देवर्षि नारदको उपदेश शिरोपर गरी निर्धारित गरिएको नियमानुसार, पञ्चपाण्डवले द्रौपदीसँग सुखमय दाम्पत्य जीवन व्यतीत गरिरहेका थिए । हस्तिनापुरको आधा राज्य पाएपछि उनीहरूले इन्द्रप्रस्थलाई राजधानी बनाएका थिए । भगवान् श्रीकृष्ण र बलरामको स्नेहमय मैत्री अनि माता कुन्तीको वात्सल्यमय छत्रछायामा उनीहरूको जीवन शुभ–सौभाग्यशील बनेको थियो । कृष्णा द्रौपदी ती पाँचै भाइकी आज्ञावर्तिनी एवम् अनुरागवती थिइन् । नियमानुसार प्रथमतः द्रौपदी एक वर्षका लागि महाराज युधिष्ठिरका सहवासमा रहेकी थिइन् ।

एक दिनको कुरा हो– एक जना ब्राह्मणको गोठबाट चोरहरूले गाई चोरेर लगेछन् । ती ब्राह्मण फरियाद लिएर पाण्डवसामू आए । चोर पत्ता लगाइदिनुपर्‍यो, गाई फिर्ता गराइदिनुपर्‍यो, चोरलाई उचित दण्ड दिलाइदिनुपर्‍यो भन्ने उनको माग थियो । गाई नहुँदा मेरो सारा यज्ञकृत्य लोप भयो, लौन चाँडै अस्त्र लिएर आउनुहोस्, चोरलाई दण्ड दिनुहोस्– भनेर ती ब्राह्मण उच्च स्वरमा रुन–कराउन लागे ।

        पाण्डुनन्दन वीरवर अर्जुनले तिनका कुरा सुनेर उनलाई सान्त्वना दिंदै भने:

यसरी नआत्तिनुहोस्, नरुनुहोस् । म त्यस चोरलाई समातेर दण्ड पनि दिलाउँला, तपाईंको गोधन पनि फिर्ता गराउँला ।

यति भनेर अर्जुन ती ब्राह्मणलाई अभयदान दिएर चोरहरूलाई दण्ड दिन उद्यत भए । तर, धनुर्बाण लिन  खोज्दा पो उनी झसंग भए, किनभने सारा शस्त्रास्त्र त्यहीं राखिएको थियो– जहाँ अहिले महाराज युधिष्ठिर महारानी कृष्णासँग एकान्तवासमा रहेका थिए । उनी बिलखबन्दमा परे । ब्राह्मणका गौधनको रक्षा नगरुँ भने महाराजको बदनामी हुने, लोकापवाद फैलने, पाप लाग्ने । गरुँ भने धनुर्बाण लिन जाँदा आफैंले निर्धारित गरेको नियमभङ्ग हुने, फलतः दण्डभागी हुनुपर्ने । कुनै भाइ द्रौपदीसँग एकान्तमा बसेका ठाउँमा अर्को भाइ जान निषिद्ध थियो, गएमा बाह्र वर्षको वनवास भोग्नुपर्ने दण्डको विधान पनि सर्वसम्मतिले पारित गरिएको थियो ।

तर, अर्जुनका अघि यो धर्मसङ्कट धेरै वेरसम्म टिक्न सकेन । बरु दण्ड भोग्नुपरे पनि परोस्, तर आफ्नो धर्म पूरा गरेरै छोड्ने, कर्तव्यपालना गरेरै छोड्ने उनले निर्णय गरे । उनी द्रौपदीसँग एकान्तवास गरिरहेका महाराजसँग आज्ञा लिएर घरभित्र पसे र चूपचाप धनुर्बाण लिएर निस्किए । बाहिर आएपछि शस्त्रास्त्रले सुसज्जित भएर तीव्रगामी रथमा आरुढ भएर चाँडै नै अर्जुनले ती चोरहरूलाई फेला पारे । अनि, तिनलाई यथापराध दण्ड दिएर ब्राह्मणको गोधन उनलाई फिर्ता दिलाए ।

