राजा द्रुपदको मन असह्य अपमानको पीडाले आहत बनेको थियो । गुरु द्रोणाचार्यले उनलाई अपमानित गरेका थिए । वास्तवमा यो एक–अर्कालाई अपमानित गर्ने सिलसिला स्वयं द्रुपदले आरम्भ गरेका थिए ।
दुवै बाल्यकालमा एउटै गुरुकुलमा पढ्दथे । द्रुपद थिए पृषतपुत्र राजकुमार । द्रोण थिए भरद्वाजपुत्र ऋषिकुमार । उनीहरूका बीच आत्मीयता एवम् अन्तरङ्ग सम्बन्ध निकै झ्याङ्गिएको थियो । दुवै घनिष्ठ मित्र बनेका थिए । त्यसै बेला द्रुपदले आफू राजा भएपछि राज्यको सारा सुखभोगमा द्रोणलाई पनि बराबर सहभागी बनाउने वचन दिएका थिए । पछि द्रुपद पाञ्चालदेशका राजा भए । द्रोण गुरु परशुरामसँग सकल शस्त्रास्त्रविद्या ग्रहण गरेर त्यसबेलाका सर्वोत्तम शस्त्रास्त्रविद् बने । उनले कृपीसँग बिहे गरे । तिनीहरूबाट अश्वत्थामा जन्मिए । तर द्रोण परम आर्थिक संकटमा थिए । उनको कुनै कामधाम थिएन । कुनै सानोतिनो आजीविकाले जीवन–निर्वाह गर्नु उनको परम–योग्यता र स्वाभिमानका दृष्टिले निषिद्ध कर्म हुन जान्थ्यो । आफूलाई सुहाउने कुनै उपयुक्त काम उनले पाएका थिएनन् । उनी कतिसम्म निर्धन थिए भने सानो केटो अश्वत्थामालाई खुवाउने दूध समेत जुटाउन नसक्दा उनले अपमानित हुनु परेको थियो । छिमेकका ऋषिपुत्रहरूले दूधको नाममा पीठो घोलेको पानी अश्वत्थामालाई पिउन दिन्थे । अबोध बालक अश्वत्थामा त्यसैलाई पनि दूध मानेर पिउँदै मक्ख पर्दथे । यस्तो अत्यन्त विपन्न अवस्थाबाट पीडित भइरहेका बेला अचानक उनलाई आफ्ना बालसखा द्रुपदको याद आयो र उनी सपरिवार पाञ्चालको राजधानी गए ।
तर, सोचेको भन्दा ठीक विपरीत भयो । राजा भएपछि द्रुपदमा अपरिमित अभिमान भरिइसकेको थियो । उनले द्रोणको मित्रताप्रति ठाडो असमति जनाए । आफूले दिएको वचनको आफैंले धज्जी उडाए र भने : केको मित्र नि ? तेस्तो केटाकेटी बेलाको कुरा पनि कसैले याद गरिरहन्छ ? हामीजस्ता राजाका मित्र त राजा नै पो हुन्छन् त, तिमीजस्ता दरिद्र बाहुन कसरी मित्र हुन सक्छन् ?
