अहिले नेपालभरि  लालीगुराँस ढकमक्क फुलिरहेछ । चारैतिर कति रमाइलो ! तिमीले पनि यात्राको क्रममा लालीगुराँस त पक्कै देख्यौ होली । कति मनमोहक लोभलाग्दो दृश्य ! तर हेर्नैपर्ने चाहिं  तेह्रथुमको तिनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस ! गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । म पनि पुगेको थिएँ त्यहाँ १५ वर्ष पहिले ।

म जस्तै  गुराँस हेर्न असमबाट कवि  पुरुषोत्तम उपाध्याय दाहाल उर्फ गोठालो अन्तरे त्यहाँ पुगेका थिए तीन हप्ता अगाडि । लालीगुराँस माझ मन्त्रमुग्ध भएर कविता वाचन मात्र गरेनन् उनले तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा राखे पनि ।

यो देखेर मैले गामवेसीका कवि क्षेत्रप्रताप अधिकारीका यो गीत प्रतिक्रियामा राखें :

“म त लालीगुराँस भएछु

म त लालीगुराँस भएछु

बनैभरि फुलिदिन्छु

मनैभरि फुलिदिन्छु

बनैभरि फुलिदिन्छु

मनैभरि फुलिदिन्छु

म त लाली गुराँस भएछु”

गोठालो अन्तरे त रणभुल्लमा परेछन् मेरो प्रतिक्रिया पढेर । उनले त यो गीत दिव्य खालिङको पो सम्झेको रहेछन् । कृतज्ञता सहित धन्यवाद पठाएँ अनि मैले संगीत मात्र दिव्य खालिङको भनिदिएँ ।

प्रिय सिमोन, पश्चिमा देशहरूमा लेख्ने, गाउने र संगीत दिने एकै व्यक्ति वा समूह हुने भएकोले रचनाकार नेपथ्यमा पर्दैनन् तर नेपाली संगीतमा गीतकार जहिले पनि छायामा परिरहेको हुन्छ ।

“सारा दिन अरूलाई बाँडे

सायद यी रात मेरा

मेरा सुखहरू अरूको

सायद यी आँसु मेरो..”

सिमोन, के तिमीलाई थाहा छ ? यो गीत वर्षौंसम्म रेडियो नेपालबाट गोपाल योञ्जनको शब्द भनेर प्रसारित भइरहेको थियो । तर अहिले भन्दा करीब २७ वर्ष अगाडि प्रिय मित्र प्रकाश सयामीले रेडियो सगरमाथामा आयामिक आन्दोलन तथा लीला लेखनका प्रवर्द्धक इन्द्रबहादुर राईलाई लिएको एउटा अन्तर्वार्तामा यस गीतको प्रसङ्गलाई उठान गर्दै सोधेको प्रश्नको उत्तरमा राईज्युले भन्नुभएको थियो, “म एकदिन दार्जीलिङको मुनिसिपल स्कूलमा ईश्वर बल्लभलाई भेट्न गएको थिएँ, कतै नदेखेपछि एकजना कुल्लीलाई सोधें, तिम्रो सरदार कता छ । त्यस बखत उनी स्कूलको मर्मत कार्यको ठेकेदार थिए र दार्जीलिङमा ठेकेदारलाई सरदार भन्छ । उनले चोर औलाले देखए वलल्भलाई । बल्लभ त सिमेन्टको बोरामाथि बसेर गीत पो लेखिरहनु भएको रहेछ । र त्यो गीत थियो – सारा दिन अरूलाई !”

यस अन्तर्वाता पछि गोपाल योञ्जनकी श्रीमतीको सहयोगमा यो गीत ईश्वर बल्लभको नाम गीतकारमा दर्ता भयो । कस्तो विडम्बना सिमोन यो ! ईश्वर बल्लभको एउटा गीत पनि नगेन्द्र थापामा नाममा दर्ता थियो रेडियो नेपालमा । दुवैको सहमतिमा ईश्वर बल्लभको नाममा कायम गरियो ।

सिमोन, मान्छेले बोल्न नसकेको कुरा आँखा, मुस्कान र शरीरको अवयवबाट प्रतिबिम्बित हुन्छ । त्यो तिम्रो हावभावमा पनि देख्छु । यही कुरालाई गीतकारहरूले कति मीठो शैलीमा प्रस्तुत गर्छ तर गायकको स्वरमा आएपछि गीतकार अस्तित्वविहीन हुने गर्छ नेपालमा अनि भारतमा पनि । तर कतिपय गीतकार भाग्यमानी हुन्छ अनि ती मध्येमा अगमसिंह गिरि, म.बी.वि.शाह नाम अग्रपंक्ति आउँछ ।

“नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ

शरद लाग्यो वनमा, फूलले प्रीति गाँसेछ

नजली यहाँ झिलिलि मनको तारा निभेछ

गुराँस फुल्यो पहाडमा मनको फूल झरेछ

नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको

काँडाकै माझ पहाडी फूल

छैन र कहाँ हाँसेको-

छैन र कहाँ हाँसेको..”

