
भोलि भन्दै औला भाँच्दै
आशाको ज्योति बाल्दै
समरमा हिँडेकाहरू
सुनौलो पहर आयो भन्दै
बहकाउन खोज्दै छन्
उद्यम सिप रोजगार गुमाएर
कोरा सपना बाँड्दै छन्
सुख समृद्धिको प्रतीक्षामा
बलेको रोसनी धमिलिँदै छ
उम्मिद हराएको छ
आशाको दीप जल्दाजल्दै
पथ भ्रष्टिकरणमा परेको छ
भोलिको आश देखाई हिँडेकाहरू
अँध्यारिंदै गएका छन्
पछुवा पछुतो गर्दै अवाक् छन्
अवरोधका बाधकहरू
अनेक बहाना गर्दै छन्
हिम्मतको सिँढी चढ्दा चढ्दै
खुट्टा तान्ने अधिक छन्
हस्याङ फस्याङमा बाधा खोज्नेहरू
भोलि अँध्यारो बनाउन तल्लीन छन्
आँखामा अझै आशा छ
सपना बुन्दाबुन्दै ब्युँझेका आँखाहरू
दिवा सपनाले अचेत सचेत छन्
बकम्फुसे गफले चुलिएका कानहरू
कैदमुक्ति खोज्दै छन्
आश पटक्कै मरेको छैन भोलिको
भोलि अवश्य उत्तम बनेर उदाउने छ
राम्रो सपना लिएर आउने छ
दसै दिशामा आशाको दीप बल्ने छ
निराशा खरानी हुने छ
उदासी अनुहारमा
खुसियाली ल्याउने छ
स्नेहरूपी दीपले
कुपथ भस्म बनाउने छ
अन्धकारमय कालो रातले
नव-जीवनको ज्योति बाल्ने छ
सत्कर्म विजय हुने छ
कुकार्य नासिने छन्
मोचनमुक्त हुने छन्
नयाँ जोश पलाउने छ
नयाँ आशा जाग्ने छ
भोलि सुनौलो पथमा
सदासर्वदा उदाउने छ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

