महाभारतीय आख्यानमालाका अनुरागी प्रिय भावक बन्धु !

विगत शुक्रवार प्रारम्भ भएको जरासन्धको उपाख्यान यसरी अघि बढ्दछ –

एक समय मगधनरेश बृहद्रथका राज्यमा तपोधन चण्डकौशिक मुनिको आगमन भयो । मुनिको दर्शन पाएर राजा परममुदित बने । उनकै महती कृपाले राजा बृहद्रथलाई पुत्रलाभ भएको थियो । दुई खण्डमा जन्मिएको बालकलाई जरा नाम गरेकी राक्षसीले जोडेर एक बनाएकाले त्यस बालकको नाम जरासन्ध राखिएको थियो । राजा बृहद्रथ आफ्ना सकल मन्त्री, अग्रगामी सेवकगण, महारानी तथा सुपुत्रादि स–परिवार ती मुनिका समीपमा पुगे ।

पाद्य अघ्र्य आचमनीय आदि षोडशोपचारले श्रद्धाका साथ मुनिको पूजा–अर्चना सम्पन्न गरिसकेपछि आगाध समर्पणभावका साथ आफ्नो सारा राज्यसमेत राजा बृहद्रथले मुनि चण्डकौशिकका चरणकमलमा समर्पित गरिदिए । उनको यस्तो अनुपम श्रद्धालुताद्वारा सुप्रसन्न बनेका मुनिले भने :

तपाईंको पुत्र जरासन्धका सकल जीवनको यथार्थ मलाई दिव्य दृष्टिबाट ज्ञात भइसकेको छ । अब सुन्नुहोस् राजन्, तपाईंको पुत्र भविष्यमा कस्तो बन्नेछ :

यसमा रूप, सत्त्व, बल ओजको विशेष आविर्भाव हुनेछ यो बालक साम्राज्यलक्ष्मीले सम्पन्न बन्नेछ एवम् यसले परमपराक्रम प्रकट गरेर समस्त अभीष्ट वस्तुहरू प्राप्त गर्नेछ जसरी उडिरहेका गरुडको वेगलाई अरु कुनै पक्षीले पनि भेट्टाउन सक्दैनन् त्यसै गरी यस बालकका शूरता, वीरता आदि गुणहरूलाई अरू कुनै राजाले पनि अनुसरण गर्न सक्ने छैनन् जसरी नदीको वेगले  कुनै पर्वतलाई हल्लाउन सक्दैन तेसैगरी देवतागणले प्रहार गरेका कुनै शस्त्रास्त्रले पनि यस बालकलाई किञ्चित् क्षति गर्न सक्ने छैन यस जगत्मा समस्त मूध्र्दाभिषिक्त राजाहरूका बीच यो बालक फ्ना तेजले सदा प्रकाशित रहिरहनेछ जसरी सूर्यले समस्त ग्रहनक्षत्रगणको कान्तिलाई हर्दछन् त्यसै गरी यस राजकुमारले पनि समस्त राजाहरूको तेजलाई तिरस्कृत गर्नेछ जसरी पुतलीहरू अग्निमा जलेर भस्म हुन्छन् त्यसै गरी समस्त सेनासम्पन्न बडेबडे राजा महाराजाहरू पनि यससित टक्कर लिनासाथ नष्ट हुनेछन् यस बालकले समस्त जगत्का राजाहरूले संग्रह गरेका सम्पदालाई त्यसै गरी फ्नो अधिकारमा लिनेछ जसरी वर्षा ऋतुमा बढेका नदनदीहरूको समस्त जलराशिलाई समुद्रले आफूमा समाहित गर्दछ यस महाबली राजकुमारले चारै वर्णलाई त्यसै गरी आश्रय प्रदान गर्नेछ जसरी समस्त धनधान्यलाई धारण गर्ने समृद्वशालिनी पृथिवीले शुभअशुभ समस्त वस्तुलाई आश्रय दिन्छिन् जसरी समस्त प्राणधारी जीवहरू आत्मरूप वायुदेवका अधीनमा रहन्छन् त्यसैगरी सबै राजा महाराजाहरू यसकै आज्ञावर्ती रहनेछन् यो बालक समस्त लोकमा सर्वाधिक बलवान् हुनेछ यसले त्रिपुरासुरसंहारी सर्वदुःखहारी महादेव रुद्रको आराधना गरेर उहाँको दर्शन पनि पाउनेछ

यति कुरा भनिसकेपछि मुनि चण्डकौशिकले राजा बृहद्रथलाई विदा गरे ।

….

