प्रिय सिमोन ! तिमीलाई नसम्झेको त कहाँ हो र तर मोतीबिन्दुको शल्यक्रियाले मलाई लेख्न असमर्थ बनाए । शब्द शिकारीलाई शब्द खोज्नै गाह्रो भयो त्यो बखत । तिमीले भन्थ्यौ नि लेख्ने मान्छे सधैं खुशी र सुखी हुन्छ रे । तर यो सबै लेखक र कविमा लागू नहुने पो रहेछ ।

तिमी जन्मनुभन्दा पहिलेको कुरा हो सिमोन ! मैले एउटा पत्रिका “आस्था” सम्पादन गर्ने क्रममा तारानाथ शर्मालाई लेखको निम्ति अविरल अनुरोध गरें । घोत्ल्याइँहरू, भानुभक्तदेखि तेस्रो आयाम, बेलायततिर बरालिंदा, सुली, नमस्ते जस्ता कृतिहरू पढेर तारानाथ सरलाई नजिकबाट चिन्ने अवसर पाएको म एउटा लेख माग्ने धृष्टता गरेमा असहज लागिरहेको थियो ।

एकदिन उहाँको सरस्वती नगरको घरमा बोलाएर एउटा लेख दिनुभयो । मेरो अपेक्षा थियो एउटा समालोचना वा साहित्यिक निबन्ध तर लेख मैले सोचेको भन्दा पृथक् थियो – भावमा, विचारमा अनि अभिव्यक्तिमा । ‘मैले के लेख्ने ?” शीर्षकको लेख मलाई नै सम्बोधन गरेर लेखेको थियो । म छापौं कि नछापौं भनेर धर्म संकटमा परें । साथीहरूले छाप्नैपर्ने सुझाव दिए अनि छापियो ।

लेखमा तारानाथ शर्मा लेख्छन्, “निकै दिन भइसक्यो शरद भाइ, मलाई एउटा लेख मागेको मागेकै हुनुहुन्छ । मैले टार्दै आएको छु कहिले अचेल मलाई लेख्न मन लाग्दैन, कहिले म विषय नै पाउँदिन भनेर र कहिले चाहिं लेखेरै पनि केही उपलब्धि छैन र यस समाजमा हुँदैन पनि भनेर । लेखेर के के न गर्न सकिन्छ भन्ने थियो (र छँदै छ पनि छन् त !), तर यस समाजमा लेख्ने मान्छेको कुनै इज्जत छैन, र भने पनि हुन्छ कुनै अस्तित्व छैन । लेख्न छाडें र ढोका कुर्नु पर्थ्यो, कुरिएन । लेख्न छाडेर लात र हात बजार्नु पर्‍यो, बार्सिलोना त जान पाइन्थ्यो । हेर्नुहोस् न, लेख्न छाडेर अड्डातिर नोकरी गर्नुपर्‍यो, गरिएन ।

हो, शरद भाइ ! मेची र महाकालीको कृत्रिम पर्खाललाई फड्केर मेरो मन छताछुल्ल फुक्का बगेको छ र जताततैबाट मलाई स्नेहको, सम्झनाको र सम्मानको ओइरो लागेको छ । हो मलाई एक प्रकारको आत्मतृप्तिले, आत्मसन्तोषले र आत्मविस्मृतिले लठ्याएको पनि छ, तर भाइ, मेरो पनि भौतिक शरीर छ र परिवार पनि छ अनि परिवारको पेट प्रशंसाले नभरिंदो रहेछ, पुत्रहरूको पढाइलाई पैसा नभई नहुँदो रहेछ र म पारिश्रमिक पारिश्रमिक भनेर काकाकुलले जस्तो चिच्याउन बाध्य हुँदो रहेछु । पाठ्यपुस्तक लेखेर पनि म पारिश्रमिक नपाएर पाखामा पाहा भएर पञ्चायत कालदेखि नै पल्टिरहेको छु र प्रजातन्त्रका प्रहरीहरूले पनि पीर नबुझिदिएपछि यो पापी पेट पसार्दै म कहाँ जाऊँ ? मैले नलेखेको होइन । आत्मप्रशंसा गर्‍यो नभन्दिनुहोला भाइ । मेरा छापिएका मात्रै फुटकर लेख एक हजारभन्दा बढी छन्, पुस्तक पनि चालीस पुग्न लागे, तर पारिश्रमिक खोइ ?”

