जुवाको खालमा आफैंलाई हारेका पञ्च–पाण्डवलाई विकट संकटबाट मनस्विनी द्रौपदीले बुद्धिमत्तापूर्वक उद्धार गरिन् । दुर्योधनका कुबुद्धिको भर्त्सना गर्दै महाराज धृतराष्ट्रले कुलवधू द्रौपदीप्रति सद्भाव देखाएर उनका पतिहरूलाई कौरवहरूको दासभावबाट मुक्त तुल्याएका थिए ।

यस कल्पनातीत घटनाबाट मुग्ध हुँदै कर्णले भन्यो :

मैले मनुष्यहरुमा जे जति सुन्दरी स्त्रीहरूको नाम सुनेको छु ती कसैमा पनि यस्तो अद्भुत बुद्धिमत्ता देखिएको मलाई थाहा छैन । आहा, यी द्रुपदराजकुमारी कृष्णा त संकटको महासागरमा डुब्न लागेका पाण्डवहरूको नौका पो बनिन् ।

यो कटाक्षगर्भित वक्तव्य सुनिरहेका भीमसेनले आफूहरूको उद्धार एउटी स्त्रीबाट हुन गएकोमा मनमनै लज्जित भएको अनुभव गरे अनि अर्जुनलाई सम्बोधन गर्दै भने :

महर्षि देवलले भन्नुभएको छ : पुरुषमा तीन प्रकारका ज्योति रहन्छन् सन्तान, कर्म र ज्ञान । किनभने अन्त्यमा यिनै तीन वस्तु परलोकगामी पुरुषको उद्धारका साधन बन्न जान्छन् । हे धनञ्जय ! हाम्री धर्मपत्नी द्रौपदीको शरीरलाई बलपूर्वक स्पर्श गरेर दुःशासनले अपिवत्र तुल्याइदिएको छ । यसकारण हाम्रो सन्तानरूपी ज्योति नष्ट हुन गएको छ । अर्काले छोइसकिएकी स्त्रीबाट उत्पन्न सन्तान कुन कामको हुन्छ र ?

अर्जुनले भीमसेनलाई शान्त पार्दै भने :

दाइ, द्रौपदी सती हुन्, उनका विषयमा यस्ता कुरा गर्न सुहाउँदैन । नीचहरूले बोलेका कुरामा सत्पुरुषले उत्तेजित हुनुहुन्न ।

फेरि भीमले उत्तेजित हुँदै युधिष्ठिरतर्फ मुखातिब भएर भने :

हे राजन्, हजुरले आज्ञामात्र दिनुहोस्, यी सबै शत्रुहरूलाई म अहिल्यै यहीं सिद्ध्याइदिन्छु ।

यति भनेर राता राता आँखा पार्दै, निरीह मृगका बथानमाथि जाइलाग्न आँटेको सिंहको जस्तो दृष्टिले कौरवहरूलाई हेरे । त्यसबेला उनका रोमकूपबाट आगाको लप्का छुटिरहेजस्तो देखिन्थ्यो ।

त्यसैबेला उनलाई हातले थपथपाउँदै युधिष्ठिरले भने :

यसो नगर भाइ । शान्त भएर बस ।

अनि महाराज धृतराष्ट्रका सामु गएर विनम्र भावले हात जोड्दै युधिष्ठिरले भने :

महाराज, हजुर हामी सबैका स्वामी हुनुहुन्छ, अब हामी के गरौं ? आज्ञा दिनुहोस् ।

धृतराष्ट्रले गद्गद् हुँदै भने :

