जन्मने बित्तिकै

सारा अस्तित्व मेरो

बिलायो एउटा लामो सुस्केरामा-

“छोरी पो भइछ,”

बुबाका ओठ ओइलाए,

आमाको आत्मामा आहत

हुन सकेन उत्सवको दिन त्यो,

जन्म्यो सम्झौता मसँगै

 

हुर्किंदै गएँ म

मर्यादाका घेराले ढाकिए लाज

पाके चुलोका कराहीमा आवाज

रहरले पराइको आँगन कुर्याे

 

कोही भन्छन्

नारी मात्र शरीर होइन,

ऊ त आफैँमा हो एक संसार

माया, ममता, सङ्घर्ष, बलिदान

ऊ धर्ती हो, जीवन दिने

ऊ आकाश हो, अपार प्रेम दिने

ऊ नदी हो, निरन्तर बग्ने

ऊ आगो हो, चिन्ता जलाउने

ऊ सहारा हो, अदृश्य देवीतुल्य ।

 

कोही भन्छन्

आँधी हो, हर बाधा तोड्ने

नदी हो, पहाड काटेर बग्न सक्ने

बीउ हो, माटो चिरेर उम्रन सक्ने

ज्वालामुखी हो, आइपरे विस्फोट हुन सक्ने

शीतल बतास हो, माया र ममता बाँड्ने।

 

तर म

जब उचालिन्छु र पछारिन्छु अनेकबाट

बालुवा जस्तै औंलाबाट फुत्किन्छु,

ढुङ्गा जस्तै टुक्रिन्छु,

अनि उब्जन्छन् अनेक प्रश्नहरू मनमा

आखिर म के हुँ ?

म एउटा नाम मात्रै हुँ कि ?

कि छोरी, पत्नी, आमा … अनेक

सम्बन्धले परिभाषित पात्र ?

म केवल चुलोचौको हुँ कि ?

सिन्दूर, चुरा, सारीले बाँधिएकी

शृङ्गारयुक्त छाया मात्र ?

 

म के हुँ ?

विद्रोह कि शालीनता ?

रहर कि बाध्यता ?

सीमा कि स्वतन्त्रता ?

अँध्यारो कि उज्यालो ?

राप कि शीतलता ?

 

कि म

खुकुरी हुँ, अन्याय चिर्ने ?

दियो हुँ, अन्धकार मेट्ने ?

बादल हुँ, समयले गर्जने ?

सागर हुँ, गहिराइमा रम्ने ?

कि

केवल प्रश्न हुँ

उत्तर खोज्न उठिसकेको ?

कि शंखनाद हुँ,

नयाँ युगको सुरुवात बनेर आएको ?

कि हुँ

शिरकी सिन्दूर आँखाकी अश्रु ?

कि हुँ प्रेम प्यासीका

हृदयकी अमुक प्रेमसागर ?

चाबी मारिएको ओठकी हाँसो  हुँ कि ?

किनाराको बाँधले छेक्ने नदी ?

जलिरहेको दीप कि

हुरीले हुत्त्याउने बादल ?

कि हुँ फूलसँगै ओइलिने सुगन्ध ?

 

जसले जे ठानोस्

तर अब म मौन शिला होइन

म गडगडाउँदो आवाज हुँ

भित्तामा टाँसिएको चित्र होइन

इतिहास कोर्ने आँधी हुँ

किनभने, म केवल नारी होइन,

म समय हुँ—

परिवर्तन बोक्ने,

नयाँ युग रच्ने !

म आफैं एउटा युग हुँ !