यो गीतले जति अम्बर गुरुङलाई चिनाए त्यो भन्दा बढी परिचित गराए गीतकार अगमसिंह गिरीलाई । यो गीत भारतीय नेपालीको निम्ति राष्ट्रिय गीत जतिकै भएको छ । तर सबैले यो भाग्य लिएर कहाँ आएको हुन्छ र सिमोन !

“कहाँबाट ल्याऊँ म सपनाको देश

जब लाग्छ तिमीलाई मेरो आँगन परदेश

कहाँबाट ल्याऊँ म सपनाको देश

जब लाग्छ तिमीलाई मेरो आँगन परदेश

कहाँबाट ल्याऊँ म”

दीप श्रेष्ठको स्वर र संगीतको हृदयस्पर्शी गीतको रचनाकार केही ठाउँ शिवशंकर थापा लेखिएको छ तर शिवशंकर दाजुले मैले लेखेको होइन भन्नुभयो । अर्को ठाउँ यो गीत बसन्त थापाले लेखेको भनिएको छ तर उनले पनि यो सत्य होइन भन्छन् । यो गीतको ठूलो प्रशंसक मेरा मित्र विक्रम पाँडेकाजी भन्छन्, “यो गीत धरान तिरकै विक्रम गुरुङले लेखेको हुनुपर्छ ।”  सत्य के हो त्यो बाहिर आउन बाँकी नै छ ।

दीप श्रेष्ठका उत्कृष्ट गीतहरूका गीतकार विजय श्रेष्ठ हुन् तर उनी गुमनाम छन् ।

“म पत्थर को देवता होइन तोडिएर जोडिने

न म त्यो देव हूँ…

सधै बाँची रहने

न म त्यो देव हूँ…

सधैं बाँची रहने

म पत्थरको देवता होइन तोडिएर जोडिने

मानवता मैले बिकिदेको छैन

कामजोरीमा तिम्रो म मरिदेको होइन

हत्या गर्न कसैको जानेको छुइन..

हत्या गर्न कसैको जानेको छुइन

आत्मालाई तिम्रो म ठुकुराउने छैन

 म पत्थरको देवता होइन तोडिएर जोडिने”

यस्ता कालजयी गीतका गीतकारलाई कमैले चिन्छन् सिमोन !

“माछी मार्न जाऊँ न दाजै कालापानीमा

छेकी बारी दुवाली महाकालीमा

मनको काँडाले कहिल्यै नि कोरेन

फलामे काँडाको तारैले

मनपरि हैन गाँठे हाम्रो पानीमा

आलै छ घाउ १८ को नालापानीमा

नेपाली खोइ कुरा बुझेको

मनपरि जनसंख्या बढेको

विदेशको नोकरीको भर छैन

फर्केर आउँदा घर छैन

थुनिदेऊ नचाहिने ढोका

स्वदेशी हो कम्मरै कस

मेला भर्न जाऊँ न दाजै मेची बगर

पशुपति नगर जंगे पिलर…!”

विजय श्रेष्ठको यो गीत विधान श्रेष्ठ, रीता उपाध्याय र जे पापीले गाएको थियो २०५५/५६ सालतिर । उक्त गीतले चारैतिरबाट नेपालको सीमामाथि भइरहेको अतिक्रमणको चित्रण गर्न खोजेको रचनाकार तथा सङ्गीतकार विजय श्रेष्ठ बताउँछन् बीबीसीमा दिएको एउटा अन्तर्वार्ता । तर यो गीतलाई नेपाल सरकारले प्रतिबन्ध लगायो सिमोन !

“सुगौली सन्धि हामीले बिर्सेको छैन भनिदेऊ,

किल्ला काँगडा हामीले बिर्सेको छैन भनिदेऊ

हामीलाई यस्सै गिज्याई बेलाले केही भन्दैछ,

जलेका लाख मुटुलाई काँडाले यहाँ उन्दैछ

सुनेर केही बुझ्यौ कि पीरले छाती पगाली

धिक्कारी देला युगले दुर्बल सम्झी नेपाली

देउरालीबाट कुर्लेर पहाड पाखा थर्काऊ

पीरले त्यसै बगेका हजार मानव फर्काऊ

छातीमा पीर मिचेर, आँखामा आँशु लिपेर

मनको घाउ सुक्दैन हाँसोले बिचै थिचेर

लडेर मर्न हामीले भुलेका छैनौँ भनन

रगतको गोला मुटुमा सुकेको छैन भनन

आलै छ रगत माटोमा कलुङ्गा कहाँ बिर्सन्छौं ?