कालान्तरमा राजा बृहद्रथ बिते ।

जरासन्ध राजा बने । चण्डकौशिक मुनिकै कथनानुसार भगवान् आशुतोष शङ्करबाट अशेष वरदान प्राप्त गरेर जरासन्ध मगधराज्यको रक्षा गर्न लागे । आफ्ना बहिनी–जुवाइँ कंसको वध गरेकाले श्रीकृष्णसँग जरासन्धको वैरभाव गहन बन्न पुग्यो । एकपटक रीसले आगो भएका जरासन्धले आफ्नो बडेमानको गदा उनान्सय पटक घुमाएर मथुरातिर हुर्याए, त्यो गदा उनान्सय योजनकै दूरी पार गरेर मथुरामा बज्रिन पुग्यो । यो सूचना पुरवासीहरूले श्रीकृष्णका सामू तत्काल पुर्‍याए । मथुराको त्यो स्थान गदावसान का नामले विख्यात भयो । जरासन्धका सल्लाहकार दुईजना चलाख मन्त्रीहरू थिए : हंस र डिम्भक । ती कसैको शस्त्रास्त्रले पनि मर्नेवाला थिएनन् । तर कालान्तरमा ती यमुनामा डुबेर मरे ।

….

यो समस्त वृत्तान्तको अन्त्यमा मथुरानरेश श्रीकृष्णले भन्नुभयो :

अब जरासन्धको विनाश गर्ने उचित अवसर आएको शस्त्रास्त्रका युद्धमा समस्त देवता असुरगण मिलेर पनि उसलाई जित्न सक्दैनन् उसलाई जित्ने एउटै उपाय : बाहुयुद्ध मसँग नीति , भीमसेनमा बल , अर्जुन हामी दुवैको रक्षा गर्न सक्षम छन्, जसरी तीन प्रकारका अग्निले यज्ञ सम्पन्न गर्दछन् त्यसै गरी हामी तीनै जना मिलेर जरासन्धको काम तमाम गर्न सक्नेछौं

यदि मे हृदयं वेत्सि  यदि ते प्रत्ययो मयि

भीमसेनार्जुनौ शीघ्रं  न्यासभूतौ प्रयच्छ मे मभा, सभा, २०/

हे महाराज युधिष्ठिर, यदि तपाईं मेरो हृदय बुझ्नुहुन्छ भने, यदि ममाथि तपाईंको विश्वास भने, यथाशीघ्र भीमसेन अर्जुन नासोका रूपमा मलाई सुम्पनुहोस्

श्रीकृष्णका मधुर वाणी सुनेर यता भीमसेन र अर्जुनको मुखकमल प्रसन्नताले फक्रियो । उता महाराज युधिष्ठिरले भने :

फ्ना मर्यादाबाट कहिल्यै च्युत नहुने हे अच्युत ! कृपया यस्तो आज्ञा नहवोस् हजुर हामी सबै पाण्डवका स्वामी हुनुहुन्छ, रक्षक हुनुहुन्छ, हामी सबै हजुरकै शरणमा छौं हे गोविन्द ! हजुरको आज्ञाअनुसार चल्नाले मात्र पनि पूर्णतः विश्वस्त छु कि अब जरासन्धको इतिश्री भयो, समस्त राजाहरू कैदबाट मुक्त भए अनि मेरो राजसूय यज्ञ पनि पूरा भयो

अन्त्यमा युधिष्ठिरले यसो भने :

अर्जुनः कृष्णमन्वेतु  भीमोऽन्वेतु धनञ्जयम्

नयो जयो बलं चैव विक्रमे सिद्धिमेष्यति मभा, सभा, २०/२०

अर्जुनले श्रीकृष्णको अनुसरण गरून्, भीमसेनले अर्जुनको नीति, विजय बल तीनै कुरा मिलेर पराक्रम गरेमा सिद्धि प्राप्त हुनु निश्चित