यसरी द्रुपदले द्रोणको अपमान गरेर यो सिलसिला आरम्भ गरेका थिए ।
यस घटनापछि द्रोणले मनमनै यस अपमानको जवाफ राम्रैसँग फर्काउने संकल्प लिइसकेका थिए । पछि उनी समस्त कुरुकुलकुमारका गुरु बने । उनले पूर्ण मनोयोगले उत्तम तालीम दिएर अर्जुनलाई त्यस बेलाको सर्वोत्तम धनुर्धर बनाएका थिए । दीक्षान्तमा उनले आफ्ना परमशिष्य अर्जुनसँग गुरुदक्षिणा मागे :
राजा द्रुपदलाई पाता फर्काएर मेरा सामू हाजिर गराऊ ।
अर्जुनले सहजतासाथ गुरुदक्षिणा दिए । उनले द्रुपदलाई मात्र होइन, उनको राज्यलाई पनि गुरु द्रोणाचार्यको सेवामा पाता कसेर हाजिर गराए । त्यसबेला राजा द्रुपदलाई सम्बोधन गरेर द्रोणले यसो भने :
कसो द्रुपद, अब त म पनि राजा भएँ नि । मसँग दोस्ती गर्छौ ? राजा भएपछि राजासँग मात्रै दोस्ती गर्नुपर्ने हो क्या र ? लौ भैगयो । यो मैले जितेको तिम्रो राज्यको आधाभाग म तिमीलाई नै दिन्छु । आऊ, तिमी मेरा प्रिय बालसखा, अब हामी मित्रताको नवीकरण गरौं ।
यसरी द्रोणले पनि उनलाई नराम्ररी अपमानित गरेर दुर्भावको सिलसिला जारी राखेका थिए ।
राजा द्रुपदले चुइँक्क नगरीकन द्रोणको मित्रता–प्रस्तावलाई स्वीकारेका थिए । तर, उनको मनमा अपमानको तीखो काँडो बिझिसकेको थियो । यसको बदला कसरी चुकाऊँ भन्ने चिन्ताले उनलाई रातदिन एक पल पनि चैन थिएन ।
द्रुपदका घैंटामा घाम लागेको थियो – ब्रह्म–बलका अगाडि क्षत्रिय–बलको केही लाग्ने रहेनछ :
प्रभावं विनयं शिक्षां द्रोणस्य चरितानि च
क्षात्रेण च बलेनास्य चिन्तयन् नाध्यगच्छत ।
प्रतिकर्तुं नृपश्रेष्ठो यतमानोùपि भारत
अभितः सोùथ कल्माषीं गङ्गाकूले परिभ्रमन् ।
ब्राह्मणावसथं पुण्यमाससाद महीपतिः
नत्र नास्नातकः कश्चिन्न चासीदव्रती द्विजः ।। मभा, आप, १६६ अ, ४,५,६ श्लो ।
नृपश्रेष्ठ द्रुपदले द्रोणाचार्यसँग बदला लिनका लागि जति यत्न गर्दा पनि क्षात्रबलले उनलाई परास्त गर्ने कुनै उपाय देखेनन् । द्रोणाचार्यको प्रभाव, विनय, शिक्षा एवम् चरित्रका अगि उनको केही लाग्दैनथ्यो । अनि, उनी ब्राह्मणको सहयोग लिन भनेर कृष्णवर्णा यमुना र श्वेतवर्णा गंगाका तटहरूमा खोज–तलाश गर्दै एक दिन ब्राह्मणहरूको एउटा पवित्र बस्तीमा पुगे । उनले के थाहा पाए भने– त्यहाँ एक जना पनि त्यस्तो ब्राह्मण थिएन जसले विधिवत् ब्रह्मचर्य पालन नगरेको होस्, जसले वेद–वेदाङ्गको शिक्षा हासिल नगरेको होस् ।
तिनै ब्राह्मणहरूका बीच रहेर त्यहाँ उनले कठोर व्रत पालन गरिरहेका दुई जना तेजस्वी ब्रह्मर्षिलाई देखे । तिनीहरू दाजुभाइ थिए । तिनको नाम थियो : याज र उपयाज । द्रुपदले भाइचाहिंलाई यसरी फकाए :
हे विप्रवर उपयाज, मेरा लागि हजुरले एउटा यस्तो यज्ञ गर्नुपर्यो जसका प्रभावले द्रोणाचार्यलाई मार्न सक्ने छोरो मैले पाउन सकूँ । काम पूरा भएपछि म हजुरलाई दस करोड गाई टक्रयाउँला, अथवा हजुरलाई जे चाहिन्छ त्यो सबै म अर्पण गरुँला ।