नेपाली गौरव उचाल्छौ बलभद्र कहाँ बिर्सन्छौं ?”

अम्बर गुरुङ दार्जिलिङ हुँदै रचेको यो गीत । उनको जीवनकालमा कहिले सार्वजनिक रूपमा गाएनन् । रेडियो सगरमाथामा रेकड गरिएको यो गीत उनको इच्छाअनुसार मृत्युपछि मात्र सार्वजनिक गरियो । किन उनले यसो भने शायद यसको धेरै कारण हुनसक्छ । विजय श्रेष्ठलाई पीडा भएर लेखेको  ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ लेख्नुभन्दा ५० वर्ष पहिले नै अम्बर गुरुङको मन पीडाले छटपटेको थियो । यस्ता गीत रच्ने थोरै छन् नेपालमा ।

तिमीले पनि मान्छेको मूल्य समयमा नै बुझ्नुपर्छ नि । हुन त प्राणीहरूमा सबैभन्दा स्वार्थी प्राणी मान्छे हो भन्छ । मान्छेको स्वभाव मन मिल्नेसँग जतिपनि बोल्ने, च्याट गर्ने समय हुन्छ नमिल्नेसँग म बिजी छु, थाकेको छु, निद्रा लाग्यो आदिको बहाना बनाएर पन्छिन्छ । तर म तिमीबाट यस्तो बहानाको अपेक्षा गर्दिनँ है सिमोन ! हामीले मान्छेको भावना र हार्दिकताको सम्मान गर्न सिक्नुपर्छ ।

तिमीले कमै नाम सुनेका गीतकार शिवशङ्कर थापा पनि हुन् । उनका शब्दमा दीप श्रेष्ठको हिट गीत पनि छन् जस्तै ‘भन्थे मेरी उनी’, ‘तिमी आकाशको जुन भयौ’, ‘मेरो आँखामा हरदिन बादल छाइरह्यो बिन्ती छ कसैले आँधी ल्याइदेऊ’ । तर मलाई सर्वप्रिय लाग्छ ४० वर्ष पुरानो गीत पवन गोलेको स्वर र सुवर्ण लिम्बूको सङ्गीतमा उनले लेखेको गीत:

“हावासँग बगूँ भन्छ,

पातसँग बोलूँ भन्छ

यो मनको हाँगो फेरि

कहिकतै सल्कूँ भन्छ

चट्टानलाई फोरूँ भन्छ,

 पानीलाई सल्काऊँ भन्छ

 यो रातको कथालाई

उज्यालोमा भनौं भन्छ

हावासँग बगूँ भन्छ’

कुनै समय रेडियो नेपालको फर्मासी कार्यक्रममा नबजेको दिन हुँदैन थियो । यही गीतले पवन गोलेलाई नयाँ उचाइँ दिएको थियो । तर गीतकारको कमै चर्चा हुन्छ यस गीतको पनि ।

गीतकारको व्यक्तित्व ओझेलामा परेको त वैरागी काइँलाको पनि हो ।

“औंलाहरू चुमेर औंलाभरी सलाम,

मेरो हजुरलाई आँखाभरी सलाम !

के बिराएँ नजरले चुमें

ती फूल जो ओठमा फुले

के बिराएँ हत्केलामा थापें,

ती केश जो लाजमा झुकें ।”

अम्बर गुरुङको ‘सम्हालेर राख’ पुस्तकमा यो गीत बारे यसरी लेखिएको छ :

“औंलाहरू चुमेर औंलाभरी सलाम,

मेरो हजुरलाई आँखाभरी सलाम ।”

“श्री वैरागी काइँलाको यो गीत साँच्चै नै उत्कृष्ट छ । तर यस गीतको भावको गहिराइमा डुब्नु साधारण जनको निम्ति कठिन नै छ । तरै पनि हामीले यसलाई नगाएका हैनौं, यति गाए पनि धित नै मरेको छैन । शास्त्रीय संगीत जस्तो कठिन रागमा आधारित भए तापनि धून कति सरस र सरल छ, जुन जनसाधारणको मुखमा सजिलैसित झुन्डिन सक्यो । संगीत ? उही अम्बर । लौ अब अम्बरको संगीतमा वैरागी काइँलाका गीतहरू गाऔं ।”

अम्बरको पुस्तकमा यति लेखिसकेपछि मैले के भन्ने वैरागी काइँलाको गीतमाथि । तर उनको आयामिक र मुन्दुम व्यक्तित्वले गीतकारको व्यक्तित्वलाई किनारा लगाइदियो ।

