आदिकवि भानुभक्त आचार्यलाई सम्झने र श्रद्धा प्रकट गर्ने दिन असार २९ गते । ११२ औं भानु जयन्तीका अवसरमा भानुको सम्झनासहित भानुको शालिक र सर्जकबारे संक्षिप्त लेखन ।
नेपालबाहिर आदिकविको सम्झना गर्नुसँगै शालिक निर्माण गरिएका छन् । आदिकविप्रति नेपाली भाषीहरूको यो स्तुत्य कर्म हो । भानुप्रति हार्दिक श्रद्धा प्रकट हुनुका साथै नेपाली भाषा र साहित्यप्रतिको गहिरो चासो पनि यसले पुष्टि गर्छ ।

नेपाली भाषी रहेको भारतका विभिन्न स्थानमा यस दिन धुमधामले भानुजयन्ती मनाइन्छ । दार्जीलिङ, सिक्किम, कालिम्पोङ, मणिपुर, शिलोङ, गुवाहाटी, मिजोरम, नागाल्याण्ड, अरुणाचल, त्रिपुरा, देहरादुन, भाक्सु आदि स्थानमा आदिकविको सालिक छन् । यी ठाउँ नागाल्याणबाट कलाकार बुद्धि थापाले बताएअनुसार शालिक त्यता कतै स्थापना गरिएको छैन । तस्बिरमा माल्यार्पण गरी भानुजयन्ती मनाइन्छ । तर, भानुप्रतिको हार्दिक भाव उल्लेखनीय रहेको थापा बताउँछन् । गुवाहाटीमा खगेन शर्मा, मणिपुरमा भवानी अधिकारी र मिजोरममा लक्ष्मी मिनुले दिएको जानकारीअनुसार हरेक वर्ष असार २९ गते भानु जयन्ती र कात्तिकमा लक्ष्मी पूजाको दिन महाकवि जयन्ती ठूलो साहित्यिक उत्सवले मनाइने गरिन्छ ।

शिलाङका डा. टेकनारायण उपाध्यायका अनुसार अखिल सिलोङ भानु जयन्ती समारोह समिति छ त्यही समारोह समितिले शिलाङमा आदिकविको शालिक स्थापित गरेको छ । यो शालिक गोर्खा पाठशालाको प्राङ्गणमा प्रतिस्थापन गरिएको छ । भानु जयन्तीमा जतिसुकै प्रचण्ड घाम लागोस् वा मुसलधारे पानी परोस् तर साहित्यिक कार्यक्रम र प्रभातफेरीमा त्यसले कुनै रोकतोक गर्न सक्दैन ।

दार्जीलिङको चौरस्तामा नौ फिट अग्लो आदिकविको शालिक र सिक्किम, सिलगुढी, खर्साङ, नक्सालबाढीमा पनि यिनैले बनाएका शालिकहरू रहेका छन् । जसको बारेमा मैले गोरखापत्र दैनिकको शनिवारीयमा २०५६ साल असार २६ गतेको शनिबार ‘नेपाली भाषा, साहित्य र जातीय एकताका प्रतीकको सम्मान’ शीर्षकमा लेखेको थिएँ । सो आलेखमा नौ फिट अग्लो आदिकविको शालिकसहित चर्चा गरिएको यहाँ स्मरणीय हुन्छ ।

सम्भवतः कुनै पनि मुलुकमा एउटै शालिक एकै ठाउँमा दुईपटक निर्माण गरी दुईपटक अनावरण गरिएको इतिहास छैन । त्यसबीचमा कतै, कुनै देशमा भएको हुनसक्छ त्यसमा यो लेखक क्षमा चाहन्छ । छिमेकी मित्र देश भारतको पश्चिम बङ्गाल राज्यस्थित दार्जीलिङको चौरस्ता चोकमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको ९ फिट अग्लो पूर्णकदको शालिकको दोस्रो पटक अनावरण गरियो ।