उपयाजले भने : म यस्तो नीच काम गर्न सक्दिनँ ।
तैपनि ढीट कसेर द्रुपदले उनको अनवरत सेवा गरिरहे र उनलाई कसै गरी भए पनि राजी गराउने प्रयत्न गरिरहे । एक वर्ष बितेपछि एक दिन उपयाजले राजा द्रुपदलाई भने :
हे राजन्, मेरा दाजु याज एकपटक सघन वनमा विचरण गरिरहेथे । उनले बाटामा एउटा फल लडिरहेको देखे । त्यो चोखो हो होइन केही विचार नगरीकनै उनले त त्यो फल उठाए पो! म पनि पछिपछि आउँदै थिएँ । मलाई के लाग्यो भने यिनलाई कुनै अपवित्र वस्तु ग्रहण गर्न पनि कुनै संकोच लाग्दो रहेनछ । गुरुकुलमा रहँदा पनि उनी अर्काले त्यागेको भिक्षाभाग केही विचारै नगरी कपाकप खाइदिन्थे र आहा, कति मीठो भन्दै बयान पनि गरिरहन्थे । यी सबै कुरा विचार गर्दा मलाई के लाग्दछ भने उनी फलका अत्यन्त लोभी हुन् । त्यसैले हे राजन्, तपाईं उनैका समक्ष जानुहोस् । उनले तपाईंले चाहेजस्तो यज्ञ अवश्य गराइदेलान् ।
द्रुपदले यो सबै कुरा सुने, अनि मनमनै याजका चरित्रको निन्दा पनि गरे । तर आफ्नो काम त जसरी भए पनि फत्ते गराउनै थियो त्यसैले उनी याजका आश्रममा गए । उनलाई पूजा सत्कार गरिसकेपछि भने :
हे भगवन्, म हजुरलाई अस्सी हजार गाई अर्पण गर्छु । मेरा लागि हजुरले एउटा यस्तो यज्ञ गरिदिनुपर्यो जसका प्रभावले द्रोणलाई मार्न सक्ने मेरो छोरो जन्मियोस् । उनले मेरो सारै नै अपमान गरेका छन् । द्रोणाचार्य यति प्रचण्ड शक्तिशाली छन् कि उनका अगि कसैको केही लाग्दैन । यस्तो लाग्दछ भगवान् परशुराम झैं संसारका सबै क्षत्रियको उन्मूलन गर्न नै उनी जन्मिएका हुन् । उनको छ हात लामो धनुषका अगि मेरो केही लागेन । उनको ब्रह्मतेजका अगि मेरो क्षात्रबलको केही जोर चलेन । त्यसैले म हजुरका ब्रह्मतेजको शरणमा आएको हुँ ।
अनि फेरि अन्त्यमा अरु लोभ देखाउँदै भने :
काम पूरा भएपछि म हजुरलाई दश करोड गाई टक्रयाउँछु ।
लोभी याजले तुरुन्तै तथास्तु भने ।
…..
यो धेरै ठूलो काम हो भन्ने विचार गरेर याजले आफ्ना निष्काम भाइ उपयाजसँग पनि सहयोग मागे । त्यसपछि ती महातपस्वी याजले राजालाई अभीष्ट–प्राप्तिका निम्ति यज्ञकर्मको उपदेश दिए । अनि, द्रोणको घातक पुत्रप्राप्ति–हेतु संकल्प लिएर राजा द्रुपदले सारा तैयारी सम्पन्न गरे । बृहत् रूपमा यज्ञ सम्पन्न भयो । यज्ञान्तमा याजले द्रुपद–महिषीलाई हविष्य ग्रहण गर्न आज्ञा दिए र भने :
हे पृषतकी पुत्रवधू, चाँडै हविष्य ग्रहण गर्न आऊ, तिमीलाई एक पुत्र र एक पुत्री प्राप्त हुनेवाला छन् । तिनले तिम्रो कुलको वृद्धि गर्नेछन् ।
तर, रानीले भनिन् :
हे ब्राह्मणदेव, अहिले मेरा मुखमा ताम्बूल आदिको रंग लागेको छ । म स्नानादि गरेर शुद्ध बनेर आउँछु । एकै छिन् पर्खिनुहोस् न ।
याजले भने :
यस हविष्यलाई स्वयं याजले पकाएर ल्याएको हो, स्वयं उपयाजले अभिमन्त्रित गरेको हो । अब, तिमी आऊ कि नआऊ । यो उत्तम हविष्यले यजमानको कामनालाई किन पो पूर्ण नगर्ला र ?
