मिति : मई २५, १९२४

स्थान : दार्जीलिङको नृपेन्द्र नारायण बंगाली हिन्दु हल (एनएनबिएच) जुन सन् १८८३ मा स्थापना भएको थियो ।

भेलाको विषय : नेपाली साहित्य सम्मेलन (नेसास) को स्थापना गर्नु ।

वरिष्ठ वकिल एवं साहित्य अनुरागी रायसाहेब हरिप्रसाद प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा तत्कालीन युवा साहित्यकार एवं पत्रकार पारसमणि प्रधानले वक्तव्य भन्नुभयो, “अरूले शिक्षा हासिल गर्छन् मातृभाषाको माध्यमबाट तर नेपालीहरूले यस्तो गर्न पाएका छैनन् । यसर्थ अरूलाई केही सिक्नु जति समय लाग्छ नेपालीहरूलाई दोब्बर समय लाग्छ । विश्वविद्यालयहरूमा नेपाली पढ्ने अनुमति दिएको छ, तर त्यहाँ अध्ययन गर्ने नेपालीहरूको संख्या औंलामा गन्नसकिने बराबर छ । तसर्थ नेपालीहरूले प्राथमिक पाठशालामै मातृभाषामा पढ्ने सुविधा पाउनुपर्छ । यसरी विद्याको प्रचार हुन्छ औ नेपाली भाषाको पनि उन्नति भएर जान्छ । भाषा र साहित्यको उन्नति नभई जातिको उन्नति कदापि हुनसक्तैन ।”

छब्बीस मई १९२४ मा नेपाली साहित्य प्रसार र उन्नतिसँगै नेपाली भाषाको मौलिक, अनूदित ग्रन्थहरू नेपाली पत्र-पत्रिकाहरू प्रकाशन गर्नु र नेपाली भाषाको प्राचीन साहित्य अन्वेषण गरी भाषाको उन्नति गराउनु आदि उद्देश्य लिएर सम्मेलनको संविधान पारित हुन्छ ।  पहिलो कार्यसमितिको अध्यक्षमा चयन हुन्छ रायसाहेब हरिप्रसाद प्रधान (पछि गएर उनी नेपालको प्रथम प्रधान न्यायाधीश भए), अनि उपाध्यक्ष धरणीधर कोइराला र मन्त्रीहरूमा सूर्यविक्रम ज्ञावाली (पछि गएर नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति) र पारसमणि प्रधान !

त्यसको ठीक १ सय १ वर्ष पछि हामी नेपाली साहित्य सम्मेलनको दुई  दिवसीय-शतवार्षिकी कार्यक्रममा (मे २४ र २५, २०२५) नेपालबाट सहभागिता जनाउन नेपाली साहित्य सम्मेलनको निमन्त्रणामा वरिष्ठ पत्रकार एवं साहित्यकार रोचक घिमिरे, वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई, शरच्चन्द्र वस्ती, डा. कुमारप्रसाद कोइराला र म दार्जीलिङ पुग्छौं मई २३ तारिख अर्थात कार्यक्रमको एक दिन अगाडि ।

यस बखत अध्यक्ष हुन्छन् डा. चन्द्रकुमार राई, उपाध्यक्ष मेघमणि दाहाल र डा. गीता छेत्री र मूल सचिव महेन्द्र प्रधान । अभिभावकको भूमिकामा डा. जीवन नामदुंग र प्रेम प्रधान ! त्यस वेला अर्काको भवनमा कार्यक्रम गरेका थिए भने यस पालि आफ्नै भवनमा जो एनएनबिएच हलभन्दा केवल सय मिटर दूरीमा छ । नेपाल बाहेक भारतका विभिन्न ठाउँबाट नेपाली र अनेपाली साहित्यकारहरूको राम्रो जमघट थियो । यो कार्यक्रम नेपाली साहित्यको निम्ति एक प्रकारको साहित्यिक महाकुम्भ थियो ।

पहिलो दिनको पहिलो सत्रमा नेपाली साहित्य सम्मेलन, दार्जीलिङको नवनिर्मित विस्तारित भागको उ‌द्घाटन  जी.टी.ए. (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) का मुख्य कार्यपाल श्री अनित थापाले गर्नुभएको थियो भने  जी. टी. ए. दार्जीलिङका  सल्लाहकार श्री अमर लामा र नगराध्यक्ष, दार्जीलिङ नगरपालिकाका श्री दिपेन ठकुरी लगायत अन्य गन्यमान्य व्यक्तिहरूको उपस्थिति थियो ।

