पाँच सुयोग्य सुपुत्रहरूले सम्पन्न बनेका पञ्चपाण्डव समस्त धनधान्य र समृद्धिले परिपूर्ण इन्द्रप्रस्थ दरबारमा आनन्दपूर्वक रहने गर्दथे । महाराज युधिष्ठिरको सुयोग्य शासन–व्यवस्थामा सारा प्रजाजन सुखी सम्पन्न र धार्मिक एवम् सत्यनिष्ठ बनेका थिए ।

गर्मीको महीना थियो । आफ्ना सम्मान्य अतिथिका रूपमा रहनुभएका श्रीकृष्णलाई अर्जुनले भने :

हे मधुसूदन, गर्मी धेरै बढेको छ, आज जलविहार गर्न यमुना–किनारमा जाऔं ।

हुन त सुभद्रा–हरण पश्चात् अर्जुन र श्रीकृष्णका बीच अब ज्वाइँ र जेठानको नूतन नाता जोडिएको थियो, तर वस्तुतः उहाँहरूका बीच योभन्दा पनि घनिष्ठ सम्बन्ध भने गहन मित्रताको नै थियो । अर्जुनको प्रस्तावलाई श्रीकृष्णले प्रसन्नतापूर्वक सहजतया स्वीकार गर्नुभयो । यमुनातटमा भव्य तामझामका साथ उत्तम आहार–विहारको राजसी व्यवस्था गरियो । सकल परिवारका साथ राज–परिवारका सबै सदस्य स्त्री–पुरुषहरू त्यहाँ भेला भए । आहार–विहार र आमोद–प्रमोदको आनन्दमा सबै निमग्न भए । श्रीकृष्ण र अर्जुन स्वर्गलोकका दुई भाइ अश्विनीकुमारका समान सुशोभित भई आपसमा भलाकुसारी गरिरहनुभएको थियो ।

त्यसैबेला त्यहाँ एकजना ब्राह्मणदेवको आगमन भयो । ती ठूलो शालवृक्षका समान अग्ला र हृष्टपुष्ट थिए । उनको कान्ति तपेको सुन जस्तो देदीप्यमान थियो । उनको सारा अङ्ग–प्रत्यङ्ग नीलो र पहेंलो वर्णको थियो । दाह्री जुँगा अग्नि–ज्वाला समान झरझराउँदो पहेंलो वर्णको थियो । उँचाइका समान मोटाइ पनि भव्य थियो । ती प्रातःकालीन सूर्यसमान तेजस्वी थिए । तिनले चीरवस्त्र धारण गरेका थिए । तिनका मस्तकमा भव्य जटाकलाप थियो । उनको मुहार शुभ्र कमलदल समान रमणीय थियो । उनको प्रभा पनि पहेंलो वर्णकै थियो । उनी आफ्नै  तेजोमय रूपले प्रज्वलित भएका झैं स्वयं प्रकाश देखिन्थे ।

उनी समीपमा आउनासाथ उनको तेजोमय व्यक्तित्वले प्रभावित भई श्रीकृष्ण र अर्जुन आ–आफ्ना आसनबाट जुरुक्क उठ्नुभयो र उनलाई अभिवादन गर्नुभयो ।

उनले कुनै लामो भूमिका नबाँधी सोझै भने :

ब्राह्मणो बहुभोक्ताऽस्मि भुञ्जेऽपरिमितं सदा ।

भिक्षे वाष्र्णेयपार्थौ वामेकां तृप्तिं प्रयच्छतम् ।। मभा, आप, २२२ अ, २ श्लो ।

म प्रशस्त भोजन गर्ने ब्राह्मण हुँ, सदा अपरिमित भोजन गर्ने गर्छु । हे वृष्णिवंशप्रदीप श्रीकृष्ण, हे पृथासूनु अर्जुन, म हजुरहरू दुवै जनासँग एउटै प्रार्थना गर्दछु : मलाई एक छाक अघाउँजी भोजन प्रदान गर्नुहोस् ।

उनका कुरा सुनेर तत्परताका साथ श्रीकृष्ण र अर्जुन दुवैले सोध्नुभयो :

हे ब्रह्मन् ! भन्नुहोस्, हजुर के–कस्तो अन्नबाट तृप्त हुनुहुन्छ ? हामी दुवै त्यसका निम्ति प्रयत्न गर्नेछौं ।

तिनले भने :

हे वीरद्वय, मलाई कुनै अन्नको भोक लागेको छैन । म अग्नि हुँ भनेर जान्नुहोस् । मेरा अनुरूप जे भोज्य हो त्यही दिनुहोस् । देवराज इन्द्रले सदा यो खाण्डव वनको रक्षा गर्दछन् । मैले कति पटक यसलाई जलाउन कोशिश गरें तर उनी वर्षा गरिहाल्दछन् र म सधैं अतृप्त नै रहन्छु । वास्तवमा उनका प्यारा मित्र नागराज तक्षक यहीं बसोबास गर्छन् नि त ! त्यसैले उनका रक्षाका निम्ति इन्द्रले पानी पारिहाल्छन् । हजुरहरू समस्त शस्त्रास्त्र–विद्यामा पारङ्गत हुनुहुन्छ, त्यसैले मलाई यो खाण्डव–वन भोजन गर्न सहयोग गर्नुहोस् । कृपया आकाशबाट वर्षिने जलधारा र यस जंगलबाट चारैतिर भाग्न खोज्ने सारा प्राणीहरूलाई रोकिदिनुभयो भने मैले यो खाण्डव–वनको अघाउँजी भोजन गर्न पाउने थिएँ ।

…..

