काठमाडौं फरेस्ट्री कलेज र वन तथा वातावरण साहित्यिक समूहको आयोजना २१० औं भानुजयन्तीको अवसरमा आज ‘पर्यासाहित्य विमर्श र कविता वाचन’ कार्यक्रम सम्पन्न भयो ।
प्राज्ञ ध्रुव मधिकर्मिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथिको रुपमा निवर्तमान माननीय तथा साहित्यकार डा. पुष्पा केसी भण्डारी, पर्यासाहित्यका अभियन्ता विजय हितान, वन तथा वातावरण साहित्यिक समूहका संयोजक तथा निबन्धकार डा. रोशन शेरचन उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि र कार्यक्रमको अध्यक्षबाट भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको सो कार्यक्रमको अध्यक्षता कलेजका प्राचार्य डा. झमकबहादुर कार्कीले गर्नु भएको थियो भने कलेजका सह-प्राचार्य एवं वन तथा साहित्यिक समूहका संस्थापक सदस्य डा. हिमलाल श्रेष्ठले सहभागीलाई स्वागत गर्नु भएको थियो ।
डा. श्रेष्ठले पर्यासाहित्य, संरक्षण कविता यात्रा र ‘सिर्जना र असार’ अनि हिमाली संरक्षण समूहसँगको सहकार्यले नै कार्यक्रम गर्ने यो अवस्थामा पुर्याएको उल्लेख गर्नुभयो ।
अतिथिहरूमध्ये पर्यासाहित्यमा दिलोज्यान दिएर लागिरहनु भएका कवि तथा उपन्यासकार विजय हितानले ‘भानु जयन्ती मात्र होइन भालु जयन्ती पनि मनाउनु पर्छ र मोती जयन्ती मात्र होइन माटो जयन्ती पनि मनाउनु पर्छ भन्दै आफ्नो भानुभक्त माथिको कविता र मलाई छोरी चाहिएको छ भन्ने कविता वाचन गर्नुभयो ।
त्यसैगरी वनविज्ञ तथा साहित्यकार डा. पुष्पा केसी भण्डारीले भानुभक्तको कविता र जीवन नै घाँसीको काम देखेर, घाँसीले धन कमाएर कुवा खनाउने, अरुको भलो चिताउने, पानीको व्यवस्थापन गर्ने जस्ता कार्यबाट सिकेर नेपाली भाषाको उन्नयनमा लागेको देख्दा हाम्रो नेपाली साहित्य नै पर्यावरणसँग एकाकार छ भन्ने लाग्छ भन्नुभयो । उहाँले सो अवसरमा आफ्नो कवितासमेत वाचन गर्नुभयो ।
डा. रोशन शेरचनले आफ्नो जोखिमपूर्ण यात्राको क्रममा मृत्युलाई जितेर फर्कने क्रममा लेखेको कविता सुनाउनु भयो ।
कलेजका विद्यार्थीद्वय विजय पौडेल र पूर्णिमा जोशीले संयुक्त रुपमा संचालन गर्नु भएको उक्त कार्यक्रममा आमन्त्रित अतिथिहरूले आफ्नो साहित्यिक लेखन, पर्यावरणीय साहित्यको बढिरहेको लेखन प्रवृत्ति, यसको महत्त्व र भानु जयन्तीको उपादेयतामाथि प्रकाश पार्नु भएको थियो ।
अतिथिहरूले कलेजले यस प्रकारको कार्यक्रम गरेर पर्यासाहित्यमा भावि पुस्तालाई जोड्ने सह्रानीय काम गरेको कुरा उल्लेख गर्नु भयो । कार्यक्रममा अतिथि लगायत साहित्यकारहरू राजेशमान केसी, प्रेम खनाल, ममता पौडेल बगालेले कविता वाचन गर्नु भएको थियो भने कलेजका विद्यार्थीहरू ओजस्वी अम्गाई, दिवस घर्ति मगर, कृतिका दाहाल, प्रिया पुन मगर, कञ्चन गाहा मगर, अभिशु न्यौपाने तथा सजल प्रधानले आ-आफ्नो कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा भानुभक्त र घाँसीसम्बन्धी, वातावरण, जलवायु परिवर्तन, वनजंगल, बिग्रँदो वातावरण प्रतिको चिन्ता अनि पृथ्वी र ब्रह्माण्डप्रतिको चिन्ता र चिन्तनयुक्त कविता वाचन भएको थियो ।
कार्यक्रमको उत्तरार्द्धमा कलेजका कर्मचारी कृष्णहरि महर्जनले कृष्णहरि बरालद्वारा लिखित दीपक जंगमद्वारा संगीत गरिएको आनन्द कार्कीले गाउनु भएको ‘यी हल्लाहरू हुन् तिमीले सुनेका…’ भन्ने बोलको गीत गाउनु भएको थियो ।
कार्यक्रममा बोल्दै सिर्जना अभियान समाज, भक्तपुरका सचिव समेत रहनु भएका प्राज्ञ ध्रुव मधिकर्मीले विद्यार्थी भनेका भाविपुस्ता हो ।
पर्यावरणीय साहित्यमा लाग्नु भएका साहित्यकार तथा पर्यावरण र वातावरण संरक्षणमा लाग्नु भएका व्यक्तित्वहरूबाट यस प्रकारको कार्यक्रम आयोजना हुनु सह्रानीय कार्य हो, विद्यार्थी भाइबहिनीहरू जो वन र वातावरण विज्ञान पढिरहेका छन्, उनीहरू समेतमा साहित्यिक रुचि जगाउने अभिप्रायले आयोजित यस कार्यक्रमको महत्त्व छ भन्ने कुरा उल्लेख गर्नुभयो । वाचन भएका तथा साहित्यिक आकाशमा लेखिएका कतिपय विचारहरूको शिल्प, ढाँचा, गाम्भीर्य र काव्यत्मकतामा भिन्नता रहनु स्वाभाविक हो र सो कुन मात्रामा पर्यावरणीय चेत समेटिएको र कुन मात्रामा साहित्यिक मूल्य समेटिएको रचना हो भन्ने कुरा समय क्रममा परिष्कृत हुँदै जाने विषय रहेको प्रकाश पार्नु भयो ।
कार्यक्रमको समापन गर्दै डा. झमकबहादुर कार्कीले यस प्रकारको कार्यक्रम गर्ने पहिलो प्रयास भए पनि कार्यकम राम्रोसँग अघि बढेको, उपस्थित अतिथि साहित्यकारहरूको कविता र मन्तव्यले पर्यावरणीय चेतलाई साहित्यसँग जोड्ने सत्प्रयास अघि बढाउन विद्यार्थी लगायत अन्य इच्छुक व्यक्तिहरूलाई हौसला प्रदान गर्ने कुरा उल्लेख गर्नुभयो । सो कार्यक्रममा साहित्यकारहरूले आफूले प्रकाशन गरेका पुस्तकहरू कलेजको पुस्तकालय प्रयोजनका लागि उपलब्ध गराउनु भएकोमा डा. कार्कीले धन्यवाद ज्ञापन गर्नु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।