त्यसो त, यसभन्दा पहिले चौरस्ता चोकका भानु शरणीमा तत्कालीन पश्चिम बङ्गालका डा. कैलाश काटजुको सहयोगमा ‘नेपाली साहित्य सम्मेलन’ द्वारा भानुभक्तको अर्धकर्दको शालिक स्थापना गरी अनावरण गरिएको थियो । मूर्तिकार सन्तपाल स्कूलका इ.एफ. थम्सनले त्यसबेलाको शालिक निर्माण गरेका थिए । यद्यपि गोर्खाल्यान्डको भाषिक आन्दोलनको प्रहारमा परेर सो भानु शालिक आजभन्दा ३३ वर्ष अगाडि तोडियो । शालिक तोडिएपछि पुनः त्यही ठाउँमा भानुभक्तको शालिक निर्माण गरी स्थापना गरिएको थियो ।

यो पंक्ति लेखकसँग दार्जीलिङ, कालिम्पोङ तथा सिक्किम राज्यका तर्फबाट समेत आदिकवि भानुभक्त र महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाएको देख्न पाउँदाको गौरवमय अनुभव अझै सम्झनामा छ । उनीहरूले हाम्रा आदिकविप्रति व्यक्त गरेका भावना र सहभागी भएका नेपाली भाषीहरूको सागरले यो कुरा पुष्टि गर्छ । उनीहरू हरेक वर्ष असार २९ गते राष्ट्रिय उत्सवका रूपमा भानु जयन्ती मनाउने गर्छन् ।

यसरी भानु जयन्ती मनाउने सन्दर्भमा भानुभक्तीय रामायणको वाचनका भानुभक्तकै स्वरूप र घाँसीको स्वरूप बनाई नगर परिक्रमा गर्ने परम्परासमेत रहेको छ । दौरासुरुवाल, सारीचोलीको पहिरनमा सजिसजाउ जमातले प्रभातफेरी गरिरहँदाको दृश्य आफैंमा यौटा सांस्कृतिक उत्सवको साहित्यिक समारोह हो । जुन काम स्थानीय जनसहभागिताका साथै राज्यका तर्फबाट विशेष प्राथमिकता दिएर भव्य उत्सवका रूपमा मनाउने परम्परा लामो समयदेखि अद्यापि निरन्तर रहिआएको छ ।

दार्जीलिङको चौरस्ता चोकमा राखिएको ९ फिट अग्लो भव्य भानुभक्तको शालिक आफैमा एउटा कलाको नमूना त हुँदै हो । नेपाली भाषीप्रतिको श्रद्धाको एउटा पवित्र उदाहरणसमेत हो । आदिकविको यो शालिकलाई पश्चिम बङ्गालस्थित कृष्णनगर सहरका चर्चित मूर्तिकार मृगांक पालले निर्माण गरेका हुन् । यो मूर्तिबाहेक भारतका विभिन्न शहरमा सुभाषचन्द्र बोस, इन्दिरा गान्धी, चित्तरञ्जनदास, राजा हर्षवर्धन आदिका भव्य शालिकहरू उनैले निर्माण गरेका छन् । उहिल्यै पालले ती स्थानमा आदिकविको प्रतिमा बनाएका थिए । आजभन्दा ३०–४० वर्षअघि उनी ती क्षेत्रमा शालिक बनाउने कार्यमा प्रख्यात कलाकार थिए ।

सिक्किममा भोटिया, लेप्चा, नेपाली एउटै भाषा र भावनाका साथ आ–आफ्नो जातीय पोशाक लगाएर भानुजयन्तीको -यालीमा सहभागी हुन्छन् । २०५३ सालको भानु जयन्तीमा कलाकार तथा साहित्यकार लैनसिंह बाङ्देलको अगुवाइमा नेपाली कलाकारहरूका साथ भानु जयन्ती समारोहमा सहभागी हुने अवसर प्राप्त भएको थियो ।