……

यो मधुर संवादपछि महाराज युधिष्ठिरको शुभभाव साथमा लिएर श्रीकृष्णले आफ्ना प्रिय सखा अर्जुन र महाबली भीमसेनका साथ मगधराज जरासन्धका राजधानी गिरिव्रजतिर दृढ संकल्पका साथ प्रस्थान गर्नुभयो ।

तीनै जना पवित्र ब्राह्मणका वेशमा थिए । मगधनरेश जरासन्धले ती तीनै जनालाई ब्राह्मणदेव मानेर भव्य अतिथिसत्कारको आयोजना गरे । भीमसेन र अर्जुन मौन रहे । श्रीकृष्णले भन्नुभयो :

यी दुवै जना अहिले मौनव्रतमा छन्, मध्यरातपछि मात्र यिनको मौनव्रत पूर्ण हुन्छ, तपाईं त्यसै वेला यिनीहरूसँग संवाद गर्नुहोला

आफ्ना तीनै विशिष्ट अतिथिलाई राजा जरासन्धले अतिथिगृहमा सम्मानका साथ आवासको व्यवस्था गरे, अनि आधा रातमा संवादका लागि त्यहाँ गए र जिज्ञासा राखे :

यहाँहरू यसो बाहिरबाट हेर्दा स्नातकव्रतधारी ब्राह्मणजस्ता देखिनुहुन्छ, तर यहाँहरूका ग्रीवामा फूलमाला भुजामा धनुषका प्रत्यञ्चाको चिह्न देखिन्छ यथार्थमा यहाँहरूको वास्तविक परिचय के हो ? फेरि मेरो अतिथिसत्कार पूजा पनि यहाँहरू ग्रहण गर्नुहुन्न, के कारणले हो ?

श्रीकृष्णले भन्नुभयो :

हे बृहद्रथकुमार, हामी तिमीकहाँ मित्रभावले होइन, शत्रुभावले आएका हौं त्यसैले तिम्रो अतिथिसत्कार हामीलाई स्वीकार्य छैन संसारभरिका सकल राजाहरूलाई बलपूर्वक कैद गरेर राख्नु नै तिम्रो जघन्य अपराध हो तिमी आफूलाई निकै वीर हुँ भन्ठान्छौ फ्नो पराक्रममाथि गर्व गर्दछौ तिम्रो यही गर्वभंग गर्न हामी यहाँ आएका हौं हेर, हामी कोही पनि ब्राह्म होइनौं, द्वारकाधीश कृष्ण हुँ, यी दुवै पाण्डुपुत्र महाबली भीमसेन परमपराक्रमी गाण्डीवधारी अर्जुन हुन् यदि तिमी आफूलाई साँच्चिकै वीर ठान्दछौ भने हामीमध्ये जोसँग मन लाग्छ युद्ध गर्न तैयार होऊ खालि मुखले आत्मप्रशंसा गरेर मात्र कोही वीर कहालाउँदैन वीरता प्रत्यक्ष युद्ध गरेर मात्र प्रमाणित हुन्छ

छक्क पर्दै वीर जरासन्धले युद्धको हाँक स्वीकार गरे । आफूसुहाउँदो बलशालीसँग मात्र लड्ने वीरोचित स्वभाव अनुसार नै जरासन्धले भीमसेनका साथ द्वन्द्व–युद्ध गर्ने इच्छा व्यक्त गरे । त्यसपछि दुवैले लगौंटी कसे, दण्ड बैठक लगाए र कुश्ती खेल्न ठीक परे ।

दुवै एक से एक वीर थिए । बलिया थिए । पराक्रमी थिए । अपार शक्ति र साहसका खानी थिए । सारा दुनियाँ उनीहरूको मल्लयुद्ध हेर्न अपार कौतूहलका साथ भीड बनेर खडा भयो । तिघ्रा ठटाएर ती दुवै आपसमा भिडे । ती दुवै बाहुपाश, चरणपाश, उरोहस्त, पृष्ठभंग, तृणपीड आदि विभिन्न दाउपेच लगाएर एक अर्कालाई पछार्न लागे । प्रतिद्वन्द्वीलाई घरि बड्याम्म भुइँमा पछार्थे, घरि तिघ्रा र घुँडाले एक अर्कालाई रगड्थे, घरि मुक्कामाथि मुक्का बजारेर एक अर्कालाई थिलथिलो बनाउँथे । अनेक उपाय गरेर एक–अर्कामाथि विजय प्राप्त गर्न ती दुवै महशूर वीर घोर प्रयास गर्दथे ।

