
नेसास क्यानडाको आयोजनामा यहि जुलाइ १३, २०२१ मंगलबारका दिन २०८ औँ भानु जयन्ती कविता वाचन तथा आदिकवि भानुभक्त आचार्यको योगदानमा चर्चा गर्दै जुममार्फत सम्पन्न भयो। क्यानडाको बिभिन्न शहरबाट उपस्थित शर्जकहरुले आ आफ्ना कविता वाचन गर्दै आदिकविसम्बन्धी धारणाहरु राखेका थिए।
संस्थाका महासचिव मोहन खरेलको सञ्चालनमा शुरु भएको कार्यक्रममा तनहुँमै जन्मिएर क्यानडाको मन्ट्रिएलमा बस्दै आएका शर्जक युवराज भण्डारीको “तिमी आदि” शीर्षकको भानुको योगदानको चर्चा गरिएको कविताबाट शुरु भएको थियो।
डा. तुलसी धरेलले भानुसम्बन्धी गीतिकविता सुनाउनु भएको थियो । संस्थाका पूर्व अध्यक्ष रविन थपलियाले भानुकै केही कविताहरु सुनाएर भानुसम्बन्धी आफ्ना धारणा राख्नु भएको थियो । संस्थाका अध्यक्ष खेम गुरागाईंले कवि र प्रकृतिसम्बन्धी कविता, रोमकान्त सापकोटाले फूलको कविता, मुक्ति गौतमको गजल, मोहन खरेलको रामायणका विभिन्न श्लोक सहितको आफ्नो कविता, राजन पोखरेलको भानुसम्बन्धी कविता र श्याम खनालले “भानुको क्यानडा यात्रा” शीर्षकको कविता सुनाएर भानुलाई सम्झिनु भएको थियो ।
साहित्यकार गोपीकृष्ण काफ्ले तथा गोविन्द सिंह रावतले भानुका नेपाली भाषा साहित्यमा दिएका योगदानको चर्चा गर्दै भानुको जन्मदिनलाई भाषा दिवसको रुपमा अन्तर्राष्ट्रिय स्तरमा मनाउनु पर्ने तथा उनको योगदानलाई अझ ब्यापक बनाउनु पर्ने विचार राख्नु भएको थियो ।
भानुले भाषा साहित्यमा गरेका योगदान र त्यसको समीक्षा सही रुपमा हुनुपर्छ। आलोचना हुनु, बहस हुनु या कतिपय कुराहरूमा आदिकवि प्रति आलोचनात्मक सोच राख्नु र उनको लेखन प्रति मतैक्यता हुनु स्वभाविक हो। विचारको मन्थन हुनुपर्छ भन्दै कार्यक्रमका सभापती खेम गुरागाईले कार्यक्रमको समापन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










