पवन महिमा

निर्धक्कसँग नहाँसेको पनि वर्षौँ भयो 

झन्डाले रूप फेरेको हरेक दिनदेखि 

ढुक्कले नहिँडेको पनि धेरै भयो 

सिद्धान्त छोडेर षड्यन्त्र रचेको क्षणदेखि 

अब एउटा कुरा बुझ्दै छु 

षड्यन्त्र गरिरहनेले नै झन्डा फेर्दो रहेछ

 

चलाएर फ्याँकिने थोक होइन झन्डा 

झन्डा लुङ्दार पनि होइन 

रङ्गीबिरङ्गी मन्त्रहरू हावामा फरफराई रहने

 

झन्डा छहारी होइन 

ओताएर शीतल तापिरहने 

सहारा पनि सम्झिनु हुन्न झन्डा 

समाएर औँली निस्फिक्री हिँडिरहने

 

संसारको सर्वोच्च चुचुरोमा गडेर 

फर्केका तेन्जिङको 

अनुहारमा देखिने 

विजयीको प्रभा होस् न हाम्रो झन्डामा

 

स्वतन्त्रताको मैदानमा 

भारतवासीले हात हातमा लिइएको 

मसिनो झन्डाहरूमा ठूलो 

निःस्वार्थ मुटु बोकी फरफराओस्

एकता हाम्रो झन्डामा

 

झन्डामा नीति होस्

राजनीति होस् 

तर कुनै कुटनीति नफरफराओस्

 

झन्डामा कुनै साम्प्रदायिकता नफरफराओस् 

झन्डामा कुनै क्षेत्रीयता नफरफराओस्

 

झन्डा त्यहाँ गाडेको हुनुपर्छ 

जहाँ हकको हनन भएको हुन्छ 

झन्डा त्यहाँ बाँचेको हुनुपर्छ 

जहाँ सिद्धान्तमा नडगमगाई 

अडिग उभिएको हुन्छ 

झन्डाको रङ्गमा रङ्गिएर 

एउटा जाति बाँचेको हुनु हुँदैन 

जाति आफ्नै अस्तित्वको 

रङ्गमा रङ्गिएर स्वअस्मिता 

बोकेर बाँचेको हुनुपर्छ झन्डा 

नितान्त झन्डा हुनुपर्छ

 झन्डाको अस्तित्व त्यहाँ बाँचेको हुनुपर्छ 

जहाँ झन्डालाई चिनाएर जनता होइन 

जनतालाई चिनाएर झन्डा चिनिएको हुनुपर्छ ।