पञ्चायतको पतनपछि तारानाथ शर्माको समाज कल्याण परिषद्को जागिर मात्र गएनन् उहाँले पन्चे र मण्डलेको बिल्ला पनि भिर्नुपर्‍यो । कस्तो विडम्बना !  समाजबाट बहिष्कृत भए । उहाँ एक्लिएको समय म  निकै गएँ उहाँको घर । त्यो समय कमै मान्छे भेट्न गए तारानाथ सरलाई । किन हो किन मलाई पदमा बहाल भएको भन्दा पद मुक्त वा निवृत्त भएको मान्छेलाई  भेट्न मन पर्छ सिमोन । एउटा साहित्यकार साहित्यकार भएर बाँच्न नपाउने – राजनैतिक बिल्ला लगाउनै पर्ने । उहाँ पनि यसकै शिकार भए । चरम मानसिक र आर्थिक यातना भोगिरहनु भएको बेलाको उहाँको यो अभिव्यक्ति जायज थियो । तारानाथ शर्मा जस्तो मूर्धन्य साहित्यकारको यस्तो स्थिति थियो भने अरूको कस्तो थियो होला कल्पना गर्न सक्छौ सिमोन ।  यो यथार्थ हो हाम्रो समाजको । तर टाठाबाठाहरूको हालीमुहाली पञ्चायतमा पनि थियो अनि प्रजातन्त्रमा पनि रहिरहेको छ तर तारानाथ सर सधैं किनाराकृत भइरहे ।

“यसरी भाइ, मैले साँच्चै नै लेखन छाडेर ढोका कुर्नु पर्थ्यो, पद र पैसा त गुटमुटाउन त पाइन्थ्यो, कुरिएन । यसरी लेखन छाडेर अड्डातिर नोकरी गर्नुपर्थ्यो, आफ्नै गाडीमा गम्म फुल्दै चढ्न त पाइन्थ्यो, गरिएन । यसरी लेख्न छाडेर हावापानी अनुसारको लुगा फेर्न जान्नुपर्थ्यो, राजनीतिमा दाउपेच गर्नु पर्थ्यो मन्त्री त भइन्थ्यो, जानिएन, गरिएन । तर यति भएर पनि तपाईं चाहिं मलाई लेख्न नै अनुरोध गर्नुहुन्छ ।,” तारानाथ सरले मलाई व्यंग्य गर्दै लेख्नुहुन्छ ।

हो, तारानाथ सरले चाकडी नगरेरै  प्राज्ञ बन्न सक्नु भएन कतै ठूलो संवैधानिक पद हात पार्नसक्नु भएन । बरु यो लेख छापिएको केही महिना पछि ‘द राइजिङ नेपाल’-को प्रधान सम्पादकको नियुक्ति पाउनुभयो त्यो पनि नेपाली कांग्रेसको कोटामा ।

अहिले पनि साहित्यकारहरूको जीवन शैलीमा तात्त्विक परिवर्तन आएको देखिंदैन सिमोन । बरु गाउने, बजाउने, खेलाडीहरूको निक्कै प्रगति भएको देख्छु नेपाल र नेपाल बाहिर । तीस पनि नकाटेकी विपन्न परिवारकी छोरी गायिका रचना रिमालले गाएर नै पक्की घर बनाइदिए परिवारलाई, बुबालाई इ रिक्सा किनिदिएछे  रे । अहिले उनी सांगीतिक भ्रमणमा अमेरिका घुमिरहेकी छिन् ।

तर त्यही उमेरका कवि-लेखक घरको रासन, बाबुको शासन र आमाको भाषण सुन्दै कविता लेखिरहेको छ नाम कमाउन । कति लज्जास्पद !  क्रिकेट खेल्नेहरू विश्व घुमिसके, पैसा कमाइसके, जनताको समर्थनले जेलबाट छुटिसके । यस्तो आपतविपत कविलाई परेको भए जनताको समर्थन पाउलान् र सिमोन । परिवर्तनको संवाहक कवि-लेखकको कस्तो दुर्दशा । भारतमा पनि भाइचुङ भोटिया र सुनिल छेत्रीले लाते भकुण्डो खेलेर नाम र दाम कमाए । बिपुल छेत्रीले गाएर संसार घुमे अनि पैसा पनि कमाए ।