कार्तिक महीनाको पहिलो दिन उनीहरूका बीच मल्लयुद्ध शुरु भएको थियो । दिन रात खानु न पिउनु उनीहरूको कुश्ती अविराम गतिले चली नै रह्यो । एक दिन, दुई दिन, तीन दिन गर्दै हुँदा हुँदा पूरा तेह्र दिनसम्म उनीहरूका बीच अनवरत मल्लयुद्ध चलि नै रह्यो । चौधौं दिन चतुर्दशीका रातमा मगधनरेश जरासन्ध थाकेर चूर–चूर भए । युद्धबाट निवृत्त झैं देखिए, तैपनि आफ्नो हारचाहिँ स्वीकार गरेनन् ।

यो देखेर श्रीकृष्णले भीमसेनलाई सम्बोधन गर्दै भन्नुभयो :

यसले बाँचुन्जेलसम्म कसै गरे पनि हार मान्नेवाला छैन, त्यसैले हे वायुपुत्र भीमसेन, फ्ना पिताको स्मरण गर्दै यसलाई अब यमलोकको बाटो देखाइदिनुहोस्

भगवान् श्रीकृष्णको प्रेरणा पाएपछि महाबली भीमसेनले थाकेर लस्त भएको जरासन्धलाई दुवै भुजामा उठाएर तीव्र वेगका साथ आकाशमा फनननन घुमाउन लागे । त्यसै बेला श्रीकृष्णले नजीकैबाट एउटा नरकटको टुक्रा हातमा लिएर त्यसलाई बीचमा चिरेर दुई टुक्रा बनाएर फुत्त मिल्काइदिनुभयो । यो एउटा संकेत थियो । भीमसेन त्यो बुझिहाले । उनले जरासन्धलाई १०० पटक आकाशमा घुमाएर भुईंमा पछारे अनि त्यसको डाढलाई धनुषलाई झैं मोडेर दुवै घुँडाले प्रहार गरी उसको मेरुदण्ड गड्याम्म भाँचिदिए, अनि मृतप्राय भएको त्यस शरीरको एउटा खुट्टा आफ्नो खुट्टाले थिचेर अर्को खुट्टा बलियोसँग समाती जोडसँग च्यातेर महाबली भीमले जरासन्धलाई चिरेर दुई टुक्रा बनाइदिए । जरा राक्षसीले जोडिदिएको त्यो शरीर जन्मजात रूप लिएर दुई चीरामा च्यात्तिएको थियो ।

तर कस्तो अचम्म ! त्यो त फेरि अनायास नजीक–नजीक सर्दै गएर एक्कासी आफैं ट्याप्प जोडियो र फेरि यथावत् पूर्ण शरीर बन्यो अनि फेरि भीमसेनसँग बाहुयुद्ध गर्न पो थाल्यो । अब फेरि पनि श्रीकृष्णले अर्को एउटा नरकटको टुक्रा हातमा लिनुभयो र बीचमा चिरेर दुई विपरीत दिशातिर फ्याँकिदिनुभयो । यो भीमसेनलाई अर्को संकेत थियो । त्यो बुझेर उनले फेरि जरासन्धलाई दुई भागमा च्यातिदिए र ती दुवै शरीरका चीरालाई दुई विपरीत दिशामा फ्याँकिदिए । अनि त भयङ्कर चीत्कारका साथ छटपटाउँदै जरासन्धले यमलोकको बाटो ततायो । आतङ्कको पर्याय, अग्घोर आततायी, जब्बर जोरीखोजुवा जरासन्धको यसरी इतिश्री भयो ।

सर्वत्र हर्षोल्लासको वातावरण छायो । जरासन्धको कैदमा रहेका सारा राजाहरूलाई कैदबाट मुक्त गरियो । श्रीकृष्ण, अर्जुन र भीमसेनको सर्वत्र शुभ–अभिनन्दन भयो । अब महाराज युधिष्ठिरको राजसूय यज्ञ सम्पन्न हुने शुभलक्षण देखियो ।

…….

२०८२ श्रावण २३ गते शुक्रवार

महाभारत, सभापर्व अध्याय १९ देखि २५ सम्म

ॐअक्षरालयः ।