
कहिलेकाहीँ अचानक आउने कुनै गहिरो भाव र अनुभूतिको झटका र चोटले कविता आफैँ जन्मिन्छ । जब कुनै अनुभूति चेतनाको तह पार गरेर आत्मामा पस्छ, त्यो बेला कविता लेखिँदैन त्यसको प्रभाव शब्दमा रूपान्तरण भएर कविता आफैँ बन्छ। सरल भाषामा जीवन र जगतको कटु यथार्थलाई गहिराइमा पुगेर एक झट्कामा लेखिएको यो संवेदनशील कविताको ‘रचना गर्भ’ पनि अत्यन्तै मार्मिक छ।
°°°
त्यो साँझ म बनारसका गल्लीहरू पार गर्दै मणिकर्णिका घाटतर्फ गइरहेको थिएँ। बाटोमा झन्डै दर्जनौँ लासहरूसँग मेरो जम्काभेट भइसकेको थियो । जब म घाटमा पुगेँ त्यहाँको दृश्य अत्यन्तै कारुणिक र भयावह देखिन्थ्यो। दैनिक सयौँको सङ्ख्यामा लासहरू जल्ने मणिकर्णिका घाटलाई सास फेर्ने फुर्सद पनि थिएन। लास जलाउने चिताहरू एकपछि अर्को लगातार बलिरहेका थिए। आगोको तातो र मासुको गन्ध मिसिएको त्यो हावामा अजीव त्रासदी देखिन्थ्यो । छिटो चितामा राख्न पाइयोस् भनेर आफन्तहरू लासलाई एउटा कुनोमा राखेर दाउरा किन्न लामबद्ध देखिन्थे । कुन बेला आफ्नो पालो आउला र लासलाई जलाएर घर फर्कन पाइएला भन्ने एक प्रकारको अधैर्य र बेचैनी सबैमा व्याप्त देखिन्थ्यो । मृत्युपछि पनि लाइनले नछाड्ने रहेछ ।
गङ्गा किनारमै मैले एउटा यस्तो दृश्य देखेँ जसले मलाई हृदयमा गहिरो झट्का दियो । त्यो दृश्य मेरो मानसपटलमा अझैसम्म आइरहन्छ। एक जना अशक्त वृद्धको खुट्टा पानीमा चोपिएको थियो। उनी अन्तिम श्वास लिइरहेका थिए। उनका आफन्तहरू नाडी छामेर बसेका थिए । प्राण कहिले निस्किएला र छिटो चित्तामा राख्न पाइएला भनेर प्रतीक्षारत थिए। त्यो क्षणमा मलाई मृत्युको वास्तविकता मात्र होइन, जीवनको तुच्छता पनि अनुभूति भयो। त्यो अनुभूतिले मलाई भित्रैदेखि हल्लायो।
कारुणिक र मार्मिक दृश्यहरू नजरमा कैद गरेर एउटा गहिरो अनुभूतिको भारी बोकेर राती बाटो छेउको होटेलमा बास बस्न पुगियो । रातभर सुत्न सकिएन “राम राम सत्य है…” भन्ने एकनासको स्वर निरन्तर कानमा घन्किरहेको थियो। शरीर थाकेको थियो, तर आत्मा चेतनाको झट्कामा बिउँझिरहेको थियो। त्यो पीडा, त्यो दृश्य, त्यो मृत्युलाई प्रत्यक्ष महसुस गरेको अनुभूति र संवेदनाको ज्वालाबाट झस्किएको भावनात्मक चेतनाको अभिव्यक्ति हो यो कविता ।
आजको समाज संवेदनाहीन देखिन्छ। हामी सबैलाई हतार छ। बाँचुन्जेल यहाँ कसैलाई फुर्सद छैन । घाटमा पनि हामी धैर्य गरेर बस्न सक्दैनौँ । कसैको मृत्युको खबर सुन्नासाथ हामी समवेदना र श्रद्धाञ्जली सामाजिक सञ्जालमा पोस्ट गरेर हाम्रो कर्तव्य पूरा भएको ठान्छौँ एक प्रकारको प्रतिस्पर्धा नै चल्छ । त्यो भावना कहाँबाट आउँछ ? आत्माबाट कि केवल औपचारिकता वा लोकाचारको आवरणमा? बाँचुन्जेलको सासप्रति कृतज्ञ हुन सिकौँ ।
कविताः मृत्यु शैयाबाट
-किशन पौडेल
एकछिन,
पर्खिनुस् महोदय !
हतार नगर्नुहोस्
यो छातिभित्र
मेरो धड्कन अझै धड्की रहेछ
एक मुट्ठी सासमा
सुषुप्त आस अझै बाँकी नै छ
बिस्तारै दिँदै गर्नुहोला
भावपूर्ण हार्दिक श्रद्धाञ्जली !
बिस्तारै प्रकट गर्दै गर्नुहोला
दुखद घडीको गहिरो समवेदना !
हतारै भए पनि
सुस्तरी थिच्नु होला
स्याडको आइकन
र लेख्नु होला
रिप !
हृदयको कुना भित्र कतै छोयो भने
दुई शब्द कोरी दिनुहोला
तेरो स्वर्गमा बास होस्
आत्मालाई दिन नबिर्सिनु होला
चिर शान्तिको कामना ।
मनको सबै तितो मेट्नु होला
र भन्नुहोला,
सारै असल मान्छे थियो ।
सकभर घाटसम्म आउने
फुर्सद मिलाउनु होला
हतार नै भए पनि
मलामीमा नाम लेखाएर फर्कनु होला
चिनजानहरूसँग जमघट हुन्छ
एकछिन भलाकुसारी गर्नुहोला
यो जिन्दगीको नाफा घाटाको
हिसाब किताब
घाट मै बसेर गर्नुहोला ।
चितामा जल्दै गरेको
लासलाई हेरेर भन्नुहोला
धुवाँ जस्तै त रहेछ जिन्दगी
मरी लानु केही छैन !
कसैको मनभित्र खिल बनेर गढेको हुँला
कसैको दिलभित्र नमेटिने गरी बसेको हुँला
बिर्सिदिनू होला एउटा नमिठो सपना सम्झेर,
जिन्दगी कर्कलाको पानी जस्तै हो भनेर ।
हे ! प्रियवर,
नझार्नु होला है टिलपिल आँसु
नराख्नु होला कुनै शोक !
यो कहिल्यै नसुल्झिने
अज्ञात रहस्यको गर्भमा
म नफर्किने गरी अगाडि गएँ भने
तपाईँ बिस्तारै आउँदै गर्नु होला
जीवनको शाश्वत सत्य
अन्तिम गन्तव्य त घाट नै रहेछ
आखिरीमा सबैको भेटघाट हुने !
°°°°
हेटौंडा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

