आफ्ना प्रियतम महाराज नललाई खोज्न भनेर पठाएका खोजी ब्राह्मणहरूमध्ये पर्णाद नामक एक चतुर ब्राह्मण केही समयपछि दमयन्तीका सामु खुशीको समाचार लिएर आइपुगे । उनले दमयन्तीलाई यसो भने :
हे राजकुमारी दमयन्ती, म हजुरको आज्ञानुसार निषधराज नललाई खोज्दै खोज्दै अयोध्यानगरी पुगें र त्यहाँ राजा ऋतुपर्णका दरबारमा प्रवेश गरें । त्यहाँ उत्सुकतावश भेला भएका मानिसहरूका समूहमा मैले राजा ऋतुपर्णका सामू हजुरले भनेका कुरा जस्ताको तस्तै सुनाएँ । धेरै पटक सुनाउँदा पनि कसैको कुनै प्रतिक्रिया देखिएन । तर, लगत्तैपछि राजा ऋतुपर्णका प्रधान सारथिले मलाई एकान्तमा बोलाए । उनको नाम बाहुक रहेछ, तिनका हातहरू छोटा र मान्छे हेर्दा कुरूप देखिन्थे । तर तिनी कुशल अश्वविद् रहेछन्, अनि अर्को कुरा उनले पकाएपछि सामान्य भोजनमा पनि दिव्य स्वाद आउँछ भन्ने पनि सुनियो ।
पहिले त तिनी मेरा सामू लामो लामो सुस्केरा निकालेर एक्छिन रोए अनि सबै कुशल समाचार सोधिसकेपछि तिनले भने :
उत्तम कुलका स्त्रीहरू ठूलै संकटमा परेका बेला पनि आफ्नो रक्षा स्वयं गर्न सक्षम हुन्छन् । यसरी उनीहरूले सत्य र स्वर्ग दुवै पक्षमा विजय हासिल गर्दछन् । श्रेष्ठ नारीहरू पतिपरित्यक्ता भएर पनि पतिमाथि कदापि क्रोध गर्दैनन् अनि सदाचाररूपी कवचले ढाकेर सदा आफ्नो प्राणको रक्षा पनि गर्दछन् ।
त्यो पुरुष अत्यन्त संकटमा परेको थियो, सुखसाधनबाट पूर्णतः वञ्चित भएकाले किंकर्तव्यविमूढ भएको थियो । त्यस्तो परिस्थितिमा यदि उसले आफ्नी पत्नीलाई छोडिहालेछ भने पनि तिनीले उसका उपर क्रोध गर्नुहुँदैन । प्राणरक्षाका लागि भोजन जुटाउने चेष्टामा त्यस विचराले लगाएको एउटो वस्त्र पनि पक्षीहरूले खोसेर लगिदिएका थिए अनि जो अनेक मानसिक चिन्ताहरूले दग्ध हुन पुगेको थियो त्यस्ता दैवाहत पुरुषसँग तिनी श्यामाले क्रोध गर्नुहुन्न । राज्य र राजलक्ष्मी दुवैबाट वञ्चित, भोक–प्यासले पीडित, अथाह विपदाको महासागरमा निमग्न आफ्ना पतिलाई ती मनस्विनीले अवश्य क्षमा गर्नुपर्छ ।
यस्ता कुरा सुन्दै जाँदा दमयन्तीका दुवै नेत्र आँशुले डब्डबाउन थाले । उनले पर्णादलाई प्रशस्त धनसम्पति दिएर प्रसन्न तुल्याइन् अनि बिदा गर्दै भनिन् :
राजा नलको जब यहाँ सवारी होला त्यसवेला म अरु पनि धेरै धन दिनेछु ।
अनि, मनस्विनी दमयन्तीले आफ्नी आमाका सामु यी सबै कुराको बेलिविस्तार लगाइन् । अनि आमाकै सामु आफूलाई पत्ता लाउने गुणी ब्राह्मण सुदेवलाई बोलाएर भनिन् :
हे ब्राह्मणदेव, हजुर शीघ्रगामी घोडामा चढेर तुरुन्तै अयोध्यानगरी जानुहोस् र राजा ऋतुपर्णलाई भनिदिनुहोस् : हे राजन्, भीमकुमारी दमयन्तीले फेरि स्वयंवर रचाउन लागेकी छन्, धेरै राजा र राजकुमारहरू स्वयंवरसभामा भाग लिन आउँदैछन् । छिटो गर्नुहोस्, भोलि नै स्वयंवर सम्पन्न हुँदैछ । भोलि सूर्योदयपछि दमयन्तीले अर्को वर रोज्नेछिन् किनभने पुण्यश्लोक वीरवर महाराज नल जीवितै छन् वा छैनन् आखिर केही टुंगै लाग्न सकेन ।
