
सुख
सुख
एउटा मुक्तिगान हो
तर स्वयं मुक्ति होइन
उसले तिम्रा कामनाहरूको फूल फुलाउँछ
तर स्वयं
तिनको फल होइन
त्यो उचाइलाई सम्बोधित गरिरहने
एउटा गहिराइ हो
तर स्वयं
न उचाइ हो न गहिराइ
त्यो
पिंजडाबाट मुक्त भएको
पक्षीको उडान हो
तर
त्यस उडानद्वारा पार गरिएको
आकाश होइन
हो,
साँच्चिकै हो –
सुख एउटा मुक्तिगान हो
र म चाहन्छु –
तिमी यसलाई पूरै मनले गाऊ
तर यस गीतका पछि
आफ्नो दिल नलुटाइदेऊ
तिमीहरूमध्ये केही जवानहरू
सुखको खोजीमा
यसरी दौडधूप गर्दछन्
मानौं सुख नै सबैथोक हो
यसैका कारण
कलंकित र निन्दित पनि हुन्छन्
म तिनीहरूमाथि
कलंक लगाउँदिन
न त तिनीहरूको
निन्दा नै गर्दछु
म तिनलाई सुखको खोजी गर्न दिन्छु
किनभने
उनीहरूलाई प्रसन्नता त
प्राप्त हुन्छ नि !
तर प्रसन्नता एक्लै आउँदिनन्
प्रसन्नताका सात जना बहिनीहरू छन्
अनि तिनीहरूमा
जो सबैभन्दा नराम्री छिन्
तिनी पनि
प्रसन्नताभन्दा धेरै राम्री छिन्
के तिमीले
त्यस मान्छेका बारेमा सुनेका छौ ?
जो कन्दमूलका लागि
जब जमीन खन्दै थियो
तर
उसले त त्यहाँ
गाडधन पो फेला पा¥यो
तिमीहरूमध्ये
केही बूढा मान्छेहरू
आफ्नो सुखलाई
खिन्नताका साथ याद गर्दछन्
जसरी
मातेका बेला गरिएका
कुनै पापको याद गरिएको होस्
तर
खिन्नताले मानव–मनलाई केवल ढाकिदिन्छ
तर दण्डित गर्दैन,
उनीहरूले
आफ्ना सुखलाई
कृतज्ञताका साथ सम्झिनुपर्ने हो –
जसरी
ग्रीष्म ऋतुमा काटिएको
पोटिलो अन्नबालीलाई
याद गरिन्छ
तर यदि खेदमा नै
उनीहरूलाई सन्तोष हुन्छ भने
उनीहरूलाई सन्तोष लिन देऊ
यहाँ यस्ता मानिस पनि छन्
जो न त त्यति जवान छन्
जो सुखका पछि दौडधूप गर्छन्,
न त त्यति वृद्ध
जो तिनलाई खेदका साथ याद गर्ने गर्छन्,
अनि तिनीहरू
सुखका पछि दौडधूप गर्ने र
पछि तिनलाई
खेदसहित याद गर्ने स्थिति आउनुभन्दा पहिले नै
यस डरले
सुखको बहिष्कार गरिदिन्छन् कि
कतै उनीहरूबाट
परमात्माको उपेक्षा
या उसका प्रति
अपराध नभइजाओस्
तर सुखहरूबाट विरक्त रहनुमा नै
उनीहरूलाई सुख मिल्दछ,
यसरी तिनीहरूले पनि
गाडधन त पाइहाल्दछन्
यद्यपि
कन्दमूल पाउनका लागि
काँप्दै गरेका हातहरूले
जमीन खन्दै हुन्छन्
तर तिमी मलाई भन
को हो त्यो ?
जो परमात्माका प्रति
अपराध गर्न सक्दछ
के कोइलीले गीत गाउँदा
रात्रिको नीरवताप्रति
अथवा
जूनकिरीले पिल्पिलाउँदा
आकाशका ताराहरूप्रति
कुनै अपराध हुन सक्दछ ?
के तिम्रा आगाका लप्का
वा तिम्रा धुवाँहरू
हावामाथि बोझ बन्न सक्दछन् ?
के तिमी सोच्दछौ कि
परमात्मा
कुनै जलकुण्डमा जमेको त्यस्तो पानी हो
जसलाई तिमी
एउटा मामूली स-सानो लट्ठीले हुँडलेर
अशान्त तुल्याउन सक्दछौ
प्रायः तिमी स्वयंलाई
सुखहरूबाट वञ्चित गरेर
आफ्नै हृदयका चिराहरूमा
अतृप्त लालसाहरू सञ्चित गरिदिन्छौ
तर कसलाई थाहा छ
जुन सुख
आज अवसर नपाउनाले
बहिष्कृत देखा पर्दछ
उसले भोलिको प्रतीक्षा गर्छ
या गर्दैन
कहाँसम्म भने
स्वयं शरीरले पनि
आफ्नो उत्तराधिकार
तथा आफ्ना न्यायसंगत आवश्यकताहरूलाई
बुझ्ने गर्दछ
उसलाई धोका दिन सकिंदैन
तिम्रो शरीर
तिम्रो आत्माको वीणा हो
यो कुरा तिमीमाथि निर्भर गर्दछ-
तिमी त्यसमा
मधुर सङ्गीत उत्पन्न गर्दछौ
या बेसुरा आवाजहरूको कोलाहल !
अब तिमी आफ्नै दिलसँग सोध-
हामीले कसरी चिनौंला ?
सुखमा के छ
जुन राम्रो छ
अनि जुन नराम्रो छ,
त्यसको उत्तर पाउन
तिमी खेत र बगैंचातिर जाऊ
अनि तिमीलाई
यो ज्ञान प्राप्त हुनेछ-
फूलहरूबाट मधुरस सञ्चय गर्नमा
मौरीहरूलाई सुख मिल्छ
उता फूलहरूलाई पनि
मौरीहरूलाई
आफ्नो मधुरस समर्पित गर्नमा
त्यत्ति नै सुख मिल्छ
किनभने मौरीका निम्ति
फूल नै जीवन-स्रोत हो
फूलका लागि मौरीले
प्रेमको मधुर सन्देश ल्याउँछन्
फूल तथा मौरी
दुवैका लागि
सुख आदान-प्रदान
एउटा आवश्यकता
अनि
एउटा आह्लादकारी अनुभव हो
तिमीहरू पनि
आफ्ना सुखमा प्रवृत्त हुँदा
फूल र मौरीको जस्तै आचरण गर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

