सन्दर्भ : गान्तोकको २०८ औं भानुजयन्ती भव्य समारोहमा उब्जेका कुराहरू

यता दार्जिलिङ- सिक्किम आसामतिर भानुजयन्ती मनाउने चलन बढ्दै गएको पाइन्छ। यही अवसर पारेर नेपाली जातीय चेतना, भाषाप्रेम, साहित्यप्रति रूचि आदि जस्ता कुरा जोडिन पुग्छन् । भारतमा गोर्खालीहरूको उपस्थिति जनाउन, भाषाप्रेम, एकत्वको प्रतीक, जातीयता उत्थान आदिको एउटा माध्यम भएको छ भानुजयन्ती समारोह। सबैभन्दा पहिले दार्जिलिङबाट सानो रूपमा भानुभक्तको फोटो राखेर मनाउन थालिएको हो भानुजयन्ती। सीमित व्यक्ति शून्यप्रायः बजेटबाट मनाउने गरिन्थ्यो।

भानुजयन्ती दार्जिलिङदेखि थालनी भएर कालिम्पोङ, खरसाङ, सिलगडी, सिक्किम, असम हुँदै कताकता मनाइने क्रम बढेको छ। भारतमा भानुजयन्तीको क्रम उर्ध्वमुखी छ। अब त दार्जिलिङ जिल्लाका विभिन्न ठाउँमा स्थापना गर्दै भानुजयन्ती मनाउने क्रम बढेको छ। नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, गोर्खा जनपुस्तकालय खरसाङ, देवकोटा सङ्घ, सिलगड़ी, नेपाली साहित्य अध्यययन समिति, कालेबुङको मुख्य आयोजनामा भानुजयन्ती मनाइने क्रम बढेको हो। यता सिक्किममा पनि गान्तोक हुँदै सिक्किमका विभिन्न स्थानमा पनि भव्य रूपमा मनाउने क्रम बढ्दो छ।

यसपालि नेपाली साहित्य परिषद्को आयोजनामा सम्पन्न भएको भानु जयन्ती समारोहमा आमन्त्रित अतिथिका रूपमा उपस्थित हुने सौभाग्य जुर्‌यो। उक्त समारोह यसपालि सिक्किम सरकारको सौजन्य र आयोजनामा सम्पन्न भयो। यस कार्यक्रमलाई उत्सवमुखी र उद्देश्यमुखी दुवैबाट मनाइएको परिलक्षित हुन्छ। समारोहका अध्यक्षता मन्त्री बेदुसिंह पन्त थिए भने नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौड्याल तथा मुख्यअतिथि मुख्यमन्त्री गोले रहेका थिए।

सर्वप्रथम भानु सालिकमा माल्यार्पण कार्यक्रम भयो। त्यसदिन नै भानुभक्तको शालिक र त्यसको दर्शकदीर्घा परिसर ओताउने छानायुक्त भानु उद्यान नवनिर्माणको उद्घाटन भयो। मुख्यमन्त्रीको आगमनले उद्यान भरियो। मान्छेको कुँडुलो लाग्यो। सम्झेँ, भानुभक्तप्रति मान्छेका श्रद्धा र भक्ति होला। तर मुख्यमन्त्री गएपछि भने उद्यानका आधाभन्दा बढी मान्छे हिँडे। शालिकस्थल रानो हिँडेपछि मौरीहरू सबै हिँडेसरह पनि देखियो। त्यसपछि मात्र पाहुनाहरूले आरामले भानुभक्तको शालिकमा माल्यार्पण गरे।

त्यसपछि दुई किलोमिटर लामो शोभायात्रा सम्पन्न भयो। यसमा सिक्किमका एक्काइस वटा जाति-जनजातिका पोशाकमा सजिएर बाजागाजा, गीत आदि प्रस्तुत गरे। यसो हेर्दा दिल्ली गणतन्त्र दिवसको उपलक्ष्यमा देखिने विभिन्न झाँकी समान देखियो। एउटा कुरा के भने, नाच्नु हाम्रो जिनभित्र नै रहेको छ। त्यसपछि १ बजेदेखि भानुजयन्ती समारोह सम्पन्न भयो। त्यसमा रामायण पाठ, नृत्य, स्वागत वक्तव्य, धन्यवाद वक्तव्य आदि सम्पन्न भए। धन्यवाद ज्ञापनमा श्री हरि ढुङ्गेलको प्रस्तुत उल्लेखनीय थियो। उनको प्रस्तुत रोचक र दर्शकलाई जोसिलो बनाउने खालको थियो। त्यसमा उज्ज्वल कलासङ्घको नृत्य भने खुबै आकर्षक थिए।