डा. चन्द्रकुमार राईको अध्यक्षतामा भएको दोस्रो सत्रमा प्रा.एन.बी. राई, मूल सचिव, नेपाली साहित्य परिषद्, शिलाङ, डा. तुलसी भट्टराई, वरिष्ठ साहित्यकार, नेपाल, डा. कुमारप्रसाद कोइराला, वरिष्ठ साहित्यकार, नेपाल, ब्रजेन्द्र त्रिपाठी, पूर्व उपसचिव, वरिष्ठ हिन्दी साहित्यकार, साहित्य अकादेमी, दिल्ली आदिले सम्बोधन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा पूर्व अध्यक्ष नामदुंगले विभिन्न भाषा र साहित्यको संघ संस्थाहरूको इतिहास केलाउँदै भारतीय भाषा-साहित्यमा नेपाली साहित्य सम्मेलनले सय वर्षमा दिएको गर्विलो उपस्थितिको चर्चा गर्नुभयो । सम्मेलनको विगतमा भोग्न परेको चुनौतीको चर्चा गर्दै सम्मेलनलाई भारतीय नेपाली साहित्यको अभिभावकको रूपमा बढाउनु पर्ने तर्क राख्नुभयो । साहित्य अकादमीसँगको ५१ वर्ष पुरानो सम्बन्धको पनि स्मरण गर्नुभयो ।

अध्यक्ष राईले सम्मलेनको गतिविधि बारे प्रकाश पार्दै विभिन्न बाधा अडचनको बावजूद पनि शतचार्षिकी कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।

अतिथिको मन्तव्यमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसीप्रसाद भट्टराईले सम्मेलनसँगको पुरानो साइनोलाई केलाउँदै भन्नुभयो, “नेपाली साहित्य सम्मेलनले शताब्दी उमेर पार गरेको सुवर्ण अवसरमा बृहत् अन्तर्राष्ट्रिय भाषा साहित्य सभा आयोजना सम्पन्न गर्दैछ । नेपाली जगतमा यति लामो समयसम्म निरन्तर चल्ने संस्था यही मात्र हो । यो सम्मेलन भाषा, साहित्य, कला र संस्कृतिको संयोजन गर्ने उत्प्रेरक संस्था हो । स्थापना कालदेखि नै भाषिक आन्दोलनको नेतृत्व गर्दै आजको यस गरिमामय स्थान प्राप्त गर्न सफल भएको हो । यस संस्थाले भाषा वाङ्मयिक क्षेत्रमा पुर्‍याएको योगदानले भारतीय नेपालीमा मात्र होइन नेपाल र विश्वभरि छरिएका नेपालीको शिर उच्च बनाएको छ । यहाँबाट प्रकाशित ‘दियालो’ नेपाली भाषाको मानक पत्रिका बनेको छ । सम्मेलन र दियालो परस्पर पूरक हुन् । जय सम्मेलन ।”

मन्तव्यकै क्रममा समालोचक कुमार कोइरालाले भन्नुभयो, “लेख्य नेपाली भाषालाई परिवर्तित हिज्जेले अधोगतितिर धकेलेको छ । यो नेपाली भाषाका लागि अत्यन्त दुःखको कुरा हो । परिवर्तित हिज्जे पूर्वीय भाषा चिन्तन विपरीत देवनागरी लिपिका प्रकृति विपरीत ध्वनि सिद्धान्त वा ध्वनि परिवर्तनका नियम विपरीत भाषाविज्ञानका अवधारणा विपरीत छ । अन्ततः नेपालको सर्वोच्च अदालतले हिज्जे परिवर्तन गर्ने अधिकार कुनै व्यक्ति संस्था र सरकारमा पनि हुँदैन भनेर फैसला गरेकाले यो कानून विपरीत पनि देखिन्छ । तसर्थ हाम्रा प्रबुद्ध प्रयोक्ताले कायम गरेको लेख्य परम्परा र प्रचलन अनुसार नै नेपाली भाषा लेखिनुपर्छ । दार्जीलिङको नेपाली साहित्य सम्मेलनबाट प्रकाशित दियालो पत्रिकाले त्यही लेख्य परम्परा र प्रचलनलाई आधार बनाएको देखिन्छ । तसर्थ संसारभरिका नेपालीले दियालो पत्रिकामा प्रयुक्त हिज्जेलाई मानक मानेर नेपाली भाषाको प्रयोग गर्नु उपयुक्त हुन्छ ।”

 

सोही समारोहमा नामदुंगद्वारा सम्पादित सम्मेलनको मुखपत्र दियालोको शतवार्षिकी विशेषाङ्क (वर्ष : ६०, हाँगो : १५५)को विमोचन गरिएको थियो । यसको साथै डा. जगत छेत्रीले वि.स. २०४२ (सन् १९८५) मा लेखेको नेपाली साहित्य सम्मलेन माथिको शोधपत्र पुस्तकको रूपमा विमोचित गरिएको थियो । स्मरण रहोस् यो शोधपत्रको निम्ति डा. छेत्रीले त्रिभुवन विश्वविद्यालयबाट वि.स. २०४२ मा विद्यावारिधिको उपाधि प्राप्त गरेका थिए । कार्यक्रममा विगतमा दियालोमा प्रकाशित भएका लेखहरूको विधागत रूपमा सङ्कलन गरी प्रकाशित गरेका थिए । दियालोको शतवार्षिकी विशेषाङ्कमा नेपालबाट प्रतिनिधित्व गर्नेहरूको लेख यस प्रकारले प्रकाशित भएको छ :