प्रिय पाठकवृन्द, हामी सबैका मनमा यहाँनेरि एउटा जिज्ञासा अवश्य उठेकै हुनुपर्छ –

वास्तवमा अग्निदेवलाई यसरी सारा खाण्डव–वन जलाउने भोक लाग्नुको रहस्य चाहिं के थियो त ?

आउनुहोस्, अब यो रोमाञ्चक उपाख्यानको आनन्द लिऔं —

प्राचीन कालमा इन्द्रका समान तेजस्वी एवं बल–विक्रमशाली एक जना राजा भए, तिनको नाम थियो : श्वेतकि । उनीलाई यज्ञ गर्ने ठूलो शौख थियो । शायद आजसम्म पनि उनीजत्तिको यज्ञकर्ता यस जगत्मा अर्को कोही भएन होला । उनी सुयोग्य ब्राह्मण पुरोहितद्वारा प्रशस्त यज्ञ गराउँथे र यथेष्ट दान दिने गर्दथे । उनको एकमात्र कर्म नै यही थियो । उनका पुरोहितहरू यज्ञ गर्दा गर्दा आजीत भइसकेका थिए । यज्ञका धुवाँले उनीहरूका नेत्रयुगल सदा व्याकुल रहन्थे । आखीर केही सीप नलागेपछि ती सारा ऋत्विक्हरू राजालाई छोडेर जान लागे । कोही यज्ञको अनुष्ठान गर्नै नचाहने भए । उनी सय वर्षसम्म निरन्तर चलिरहने यज्ञ गराउन चाहन्थे । उनले पुरोहितका खुट्टा ढोगे, जे चाहे पनि दिने शर्त राखे, तर लाख विन्ती गर्दा पनि कोही यज्ञ गराउन उत्सुक नै भएनन् । उनीहरूले भने :

हामी थाकिसक्यौं तपाईंका यज्ञ गर्दा गर्दा । हामीबाट अब यो काम हुन सक्दैन । हे निष्पाप नरेश, बरु तपाईं भगवान् रुद्रका समक्ष जानुहोस्, उहाँले गराइदिनुहोला— तपाईंको यज्ञ ।

सकल पुरोहित ब्राह्मणदेवका कुरा शिरोपर गरेर राजा श्वेतकि भगवान् शिवको तपस्या गर्न लागे । उनले उग्र तपस्या गरेर आशुतोष शङ्करलाई प्रसन्न तुल्याए र वर माग्ने बेला आफ्नो सारा रामकहानी सुनाएर यज्ञको ऋत्विक् बनिदिन प्रार्थना गरे ।

भगवान् शिवले भन्नुभयो :

हेर राजन्, यज्ञ गराउने काम त मेरो होइन, तैपनि तिमीले भनिहाल्यौ । ठीक छ । मैले भनेजसो गर्‍यौ भने म तिम्रो यो इच्छा पनि पूरा गरिदिउँला । हे राजेन्द्र, तिमी एकाग्रचित्त भएर ब्रह्मचर्य–व्रत–पूर्वक १२ वर्षसम्म घिउको अविच्छिन्न धाराद्वारा अग्निदेवलाई तृप्त तुल्याऊ, अनि तिम्रो प्रार्थना सफल हुनेछ । तथास्तु !

यति भनेर आशुतोष भगवान् शङ्कर अलप हुनुभयो । भोलेबाबाको आज्ञानुसार राजा श्वेतकिले १२ वर्षसम्म अविच्छिन्न घिउको मोटो धाराको आहुति दिएर अग्निदेवलाई सन्तृप्त तुल्याए । १२ वर्षपछि फेरि आएर भगवान् शङ्करले भन्नुभयो :

मैले भनेअनुसार गरेकामा म तिमीसँग प्रसन्न छु । तर यज्ञ गराउने काम मेरो होइन । मेरै अंशका रूपमा रहेका ब्राह्मणहरूलाई नै मैले यो काम सुम्पेको छु । महातेजस्वी परमब्राह्मण ऋषि दुर्वासाले मेरो आज्ञाले तिम्रो यज्ञ गराउनेछन् । तिमी अब यज्ञसामग्री जुटाऊ ।

