कान्छी रानी माद्रीसँग समागमावस्थामा– महाराज पाण्डुको शतशृंग पर्वतमा प्राणान्त भएपछि, तत्–निवासी तपोमय ऋषि–वृन्दले पञ्च–पाण्डव सहित महारानी कुन्तीलाई हस्तिनापुर दरबारमा लगेर जिम्मा लगाइदियो । तदनन्तर महाराज धृतराष्ट्रका काँधमा समस्त कुरु–सन्तति र पाण्डु–सन्ततिको योग–क्षेम वहन गर्ने दायित्व आइपर्यो । तदनुरूप ती सबै एक सय पाँच भाइ राजकुमारहरूको बाल्यकाल राजकीय भोगविलास, सुखसयल र तालीमका साथ राजाको रेखदेखमा व्यतीत हुन थाल्यो ।
ती सबैमा जेठा युधिष्ठिर उसवेला भरखर १६ पुगेर १७ लागेका किशोर थिए । भीम १५ पुगेर १६, अर्जुन १४ पुगेर १५, नकुल १३ पुगेर १४, अनि सहदेव भरखर १२ पुगेर १३ वर्ष लाग्दै थिए । उता दुर्योधन र भीम एकै दिन जन्मिएका थिए अर्थात् १५ पुगेर १६ लाग्दै थिए । दुर्योधनका बाँकी ९९ भाइहरू सबै एउटै मांसपिण्डबाट जन्मिएका, लगभग सँग–सँगैका थिए वा एक–एक दिनका जेठ–कान्छा थिए । यता वैश्या दासीबाट जन्मिएका युयुत्सु दुर्योधनपछिका माइला भाइ थिए भने दुःशला ती सबैभन्दा कान्छी बहिनी थिइन् ।
ती दिनहरूमा ती सारा कुरुवंशीय राजकुमारहरूको बाल्यकाल स्वच्छन्द खेलबहाडमा बितिरहेको थियो । ती सबैमध्ये वायुपुत्र भीमसेन अत्यन्त बलवान् थिए । दौडनमा, खान–पिउनमा, धूलो उडाउने खेलमा उनलाई कसैले जित्न सक्दैनथ्यो । उनी कति बलशाली थिए भने खेल–खेलमा दुर्योधनका अनेक भाइहरूलाई एकसाथ उठाएर कहीं लुक्दथे, कहिले एक अर्काका टाउका ठोकाइदिन्थे, कपालमा समातेर घिसार्दथे, दुवै भुजामा एकसाथ आठ दशजना केटाहरूलाई करप्प पारेर जलाशयमा डुबुल्की मार्थे अनि उनीहरू निस्सासिउन्जेल पानीमा डुबाएर अन्त्यमा बल्ल छोडिदिन्थे, तिनीहरू रुखमा चढेर फल टिप्न लागेका वेला लात हानेर रुख यसरी हल्लाइदिन्थे कि सारा फलहरूसँगै ती केटाहरू पनि भुइँमा बल्ड्याङ्–बुल्डुङ् पच्छारिएर सोत्तर हुन्थे । कुश्तीको खेल, दौड र यस्तै अन्य क्रीडाका विषयमा ती कुनैले पनि, कहिल्यै पनि भीमसेनलाई जित्न सक्दैनथ्यो । यस्तो उत्पाते स्वभावका भए तापनि भीमसेनको मनमा कहिल्यै कसैप्रति कुभाव वा बदनीयत थिएन । ती सबै खेलबहाड उनका लागि सहज मनोरञ्जनात्मक बाल्य–क्रीडा मात्र थिए ।
भीमसेनको यो चकचकी दुर्योधनका मनमा नराम्ररी खट्किरहन्थ्यो । स्वभावैले उसको नीयत खोटो, बुद्धि पाप–निष्ठ र चित्त कपटी थियो । भीमसेन एक्लैले सबैलाई फाँडेको देखेर उसलाई खपिनसक्नु रीस उठ्दथ्यो । भीमसेनलाई कसरी तह लगाउँ भनेर उसका मनमा अनेकौं षड्यन्त्रकारी विचारहरूको कुचक्र चलिरहन्थ्यो । यसै सिलसिलामा उसले भीमसेनलाई सदाका लागि ठेगान लगाउने अठोट गरेर एउटा भयंकर कपटमय षड्यन्त्रको जालो बुन्यो ।
तदनुसार गंगा–किनारमा एउटा भव्य बालोद्यानको रचना गरियो । मोहान्ध धृतराष्ट्रको ममता–ग्रन्थि दुर्योधनमा नराम्ररी कस्सिएको थियो । त्यसैले उसको जुनसुकै इच्छा पनि मुखबाट झर्न नपाउँदै पूरा गरिन्थ्यो । उसको योजना अनुसार नै त्यो बालोद्यान ती सबै भाइहरूका लागि कौतुकमय आनन्द लिने शहरका रूपमा निर्माण गरियो । अनि यथासमय ती सबै त्यहाँ रस–रंग गर्न भनेर गए । त्यहाँ विविध क्रीडाहरू चले र अन्त्यमा स्वादिष्ट खाद्य–परिकारहरूको भोज चल्यो । त्यसमा कपट–पटु दुर्योधन स्वयं सबैलाई मुख बाउन लगाउँदै मीठा–मीठा परिकार खुवाउँदै झूठो भातृ–प्रेम देखाउन थाल्यो । वस्तुतः उसले भीमसेनको गाँसमा भयंकर कालकूट विष मिष्ठान्नमा मिसाएको थियो । सरल स्वभावका भीमसेनले प्रेमपूर्वक पर्याप्त मात्रामा त्यो सबै खाइदिए । परिणामतः उनी विष–ग्रस्त बने । खाइसकेपछि सबै जल–क्रीडा गर्न थाले । भीमसेन भने आलस–तालस भइसकेका थिए, चाँडै नै जल–क्रीडाबाट निवृत्त भएर कतै एकान्त कुनामा गएर विष–जनित बिहोशीले लल्याक–लुलुक् भएर गहन निद्रामा डुबे । यही मौकाको ताकमा थियो– दुर्योधन । उसले निश्चेष्ट लडिरहेका भीमसेनलाई बलिया लहराहरूको लठाराले चारैतिरबाट टुन्क्याएर बाँधिदियो र उच्च तटबाट गंगा–प्रवाहमा धकेलिदियो ।
यता सारा आनन्द–विहार र क्रीडा–प्रमोद सम्पन्न गरेर ती सबै शताधिक भाइ कौरवहरूका साथ पाण्डव–चतुष्टय पनि हस्तिनापुरतिर हाँस्दै खेल्दै प्रस्थान गरे । उता गंगा–प्रवाहमा फ्याँकिएका भीमसेन भने बेहोशी अवस्थामै पानीमा डुब्दै डुब्दै नागलोकमा पुगे । त्यहाँ अनेक नागकुमारहरू उनको भारी शरीरमुनि दबिए । अनि क्रुद्ध भएका कतिपय महा–विषधर नागहरूले उनलाई जथाभावी डस्न थाले । यसको परिणाम के भयो भने– दुर्योधनले उनलाई खुवाएको स्थावर विष नागहरूको जंगम विषले सबै काटेर लग्यो । भीमसेनको त्वचा फलाम झैं कडा थियो । उनका मर्म–स्थानमा धेरै नागहरूले डसेका थिए तापनि उनको बाक्लो र कडा छालालाई भेदन गर्न भने सकेनन् । विस्तार विस्तार कालकूट विषको प्रभाव क्षीण हुँदै गयो र भीमसेन त्यो बेहोशीको निद्राबाट सहसा जागे । उनले आफूलाई चारैतिरबाट नागहरूले बेरेको थाहा पाए, अनि सबलाई च्यापच्यापी समाउँदै थेचार्दै गर्न थाले । सारा नागहरू भागा रे भाग भए । धेरैको संहार भयो । बाँकी नागहरू त्राहि माम् गर्दै नागराज वासुकिको छेउमा पुगे र सारा घटनाको बेलिविस्तार लगाए ।
को रहेछ यस्तो जब्बर – भनेर हेर्दा त नागराजले महाबली भीमसेनलाई पो देखे । त्यसै बेला नागराज आर्यकले पनि उनलाई देखे । आर्यक पृथा अर्थात् कुन्तीका पिता शूरसेनका मावली हजुरबा थिए । यसरी आर्यकका नाती शूरसेन र शूरसेनका नाती थिए – भीम । आफ्ना दौहित्रको पनि दौहित्र महा–नातीलाई देखेर प्रसन्न हुँदै आर्यकले भीमसेनलाई बलियो अँगालोमा कसे । नागराज वासुकि पनि अत्यन्त प्रसन्न बने र विचार गरे अब यिनलाई कसरी अभिनन्दन गरुँ ? उनका मनमा अतुल धनराशि दिएर उनलाई आनन्दित बनाउने विचार आयो, तर आर्यकले भने – यिनले त्यसको के उपयोग गर्लान् र ? बरु यी महाबली भीमलाई हाम्रो दुर्लभ कुण्डको त्यो रस पिलाइदिउँ जसद्वारा एक हजार हात्तीहरूको समान बल यिनले प्राप्त गर्न सक्लान् । यस बालकले जति पिउन सक्छ त्यो कुण्डको रस पिलाउ– भनेर नागराजले अह्राएपछि नागहरूले भीमसेनलाई स्वस्ति–वाचनका साथ अभिनन्दन गरे । पवित्र भएर भीमसेनले पूर्वाभिमुख हुँदै उक्त कुण्डको बलबर्धक रस पिए । पिउँदै जाँदा उनले आठवटा कुण्डको रस पिइदिए । सन्तृप्त भएपछि नागराजले व्यवस्था गरेको दिव्य शय्यामा सुखपूर्वक शयन गरे । त्यो सारा रस पचाएर उनी पूरा आठ दिनपछि मात्र जागा भए । उनीमा असीमित बल भरिएको थियो । नागराजले भने – हे महाबाहु भीम, अब तिमीमा पूरा दश हजार हात्तीको बराबर बल भरिएको छ । तिमी जस्तोसुकै युद्धमा पनि अजेय हुनेछौ । अब तिमी यस दिव्य जलले स्नान गर । तिम्रा अनुपस्थितिमा माता कुन्ती र दाजुभाइहरू चिन्तित बनेका छन् । त्यसैले तिमी हस्तिनापुर प्रस्थान गर ।
भीमसेन स्नान गरेर शुद्ध बने । नागराजले दिएका स्वच्छ वस्त्र धारण गरे, श्वेत–पुष्पको माला पहिरिए, विष–नाशक सुवासित औषधहरूले मगमगाइरहेको दिव्य खीर खाए । समस्त नागजातिको अशेष आशीष लिएर हस्तिनापुर जान ठीक परे । एक बलशाली नागले उनलाई उठाएर त्यही गंगातटमा पुर्याइदियो जहाँबाट दुर्योधनले उनलाई अनन्त जलराशिमा घँचेटिदिएको थियो । त्यति कार्य सम्पन्न गरेर त्यो नाग हेर्दाहेर्दै अन्तर्धान भयो अनि भीमसेन प्रसन्नताका साथ सरासर राजदरबारतिर लागे ।
उता सबै भाइहरू आएका तर भीमसेन हराएकाले माता कुन्ती विचलित भइन् । जेठा छोरालाई सोधिन्, पत्तो लागेन । अधीर भएर वरपर सबैतिर खोजियो तर भीमसेनको कहीं अत्तोपत्तो थिएन । महात्मा विदुर पाण्डवका हितैषी थिए । उनका छेउमा गएर कुन्तीले आफ्नो दुःख बिसाइन् । अनि भनिन् –
दुर्योधनको नीयत खोटो छ, मलाई लाग्छ– उसैले केही न केही षड्यन्त्र गरेको हुनुपर्छ ।
महात्मा विदुरले भने – तपाइँका पाँचै भाइ सन्तान देवपुत्र हुन् । उनीहरू सबै दीर्घायु छन् । तिनलाई कसैले केही गर्न सक्दैन । ढुक्क भएर बस्नुहोस् । यथासमय उनी आउनेछन् । नभन्दै आठौं दिन प्रसन्न–मुख भीमसेन आइपुगे । सबै हर्षित भए ।
भीमसेनले आफ्नो आपबीती सबै बेलिविस्तार लगाए । सबै दुर्योधनको करतूत बुझेर क्रुद्ध भए । महात्मा विदुरले भने – यी सबै कुरा कसैलाई पनि नभन्नू । यसको सुइँको पायो भने दुर्योधनले अझ दागा धर्नेछ । त्यसपछि ती पञ्चपाण्डव सदा सावधान र सतर्क रहन थाले । एउटा पञ्जाका पाँच औंला झैं परस्पर सघन मेलका साथ रहन लागे ।
दुर्योधन कतिसम्म दुष्ट थियो भने– उसले भीमसेनको सारथिलाई घाँटी निचोरेर मारिदिएको थियो । भीमसेनलाई जिउँदै देखेर छक्क परेको दुर्योधनले पछि पनि भोजनमा मिलाएर उनलाई अझ कडा विष खुवाएको थियो । माइलो भाइ युयुत्सुले त्यसको सुइँको पनि भीमसेनलाई दिएको थियो । किनभने वैश्या–पुत्र युयुत्सु दुर्योधानादि झैं दुष्ट थिएन । भीमसेनले थाहा नपाएजस्तो गरी त्यो भोजन ग्रहण गरे र त्यो भयंकर विष सहजतासाथ सबै पचाइदिए ।
वास्तवमा भीमसेनको एउटा अर्को नाम वृकोदर हो । वृक नामक सर्वग्रासी अग्नि उनका उदरमा रहने भएकाले उनलाई वृकोदर भनियो । त्यस अग्निले सबै कुरा पचाउने सामर्थ्य राख्दथ्यो ।
यसरी पाँचै भाइ पाण्डवहरू पदे–पदे दुष्टमति दुर्योधन र उसका मतियारहरू कर्ण र शकुनिका छल–कपटमय प्रपञ्चले भरिएको षड्यन्त्रका शिकार बनिरहन्थे । तर पनि सावधानीका साथ सदा सुरक्षित रहन्थे । सबै षड्यन्त्र बुझ्दथे र अत्यन्त क्रुद्ध पनि बन्दथे, तर केही थाहा नै नपाए जसरी पनि रहने गर्दथे ।
……
महाभारत, आदिपर्व १२७ र १२८ अध्यायबाट ।
२०८१ पौष ४ गते शुक्रवार,
ॐ अक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