प्रिय सिमोन, वैरागी दाइले ‘औंलाहरू चुमेर’ लेखे भने गोपाल योञ्जनले ‘चुमेर पाना भरी यति म लेखिदिन्छु’ लेखे । उनको पनि गीतकार व्यक्तित्व ओझेलमा नै परेका छन् । फरक यति छ काइँलाले औंला चुमे योञ्जनले पाना ।

“आँधी हुरी बतासहरूमा

फूल सबै नै झरिसकेछन्

विश्वास रोपेँ यो छातीभित्र

काँडा बनेर उम्रिदिएछ

हाँसूँ भन्थेँ तिमीलाई हेरेर

हेर्ने आँखा आँसु भरेछ

आँधी हुरी बतासहरूमा

फूल सबै नै झरिसकेछन्

आँधी हुरी”

शान्ति ठटालको स्वर र संगीतमा गुञ्जिने यो गीतका गीतकार हुन् कालुसिंह रनपहेली । उनी राम्रा कवि र कथाकार पनि हुन् । यो गीत त सबैले मन पराए पनि गीतकारलाई कमैले सम्झन्छन् ।

“बालपनको आँगन त्यागेर, खोलानाला काटेर, आउनु पऱ्यो नौलो घरको सङ्घार” -यो गीत सन् सत्तरीको दशकमा बिहेको समयमा सबैभन्दा बढी बजाइने गीत थियो । अरूणा लामाको स्वरको यो गीतका रचनाकार हुन् सिक्किम निवासी पद्मश्री सानु लामा- अत्यन्त राम्रा कथाकार । तर उनको गीतकार व्यक्तित्व बारे कमै चर्चा हुन्छ । र यसको संगीतकार कतै पनि खुलाएको छैन । उनी ओझेलमा परेका छन् । कतै कतै शरण प्रधान लेखिए पनि उनी यसको संगीतकार होइनन् भन्छ।न्  सिमोन, तिमी पनि नेपाली संगीत जस्तै बैगुनी नबन !

“तिमी त रहेछौ मंगले गाँउको

म पनि त त्यही गाउँ

माया लगाउ रैछौ एकै ठाउँ”

ध्रुव केसी गाएको यो प्रसिद्धको गीतकार र संगीतकार कमैलाई थाहा होला । तर केही समय अगाडि निधन भए पछि उनको नाम बल्ल थाहा लाग्यो । उनको नाम थियो- कालेबुड निवासी पद्मश्री काजी सिंह । उनी मादलको पारखी । उनलाई भारत सरकारले पद्मश्री पुरस्कार प्रदान गरेको थियो ।

“असारै महिनामा, पानी पर्‍यो रुझाउने ।

 एक्लो यो मेरो मन, कसरी बुझाउने ।

भन्थिन है मैच्यांगले, रुँदै धरर ।

नौ डाँडा पारी छ, कम्पनी शहर । बिछोडको बेलैमा ।…”

इन्डियन आइडल जिते पछि प्रशान्त तामाङले गाए यो गीत । मूल गायक छाया परेका थिए । यो गीतको पनि गीतकार र संगीतकार एउटै मान्छे भए पनि थोरै सम्झन्छन् उनलाई । यसको गीतकार र संगीतकार तुलसी गजमेर हो भने मूल गायक छुजान डुक्पा । यस्ता धेरै गीतहरू छन् जसको मूल गायक ओझेलमा परेका छन् ।

“जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो

मलाई गर्व छ, हाम्रो पुर्खाले
कति व्यथाहरू सहेर
कति व्यथाहरू सहेर
इतिहासमा कथा त लेखेकै छ

जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो

न नै लडाइको मैदानबाट भागिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
न नै लडाइको मैदानबाट भागिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा विश्वास राख्ने
यो मन त मेरो नेपाली हो”

ब्यान्ड १९७४ एडीको यो गीत नसुन्ने शायद कमै होला विश्वभर छरिएका नेपालीहरू । एक किसिमको नेपाली अन्तर्राष्ट्रिय गान नै भइसकेको छ यो गीत । यो गीत १९७४ एडीको सिकनेचर धुन पनि हो, पहिचान पनि हो।  तर तिमीलाई थाहा छ यसको सर्जक को हो ? तिमी जस्तो लाखौं श्रोतालाई रचनाकारको नाम नै थाहा छैन । रचनाकार अहिले जीवित छन् तर गुमनाम । यसका रचनाकार हुन् कालेबुङ, भारतका प्रसिद्ध चित्रकार भक्त परियारको छोरा मपन परियार(भूसाल)। मपन केहि समयअगाडि  नेपालगन्जमा  र पछि काठमाडौंको बाबा बुडिङ्ग स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए । अहिले कालेबुङमा छन् । मपन यो गीतको संगीतकार पनि हुन् । तर कस्तो विडम्बना ! अहिले उनीसँग न नाम न दाम छ ।