अन्ततः सबै यज्ञसामग्री जुटेपछि दुर्वासा ऋषिले आफ्ना समूहका सारा ब्राह्मणहरूलाई वरण गराएर ती राजा श्वेतकिको यज्ञ सम्पन्न गराए ।

यसरी १२ वर्षसम्म लगातार घिउ पिउँदा पिउँदा अग्निदेवलाई अजीर्ण भयो । उनको रंग नै पहेंलोबाट सेतो भयो । देहकान्ति उड्दै गयो । उनी पहिले झैं प्रकाशवान् पनि देखिन छोडे ।

आफ्नो दुर्गति हुन लागेको देखेर खिन्न बनेका अग्निदेव लोकपिता ब्रह्माजीका समीपमा गए र सारा वृत्तान्त बेलिविस्तार लगाए अनि अन्त्यमा भने :

म त बिरामी पो भएँ हजुर, अब स्वस्थ हुने उपाय के छ प्रभो !

ब्रह्माले अभयदान गर्दै भन्नुभयो :

पीर नगर अग्निदेव, धेरै घिउ पिएर तिमीलाई अजीर्ण भएछ । हस्तिनापुरका निकट जुन विशाल खाण्डव वन छ – भयङ्कर दैत्यहरूको अखडा बनेको त्यस वनलाई पहिले पनि देवताहरूको आदेशले तिमीले जलाएकै हौ । अहिले फेरि त्यहाँ अनेकथरिका जीवजन्तु आएर बस्न थालेका छन् । गएर त्यसै खाण्डव वनको भोजन गर । तिमी स्वस्थ हुनेछौ । तथास्तु !

ब्रह्माको आश्वासनले प्रसन्न बनेर अग्नि दौडिंदै त्यहाँ पुगे र सहसा प्रज्वलित हुन लागे । तर, उनको प्रयास सफल भएन । सैकडौं, हजारौं जीवजन्तुहरू मिलेर अग्निदेवको कार्यमा बाधा–बिघ्न गर्न लागे । हात्तीहरूको फौज मिलेर सूँडमा पानी भर्दै पिच्कारी छोड्दै गर्न थाले, असंख्य नागहरू मिलेर आफ्ना शिरबाट जलवृष्टि गर्न थाले । अरु सारा जीवजन्तु मिलेर माटो ओइराउने, हरिया हाँगाबिँगा बजार्ने आदि उपायले आगो निभाउने गर्न थाले । अग्निदेवले खाण्डव–वन–रूपी अजीर्णको औषधि सेवन गर्नै पाएनन् ।

फेरि आजीत भएर अग्निदेव ब्रह्माजीका समीपमा पुगे । लोकपिताले भन्नुभयो :

केही समय प्रतीक्षा गर । त्यसपछि त्यहाँ स्वयं नर–नारायण धराधाममा अवतीर्ण हुनुहुनेछ र उहाँहरूले नै तिम्रो मनोरथ पूरा गरिदिनुहुनेछ ।

यसरी आज अग्निदेव तेजोमय ब्राह्मणदेवका रूपमा स्वयं नर–नारायण–स्वरूप श्रीकृष्ण–अर्जुनका सामु भोजनेच्छा लिएर उपस्थित भएका थिए ।

…..

अग्निदेवका कुरा सुनेर अर्जुनले भने :

हे अग्निदेव, तपाईं चिन्ता नगर्नुहोस् । तपाईंको भोजनेच्छा म पूरा गर्नेछु । मसँग अनेकानेक दिव्यास्त्रहरू छन् । तिनले म एक त के अनेक वज्रधारीहरूसँग पनि एकसाथ भिड्न सक्दछु । तर, मसँग मेरो बाहुबलका अनुरूप धनुष छैन, मेरा दिव्यास्त्रहरूलाई बोक्न सक्ने शक्तिशाली रथ छैन, यसैगरी श्रीकृष्णसँग उहाँका बल–पराक्रमका अनुरूप नाग र पिशाचहरूलाई विनाश गर्नसक्ने आयुध छैनन् । हे अग्निदेव, यदि यी साधनहरू कतैबाट जुटाइदिनुहुन्छ भने सकल प्राणीवर्ग सहित समग्र खाण्डव वनको आहुतिद्वारा हजुरलाई तृप्त तुल्याउने जिम्मा हाम्रो भयो ।

वीरवर अर्जुनका यस्ता कुरा सुनेपछि अग्निदेवले यी सबै उपकरणहरूद्वारा उहाँहरूलाई सुसज्जित तुल्याउने सङ्कल्पका साथ वरुणदेवको स्मरण गरे ।

….

महाभारतीय आख्यानका अनुरागी प्रिय सज्जनवृन्द !

यसपछिको रोमाञ्चक गाथा अर्को हप्ता यहीं प्रस्तुत गरिनेछ ।

जय श्री महाभारत !

…….

२०८२ साल असार ६ गते शुक्रवार ।

महाभारत, आदिपर्वको अध्याय २२१ देखि २२३ अध्यायसम्म ।

ॐअक्षरालयः ।