स्वयंवरसभामा परमसुन्दरी दमयन्तीले राजा नललाई पतिदेवका रूपमा वरण गरिसकेपछि, नव–दम्पतिलाई शुभ–आशीष दिएर इन्द्रादि लोकपालगण मत्र्यलोकबाट आ–आफ्ना दिव्यलोकतिर लम्किंदै थिए, अन्तरीक्ष–मार्गमा कलियुगका साथ लागेर आउँदै गरेका द्वापर युगसँग उनीहरूको बाटैमा जम्काभेट भयो ।
इन्द्रले सोधे :
कलिजी, द्वापरका साथ कहाँ जाँदैछौ ? भन त ।
कलिले भन्यो :
हे देवराज, मेरो मन दमयन्तीप्रति आसक्त बनिसकेको हुँदा, स्वयंवरसभामा गएर उनलाई वरण गरूँ भनेर हिंडेको हुँ ।
देवराजले हाँस्दै भने :
तर, उनको स्वयंवर त भइसकिगो नि । हामी अहिले त्यहींबाट सरासर आउँदैछौं । उनीले त हाम्रै अगाडि राजा नललाई वरमाला पहिराइदिएर पति बनाइ पनि सकिन् ।
इन्द्रका कुरा सुनेर कलिका रीसको पारा चढ्यो । उसले भन्यो :
हजुरहरूजस्ता दिव्य लोकपालहरूलाई अनादर गरेर दमयन्तीले सर्वसाधारण मनुष्यलाई वरण गर्ने धृष्टता कसरी गरिन् हँ ! तिनीलाई अब देवगणका अपमानको मजा नचखाई त कहाँ हुन्छ र ?
इन्द्रले भने :
होइन कलि, दमयन्तीले त हामीसँग आज्ञा लिएरै नललाई वरण गरेकी हुन् नि त । राजा नल सर्वगुणसम्पन्न छन्, उनी चानचुने मानिस कहाँ हुन् त ? कुनचाहिं राम्री केटीले उनलाई मन नपराउँदी होलिन् र ? जसले कठोर ब्रह्मचर्य व्रतका साथ विधिवत् चारै वेदमात्र होइन पञ्चम वेदसमेत समस्त इतिहास–पुराण आदि कण्ठ पारेका छन्, जसले धर्मको सारा रहस्य बुझेका छन्, जसका घरमा सदा पञ्चयज्ञ गरेर समस्त देवतालाई तृप्त तुल्याइन्छ, जो सदा अहिंसा र सत्यव्रतलाई दृढतासाथ पालन गर्दछन्, जसमा लोकपालसरह दक्षता, ज्ञान, तप, शौच, शम र दम आदि गुणहरू नित्य निवास गर्दछन्, त्यस्ता नललाई कसले मन नपराउँदो हो ? हे कलि ! त्यस्ता पुरुषश्रेष्ठलाई पनि जसले शाप दिन चाहन्छ, यो बुझ कि उसले आफैंलाई अभिशप्त तुल्यायो । यस्ता सद्गुणसम्पन्न नलमाथि जसले बद्नीयत राख्ला त्यो स्वयं अँध्यारो नरकमा आफैं जाकिएला नि बाबै !
यति भनेर समस्त लोकपालहरूका साथ देवराज इन्द्र आफ्नो बाटो लागे ।
यता कलिले द्वापरलाई भन्यो :
द्वापर दाइ, म आफ्नो क्रोधलाई यसै त संयमित गर्न सक्दिनँ, अब म स्वयं नलभित्र प्रवेश गर्दछु र उनलाई उनका राज्यबाट वञ्चित गराइदिन्छु, ताकि उनी दमयन्तीसँग रमण गर्न नपाऊन् । द्वापर दाइ, अब तिमीले पनि जुवाको पासामा लुकेर मलाई सहायता गर्नु पर्यो नि त !
यसरी द्वापरसँग मिलेर कलि राजा नलका दरबारमा गयो । त्यहाँ लुकेर दिनरात नलका गतिविधि र आचरणहरूलाई निरन्तर तीखो नजरले नियालिरह्यो । कलिले मनमनै योजना बनाइसकेको थियो कि जब नलले कुनै गल्ती गर्लान् त्यसै क्षण त्यसै कमजोरीको छिद्रबाट छिरेर नलको पतन गराउँला । हुँदा हुँदा १२ वर्ष बिते, तर राजा नलका कुनै पनि कर्ममा एउटै पनि छिद्र नदेखिएपछि कलि निराश हुन लागिसकेको थियो ।
तर, एक दिन राजा नलले लघुशंका गरिसकेपछि हात मुख त धोए तर गोडा धुनचाहिं बिर्सिए र तेसै स्थितिमा साँझको सन्ध्योपासना गर्न बसे । बस्, कलिलाई नलभित्र प्रवेश गर्ने बहाना मिलिहाल्यो अनि ऊ तत्काल नलभित्र प्रवेश गर्यो र उनको मन र बुद्धिमाथि अधिकार जमाउन थाल्यो ।
यतातिर राजा नलभित्र आविष्ट भइसकेपछि कलिले अर्को रूप धारण गरेर पुष्करका छेउ गएर भन्यो : ल हिँड अब, राजा नलका साथमा जुवा खेल । मसँग हिँड, मेरा साथमा रहेपछि तिमीले सजिलै जुवामा नललाई जित्न सक्नेछौ । नलमाथि विजय प्राप्त गर अनि उनको श्री सम्पत्ति र राज्यमाथि अधिकार प्राप्त गरेर मौज गर ।
पुष्कर नलका मन मिल्ने भाइ थिए । कलिका कुराले सम्मोहित बनेर पुष्कर नलसँग जुवा खेल्न गए । कलिचाहिँ साँढे गोरुको रूप धारण गरेर पुष्करका पछि लाग्यो ।
नलका दरबारमा प्रवेश गरेर पुष्करले सोझै नलसँग आग्रहपूर्वक जुवा खेल्ने प्रस्ताव राखे । राजा नल पनि कलिले आविष्ट बनेका हुनाले एकोहोरिइहाले । पुष्करको प्रस्ताव सहर्ष स्वीकार गर्दै तत्काल जुवा खेल्ने आसन जमाएर, पासा फिँजाएर बसिहाले । आफनी प्रियतमा दमयन्तीसँग एक शब्द पनि सोधेनन् । दमयन्ती विस्मयभावले हेरिरहेकी थिइन् । राजाले जुवा खेल्न थालिहाले । हेर्दा हेर्दै सुवर्ण, रत्न, हीरा, जवाहिरात, रथ, गरगहना र बहुमूल्य वस्त्र आदि दाउमा हाल्दै, हार्दै जान थाले ।
एक कान, दुइ कान मैदान हुँदै राजा नल जुवामा एकोहोरिएको कुरा जगजाहेर भयो । समस्त पुरवासीहरू मन्त्रीगणका साथ राजासँग भेट्न आए र महारानी दमयन्तीलाई निवेदन गरे : सारा पुरवासीहरू भेट्न आएका छौँ, राजालाई जाहेर गरिबक्सियोस् । दुःखले दुर्बल र कातर बनेकी दमयन्तीले राजा नलका छेउ गएर करुण स्वरमा बिन्ती बिसाइन्, तर कलि आविष्ट भएका नलले एक सुनेनन् । चूपचाप खेलि नै रहे । दमयन्ती आजित भइन् । सारा पुरवासीहरू लज्जित हुँदै आ आफ्ना घर फर्किए र बाटामा कुरा गर्दै गए :
अब यी राजा नलको राज्य धेरै समय टिक्नेवाला छैन ।
स्थिति दिनानुदिन बिग्रँदै गयो । जुवाको त्यो अनर्थकारी खेल एक दिन होइन, दुई दिन होइन, तीन दिन होइन, महिनौंसम्म चलि नै रह्यो । पुण्यश्लोक राजा नलले हार्दै गए, हार्दै गए ।
दमयन्तीले सावधानीका साथ हेरेर के महसूस गरिन् भने महाराज नल त उन्मत्त झैं बनेर जुआ खेलिरहेका छन् । उनको त्यस भावभंगिमालाई देखेर दमयन्तीका मनमा भय र शोकको सञ्चार एकसाथ भयो ।
यकायक उनका मनमा के लाग्यो भने राजा नलमाथि ठूलो संकट आउँदैछ । उनको अब सर्वस्व हरण हुन लाग्दैछ । उनले बृहत्सेना नाम गरेकी धाइलाई बोलाएर महाराजले के–के हारिसके भन्ने बारे बुझ्न पठाइन् र निरन्तर उनको हार भइरहेको कुरा थाहा पाइन् । अनि धाइलाई आफ्ना विश्वस्त, वाष्र्णेय नाम गरेका सारथिलाई बोलाउन पठाइन् । उनले मनमनै आगामी संकटको अनुमान गरिसकेकी थिइन् र त्यसलाई सामना गर्ने पूर्वतैयारीमा जुट्न लागेकी थिइन् । सारथि आएपछि उनले भनिन् :
हे सारथि, तिमी शीघ्रगामी घोडाहरू रथमा जोतेर, यी मेरा दुवै सन्तान देवसेन र देवसेनालाई लियेर कुण्डिनपुर जाऊ । त्यहाँ यी दुवैलाई, यस रथलाई अनि घोडाहरूलाई पनि मेरा बन्धुबान्धवलाई सुम्पिदेऊ अनि तिमीलाई पनि इच्छा लागे त्यहीं बस्नू, नलागे जहाँ मन लाग्छ जानू ।
दमयन्तीको यो अप्रिय आज्ञा सुनेर सारथिले मन्त्रीहरूसँग पनि सरसल्लाह गरे, अनि सबैको आज्ञा लियेर उनले दुःखी बन्दै विदर्भदेशतिर प्रस्थान गरे । त्यहाँ पुगेर दमयन्तीको आज्ञानुसार नै दुवै राजकुमार राजकुमारी, रथ र उत्तम घोडाहरूलाई समेत भीमदरबारमा लगेर जिम्मा लगाइदिए र राजा नलको दुर्दशामाथि अफसोस गरेर भौंतारिंदै जाँदा अयोध्या नगरीमा पुगे । त्यहाँ राजा ऋतुपर्णका दरबारमा सारथिकै पदमा नियुक्त बनेर जीविका निर्वाह गर्न लागे ।
यता, वाष्र्णेय गइसकेपछि क्रमशः राजा नलको सारा धन सम्पत्ति र समस्त राज्यसमेत जुवाका दाउमा पुष्करले हरण गरे । राज्य पनि हत्याइसकेपछि हाँस्दै पुष्करले नललाई सोधे :
अझै पनि जुवा खेल्ने रहर पूरा भएको छैन कि ? तर, अब तिमीसँग दाउमा लगाउने कुरा नै के बाँकी छ र ? अनि फेरि भने : अब त यिनै दमयन्ती मात्र बाँकी छन् तिमीसँग । कि हान्ने त यिनलाई पनि दाउमा ?
पुष्करका कुरा सुनेर पुण्यश्लोक राजा नलको हृदय विदीर्ण झैं भयो, तर उनी केही बोलेनन् ।
अन्त्यमा अत्यन्त दुःखित हुँदै महायशस्वी राजा नलले पुष्करतिर हेर्दै आफ्ना अंग प्रत्यंगका सारा आभूषणका साथ आफ्ना बहुमूल्य वस्त्रहरू पनि खोलेर पुष्करका अगि थुपारिदिए र केवल एउटा अधोवस्त्र मात्र धारण गरेर खास्टोसम्म पनि नओढीकन समस्त सम्पदासहित दरबार पनि त्यागेर आफन्तहरूको मनलाई शोकसन्तप्त तुल्याउँदै उनी राजभवनबाट बाहिर निस्कन लागे । यता दमयन्तीका शरीरमा पनि केवल एउटै वस्त्र थियो । उनी पनि अँध्यारो मुख लाएर चूपचाप आफ्ना प्रियतम राजा नलका पछि पछि लागिन् ।
….
प्रिय पाठक बन्धु,
नल दमयन्तीको रोचक उपाख्यान : ४, आउँदो शुक्रवार प्रस्तुत गरिनेछ ।
…
महाभारत, वनपर्व, अध्याय ५८ देखि ६० अध्यायमा आधृत
२०८२ साल पौष २ गते शुक्रवार, ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









