सानो छँदा यस्तो लाग्थ्यो, अच्छा राई रसिक कुनै जीवित व्यक्तिको नाम हो ।  किनकि, उनका निबन्ध यति जीवन्त हुन्थ्यो कि मानौँ रसिक यहीँ कहीँ बसेर साहित्य सृजना गरिरहेका छन् । तर पछि थाहा पाए रसिक त म जन्मनुभन्दा एक दर्जन वर्षअघि नै परलोकबासी भइसकेका रहेछन् ।

दश कक्षासम्म पढेका रसिकले लेखेका लगन उपन्यास बीएमा पढ्नु पर्छ भन्दा आश्चय लाग्थ्यो । रसिक मेरा लागि एक मिथक थिए,  यथार्थभन्दा धेरै पर । हास्यव्यङ्ग लेखनमा निपूर्ण उनी हाम्रा लागि पुजनीय थिए, देवरालको देवता जस्तो । लाग्थ्यो, किन त्यस्तो प्रतिभावान् मान्छेलाई २४ वर्षको आयुमात्र दिए ? सोध्न मन लाग्थ्यो दैवलाई।

भैरव अर्याल, केशवराज पिँडाली, ह्रदयचन्द्रसिंह प्रधान, बासुदेव लुइँटेलहरुसँगै आदरको साथ अच्छा राई रसिकको नाम लिएको देख्दा उँहाको महत्ता महसुस भयो । हो, अच्छा राई रसिक राम्रा लेखक हुन्, कसै कसैले लेखनमा बचपना छ भने पनि । तर सधैँ समालोचकहरुबाट बहिष्कृत भए रसिक, अरु हास्यव्यङ्गकारले जस्तो हाईहाई पाएन उनले ।

स्कूले जीवनमा अच्छा राई रसिकको भुँडी निबन्ध खुब पढियो, पाठ्यक्रम भएकोले पनि होला । पढेर खुबै हाँस्थे पनि । त्यो निबन्धको केही अंश यस्तो छ,

लुगा यसो पन्साएर तपाईं आफ्नो सुन्दर भुँडी हेर्नुहोस्… फेरि भाग्यवश पित्तलभुँडे हुनुहुन्छ भने एउटा ऐनामा भुँडी हेर्नुहोस्– अचम्मको देख्नुहुनेछ यसलाई । चाहे एउटा अमेरिकनको आँखाले हेर्नुहोस् या कुनै ब्रिटिसको चस्माले हेर्नुहोस् या कुनै गोर्खालीको आँखाले । ठूलो देख्ने ऐनाले यो भुँडीलाई हेर्नुहोस्– यो भुँडी एकसमान पाउनुहुनेछ । यसरी यो भुँडी कट्टर साम्यवादी देखिए पनि भित्री तहमा भिन्नता राख्छ, यो अन्तर्राष्ट्रिय भुँडी बाहिर एकै देखिए पनि वास्तवमा भित्र फरकै हुन्छ ।

अच्छा राई

कोही भुँडीमा– मानिलिनुहोस् एक जना सेठजीको भुँडीमा घिउ र गुलियो मात्र पाइन्छ त एउटा अङ्ग्रेजको भुँडीमा उसिनेको झारपात पाइनेछ, कुनै बङ्गाली भुँडीमा माछाको यमराज पाउनु आश्चर्यको कुरा नभए तपाईं गोर्खाली हुँ भन्ने कसम खान सक्नुहुन्छ भने– आफ्नो भुँडीमा रातो बगडा पाउनुहुनेछ…….टाढाको के कुरा, गोर्खालीहरूमा पनि कुनै नेवारे भुँडी हेर्नुहोस्, ढाडिएको चिउरा पाउनुहुनेछ । तात्पर्य के भने भुँडी अन्तर्राष्ट्रिय भए पनि यसका भित्र हजारौँ भिन्नता पाइन्छन् ।

रसिकका निबन्धमा व्यङ्ग्यात्मक अभिव्यक्ति मात्र होइन बौद्धिकता पनि मिसिएको पाउँछौँ । भुँडीनिबन्धमा रसिकले राजनैतिक, सामाजिक र आर्थिक कुराहरु उठाएर समाज विभाजनको प्रारूप देखाएका छन् । लोभी बाहुन निबन्धमा जातगत भेदभावलाई लिएर समाजमा व्याप्त नकारत्मक पक्षलाई हास्यव्यङग्यमार्फत् उजागर गरेका छन् भने मपाईनिबन्धमा स्थानीय नेताहरुलाई व्यङ्ग्य गरेको छन् । चपरासी निबन्धमा एउटा निम्न आय भएको चपरासीलाई हाकिमले कसरी शोषण गर्छ भनेर देखाएका छन् । कार्यलयमा काम गर्ने भनेर नियुक्ति दिए पनि घरमा नोकरजस्तै काम लगाएको देखाएका छन् ।  

औँठी पनि राम्रो कथा हो रसिकको, यसमा सिनेमा पनि बनेको छ । त्यस्तै पतलुङ, अनुहार, कुन पहिलाः अण्डा कि कुखरा ?, स्वर्गमा आदि निबन्धहरुमा प्रचुर मात्रमा समाजलाई व्यङ्ग्य गरेको पाउछौँ।

व्यङ्ग्य निबन्ध : नेपाली साहित्यमा हास्यव्यङ्ग्य : एक नालीबेली लेखमा भैरव अर्याल लेख्छन्,  “अच्छा राई ‘रसिक’को सप्तकोशी’ कथा र निबन्धको माध्यम बनाइएका ‘सात प्रवाह’ हुन् । यस अतिरिक्त पनि कतिपय निबन्धको माध्यम रसिकले हास्यव्यङ्ग्यको माध्यम रञ्जकता र वेधकता दुवै दिएका छन् ।”

रामलाल अधिकारी लेख्छन, “अच्छा राईले शंकरलाई प्रश्न देखि रसिक उपनाम राखेको देखिन्छ।”  

रसिकको लेखन प्रारम्भ सन् १९४५ मा ‘शंकर स्तुति’’ नामक हास्यव्यङ्ग्य कविताबाट भयो, त्यो कविता गोर्खामा प्रकाशित हुँदा उनी केवल १७ वर्षका थिए । त्यसको लगतै सन् १९४६ मा उनको गोर्खामा नै शंकरलाई प्रश्न कविता छापियो । रामलाल अधिकारी लेख्छन, “अच्छा राईले शंकरलाई प्रश्न देखि रसिक उपनाम राखेको देखिन्छ।”  

शंकर स्तुतिमाथि टिप्पणी गर्दै समकालीन कवि अगमसिंह गिरी धुवाँ पत्रिकामा लेख्छन्, “अच्छा राईको व्यङ्ग्यात्मक  कविता शंकर स्तुति छापिँदा गोर्खाका पाठक समूहमा कम प्रभाव पारेको थिएन, सनसनी  मच्चाएको थियो स्वर्गीय ‘रसिक’को ह्रदयग्राही व्यङ्ग्यले । ‘रसिक’ बन्धुको रसिलो ‘शंकर स्तुति’ प्रकाशित भएपछि उनको साहित्यिक व्यक्तित्वले एउटा चालै नपाउने प्रभाव ममा परिसकेछ, यसैले हो क्यार, उनीसित परिचित बन्ने एउटा कस्तो कस्तो लोभ र मीठो इच्छाले मलाई समातिरह्यो । तर नाता थिएन, म लेखक बन्न सकेको थिइनँ उसबेला । नत्र ता ‘म फलानो व्यक्ति’ भन्न सक्थे धाकसँग ।”

उनका समकालीन कविहरुमा नरेन्द्र कुमाईं, तुलसी बहादुर क्षेत्री, कवि वीरेन्द्र, कवि ध्रुव, अगमसिंह गिरी थिए ।

समकालीन साहित्यकारहरुको कृतिहरुमा धेरै टिकाटिप्पणी र समीक्षा भए पनि रसिकको कृति र योगदानमाथि कमै लेखिएको छ । न उनलाई हास्यव्यङ्ग्यमाथि लेख्दा कृष्णचन्द्रसिंह प्रधानले सम्झेको छ न इन्द्रबहादुर राई या ईश्वर बरालले नै नेपली उपन्यास र कथामाथि लेख्दा रसिकको नाम लिए । उनी मुलधारको नेपाली साहित्यबाट किनाराकृत र बहिष्कृत भइरहे अहिलेसम्म । प्रसिद्ध लेखक रामलाल अधिकारी र महानन्द पौड्यालको भागिरत प्रयासले रसिकलाई पाठकमाझ चिनाउने ठूलो मद्दत पुगेको छ ।

सिक्किमबाट प्रकाशित भएको नरेन्द्र कुमाईंको व्यक्तित्व र कृतित्व पुस्तकमा लेखक  महानन्द पौड्यालले रसिकको बारेमा पनि प्रकाश पारेका छन् । उनी लेख्छन्, “‘रसिक’ले जति पनि लेखेका थिए, ती उनको जीवनकालमै पत्र-पत्रिकातिर प्रकाशित भएका थिए अनि उपलब्ध पनि थिए । उनका उपन्यासद्वय, लगनदोभानका पाण्डुलिपि  प्रेसमा जान तयार थिए। उनको निधन पछाडि ती पाण्डुलिपि कतिपय जिम्मेवार व्यक्तिका हातमा परेका थिए, जसले एकाध वर्ष ढिलो गरी प्रकाशित गरे तापनि ती प्रकाशित गरिएका थिए । उनका हितैषीहरुले उनका कतिपय सुन्दर गद्य रचनाहरु भेला गरी संग्रहका रुपमा प्रकाशित गरिदिए ( सन्दर्भः सप्तकोशी– उनका सात प्रतिनिधि गद्यकृतिको संग्रह, सम्पादकः रामकृष्ण शर्मा।) उनका प्राप्त भएजति जम्मै फुटकर गद्य एंव पद्यकृतिहरुको संग्रह (रसिक रचनावलीः सम्पादकः रामलाल अधिकारी) प्रकाशित गरियो । उनका जीवनकालमा प्रकाशित हुन नसकेका रचना एंव उनको जीवनसम्बन्धी बहुमूल्य सूचना दिने कतिपय तथ्यहयुक्त रहेको कृति रसिकका केही अप्रकाशित कृतिः सम्पादक- महानन्द पौड्याल) प्रकाशित भयो ।”