तर त्यहाँ कवि-लेखकलाई  हातमुख जोर्न अरू काम गर्न बाध्य छन् । लेखिका शैलिका छेत्री भारतमा नेपाली लेखकहरूको अवस्था र स्थिति पनि सन्तोषजनक नभएको गुनासो गर्छे सिमोन । तीन दर्जनभन्दा बढी पुस्तक लेखेका उनको पिता शरद छेत्री पनि कुनै कालखण्डमा अत्यन्तै निराश भएको कुरा गर्छे ।

साहित्यकारको यस्तो स्थिति देख्दा त मनबहादुर मुखिया सरको एउटा गीत याद आउँछ सिमोन ।

“रात पर्दा घाम डुब्छ

क्षितिज लुक्छ संसार लुक्छ रे

तर अभागीको दुःख भने कहाँ लुक्छ र

हाँसूँ भने हारिसकें जिन्दगीको जुवा

रोऊँ भने सुकिसके आँखाका यी कुवा

लहरसँग मीत लाए पारी पुग्छ रे

तर किनारैमा मेरो नाउ डुब्छ रे ।” 

हो सिमोन साहित्यकार अभागी नै हो उसको दुःख कहिले लुक्दैन । गरीबीमा मरे हरिभक्त कटुवाल, अगमसिंह गिरी, विष्णु नविन, प्रकाश कोविद, कवि विरेन्द्र । यसैले होला हरिभक्त यस्तो कविता लेख्छन्,

“आफैंलाई खोजिरहनुको उत्सुकताको पछि

गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु

खै आज कविता सोच्नै मान्दैन

शायद त्यसैले होला सुनगाभा !

तिम्रो मुस्कानभन्दा मेरो आँखामा यसबेला

ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ

जो घन्टौं एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ

मट्टीतेलको रित्तो भाँडो हल्लाउँदै घर फर्किरहेका थिए

जाती हुन्थ्यो बरु म कवि नभएर

त्यही रित्तो भाँडोभरि मट्टीतेल हुन सकेको भए

मेरो देशको एउटा घरमा एक रात, एक छाक बल्न सक्थें

एउटा वृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थें

तर, सुनगाभा !

मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ

– जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्यो ।”

कविको उपयोगिता शून्य देखेरै होला हरिभक्त भावविह्वल भएर यस्तो कविता लेखेको । तिमीलाई पनि हरिभक्त कटुवाल असाध्यै मन पर्छ है सिमोन ! तिमी पनि जागिर नखाएर लेखक बन्ने धुनमा छौ । तर कविता र कथाको मूल्य मट्टीतेल जतिको पनि नहुँदा घरको चूल्हो नजल्दो रहेछ सिमोन । म पनि भ्रममा थिएँ तिमी जस्तै लेखक भएर बाँच्न सक्छु भनेर ।

सुन्दरी प्रतियोगिता वा सांगीतिक कार्यक्रमको निम्ति लाखौं चन्दा दिने ठूला मालिकहरू साहित्यिक कार्यक्रमको निम्ति सुको झार्दैन सिमोन । एउटा नाङ्गो तिग्रा प्रदर्शन जतिको पनि महत्व छैन रहेछ कविताको । सचिव, मुख्य सचिव देखि मन्त्री र प्रधानमन्त्री सम्म भए साहित्यकार तर कसैले केही गरेनन् साहित्य र साहित्यकारलाई । कति बिन्ती चढाए साहित्यकारहरूले सचिवदेखि प्रधानमन्त्री सम्मलाई तर कसैले केही लछारपाटो लगाएनन् । तर कतिपयले चाहिं केही फाइदा उठाइरहेका छन् । शायद अशेष मल्लको मुक्तक उपयुक्त होला कि यो सन्दर्भमा ।

“कि सोर्स चाहिन्छ

कि फोर्स चाहिन्छ

नत्र आजको काम 

भोलि हुन्छ 

हुन्छ र भइहाल्छ त

हाकिमको बोली हुन्छ ।”

सोर्स फोर्सको जमाना रहेछ सिमोन । साहित्यिक अनुदान लिन पनि सोर्स फोर्स चाहिने रहेछ । तिमीलाई थाहा नपाएको एउटा कुरा भन्छु है सिमोन ।