१. भाषा बचाउने संघर्षमा दार्जीलिङ र नेपाल  – रोचक घिमिरे

२. तत्सम शब्द सानो विवेचना – डा. तुलसी भट्टराई

३. प्रत्येक जातिलाई सभ्यतातिरको यात्रापथ देखाउने उज्यालो नै भाषा रहेछ – डा. गोविन्दराज

४. वर्तनीको विवाद र ‘नेकशुले-२०६९’ – शरच्चन्द्र वस्ती

५. बृहत्तर नेपाली शब्दकोशको कहानी – चूडामणि गौतम

६. नेपाली साहित्य सम्मेलन भारत-नेपालको मितेरी साँघु –  शरद प्रधान

७. लेख्य नेपाली भाषामा देखिएका समस्या र तिनको निराकरण – कुमारप्रसाद कोइराला

0 0 0 0

दोस्रो दिनको पहिलो सत्रको उद्घाटन दार्जीलिङका सांसद श्री राजु विष्टले गर्नुभएको थियो भने सिक्किम सरकारको प्रतिनिधित्व गर्दै परी प्रकाशनका अध्यक्ष श्री सी.पी. शर्माले सम्बोधन भाषण गर्नुभएको थियो ।

दोस्रो सत्रलाई सम्बोधन गर्दै ‘रचना’ साहित्यिक पत्रिकाका संस्थापक तथा सम्पादक रोचक घिमिरेले भन्नुभयो, “नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सर्वप्रथम स्वर्णिम बिहानी ल्याउने दार्जीलिङको यस पावन भूमिलाई हार्दिक वन्दना ! नेपाली साहित्य सम्मेलन जस्तो गौरवशाली संस्थाको शताब्दी महोत्सवमा भाग लिने अवसर जुटाइदिएकोमा आयोजक वर्गप्रति असीम अभिवादन ! दार्जीलिङ त्यस्तो भूमि हो जसका बारे कुनै वेला हाम्रा नाट्य सम्राट बालकृष्ण समले भनेका थिए, ‘आज दार्जीलिङले जे सोच्दछ, नेपालले भोलि मात्र त्यो सोच्ने गर्दछ ।’ हुन पनि नेपाली भाषा साहित्यप्रति, नेपालीका गौरवशाली स्रष्टाहरूप्रति श्रद्धा गर्ने, महिमामण्डित गराउने काममा दार्जीलिङ अग्रणी रह्यो । हामी नेपालकाहरू निकै पछि पर्‍यो । यो तथ्य निःसङ्कोच स्वीकार्नै पर्छ हामीले । स्वभाषा, स्वसाहित्य र स्वसंस्कृति अनि स्वजातिको उन्नयन एकल प्रयासले मात्र सम्भव हुँदैन । संस्थागत सामूहिक प्रयत्न गर्नु पर्दछ भन्ने कुरा सय वर्षअघि नै दार्जीलिङले बुझ्यो अनि नेपाली साहित्य सम्मेलन स्थापना गर्‍यो । यसैको आडमा अग्रजहरूले नेपाली भाषा, साहित्य, संस्कृतिको उन्नयन र मान्यता निम्ति जातीय जाग्रति ल्याउने युगान्तकारी भूमिका खेले । परिश्रमी पुर्खाको होस्टेमा हैसे मिलाउन कर्मशील तन्देरीहरू जुरमुराएर अघि सरे । यसरी शुरू भएको थियो नेपाली भाषा साहित्य संरक्षणको महाअभियान । नेपालमा गोर्खा भाषा, गोर्खा साहित्य भन्ने गरिएकोमा नेपाली भाषा, नेपाली साहित्य भनेर रूपान्तरण गर्ने कामको श्रेय  नेपाली साहित्य सम्मेलनलाई नै जान्छ ।”

