धनकुटा / आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा धनकुटाका स्रष्टाहरुले आफ्ना रचना वाचन गर्नुका साथै केहीले भने रामायण वाचन गरे ।

सल्लेरी साहित्य संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसंगतीविरुद्ध सिर्जना मार्फत भावना पस्किए ।

कवि मुकुन्द प्रयासले ‘भानुभक्तहरु’ शिर्षकको कविताबाट व्यंग्यभाव प्रकट गरेका थिए । यस्तै कवि निर्मला कुँवरले आफ्ना पाँच मुक्तक प्रस्तुत गरेकी थिइन् । अर्का कवि अनिल सुवेदीले दास एक मनुष्य शिर्षकको मानव विसंगति प्रति चिरफार गरेका थिए ।

गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका अध्यक्ष समेत रहेका कवि घनश्याम बराल औलालीले भानुभक्तबाट रचित रामायणका श्लोक र आफ्नो स्वतन्त्र सिर्जन वाचन गरे ।

सहप्राध्यापक डा. यज्ञप्रसाद गुरागाईंले भानुभक्तको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । यस अवसरमा कविहरु सावित्री अधिकारी, मञ्जु गुरागाईं, लक्ष्मी अधिकारी, द्रोणप्रसाद गुरागाईं, सन्तवीर लामा, रमेश अधिकारी लगायत १६ जनाले सिर्जना वाचन गरे ।

यसैगरी भानु जयन्तीको अवसरमा धनकुटा बहुमुखी क्याम्पसको आयोजनामा प्रतियोगितात्मक कवि गोष्ठिसमेत आयोजना गरिएको थियो ।