         काम सकेर जसै वीरवर अर्जुन राजधानी फिरे, तत्काल धर्मराज युधिष्ठिरसामू विन्ती गरे–

राजन्, मैले द्रौपदीसँग एकान्तवासका वेला हजुरका सामू आएर नियमभङ्ग गरेको छु । अतः विधान अनुसार नै मलाई यसको प्रायश्चित्तस्वरूप बाह्र वर्षको वनवासका लागि आज्ञा दिनुहोस् ।

       उनका कुरा सुनेर महाराज युधिष्ठिरले दुःखी हुँदै भने–

होइन भाइ, यसमा तिम्रो कुनै दोष छैन । वास्तवमा भाइ र बुहारी एकान्तमा रहेका वेला दाजु त्यहाँ जानुमा पो दोष हुन्छ त, दाजु र भाउजू एकान्तमा रहेका वेला त्यहाँ भाइ जानुमा त कुनै दोष छैन । यही शास्त्रीय विधान हो ।

      अर्जुनले भने–

होइन महाराज, क्षमा गर्नुहोला । हामीले बनाएको नियममा यी कुरा परेका छैनन् । सत्यको पालना गर्ने काममा म कदापि विचलित हुने छैन । मलाई १२ वर्षको वनवासका लागि आज्ञा दिनुहोस् ।

अर्जुनको अटल संकल्पका अगि महाराज युधिष्ठिरको केही लागेन, उनले भारी मनले अर्जुनलाई विदा गरे । यसरी इन्द्रप्रस्थ छोडेर अर्जुनले १२ वर्षका लगि वनतिर प्रस्थान गरे ।

……

        तर, वनयात्रामा अर्जुन एक्लै थिएनन्, धेरै वेदवेदाङ्गविद् भिक्षाजीवी ब्राह्मणहरू पनि उनका साथ लागेका थिए । विभिन्न वन, सरोवर, नदी, सागर, देश–देशावर घुम्दै फिर्दै उनी गङ्गाद्वार पुगे र त्यहीं डेराडण्डा जमाए । शुद्धचित्त अर्जुन ब्राह्मणहरूका साथमा त्यहाँ बसेर यज्ञ गर्दथे । एक दिन गङ्गास्नान गरी पितृतर्पण सम्पन्न गरेर जलबाट निक्लन लाग्दा नागराजकी छोरी उलूपीले पानीभित्रैबाट उनलाई समातिन् । वास्तवमा उलूपी वीरवर अर्जुनप्रति आसक्त बनेकी थिइन् । उनले अर्जुनलाई नागराज कौरव्यका भवनमा लिएर गइन् । त्यहाँ आफ्नो समस्त अग्निहोत्र कर्म सम्पन्न गरिसकेपछि अर्जुनले सोधे–

हे सुभगे, तिमी को हौ, मलाई किन यहाँ लिएर आएकी ?

उलूपीले भनिन्–

हे राजन्, ऐरावत नागका कुलमा कौरव्य नाग जन्मिए, म तिनकै छोरी उलूपी हुँ । म हजुरप्रति आसक्त छु, हजुरसँग समागमको आकांक्षा राख्दछु ।

       अर्जुनले भने–

हे नागकन्ये, म तिम्रो इच्छा पूरा गर्न असमर्थ छु, किनभने वनवासका वेला ब्रह्मचर्यमा रहनुपर्ने मेरो नियम छ ।

      उलूपीले भनिन्–

त्यो सबै मलाई थाहा छ । तर हे पृथुलोचन, आर्तहरूको त्राण गर्नु हजुरको पहिलो धर्म हो, म हजुरप्रति अनुरक्त छु । म कामपीडिता छु, मन्मथहता छु, हजुरसँग समागम–लाभ भएन भने यो निश्चय जान्नुहोस् कि– म प्राण–विरहिता बन्नेछु । कृपया करुणा गर्नुहोस् । मसँग समागम गरेर मलाई धन्य बनाउनुहोस्, मेरो प्राणरक्षा गर्नुहोस् ।

उलूपीको कातर प्रार्थना र समागम–याचनालाई फलीभूत गराउनु अब अर्जुनको धर्म हुन पुग्यो । सो धर्मको परिपालन गर्दै वीरवर अर्जुनले त्यो रात नागराजको घरमै बिताए र समागमपूर्वक उलूपीको मनोकांक्षा पूर्ण गरे । भोलिपल्ट बिहानै उलूपीले अर्जुनलाई गंगाद्वार हरिद्वारको गङ्गातटमा छोडेर कृतज्ञतापूर्वक विदा भई । जाँदाजाँदै उनले आफ्ना प्रियतम अर्जुनलाई यस्तो वर दिइन्–

हजुर जलमा सर्वत्र अजेय हुनुहुनेछ, सारा जलचरहरू हजुरको वशमा हुनेछन् ।

कालान्तरमा अर्जुनसँग समागमको फलस्वरूप उलूपीका गर्भबाट अत्यन्त मनोहर बलशाली र पराक्रमी पुत्र जन्मियो जो इरावान्का नामले विख्यात भयो ।

…..

        त्यसपछि अर्जुन हिमालयको यात्रामा निक्लिए । अगस्त्य–वट, वाशिष्ठ–पर्वत, भृगुतुंग–पर्वत र हिरण्य–बिन्दु पर्वतमा गएर स्नानादि पवित्रकृत्य सम्पन्न गरे । अनि, हिमालयबाट ओर्लिएर  उत्पलिनी, नन्दा, अपरनन्दा, कौशिकी, महानदी, गयातीर्थ र गंगाजीका पवित्र तटहरूमा परिभ्रमण गर्दै अगि बढे । तीर्थसेवन, ब्राह्मणपूजन, गौदान आदि पुण्यकर्म गर्दै उनी अंग, बंग, कलिंग आदि देशहरूमा भ्रमणशील रहे । आखिरमा समुद्रतटबाट अघि बढ्दै महेन्द्र–पर्वतको दर्शन गरेर मणिपूर पुगे । त्यहाँ राजा चित्रवाहनसँग उनको भलाकुसारी भयो । तिनकी छोरी चित्राङ्गदा अत्यन्त सुन्दरी थिइन् । अर्जुनले तिनको हात मागे ।

       चित्रवाहनले भने–

हे वीरवर, हाम्रा कुलमा पहिले प्रभञ्जन नाम गरेका राजा थिए । तिनका सन्तान थिएनन् । कठोर तपस्या गरेर उनले महादेवलाई प्रसन्न गराए । देवाधिदेवले दर्शन दिएर वरदान दिनुभयो– तिम्रा वंशमा सदा एक एक सन्तान हुँदै जानेछ, तथास्तु ।

यसरी हाम्रा कुलमा सदा राज्यको उत्तराधिकारी स्वरूप एक एक पुत्र जन्मिने परम्परा रह्यो । तर दुर्दैववश मेरी एकमात्र सन्तान यही छोरी हो । मैले यिनैलाई छोरो बनाएको छु । यदि मैले यिनलाई बिहे गरेर पतिगृह पठाउने हो भने मेरो राज्य उत्तराधिकारी–विहीन बन्नेछ । तसर्थ हे धनञ्जय, मेरो एउटै निवेदन छ– हजुरसँगको प्रणयसम्बन्धबाट यिनले जुन छोरो जन्माउलिन् उही हाम्रो कुलपरम्पराको उत्तराधिकारी बन्नेछ । यही मेरो शर्त हो । यदि यो शर्त हजुरलाई मञ्जूर छ भने म सहर्ष हजुरलाई मेरी छोरी अर्पित गरुँला ।

अर्जुनले चित्रवाहनलाई तथास्तु भनेर चित्राङ्गदाको पाणिग्रहण गरे । तीन वर्षसम्म अर्जुन तिनै सुन्दरीसँग मणिपूर–नगरीमा आनन्दपूर्वक रहे । तिनका गर्भबाट एक पुत्र जन्मियो, जो बभ्रुवाहनका नामले प्रख्यात भयो । छोरो जन्मिएपछि प्रगाढ प्रणयालिङ्गनका साथ चित्राङ्गदासँग विदा भएर अर्जुन पुनः यात्रारत रहे र तीर्थाटन गर्न लागे ।

……..

महाभारत आदिपर्व, २१२ देखि २१४ अध्यायमा आधृत ।

२०८२ ज्येष्ठ १६ गते शुक्रवार, ॐअक्षरालयः ।