सुन्दरता

 

तिमी
सुन्दरतालाई कसरी खोजौला
र कसरी चिनौला ?
जबसम्म
ऊ स्वयं तिम्रा लागि
मार्ग वा मार्गदर्शन बन्दैन

तिमी
उसको कसरी बयान गरौला
जबसम्म
उसैले तिम्रा वाणीका सूत्रहरूलाई बुन्नेछैन

दुःखी र पीडितहरू भन्दछन्-
सुन्दरता कृपालु र कोमल हुन्छिन्,
उनी
आफ्नै महिमा देखेर
अलि अलि लजाउने
कुनै नवयौवना आमा झैं
हाम्राबीच प्रकट हुने गर्दछिन्

आवेगले भरिएकाहरू भन्छन्,
होइन, सुन्दरता त्यो तत्त्व हो
जसमा शक्ति र प्रचण्डता रहने गर्दछ,
सुन्दरताले कुनै आँधीले झैं
हामीमुनिको धरती र
आकाशलाई झक्झक्याइदिन्छ

थकित र क्लान्तहरू भन्दछन् –
सुन्दरताको मर्मर ध्वनि
अत्यन्त सुकोमल हुन्छ
र हाम्रो आत्मामा
मुखरित हुने गर्दछ,
सुन्दरताको स्वर
हाम्रो मौनतामा समर्पित हुँदा
यस्तो लाग्दछ –
मानौं छायाबाट भयभीत भएर
कुनै धमिलो ज्योति–किरण
काँपिरहेको होस्

तर अशान्त व्यक्तिहरू भन्दछन् –
हामीले उसलाई
पहाडहरूमा चिच्याउँदै गरेको सुनेका छौं,
ती चिच्याइमा
घोडाका टापको कड्काइ
पखेटाको फट्फटाइ र
सिंहको गर्जन सुनिन्छ

राती नगरका प्रहरीहरू भन्दछन् –
पूर्व दिशामा
झिसमिसे हुनासाथ
सुन्दरताको उदय हुनेछ

मध्याह्नमा
पथिक र श्रमिकहरू भन्दछन् –
हामीले सूर्यास्तको आँखीझ्यालबाट
धरतीमाथि झुक्दै गरेका बेला
उसलाई देखेका छौं

सयौं वर्षदेखि
हिउँले घेरिएका मानिसहरू भन्दछन् –
ऊ वसन्तका साथ
पहाडमा हाँस्दै खेल्दै आइपुग्छ

गर्मीका ताता घाममा
बाली काट्दै गरेका
किसानहरू भन्दछन् –
हामीले उसलाई
शरद् ऋतुका पातहरूसँग
नाच्दै गरेको देखेका छौं,
त्यसबेला
सिमलको भुवाजस्तो हिउँ
उसका केशमा अल्झिएको थियो

तिमीहरू
सुन्दरताका बारेमा
यी सबै कुरा भन्दै गर्दछौ
तर वास्तवमा
तिमी सुन्दरताको होइन
आफ्नै अतृप्त अभिलाषाहरूको
कुरा गरिरहन्छौ

सुन्दरता अभिलाषा होइन
आह्लाद हो,
सुन्दरता तृषार्त ओठहरूको बेचैनी होइन
न कसैका अघि
फैलिएको खाली हात हो

साँच्चिकै सोध्छौ भने
त्यो एउटा प्रज्वलित हृदय
र एक सम्मोहित आत्मा हो

त्यो चित्र होइन
जसलाई तिमी देख्न सकौला
न त्यस्तो गीत हो
जसलाई तिमी सुन्न सकौला

साँच्चिकै सोध्छौ भने
सुन्दरता त्यस्तो एउटा चित्र हो –
जसलाई तिमी
आँखा बन्द गरिसकेपछि पनि देखिरहन्छौ
र एउटा यस्तो गीत
जसलाई तिमी
कान बन्द गरिसकेपछि पनि सुनिरहन्छौ

त्यो
वृक्षको खस्रो बोक्रोभित्र दबिएको
कोमलतम पालुवा
वा पक्षीका पखेटामा टाँसिएको
प्वाँख होइन

साँच्चिकै सोध्छौ भने
सुन्दरता एक सदाबहार फूलबारी हो
अनि सदैव आकाशमा उडिरहने
देवदूतहरूको दल

सुन्दरता जीवनको त्यो रूप हो
जब जीवनले
आफ्नो पवित्र मुहारबाट
घुम्टो उठाइरहेको होस्

तर तिमी नै जिन्दगी हौ
अनि तिमी नै
त्यसको घुम्टो पनि

सुन्दरता
दर्पणमा आफ्नै छाया–छविलाई
अपलक हेरिरहेको
अनन्त सत्ता हो

तर तिमी नै
त्यो अनन्त सत्ता
अनि
तिमी नै
त्यसको दर्पण पनि हौ ।