भारतको बिरपाडा डुवर्स निवासी कलाकार किर्पेन्द्र गुरुङले भानुका धेरै शालिक बनाइसकेका छन् । उनले बनाएका भानुका मूर्तिको त्यहाँ निकै ख्याति र माग छ । उनी मूर्तिकलासँगै चित्रकलाको पनि साधना गरिरहेका छन् । निकै सक्रिय सिर्जनाकर्मी गुरुङको यो सिर्जनात्मक क्षमताले नेपाली भाषी रहेको धेरै स्थानमा आदिकविको शालिक बनेर ती ठाउँमा स्थान पाउन सकेका छन् ।

उनी भन्छन्– ‘मेरो प्रथम अभ्यास भनेकै आदिकवि भानु बाजे हुन् । प्रशिक्षणकै बेला मेरो गुरु सुब्रतो मण्डलको रेखदेखमा मैले सिमेन्टबाट आदिकवि भानुभक्तको अर्धकद्को शालिक बनाइ कालेबुङ बीटी कलेज कार्यालयको अघि राख्न पाएँ ।’

अहिलेको जागरुक र सचेत जमातमा ऐतिहासिक धरोहरहरूको संरक्षण गर्नुपर्ने सोच आउँदा नै मूर्तिकलालाई प्रोत्साहन मिलेको गुरुङ बताउँछन् । समाजलाई योगदान दिने विभिन्न व्यक्तिहरूको शालिक स्थापना गर्ने चलन पुरानो होइन । अहिले मूर्तिकारहरूको पनि सम्मान हुन थालेको उनको अनुभव छ ।

‘आदिकवि भानुभक्तजस्ता व्यक्तिको सम्झनामा शालिक बनाउँदा मूर्तिकार र मूर्तिकलाको पनि सम्मान हुन्छ । एउटा कलाकारको कला तबसम्म बाँच्छ, जबसम्म अवसरहरू प्राप्त भइरहन्छ ।’ गुरुङ भन्छन् ।

चित्र र मूर्तिका अर्का कुशल शिल्पी हुन्– अमिर सुन्दास । उनी बाग्राकोट, डुवर्सले जन्माएको बहुआयामिक प्रतिभा हुन् । सुन्दासले पश्चिमोत्तर भारतका धेरै भूभागमा आदिकविको आकृति बनाइसकेका छन् । उनले बनाएका भानुका सालिक स्थानीय चोक, गल्ली र प्राङ्गणमा शोभायमान बनेका छन् ।

‘म नौ–दस कक्षा पढ्दासम्म चित्र कोर्ने भइसकेको थिएँ । लाइभ स्केच गरेर मान्छेका अनुहार उतार्थें । उनीहरू मलाई सय, दुईसय रुपियाँ दिन्थे ।’ उनी भन्छन् । सुरुका दिनमा उनी गाडीका नम्बर प्लेट र पोष्टरहरू पनि बनाउथे । ‘वालपेन्टिङ’ र ‘साइनबोर्ड’ समेत लेख्ने काम उनले गरे । त्यसरी जम्मा भएको पैसा स्कूलको आफ्नो पढाइमा खर्च गर्थे । त्यसबाट कापी–कलम, लुगाफाटो किन्थे । वास्तवमा उनले चित्रकलाको सिर्जना अभ्यास गरेनन्, काम गरे । काम गर्दागर्दै अभ्यस्त हुँदै गए ।

उनले मूर्ति पनि बनाउने गरेको मानिसले थाहा पाउँदै गए । अनि धमाधम माग आउन थाल्यो । हरेक मूर्ति कसरी राम्रो गराउने भन्ने ध्याउन्नमा उनी हुन्थे ।