त्यस दिनको मुख्य कार्यक्रम २०२१ – २०२२ को भानु पुरस्कारको ससम्मान वितरण तथा मुख्यमन्त्रीको वक्तव्य, दिलकुमारी भण्डारीको मन्तव्यमा कति शालीनता, कति दूरदर्शिता, कति सरलता, कति उदार ! उहाँ सिक्किमको मात्रै नभएर भारतका सारा नेपालीहरूकी नेतृ हुन्, श्रद्धाकी पात्र हुन्। के एन शर्माको मन्त्वय पनि गहकिलो, बौद्धिक थियो। उनले भाषाका शब्द प्रयोगमा सतर्क हुन आह्वान गरे ।

मुख्यमन्त्री पी ए गोलेको वक्तव्यता उनको दूरदर्शिता झल्कियो। उनले नेपालीलाई फुटेर होइन जुटेर काम गर्ने, सिक्किमलाई नेपाली भाषा साहित्यको एउटा केन्द्र बनाउने, भाषा साहित्य उत्थानका निम्ति काम गर्ने आदि कुरा व्यक्त गरे । मुख्यमन्त्री गोलेले भारतमा नेपालीहरू निर्धक्कसँग नेपाली भाषा बोल्न सक्ने, संवैधानिक मान्यता पाएको नेपालीभाषा गर्वले बोल्नुपर्ने बताए। उनले अंग्रेजी आवश्यकताको भाषा भए पनि नेपाली भाषा बोल्नु जातित्व हो, यसलाई बिर्सनुहुन्न भन्ने सन्देश दिए। त्यसैगरी संविधानमा नेपाली भाषा मान्यता दिवसको उपलक्ष्य प्रतिवर्ष २० अगस्टको दिनलाई सिक्किममा सरकारी बिदाको घोषणा गरे। यसैगरी उनले हप्तामा एकपटक भए पनि आफ्नो जातीय पोशाक लाउनुपर्ने सुझाव व्यक्त गरे।

अब हाम्रो समाज संक्रमणको अवस्थाबाट गुज्रिरहेका छौं। समयको क्रममा भारतमा हामी गोलबद्ध बनेका हौं भने अब कुन तन्त्र वा निकायका कारणले हो जातिबाट जाततिर ढल्किन लागेका छौं। यद्यपि हाम्रा अधिकांश घरमा मिश्रित भएर बसेका छौं। सिङोग जाति टुटनु हुँदैन जुट्नुपर्छ भन्ने कुरामा सबै चिन्तित छौं, सचेत छौं। यस्ता जातीय एकत्वका निम्ति गरिए जातीय चाड़पर्व आदिले मनाइन्छ।

यस समारोहलाई अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न गरिएको थियो। कार्यक्रममा नेपालबाट छजना, म्यानमारबाट एकजना, थाइल्याण्डबाट एकजना, मणिपुरबाट तीनजना, दार्जिलिङबाट पाँचजना, दिल्लीबाट दुईजना, भाक्सूबाट दुईजना, सिलाङ, सिलगडी, खरसाङ, कालिम्पोङबाट केही साहित्यिक व्यक्तित्व गरेर अतिथिहरू समावेश थिए। यसमा काठमाडौंबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरूङ, नाटककार अशेष मल्ल, ममिला जोशी, कृष्ण प्रसाइ, भाक्सूकी बयानब्बे वर्षकी वृद्धा साधना नेपाली, शिलाङका सलील ज्ञवाली, दार्जिलिभका डा गोकुल सिन्हा, किरण ठकुरी बसन्त छेत्री, मन्जुला तामाङ, कालिम्पोङबाट महाकवि मोहन दुखुन र नवीन पौड्याल, असमबाट अनेसासका पदाधिकारीहरू आदि गरेर उपस्थित थिए।

यसपालाको गान्तोकको भानुजयन्तीमा सरकारले मन खोलेर भानुजयन्ती समारोह सम्पन्न गर्‌यो।