नेपाली उपन्यासको इतिहास पुस्तकमा  समालोचक खगेन्द्रप्रसाद लुइँटेल रसिकको उपन्यास र लेखन शैली बारे लेख्छन्,”  अल्पायुमै बितेका राई रुपनारायण सिंहद्वारा प्रवर्तित स्वच्छन्दवादी धाराका उल्लेख्य उपन्यासकार हुन्।  यिनको उपन्यास दार्जीलिङको पृष्टभूमिलाई लिएर विभिन्न भागमा विभाजित गरी प्रचलित परिपाटीमा लेखिएका छन्। लगन यिनको विशेष उल्लेख्यनीय स्वच्छन्दतावादी उपन्यास हो। युवासुलभ प्रेमप्रणय र संवेगको स्वच्छन्द अभिव्यक्ति पाइने यिनका उपन्यासमा कल्पनाको सुन्दर संयोजन पाइन्छ।…… यिनका उपन्यासमा कथानकको प्रवलता पाइए पनि चरित्र चित्रणमा समेत जीवन्तता पाइन्छ।  निकै सरल र सुबोध भाषिक विन्यासमा संरचित यिनका उपन्यासमा संवादात्मक शैलीको अधिक उपयोग गरिएको छ। कम उमेरमै यत्तिका महत्वपूर्ण उपन्यास लेख्नु यिनको खास योगदान हो ।”

अभाव र गरिबीको कारण दश कक्षाभन्दा माथि जान सकेनन् रसिक । पढाइबाट चट्ट बिमुख भएपछि रसिक विभिन्न समाजिक कार्यहरुमा अल्झिए । हस्तलिखित कमल पत्रिकाको सम्पादनदेखि प्रगतिशील नेपाल साहित्य परिषद् नामक संस्था खोल्नेसम्म काम गरे अनि मिरिमेटी काम पनि गरे।  गोर्खा लीगसँग आबद्ध भइ राजनीतिमा पनि संलग्न भए, गोर्खा दुःख निवारक सम्मेलनमा नाटक विभागको मन्त्री भएर पनि काम गरे ।

लगन उपन्यासको पाण्डुलिपि लिएर कलकत्ता फनफनी घुमे तर प्रकाशक नपाएर फर्किए दार्जीलिङ । अन्त्यमा उपन्यासलाई पुस्तकको रुपमा देख्न नपाई रसिकले  २४ वर्षको उमेरमा सन् १९५२मा देह त्याग गरे । उनको मृत्युपछि  रामकृष्ण शर्माको सम्पादनमा सन् १९५४ मा सप्तकोशी प्रकाशित भयो भने सन् १९५५ लगन प्रकाशित भयो । बितेको १२ वर्षपछि दोभान उपन्यास प्रकाशित भयो सन् १९६४मा । सन् १९८२ मा रामलाल अधिकारीको सम्पादनमा रसिक रचनावली प्रकाशित भयो।

अच्छा राई रसिक बितेको ६९ वर्षपछि पनि उनको  योगदानको उचित मूल्याङ्कन प्रबुद्ध समालोचकहरुबाट हुन नसक्नु नेपाली साहित्य दुर्भाग्य हो । साहित्य समालोचनालाई नँया पिँढीले फराकिलो बनाएर पहिले जस्तै गुट-उपगुटको मात्र समीक्षा गर्ने प्रवृति त्याग्नु जरुरी छ। उनको लेख रचना र कविताहरु  नेपाल र भारतबाट प्रकाशित हुने प्रतिनिधि कथा/निबन्ध/कवितासंग्रहमा नपर्नुले पनि रसिक बहिष्कृत भएको प्रमाणित गर्छ। इटहरीमा अच्छा राई रसिक प्रतिष्ठान खोलेको जानकारी पाए पनि सो प्रतिष्ठानले रसिकको बारेमा के कस्तो अनुसन्धान, अध्ययन, गोष्टी गरेको खबर पढ्न पाएको छैन ।