प्रकाश पराजुली

धेरै वर्ष पर्खेर

आज बिहान भयो
अझै पर्खिरहेको थिएँ
रातो भालेको अभिवादन र
उन्मुक्त उज्यालो
ऊमाथि
उत्तिसको टुप्पोबाट
हैऽऽ….. घरमा को छ?
भन्दै
खसेन उस्तरी
एक मुठी
फगत एक मुठी!
आफ्नै भागको उज्यालो
खसेन कतै
मेरो भागको उज्यालो
फगत म
पर्खिरहेको छु
दशकौँ वर्ष काटेर
एउटा उज्यालो बिहान
मेरो अधिकारको उज्यालो
मेरो बन्डा उज्यालो
म अञ्जुली थापिरहेको छु
थापिरहेको छु
फेरि दशकौँ बित्ला
अहं अब म पर्खिन्न
म साङ्लो चुँट्याएर
आउँदैछु
आउँदैछु म
ऊमाथि डाँडामा
जहाँ उज्यालो पनि
मलाई पर्खिरहेको होस्…
देन्ताम पश्चिम, सिक्किम