गान्तोक, जुलाई 17/ राजधानीस्थित चर्च रोड़नजिक एक स्थानीय होटलमा भारतीय गोर्खा परिसंघ, सिक्किम च्याप्टरका अध्यक्ष चुनिलाल घिमिरेको अध्यक्षतामा एक महत्वपूर्ण सभा सम्पन्न गरियो।
सभामा उपस्थित रहेका परिसंघका सदस्यहरूमाझ व्यापक विचार-विमर्शपछि कतिपय निर्णायक निर्णयहरू लिइयो। विभिन्न प्रस्तावहरूमाथि विविध दृष्टिकोणबाट निर्क्यौल गरेपछि सभाले आगामी 6 अगस्तको दिन भारतीय गोर्खा परिसंघको साङ्गठनिक चुनाउ गराउने प्रस्ताव पारित गर्यो। अहिलेसम्म परिसंघको पक्षमा जति पनि कार्यक्रमहरू सम्पन्न भए, ती सबै तदर्थ समिति अन्तर्गत भएका थिए।
तदर्थ कमिटीले लामो अवधिसम्म कार्य गर्ननसक्ने हुनाले यो महत्वपूर्ण निर्णय लिइएको हो।
सभामा विविध बुँदाहरूमाथि छलफल गरियो, जसमा आगामी 25 अगस्तको दिन बलिदान दिवस दार्जीलिङमा सम्पन्न हुने, भारतका विभिन्न राज्यहरूबाट ख्यातिप्राप्त व्यक्तित्वहरूको समुपस्थितिमा एक ऐतिहासिक महासम्मिलन सिक्किमको मुटु राजधानीमा सम्पन्न गराइने लगायत अन्य विषयहरूमाथि व्यापक विचार-विमर्श गरियो।
आगामी 6 अगस्तको दिन सम्पन्न गराइने परिसंघको चुनाउलाई सहज रूपमा परिचलन गराउनका निम्ति भारतीय संविधानलाई नेपाली भाषामा अनुवाद गरी प्रसिद्धि कमाएका कुबेरचन्द्र दाहाल एवं भानु पुरस्कार प्रापक तथा वरिष्ठ साहित्यकार के. एन. शर्मालाई चुनाउ आयुक्तको रूपमा सर्वसम्मतिले चयन गर्यो। चुुनाउ सम्बन्धी प्रारूप तयार पार्ने, चुनाउलाई कसरी सम्पन्न गराउने भन्नेबारेमा चुनाउ आयुक्त स्वयंले निर्णय लिनेछ।
यसै गरी चुनाउ सम्बन्धी व्यवस्थापनको अभिभारा परिसंघकै कार्यकारी अध्यक्ष श्रीमती अमृता थापा एवं उपाध्यक्ष जीवन कटुवाललाई दिइएको छ भने संयोजकको रूपमा साङ्गठनिक सचिव खुसेन तिम्सिना ‘तागासी’लाई मनोनीत गरिएको छ।
स्मरण रहोस्, आगामी 6 अगस्त, 2023-को दिन सम्पन्न हुने भागोप सिक्किम शाखाको चुनाउमा 91 जना वर्तमान सदस्य एवं विगतका आजीवन सदस्यहरूले मतदान गर्न पाउने प्रस्ताव पारित गरियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।