हे अजातशत्रु पाण्डवज्येष्ठ युधिष्ठिर, तिम्रो सदा कल्याण होस् । तिमी अब मेरा आज्ञाले, आफूले हारेको समस्त धनका साथ निर्विघ्नतापूर्वक आफ्नो रानधानी जाऊ र आफ्नो राज्यको शासन गर । अनि म एउटा कुरा भन्छु – सुन । तिमी धर्मका सूक्ष्म भन्दा सूक्ष्म कुरा पनि जान्दछौ । जहाँ बुद्धि छ, त्यहाँ शान्ति हुन्छ । यहाँ जे नहुनु पर्थ्यो – त्यही भयो, तर अब त्यो सबै बिर्सिदेऊ । ढुंगा र फलाममाथि जसरी बन्चरोको प्रहारले चोट पुर्‍याउन सक्दैन, त्यसैगरी धैर्यशील उत्तम पुरुषमाथि पनि अरुले गरेका कटुवचन र दुर्व्यवहारले असर गर्दैन । श्रेष्ठ पुरुष त्यही हो जसले सदा सबैको भलाईकै कामना गर्दछ, बदलाको भावना राख्दैन । हे युधिष्ठिर, नीच पुरुष साधारण कुराकानीमा पनि कटुवचन बोल्ने स्वभावका हुन्छन्, मध्यम पुरुष पहिले त कटुवचन बोल्दैनन् तर अरुले कटुवचनले सम्बोधन गरेमा आफू पनि त्यस्तै बोल्ने खालका हुन्छन् तर जो धीर र श्रेष्ठ पुरुष छन् तिनीहरू अरुले जति नै कटुवचन बोले पनि आफ्नो मुखबाट कहिल्यै कठोर र अहितकारी वचन बोल्दैनन् । यस सभामा तिमीले त्यही उत्तम पुरुषअनुरूप आचरण गर्‍यौ । तिमीमा धर्म छ, अर्जुनमा धैर्य छ, भीमसेनमा पराक्रम छ, नकुल र सहदेवमा श्रद्धा एवम् विशुद्ध गुरुसेवाको भाव छ । हे अजातशत्रु, तिमीहरू सबैको भलो होस् । भाइ दुर्योधन आदि बन्धुहरूप्रति सदा असल भाइहरूसरह स्नेह भाव राख्नू, तिम्रो मन सदा धर्ममा लागिरहोस् ।

हवस् ! भनी उनको आदेश स्वीकार गरेर महाराज युधिष्ठिर आफ्ना सबै भाइ र द्रौपदीका साथ प्रसन्न मनले रथारूढ भएर आफ्नो राजधानी इन्द्रप्रस्थतिर प्रस्थान गरे ।

…..

उता पाण्डवहरूले प्रस्थान गरे, यता दुर्योधनका मनमा भयको ढ्यांग्रो ठोकिन लाग्यो । उसले कर्ण, शकुनि र दुःशासनका साथ हतार हतार महाराज युधिष्ठिरका सामू गएर भन्यो :

पिताजी, हजुरले यो के गरिबक्सिएको ? पाण्डवहरूलाई सबै धनमाल समेत फिर्ता गरेर किन मुक्त गरिबक्सिएको ? अब हामी कसरी बाँच्ने ? किनभने :

अर्जुनेन समो वीर्ये नास्ति लोके धनुर्धरः

योऽर्जुनेनाऽर्जुनस्तुल्यो द्विबाहुर्बहुबाहुना । मभा, सभा, अ ७४

पिताजी, यस संसारमा अर्जुनजत्तिको पराक्रमी धनुर्धर अरु कोही छैन । यो दुई हात भएको अर्जुन, हजार हात भएको कार्तवीर्य–अर्जुनसमान शक्तिशाली छ । देवता, दानव, यक्ष, पिशाच, नाग, राक्षस अनि भीष्म, द्रोण आदि सबै संसारभरिका महारथी भिडे भने पनि त्यो एक्लो अर्जुनका सामू टिक्न सक्ने छैनन् ।

गृहे गृहे च पश्यामि तात पार्थमहं सदा

शरगाण्डीवसंयुक्तं पाशहस्तमिवान्तकम् ।

अपि पार्थसहस्राणि भीतः पश्यामि भारत

पार्थभूतमिदं सर्वं नगरं प्रतिभाति मे ।

अकारादीनि नामानि अर्जुनत्रासचेतसः

अश्वाश्चार्था ह्ययाश्चैव त्रासं विजनयन्ति मे ।

पुरा हि दण्डकारण्ये मारीचस्य यथा भयम्

भवेद् रामे महावीर्ये तथा पार्थे भयं मम । मभा, सभा, ७४ अ, दा.

पिताजी, मलाई अर्जुनदेखि यति धेरै डर लागेको छ कि म हरेक घर घरमा हातमा पाश लिएको यमराजजस्तो गाण्डीवमा बाण चढाएर मलाई नै ढुकिरहेको अर्जुनलाई देख्न थालेको छु । हे पिताजी, म यति डराएको छु कि जताततै हजारौं रूपमा अर्जुन देख्न थालेको छु । यो सारा नगर नै मलाई अर्जुनमय लाग्न थालेको छ । मेरो हृदय अर्जुनदेखि यति भयभीत भएको छ कि अश्व, अर्थ, अज आदि सबै अबाट उठ्ने शब्दहरूले मेरा मनमा त्रास पैदा गर्न थाल्छन् । जसरी पहिले दण्डकारण्यवासी महापराक्रमी श्रीरामचन्द्रबाट मारीच भयभीत भएको थियो मलाई अहिले त्यस्तै डर लाग्न थालेको छ ।

धृतराष्ट्रले भने :