उत्तरआधुनिक साहित्यका प्रणेता गोविन्दराज भट्टराई आफ्नो प्रस्तुतिमा भन्नुभयो, “एक सय वर्ष अघिसम्म  सत्ताधारीको कठोर अत्याचारको कारण  नेपाल देशलाई चौतर्फी  अन्धकारले ढाकेको थियो । भारत वर्षमा भने अंग्रेजले शिक्षाको दीप जलाइरहेको थियो । तिनै दिनमा दार्जीलिङ, सिक्किम आदि क्षेत्र पुगेका नेपालीले पढे, शिक्षाको महत्त्व बुझे, भाषिक स्वामित्वमै  स्वअस्तित्व जीवित रहने तथ्य बुझे र नेपाली साहित्य सम्मेलनको स्थापना गरे । यो सत्ताले स्वीकारेको सचेत अग्रणी नेपालीले बीजारोपण गरेको एक स्वतन्त्र संस्था थियो । यसले  उज्यालो छरिरह्यो । त्यो उज्यालो यहाँका धेरै महान् प्रतिभाले नेपालसम्म पुर्‍याए । तर त्यसको पच्चीस वर्षपछि मात्र नेपाल स्वतन्त्र भयो । यो अझै राम्ररी उठ्न सकेको छैन । नेसास हाम्रा लागि एक स्वतन्त्रताको, जातीय एकताको, स्वजाति, स्वभाषा प्रेमको, कला साहित्य पूजाको प्रतीक हो । आज यस्तो अशेष गौरव बोकेको महान् संस्थाको शतवार्षिकी जयन्तीमा सहभागी हुन् पाउँदा मलाई आफ्नो जीवन धन्य भएको लाग्दछ । नेपालमा  स्थिर भएको भत्काउनेहरू सक्रिय भए तर हामी  तिनका विरुद्ध उभिएर तपाईंहरूसँग  ऐक्यबद्धता  जनाउन यहाँ उपस्थित भएका छौं ।  जय नेपाली भाषा !”

यसै बीचमा मैले गुल्मीबाट प्रकाशित ‘हाम्रो पुरुषार्थ’ पत्रिकाको भारतीय नेपाली साहित्य विशेषाङ्क बारेमा छोटो मन्तव्य राखेको थिएँ ।

यही क्रममा विगतमा नेपाली भाषामाथि भएको निर्मम प्रहारको चर्चा गर्दै भाषाविद् शरच्चन्द्र वस्तीले भन्नुभयो, “हिज्जेमाथिको प्रहार भाषाको जगमा प्रहार हो । नेपालमा हिज्जेमाथि जसरी प्रहार भएको छ, त्यसले नेपाली भाषालाई संकुचित बनाउँदै भाषिका बन्ने बाटोतर्फ उन्मुख गराएको छ । तर, जसले यो अराजकता शुरू गरेका थिए, नेपाली भाषाका ती महागुरुहरूले नै यसलाई भाषाविरुद्ध गरिएको पापको संज्ञा दिंदै आत्मालोचना गरेर यसलाई फिर्ता लिइसकेका छन् । नेपालको संविधानले पनि यो भाषिक अराजकतालाई अस्वीकार गरेको छ । साथै नेपालको सर्वोच्च अदालतले पनि नेपाली भाषाको परम्परागत हिज्जे, व्याकरण र लेखनशैलीमा फेरबदल वा भनौं आक्रमण गर्ने अधिकार प्रज्ञा प्रतिष्ठान, त्रिवि-नेपाली विभाग, शिक्षा मन्त्रालय कसैलाई कानूनतः प्राप्त छैन भन्ने आदेश जारी गरिसकेको छ । यो वास्तवमै नेपाली भाषा विरुद्धको अपराध हो । …तपाईंहरू हिज्जेमा भाँडभैलो मच्चाउने यो आत्मघाती अराजकतामा नफस्नुहोला । अन्यथा यसले नेपाली भाषाको गरिमा र गौरव समाप्त पार्नेछ ।”

यस कार्यक्रमका नेपालका पूर्व राजदूत नवलकिशोर राईले पनि सम्बोधन गर्नुभएको थियो ।

यस कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै झापाबाट साहित्यकार चन्द्र भण्डारी, विष्णु न्यौपाने, दीपक सुबेदी र इलामबाट कवि विमल वैद्यको पनि गरिमामय उपस्थिति थियो ।

नेपाली साहित्य सम्मेलनको शतवार्षिकी कार्यक्रम नेपाली साहित्यको इतिहासमा कोसे ढुङ्गो साबित भएको छ । यसले नेपाली भाषा र साहित्यलाई जीवन्त र जीवनान्त बनाएको छ । कुनै वेला आर्थिक प्रलोभन र धम्की दिएर नेपाली साहित्य सम्मेलनलाई गोर्खा साहित्य सम्मेलन नामकरण गर्न दबाब दिएता पनि सम्मेलनको उद्देश्यलाई शब्दशः अनुसरण गरी एक ढिक्का भएर अहोरात्र खटी नेपाली साहित्य सम्मेलनको यत्रो महत् कार्य गर्नुहुने नेसासको अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूलाई नेपाली प्रतिनिधि मण्डलले धन्यवाद एवं आभार व्यक्त गर्दछ । यसैगरी नेपाली साहित्य सम्मेलनको उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछ ।