेका थिए उनले । तर १४ वर्षको ठिटो उमेरमा भविष्य निर्माण र अ

र्थ सङ्कलनका लागि उनले सुरावाया प्रस्थान गरे । त्यहाँ उनी एक वर्ष व्यावसायिक रेडियोसँग सम्बध्द भए । तर इण्डोनेसियामा जापानी हमला भएपछि बिरामी आमा र आठ जना भाइबहिनीको स्याहारका लागि उनी जन्मगाउँ फिर्ता हुनुपर्यो । जीविकोपार्जनका लागि उनले स्थानीय बजारमा सुर्ती एवं चुरोट बेच्ने काम गर्न थाले ।

उनकी आमाको सन् १९४२ मा देहान्त भएपछि प्रमुद्य जाकार्तामा स्थायी रुपले रहन थाले । उनले त्यहाँ जापानी समाचार संस्था दोमेईका लागि टाइपिस्ट र क्लर्कको काम गर्न थाले । सुरुमा त जापानी हमलाले लामो समयदेखि डच नियन्त्रणमा रहेको अवस्थाबाट मुक्तिको लामो सास फेर्न पाएको अनुभव भयो तर पछि जापानीहरुबाट पनि स्वतन्त्रता र मुक्तिको आशा नरहेपछि उनी इण्डोनेशियाली राष्ट्रवादी आन्दोलनसँग सम्बद्ध भए । उनी जाभाली भाषा सिकेरै हुर्केका थिए । जाभाली भाषा शिष्टाचारका अनेकौं तह भएको जटिल भाषा हो । तर १७ वर्षे उमेरमा उनले मले भाषा प्रयोग गर्न थाले जुन भाषा राष्ट्रवादीहरुले सम्पूर्ण इण्डोनेशियालीहरुलाई एक सूत्रमा बाँध्ने भाषाको रुपमा विकसित गर्न चाहन्थे ।

व्यापक रुपमा स्वाध्ययनकै माध्यमले आफ्नो ज्ञान र बौद्धिकताको क्षेत्रमा अघि बढेका प्रमुद्य विस्तारै साहित्यिक क्षेत्रमा पाइलो हाल्न थाले । उनी स्वतन्त्र इण्डोनेशिया आन्दोलनको मुखपत्र समेत सम्पादन गर्न थाले । तर द्वित्तीय विश्वयुद्ध पश्चात् डचले आफ्नो शक्ति पुनःप्राप्त गरेपछि सन् १९४७ देखि १९४९ सम्म उनलाई राजनैतिक गतिविधिका कारण जेल सजाय भयो । यसै क्रममा आफ्नो व्यक्तिगत दुःख र समाजका दुःखलाई लिपिबद्ध गरेर उनी कथा एवं उपन्यास लेखनमा आबद्ध भए ।

डच जेलमा छँदा उनलाई पुस्तकालय जाने छुट थियो, जहाँ उनले जोन स्टेन वेक विलियम सारोयाँ, लोड जिलेन्स आदिका कृतिहरु अध्ययन गर्ने मौका पाए । यिनै लेखकका लेखनको अध्ययनबाट उनले सरल, सिधा र गतिशील गद्य लेखन शैलीको विकास गरे ।

सन् १९५० मा प्रमुद्य अनन्त तूरको पहिलो उपन्यास “भगुवा” प्रकाशित भयो । यो उपन्यास उनको जेल अवधिमा लेखिएको थियो जतिबेला उनी अनिवार्य सक्षम कारावासमा थिएनन् । उनले आफ्नी प्रेमिकाबाट गोप्य रुपमा प्राप्त कागजमा यो उपन्यास लेखेका थिए । त्यसै वर्ष उनको अर्को उपन्यास ‘गुरिल्ला परिवार’ प्रकाशित भयो ।

यी दुवै उपन्यासले प्रमुद्य अनन्त पूरलाई विदेशीबाट आफ्नो मुलुक मुक्त पार्ने मुक्तियोद्धाको रुपमा मात्र चिनाएन, उनले यसमा इण्डोनेशियाली स्वतन्त्रताका योद्धाहरुको पीडा वेदनालाई समेत सजीव ढङ्गले उतारेको देखियो ।

प्रमुद्यको पहिलो उपन्यासले नै पुरस्कृत हुने सौभाग्य पायो– वालाई पुस्तक साहित्यिक पुरस्कार । र, त्यो पुरस्कारको रकमले प्रमुद्यको जीवनमा यौटा महत्त्वपूर्ण भूमिका खेल्यो । उनले त्यही पुरस्कारबाट प्राप्त रकमले बिहा गर्न सक्षम भए । त्यसपछि उनले नव स्थापित मार्क्सवादी साहित्यिकहरुको संस्था ‘लेक्रा’ मा प्रवेश गरे जसको नारा थियो “जनताका लागि सेवा” ।

तदुपरान्त छिटै नै उनी त्यस आनदोलनका प्रमुख हस्तीका रुपमा स्थापित भए । यति हुँदाहुँदै पनि उनले अत्यन्त निजी ढङ्गले र विषयगत शैलीमा समाजवादी यथार्थवाद व्यक्तिगत दृष्टिकोणले लेखे । उनको दृष्टिकोण थियो –“साहित्य बुझ्नु भनेको मानव बुझ्नु हो र त्यसको विपरीत भए पनि सत्य नै हुन्छ ।”

डचहरुले “खतरनाक राष्ट्रवादी” भनेर उनलाई कारावासको सजाय दिएका थिए तर इण्डोनेशिया स्वतन्त्र भए पनि उनको व्यक्तिगत स्वतन्त्रता भने हनन भयो । स्वतन्त्रतापछि उनी पुनः १४ वर्षको कठोर कारावासमा बस्नुपर्यो । विचित्रको कुरा त के भयो भने इण्डोनेशियाका सम्पादकहरुलाई प्रमुद्य अनन्त तूरको नाउँ समेत आफ्ना पत्र–पत्रिकामा उल्लेख नगर्न चेतावनी दिइयो र उनलाई यौटा अ–व्यक्ति झैं बनाइयो ।

१४ वर्षे कठोर कारावासको समयमा उनलाई शुरुका ६/७ वर्ष वुरु टापूमा राखिएको थियो । त्यहाँ कैदीहरुलाई कुनै पनि पाठ्यसामग्री प्रतिबन्धित थियो । अति थोरै धार्मिक कुराबाहेक कुनै मुद्रित वस्तु कैदीसँग फेला पर्यो भने ऊ अत्यन्त निर्दयी खालको सजायको भागी बन्थ्यो । एकपल्ट यौटा कैदीको हातमा धुजाधुजा भएको अखबारको टुक्रा फेला पर्यो । तत्पश्चात् त्यसलाई यातना गृहमा लगियो । तीन दिनपछि त्यो कैदी हात पछाडि बाँधेको अवस्थामा नजिकैको नदीमा मृत तैरिरहेको पाइयो । यसबाट त्यो जेलका कैदीहरुलाई कस्तो शासना हुन्थ्यो अनुमान गर्न सकिन्छ ।

आफ्नो कारावासको समयमा कागज र कलम नपाइने भएकाले प्रमुद्यले मौखिक रुपमा कथा सिर्जना गरेर कैदी साथीहरुलाई सुनाउने गर्दथे ।

जेल मुक्त भएपछि उनले ४ वटा उपन्यासको श्रृङ्खला लेखे । त्यसमध्ये पहिलो थियो –“यो धर्ती मानवको” त्यसपछि त अन्य श्रृङ्खलाहरु थिए– सबै राष्ट्रका सन्तान, अघि बढ्ने कदम, अनि सिसाको घर । यसमध्ये पहिलो उपन्यास अत्यधिक सफल भयो र दुई हप्तामै १०,००० प्रति बिक्री भयो । यो उपन्यास उपनिवेशकालीन सुरावामाको सन् १८९८ को पृष्ठभूमिमा लेखिएको छ ।

सुरुमा त प्रमुद्यका यी उपन्यासहरुप्रति सरकार र सेन्सर अधिकारीहरुको दृष्टि परेन । तर उपन्यासको लोकप्रियता र बढ्दो पाठक सङ्ख्याले एटर्नी जनरललाई झस्काइदियो र “यो धर्ती मानवको” तथा “सबै राष्ट्रका सन्तान”लाई प्रतिबन्धित तुल्याइदिए ।

प्रमुद्य अनन्त तूरले लेखनको माध्यमले मात्र होइन उनको इतिहासप्रति गहिरो रुचि र चाखले गर्दा जाकार्ताका विश्वविद्यालयहरु र प्राज्ञिक थलोहरुमा इतिहास र पत्रकारिता विषयमा व्याख्यान दिन थाले । ‘पिपुल्स कल्चरल इन्स्टिच्यूट’ को नेतृत्वदावी सदस्यको हैसियतले उनले राजनैतिक पार्टीसँग अंसबद्ध ‘द इष्टर्न्स स्टार’ नामक स्वतन्त्र अखबारमा सांस्कृतिक सम्पादकको रुपमा समेत आफ्नो योगदान दिए ।

प्रमुद्य अनन्त तूरका पुस्तकहरुमा प्रतिबन्ध लगाएपछि उनका शेष पुस्तकहरु जलाउने आदेश दिइयो । तर प्रमुद्य ती प्रतिबन्धहरुले निराश भएनन् । उनी सदा सर्वदा लेखनमा लागिरहे । उनको कलम यात्रा अविराम चलिरह्यो । उनी शालीनतापूर्ण आशावादी थिए भविष्यप्रति । राष्ट्रको प्रतिष्ठा राजनैतिक पद्धतिले होइन दार्शनिक, कलाकार लेखकले नै बढाउने कुरामा उनी निश्चिन्त थिए ।

आफ्नो १४ वर्षे कारागारबाट मुक्त भएपछि पनि उनले स्वतन्त्रतापूर्वक लेखपढ गर्न सक्ने वातावरण भएन । सन् १९८१ मा यो स्थितिलाई फुचरले यसरी लेखे –“जेलबाट मुक्त भएको १८ महिनापछि पनि प्रमुद्यको स्थिति जेलको जस्तै छ । इण्डोनेशियाको यौटा महत्त्वपूर्ण लेखक आफ्नो अभिव्यक्रि स्वतन्त्रताको प्रतीक्षा गरिरहेछ ।”

तर स्वयम् प्रमुद्य भने यसो भन्थे –“तिनीहरुले मेरा पुस्तकहरु मेरो जीवन नष्ट गर्ने उद्देश्यले प्रतिबन्धित तुल्याएका हुन् । तर त्यसले क्यै लछारपाटो लाउन सकेन । म अझै जीवित छु । तिनीहरुले प्रत्येक पल्ट प्रतिबन्धको आदेश दिँदा म सम्मानका खातिर पदक प्राप्त गरिरहेझैँ अनुभव गर्दछु ।”

उनका कृतिहरु प्रतिबन्धित भए पनि उनका कृतिहरु २४ भाषामा अनुवाद भए । उनले ती २४ भाषाका पाठक र विद्वानहरुकै स्नेह र सम्मान पाएका छन् । ‘यो पृथ्वीको मानव’ लाई सांगीतिक रुपमा रङ्गमञ्चमा उभ्याउने कार्य गरिरहेका क्रिसेन जो क्वालालम्पूरका रंगमञ्चीय निर्देशक र आलोचक हुन्, उनी भने–‘उनका लेखनले तिमीलाई स्पर्श मात्र गर्दैन, आक्रमण नै गर्छ । म उनको भाषाले पराजित भएँ ।’

उनी सन् १९९९ मा “द म्यूटस् सोलिलोकी” प्रकाशनको सिलसिलामा अमेरिका गएका थिए । यो उनको जेलमा कडा श्रमसहितको कठोर कारावासको संस्मरणात्मक कृति हो ।

उनले सो कृतिमा लेखेका थिए, ” उभिनसक्ने मानिसहरु लफ्रक्कै भिजेका थिए, तर धेरैजसो उठ।नै समर्थ थिएनन् । या त ती मृत थिए अथवा चेतनाहीन अथवा उभिनसक्ने क्षमताको अभाव । तिनीहरुको जीउबाट रगत र दिसाको गन्ध हावामा फैलिएको अनुभव हुन्थ्यो ।”

यो पुस्तक लेख्नुपर्ने कारण उनले यस्तो वताएका थिए,” यो पुस्तक मेरा सन्तानका लागि हो ता कि उनीहरुले आफ्नो बाबुको बारेमा जानकारी पाउन् । म कुनै पनि बेला मारिन सक्छु भन्ने मलाई थाहा छ । ”

उनले सन् १९८८ मा पेन अन्तरराष्ट्रिय संस्थाबाट “पेन वार्वरा गोल्डस्मिथ फ्रिडम टू राइट अवार्ड”, सन् १९८९ मा न्युयोर्क अमेरिकाबाट “द फण्ड फर फ्रि एख्सप्रेसन अवार्ड”, सन् १९९२ मा बेलायतबाट “इङ्गलिस पेन सेण्टर अवार्ड” तथा नेदरल्याण्डबाट “स्टिचिङ वेर्थिम अवार्ड”, सन् १९९५ मा “रामोन म्याग्सेसे अवार्ड”, सन् २०००मा जापानको “एघारौं फुकुओका एशियन कल्चरल प्राइज”, सन् २००४ मा नर्वेको “नर्वेजियन अथर्स युनियन अवार्ड” , सन् २००४ मा चिलेको “पाब्लो नेरुदा अवार्ड” लगायतका पुरस्कार तथा सम्मानहरु प्राप्त गरेका थिए ।

लेखनबारे उनको कथन थियो, ” म मेरा किताबहरु राष्ट्रलाई एकतावध्द बनाउन लेख्छु । म इण्डोनेशियाली भाषामा लेख्छु । म मेरो मातृभाषा जावालीमा लेख्दिनँ । इण्डोनेशिया वहुजातीय तथा जनजातीय समुदायले बनेको छ । यसलाई यौटा एकताबध्द राष्ट्र बनाउनु छ ।”

उनले दुईपल्ट बिहे गरे र उनका कुल ९ छोराछोरी भए भने १६ नाती नातिना भएका थिए । उनी चुरोटका अम्मली थिए । उनी भन्ने गर्थे, ” जुन डाक्टरले मलाई चुरोट नखा भन्छ, उसलाई म बर्खास्त गरिदिन्छु । मेरो जीवनको खुशी उ किन खोस्न चाहन्छ ।”

उनी दिनको २ बट्टा चुरोटको धूवाँ उडाउँथे ।

उनको मृत्यु ८१ वर्षको उमेरमा ३० अप्रिल २००६ का दिन जाकार्तामा भयो ।