विसं २०४६ सालतिर मैले अशेष मल्लको “म भनेको हामी” नाटक निर्देशन गरेको थिएँ विद्यार्थीहरूको निम्ति । उपत्यकाव्यापी प्रतियोगितामा त्यो नाटक दोस्रो भएको थियो पहिलो चाहिं सेन्ट मेरिज । ‘फगत एक नजरका’ गायक प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमालको मेन्टरशीपमा मैले निर्देशन गरेको थिएँ । साह्रै भलाद्मी र असल मान्छे उहाँ । तर मैले कविता लेखे पनि, नाटक निर्देशन गरे पनि, पत्रिका सम्पादन गरे पनि, रचना सृजना गरे पनि बाँच्न र परिवार पाल्न जागिर नै रोज्न पर्‍यो । १३ वर्ष देखि साहित्यकार भएर बाँच्ने सपना देखे पनि बाँच्नलाई पैसा चाहिने रहेछ सिमोन – तीतो सत्य । तारानाथ सर जस्तो व्यक्तित्वलाई कुनै कालखण्डमा यस्तो निबन्ध लेख्नपर्ने स्थिति आएको थियो भने हामी जस्तो भुइँमान्छेको के कुरा गरौं ।

त्यही निबन्धमा तारानाथ सर लेख्नु हुन्छ, “जुन देशले लेखकको सम्मान गर्न जान्दैन त्यसको कुनै भविष्य छैन । जुन देशमा लेखकहरू गलैँचा बुन्ने कामदार जत्तिको जीवन पनि बिताउन सक्तैनन् त्यसको कुनै स्तर छैन । जुन देशले मासु चुसिसकेका हाड कुकुरलाई फाले झैं लेखकहरूसित व्यवहार गर्छ त्यसले सभ्यता, संस्कृति र सम्पन्नताको फुई नगरे हुन्छ ।”

यो यथार्थ अहिले पनि कायमै छ । दाल-भात-डुकु खानलाई संघर्ष गर्नुपर्ने देशमा हामी साहित्यलाई विश्वस्तरमा पुर्‍याउने कुरा सुन्दा अट्टहास हाँसो उठ्छ । जो साहित्यकार  दिनभरी जागिरमा पेलिन्छ, राती थकित भएर परिवारको जिम्मेवारी सम्हाल्दै सुत्छ ऊबाट विश्वस्तरीय सृजनाको अपेक्षा गर्न कतिको जायज छ सिमोन ! विदेशमा जस्तो सरकार वा संस्था वा विश्वविद्यालयले एक  वा दुई वर्ष लेखनवृत्ति दिओस् । अनि प्रतिभावान लेखक-कविले फुर्तीको साथ सृजना गर्छ विश्वस्तरीय रचना सिमोन । अनि  बल्ल तारानाथ शर्माले परिकल्पना गरेको साहित्यिक माहोल सृजना हुन्छ ।

घोर निराशाको बीच पनि मेरो कलम रोकिंदैन किनकि मैले विद्यार्थी जीवनमा पढेको लक्खीदेवी सुन्दासको ‘उत्सर्ग’ कविताले म भित्रको सृजनालाई घचघच्याई रहन्छ, लेख्न प्रेरित गरिरहन्छ ।

“तिमीले गरेको उत्सर्ग यहाँ 

यी कन्दराहरूले देख्ने छन् 

रगत पसीना एक गराई 

हाडहरूको पर्खाल बनाई, 

अँजुली आफ्नै मांस-पिण्डको 

कथा इतिहासले साँच्ने छ 

देखोस् नदेखोस् यो वर्तमान 

भावी पीढीले देख्ने छ ।

नभन तिम्रो उत्सर्ग यहाँ 

जङ्गली फूल झैं मर्ने छ, 

न भन तिम्रो सिद्धिएको आयु 

मूल्य विहीन नै चुक्ने छ, 

हिसाब-किताबको यस युगमा 

चुक्ला मूल्य एक एकको 

चिसा उद्‌गारको ठाउँ छैन, 

नभन यसको उद्धार छैन 

कहीं कसैले छद्म वेशमा 

तिम्रो इतिहास लेख्दै छ, 

तिम्रो सिद्धिएको आयुको 

एक-एक मूल्य चुक्तै छ

यसैले न हार, न भाग, 

उत्सर्ग गर, उत्सर्ग गर ।”