छोरा, उसका पराक्रमको बारेमा त मलाई पनि ज्ञान छ नि । उससँग सामना गर्न अत्यन्त कठन छ । तेसैले म के भन्छु भने बाबु, तिमी ऊसँग जोरी नखोज, मिलेर बस ।

दुर्योधनले भन्यो :

होइन महाराज, जुवा खेल्दा हामीले अर्जुनहरूसँग जे जस्तो छलकपट गरेका छौं, अपमान गरेका छौं, द्रौपदीलाई जसरी बेइज्जत गरेका छौं, त्यसको बदला उनीहरूले अवश्य लिनेछन् । त्योभन्दा पहिले नै हामीले उनीहरूलाई खतम पार्नुपर्छ ।

दुर्योधनले शकुनि मामासँग मिलेर षड्यन्त्रको जालो फेरि बुनिसकेको थियो, भन्यो :

त्यसैले, महाराज हामीसँग एउटा उपाय छ, त्यसमा हजुरले सहमति दिनुपर्दछ । हामी के चाहन्छौं भने वनवासको शर्त राखेर पाण्डवहरूसँग फेरि एकपटक जुवा खेलौं । त्यसमा हार्नेले मृगचर्म धारण गरेर बाह्र वर्षसम्म वनमा बस्नपर्ने र तेह्रौं वर्षमा अज्ञातवास बस्नुपर्ने, क्यै गरी ज्ञात भएमा फेरि बाह्र वर्षसम्म वनमै बस्नुपर्ने शर्त राखौं । अनि, हजुरलाई थाहा छँदैछ– हाम्रा शकुनि मामाले पासा फ्याँकेपछि जुवा हामीले जितिहाल्छौं, उनीहरू हारिहाल्छन् । अनि तेह्र वर्षसम्ममा त हामीहरूले यस राज्यमा जरो गाडिसकेका हुनेछौं । हे महाराज, कृपया यो प्रस्तावलाई स्वीकार गरिबक्सियोस् ।

महाराज धृतराष्ट्र फेरि एकोहोरिए । उनको प्रकृतिअनुरूप छोराको अन्धोप्रेममा फेरि उनी फँसे र भने :

छोरा, पाण्डवहरू टाढा पुगिसके होलान्, तैपनि तिम्रो यस्तै इच्छा छ भने तुरुन्तै फर्काएर ल्याऊ । उनीहरू यहाँ आऊन् र नयाँ दाउमा फेरि जुवा खेलून् ।

यस कुरामा द्रोणाचार्य, कृपाचार्य, भीष्मपितामह, अश्वत्थामा, सोमदत्त, बाह्लीक, युयुत्सु, विकर्ण आदि कोही पनि सहमत भएनन्, सबैले जुवा खेल्ने कुराको घोर विरोध गरे, तर तबसम्म अन्धो पुत्रस्नेहको खाल्डोमा जाकिएका महाराज धृतराष्ट्रले पाण्डवहरूलाई तुरुन्त फिर्ता बोलाउन आदेश दिइसकेका थिए ।

यस विषयमा महारानी गान्धारीले पनि महाराजलाई सम्झाउँदै भनिन् :

हे महाराज, हजुरलाई स्मरण छ नि – दुर्योधन जन्मनासाथ स्यालको जस्तो आवाज निकालेर हुवाँ हुवाँ गरेको थियो त्यसैबेला महामति विदुरले भनेका थिए : यसले कुलको नाश गर्नेछ, तुरुन्तै त्यागिदिनुहोस् । आज त्यही दुर्भाग्यपूर्ण समय आइपुगेको जस्तो छ । अझै पनि केही बिग्रिएको छैन यसलाई त्यागिदिनुहोस्, यसैमा हामी सबैको कल्याण छ । अथवा, यसलाई तुरुन्तै यस्तो उपद्रव गर्नबाट रोक्नुहोस् ।

तर, महाराजले भने :

हे देवी, चाहे यस कुलको अन्त नै किन नहोस्, तर म दुर्योधनलाई रोक्न सक्दिनँ । यसले जे चाहन्छ त्यही हुन देऊ । पाण्डवहरू आऊन् र मेरो छोरो तिनीहरूसँग जुवा खेलोस् ।

उसै पनि जन्मतः नयनान्ध धृतराष्ट्र, त्यसै माथि पुत्र–मोहको बाक्लो तुँवालोले ढाक्नाले विवेकान्ध पनि बनिसकेका थिए, उनका हठको अगाडि कसैको केही लागेन ।

पाण्डवहरूलाई बाटैबाट फिर्ता बोलाउन महाराजका आज्ञाले वायुवेगका साथ प्रतिकामी दौडियो ।

…..

२०८२ आश्विन ३१गते शुक्रवार । ॐ अक्षरालयः ।