कलाकार सुन्दासका अनुसार त्यसपछि चित्रकारबाट मूर्तिकारतिर बढी समय उनले दिन थाले । ‘अनि चित्रकार कम र मूर्तिकार बढी भइसकेँछु ।’ उनी भन्छन् । आफूले अहिलेसम्म ६०–७० वटा मूर्ति बनाइसकेको उनी बताउँछन् । उनले भानुभक्त, महाकवि देवकोटा, हरिभक्त कटुवाल, अरूणा लामा आदिका मूर्ति बनाएका छन् ।

उनले बनाएको एउटा मूर्ति एक लाखदेखि, तीन लाख भारूमा बिक्री हुन्छ । कला सिर्जनामा समर्पण भएबापत उनी पुरस्कृत पनि भइसकेका छन् । पछिल्लो पटक सन् २०१८ मा लैनसिंह बाङ्देल स्मृति प्रतिष्ठानले ‘लैनसिंह बाङदेल स्मृति पुरस्कार’ दिएको थियो ।

त्यस्तै सिक्किमका विभिन्न स्थानमा पनि आदिकविका शालिक राखिएका छन् । नेपाली भाषीको बाहुल्य रहेको त्यहाँका नाम्ची, रिनाक, सिङ्ताम, सोरेङ्ग, गेजिङ लगायत ठाउँमा भानुका शालिक छन् । भानुजयन्तीमा नेपाली भाषा, साहित्य र जातीय एकताका लागि वृहत कार्यक्रम त्यहाँ हुन्छ ।

सिक्किमकी कलाकार दीपा साराजा बुङछेन राई त्यहाँ भानु जयन्तीको विशेष महत्त्व भएकाले भव्यताका साथ मनाइने बताउँछिन् । गान्तोकको भानु उद्यानमा सन् १९८१ मा तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीको तत्परतामा भानुको शालिक स्थापना गरिएको थियो । नेपाली साहित्य परिषद्, सिक्किमका तत्कालीन अध्यक्ष रूद्र पौड्याल भानुको यो पहिलो शालिक भएको बताउँछन् । यो शालिकका मूर्तिकार कोलकोत्ता निवासी मुक्ति पाल हुन् ।

उता मणिपुरका भवानी अधिकारीका अनुसार त्यहाँ सन् १९६० बाट धुमधामले भानु जयन्ती मनाइन्छ । पहिले दार्जीलिङतिरबाट फोटो लगेर कार्यक्रम गरिन्थ्यो । अहिले इन्टरनेटबाट निकालेर फोटो सजाइन्छ । यता सिलोङका कलाकार तथा साहित्यकार विक्रमबीर थापाले उहिल्यै आदिकविलाई क्याभासमा उतारे । त्यही चित्रलाई फूलमालाले सजाएर त्यहाँ भानुजयन्ती मनाइने थापा बताउँछन् ।

असममा भने धेरै स्थानमा भानुभक्तका शालिक छन् । त्यहाँका स्थानीय देवेन सापकोटाका अनुसार तिनसुकिया जिल्ला जागुनको उदयपुरमा सन् १९९३ मा शालिक राखिएको थियो । त्यस्तै डिगबो, सोणितपुर, गामिरी, लोख्रा–चारदुवार, डिमाहासाओ जिल्लाको उम्राङ्सु, कासार जिल्लाको सिलसरस्थित हरिनगरमा पनि भानुका शालिक राखिएका छन् ।

कालिङपोङस्थित लिंगसे, त्रिकोण पार्कमा आदिकविको अर्धकदको शालिक अवस्थित छ । सामसिङ्ग चिया कमानको भानुनगर र नबुमा रवीन्द्र–भानु मञ्च, बाग्राकोटको भानु मैदानछेउमा पनि शालिक राखिएको छ । गत २०७८ साल चिलाउने चियाबारीमा पनि शालिक अनावरण भएको छ । सिलगुढीका विभिन्न स्थानमा पनि आदिकविका आकृति सम्मानपूर्वक राखिएका छन् ।

तस्वीरहरू मूर्तिकार किर्पेन्द्र गुरुङले बनाएका आदिकवि