दमयन्तीको आज्ञा शिरोपर गरेर सुदेवले त्यसै गरे । उनको कुरा सुनेर राजा ऋतुपर्णले आफ्नो प्रिय सारथि बाहुकलाई डाकेर भने :
बाहुक, तिमी अश्वविद्याका तत्त्वज्ञ हौ । हेर, मैले दमयन्तीको स्वयंवरमा सम्मिलित हुने अठोट गरेको छु, अब तिमीले मलाई एकै दिनमा विदर्भदेशको राजधानीमा पुर्याइदिन पर्यो ।
ऋतुपर्णका कुरा सुनेर राजा नलको हृदय अकथनीय वेदनाले विदीर्ण भयो । उनी धेरैबेरसम्म विकट चिन्ताले व्याकुल बने । उनका मनमा अनेक तर्कवितर्कका बादलहरू उठ्न लागे :
के दमयन्तीले यस्तो पनि गर्न सक्लिन् र ? अथवा सम्भव छ दुःखले मतिविभ्रम भएर उनले यहाँसम्मको अठोट गरिन् कि ? कि उनले मलाई प्राप्त गर्नकै लागि यो अद्भुत उपाय सोचेकी त होइनन् ? तपस्विनी विदर्भराजकुमारीलाई मजस्तो नीच र पापिष्ठ पुरुषले छल गरेको छ, कपट गरेको छ, त्यसैले उनी यस्तो निष्ठुर काम गर्न उद्यत पो भएकी हुन् कि ? स्त्रीको स्वभाव चञ्चल हुन्छ भन्ने कुरा प्रसिद्ध नै छ । मेरो अपराध पनि भयंकर नै छ । सम्भव छ त्यस घटनाले मप्रतिको हार्दिक स्नेह कम भयो होला, अतः उनले यस्तो काम गर्न लागिन् होला । किनभने छिनेको कमर भएकी ती सुन्दरी युवती मेरो शोकमा अत्यन्त उद्विग्न भइन् होला, अनि मसँग भेट हुने आशा मरिसकेपछि उनले यस्तो विचार गरिन् होला । तैपनि मेरो हृदय बारबार भन्दछ उनले कदापि यस्तो गर्न सक्दिनन्, उनी विशेषतः सन्तानवती पो हुन् त । अब यसमा सत्य असत्य के हो, थाहा पाउन नै भए पनि राजा ऋतुपर्णको इच्छा पूरा गरिदिनुमा नै मेरो पनि कल्याण छ ।
अनि, राजा ऋतुपर्णसँग नल अश्वशालामा गए र यात्राका लागि उत्तम घोडाहरू चुन्न लागे । ती हेर्दा दुब्ला पातला देखिन्थे । केही रिसाउँदै ऋतुपर्णले भने :
यस्ता मरन्च्याँसे घोडाहरूले कसरी बेलैमा पुर्याउलान् र, अलि बलिया घोडा छान न बाहुक !
नलले भने :
राजन्, हेर्नुहोस् यी घोडा बलिया छन्, यिनका नाक र थुतुना मोटा छन्, यी सैन्धव घोडा हुन्, यिनका जिउमा दश वटा शुभ आवर्त अर्थात् भुमरी परेका देखिन्छन्, हेर्नुहोस् : ललाटमा एक, मस्तकमा दुई, पार्श्वभागमा पनि दुई, छातीका दुवैतिर दुइ दुई, अनि पिठिउँमा एक, यसरी जम्मा बाह्रवटा भुमरी राम्ररी हेरेर मात्र घोडाहरूलाई रथमा जोत्नुपर्छ नि राजन् ।
बाहुकका कुरा सुनेर राजा ऋतुपर्णले उनलाई प्रशंसा गरे अनि उनीहरूको यात्रा प्रारम्भ भयो ।
चारवटा शीघ्रगामी उत्तम घोडाहरू रथमा जोतिएका थिए । वाष्र्णेय सारथिको आसनमा थिए, तिनीहरू रथमा चढ्नासाथ ती घोडाहरूले घुँडा टेके । अनि नलले पुच्कार्दै तिनलाई माया गरे अनि तिनको बागडोर वाष्र्णेयबाट लिएर आफ्ना हातमा थामे । त्यसपछि त के थियो– राजा ऋतुपर्णलाई मोहित तुल्याउँदै ती घोडा यसरी दौडिए, लाग्दथ्यो– दौडिएका होइनन्, आकाशमा उडिरहेका हुन् । परमविस्मयले भरिएको राजसारथि वाष्र्णेयका मनमा कुरा खेल्न थाले :
ओहो, यो बाहुक हो कि इन्द्रको सारथि मातलि हो ? कि स्वयं अश्वविद्याका गुरु शालिहोत्र नै बाहुकको रूप धरेर आएका हुन् ? अथवा शत्रुविजयी पुण्यश्लोक राजा नल नै त बाहुकका रूपमा आएका होइनन् ? यस जगत्मा राजा नल जुन अश्वविद्यालाई दक्षताका साथ जान्दथे त्यही विद्या यस बाहुकले पनि जानेको देखिन्छ ।
अश्वसञ्चालनमा एकाग्रता, उत्साह, घोडाहरूलाई नियन्त्रण गर्ने कला र हँकाइको दक्षता देखेर राजा ऋतुपर्ण र राजसारथि वाष्र्णेय दुवै प्रसन्न बनेका थिए ।
जसरी अनन्त आकाशमा गरुड उड्दछन् त्यसै गरी बाहुक चालित त्यो रथ पनि शीघ्रताका साथ कैयौं नदी, पर्वत, वन र तलाउहरु नाघ्दै अगि बढ्न लाग्यो । त्यसै बेला यकायक राजा ऋतुपर्णको उत्तरीय वस्त्र हावाले उडाएर झारिदियो । उनले आत्तिँदै भने :
बाहुक, एकैछिन् थाम थाम । मेरो उत्तरीय उपर्ना झर्यो । टिपिहालुँ ।
नलले भने :
राजन्, हजुरको वस्त्र धेरै अगाडि झरिसक्यो, अहिले हामी चारकोश पर पुगिसक्यौं, अब टिप्न सकिँदैन ।
उनका कुरा सुनेर सात छक्क पर्दै राजा ऋतुपर्ण मौन बने ।
अगाडि विशाल वन थियो, जसमा एउटा बिभीतकको वृक्ष फलले लटरम्म थियो । त्यस वृक्षलाई देख्नासाथ राजा ऋतुपर्णले बाहुकलाई भने :
हे सूत, तिमी हेर । ममा हिसाब गर्ने शक्ति कति अद्भुत छ । सबैले यो जान्दैनन् । यस संसारमा कोही पनि सर्वज्ञ छैन, कसैले के जान्दछ, कसैले के । बाहुक, यस वृक्षमा जति पात र फल छन् ती सबैको संख्या म भन्न सक्दछु । रुखमुनि जति पात र फल झरेका छन् तिनको संख्या एकसय अधिक छ, यस बाहेक एउटा पात र एउटा फल बढी पनि छ । अर्थात् तल खसेका पात र फलहरूको संख्या रुखमा भएका पात र फलभन्दा एक सय दुईवटा बढी छन् । यस रुखका दुइटै हागामा गरेर पाँच करोड पात छन् । तिमीलाई मन लाग्छ भने यी दुवै हाँगा र तिनका उपहाँगाहरूमा गनेर हेर । यसैगरी यी हाँगाहरूमा दुइ हजार पन्चान्नब्बे वटा फल लागेका छन् ।
उनका कुरा सुनेर छक्क पर्दै बाहुकले अचानक रथ रोकिदिए र भने :
राजन्, हजुरले भन्नुभएको संख्या परोक्ष हो । म यस रुखको हाँगा काटेर फलका संख्यालाई प्रत्यक्ष गर्न चाहन्छु । तपाईंकै आँखाका सामुन्ने म यो रुखलाई काटेर फलहरूको संख्या जान्न चाहन्छु । अनि मात्र तपाईंको कुरा प्रमाणिक हुनेछ ।
राजाले भने :
विलम्ब गर्ने वेला छैन अहिले ।
नलले भने :
दुई घडी पर्खिनुहोस् । यदि हजुरलाई हतार छ भने वाष्र्णेयलाई सारथि बनाएर पाल्नुहोस् ।
नलका कुरा सुनेर कोमल भावमा राजाले भने :
हे बाहुक, तिमी बाहेक यी घोडालाई ठीकसँग हाँक्न सक्ने यस धरतीमा अर्को कोही छैन । हेर बाहुक, म तिम्रै शरणमा छु । जसरी हुन्छ मलाई आजै विदर्भदेश पुर्याइदेऊ, यति भए मलाई पुगिगो ।
नलले भने :
म यी फलहरू गनेर हजुरलाई मिलिक्कै पुर्याइदिउँला नि, किन चिन्ता गर्नुहुन्छ ?
अनि राजा आश्वस्त भए । नलले वृक्षको एउटा हाँगो काटेर गने, उनको आश्चर्यको ठेगान रहेन, राजा ऋतुपर्णले भनेको संख्या ठ्याक्कै मिलेको थियो । अनि नलले भने :
राजन्, हजुरको यो अद्भुत गणनाशक्तिको म कायल भएँ । त्यो कस्तो विद्या हो, जसले यस्तो कुशलता आउँछ, म त्यो सुन्न चाहन्छु ।
राजाले भने :
बाहुक, तिमी मलाई द्यूतविद्याको मर्मज्ञ अनि गणितविद्यामा अत्यन्त निपुण हुँ भन्ने जान ।
अनि बाहुकरूपी नलले प्रस्ताव राखे :
हे पुरुषश्रेष्ठ, हजुर मलाई यो विद्या सिकाइदिनुहोस्, बदलामा म हजुरलाई अश्वविद्या सिकाइदिउँला ।
राजा ऋतुपर्णले भने :
तथास्तु ।
अनि राजाले तत्काल द्यूतविद्याको सारा रहस्य नललाई सिकाइदिए । त्यो जान्नासाथ नलको शरीरबाट तत्काल कलियुग फुत्तै बाहिर निस्कियो । त्यसबेला ऊ कर्कोटक नागको तीव्र विष मुखबाट बारबार उगेल्दै थियो । त्यसपछि विषको प्रभावबाट मुक्त भएको कलियुग आफ्नो मूल रूपमा देखा पर्यो ।
आफूलाई अकार्थमा दुःख दिएकामा कुपित भएका राजा नलले उसलाई तत्काल शाप दिने विचार गरे । डरले थरथर काम्दै कलियुगले भन्यो :
हे महाराज, आफ्नो क्रोधलाई शान्त गर्नुहोस् । म हजुरलाई उत्तम कीर्ति प्रदान गर्नेछु । इन्द्रसेनकी आमा, हजुरकी प्रियतमा दमयन्तीले पहिले नै मलाई शाप दिइसक्नुभएको छ जसका कारण म धेरै कष्ट भोगिरहेकै छु । हे महाराज, यतिका दिनसम्म म हजुरका शरीरमा बडा कष्टले बसिरहेको थिएँ । वास्तवमा मैले मेरो अपराधको सजाय पाइसकेको छु । यदि हजुरले मलाई क्षमा प्रदान गर्नुहुन्छ भने म यो वचन दिन्छु : यस संसारमा जुन मनुष्यले प्रेमपूर्वक हजुरका कथाको कीर्तन गर्नेछ उसलाई म अर्थात् कलियुगबाट कुनै भय रहनेछैन ।
यो कुरा सुनेर पुण्यश्लोक नलले आफ्नो क्रोधलाई नियमन गरे । उता कलियुग पनि डरले काम्दै तत्काल त्यसै रुखमा गएर विलीन भयो । कलिले आश्रय लिएकाले त्यो बिभीतक वृक्ष अर्थात् बहेडाको रुख निन्दित बन्न गयो ।
त्यसपछि समस्त चिन्ताबाट मुक्त भएका राजा नल कलिमुक्त तेजस्वी रूप धारण गरेर रथमा चढे अनि ती वायुवेगगामी घोडालाई हाँकेर तत्काल राजा ऋतुपर्णलाई लिएर विदर्भदेशतिर प्रस्थान गरे । आकाशमा गरुड उडे झैं एकै छिन्मा ती घोडाहरूले यात्रा तय गरे । साँझ पर्दा–नपर्दै उनीहरू विदर्भदेशको राजधानी पुगिसकेका थिए ।
राजधानी कुण्डिननगरी पुग्नासाथ दरबारमा खबर पुगिहाल्यो । त्यहाँ उनीहरुको भव्य स्वागत गरियो । राजा नल सबै कष्टबाट मुक्त भइसकेका थिए, केवल आफ्नो मूल स्वरूपमा आउनचाहिं अझै बाँकी थियो । यदि कमी केही थियो भने खाली यही मात्र थियो ।
क्रमशः बाँकी अर्को हप्ता –
…….
महाभारत, वनपर्वको अध्याय : ७० देखि ७२ अध्यायमा आधृत ।
२०८२ साल फागुन १५ गते शुक्रवार, ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