यति भनिसकेर याजले त्यो संस्कारित हविष्यलाई मन्त्रपूर्वक यज्ञमा होमिदिएका मात्र के थिए, तत्काल त्यस जाज्वल्यमान यज्ञीय अग्निज्वालाबाट अग्निदेव समान एक तेजस्वी कुमार प्रकट भए :
ज्वालावर्णो घोररूपः किरीटी वर्म चोत्तरम्
बिभ्रत् सखड्गः सशरो धनुष्मान् विनदत् मुहुः ।
सोध्यारोहत् रथवरं तेन च प्रययौ तदा
ततः प्रणेदुः पञ्चालाः प्रहृष्टाः साधु साध्विति ।। १६६,४० र ४१श्लो
त्यस कुमारको अङ्गकान्ति अग्निज्वाला समान थियो, रूप भयोत्पादक थियो, शिरमा किरीट र शरीरमा कवच, हातमा खड्ग, बाण र धनुष धारण गरेर त्यो वारंवार गर्जना गरिरहेको थियो । एकै पलमा ऊ एउटा उत्तम रथमा यसरी सवार भयो मानौँ अहिले नै युद्ध गर्नका निम्ति प्रयाण गर्न लागेको होस् । यो दृश्य देखेर पाञ्चालहरू परमहर्षित भए र साधु ! साधु !! भनेर चिच्याए ।
त्यसैवेला यकायक आकाशवाणी भयो :
यी राजकुमारले पाञ्चालहरूको डर भगाइदिनेछन् । यश बढाइदिनेछन् । द्रुपदको शोक हटाइदिनेछन् । द्रोणाचार्यको अन्त्यकै लागि यिनको जन्म भएको हो ।
त्यसपछि यज्ञवेदीबाट एक कुमारी कन्या पनि प्रकट भइन् । ती अत्यन्त सुन्दरी थिइन् । तिनका अङ्ग–प्रत्यङ्ग मोहनीदार थिए । तिनका नेत्रयुगल विशाल थिए । तिनको शरीर–कान्ति कृष्ण–वर्णको थियो । नयन–युगल कमलदल–तुल्य । नङ उठेका । आँखीभौं वक्रिम । कुच–युगल उत्थित स्थूल एवं कसिला गोलकार । छिनेको कमनीय कटि । मादक नितम्ब–विम्ब । उनी साक्षात् देवी दुर्गाकै अवतार पो हुन् कि जस्ती देखिन्थिन् । उनका देहयष्टिबाट नीलकमलको जस्तो मादक सुवास कोशौं परसम्म मगमगाइरहेथ्यो । ती देवकन्योपम थिइन् ।
उनी प्रकट हुनासाथ फेरि अर्को आकाशवाणी गुँजियो :
यी कन्याको नाम कृष्णा हो । यिनी समस्त युवतीहरूमध्ये सर्वश्रेष्ठ सुन्दरी हुन् । यिनी क्षत्रियहरूको संहारका लागि प्रकट भएकी हुन् । वेला आएपछि यी सुन्दरीले देवकार्य सिद्ध गर्नेछिन् । यिनका कारणले कौरव–कुलका लागि महद्–भय उपस्थित हुनेछ ।
यो सुनेपछि हर्षले गर्जिएर फेरि एकपटक पाञ्चालहरूले धरतीलाई जुरुक्कै उचाले ।
अनि पृषतकी पुत्रवधू, द्रुपदकी महारानी महर्षि याजको शरणमा परेर भन्न लागिन् :
अब हजुरले यस्तो कृपा गरिबक्सियोस् कि यी दुवैले मदेखि बाहेक कसैलाई पनि आमा नभनून् ।
याजले तथास्तु भने ।
त्यसपछि ब्राह्मणहरूले सफल–मनोरथ हुँदै दुवैको नाम राखिदिए :
यिनी द्रुपदकुमार धृष्ट, ईष्र्यालु तथा द्युम्न अथवा तेजोमय कवचकुण्डल यद्वा क्षात्र–धर्मका साथ उत्पन्न भएकाले यिनको नाम : धृष्टद्युम्न । अनि, यी द्रुपदकुमारीचाहिं शरीरकान्तिले कृष्णवर्णकी भएकीले यिनको नाम : कृष्णा ।
यसरी द्रुपदको महायज्ञबाट जुम्ल्याहा दाजु–बहिनी धृष्टद्युम्न र कृष्णा अर्थात् द्रौपदी जन्मिए ।
उता भरद्वाज–नन्दन द्रोणले भावीको लेखा टार्न नसकिने जानेर पाञ्चाल–राजकुमारलाई आफ्नै घरमा लगी समस्त शस्त्रास्त्र–विद्याको शिक्षा दिएर परम–उपकार गरे ।
वास्तवमा गुरु द्रोणाचार्यले आफ्नो कीर्तिको रक्षाका निम्ति यो उदारतापूर्ण कृत्य सम्पन्न गरेका थिए ।
…..
महाभारत, आदिपर्व, १६४ देखि १६६ अध्यायमा आधृत ।
२०८१ साल फागुन २३ गते शुक्रवार, ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










