यदि हरेक महिलाको श्रमको मूल्याङ्कन भइदिए, उनीहरुले दुई-चार पैसाको लागि गाली खाँदै हात पसार्नुपर्ने अवस्था आउने थिएन होला पक्कै र हिनताबोधमा बाँच्नुपर्ने अवस्थाको अन्त्य हुने थियो होला ।
आजको एक्काइसौँ शताब्दीमा आएर महिलाहरुप्रतिको हिंसा बर्बर छ । कुटपिट, बलात्कार, हत्या, आगो लगाएर मारिनु , तेजाव खन्याइनुजस्ता शारीरिक र मानसिक घरेलु हिंसाबाट ग्रसति छन् महिला । यी यस्ता यातनाबाट मुक्ति पाउन नसक्नुमा सामाजिक, राजनैतिक, धार्मिक र आर्थिक पक्ष महिलामुक्ति विरोधी देखिएका छन् ।
राजनैतिक पक्ष:
राजनैतिक पक्षबाट हेर्दा देशमा विभिन्न कालखण्डमा ठूलठूला राजनीतिक परिवर्तन नभएका हैनन् । महिला हकहितका कुरालाई लिएर भाषण र नाराहरु नचर्किएका हैनन् तर महिला हकहितका धेरै कुराहरु नारा भाषण र प्रतिबद्धता पत्रमा मात्रै सीमित रहन पुगेजस्तै भए । महिलाहरुलाई छुट्याइएको आरक्षण कोटालाई नै सबैभन्दा ठूलो उपलब्धि ठानियो ।
एउटी महिला घरव्यवहार छोडेर राजनीतिमा लाग्न, समय दिनसक्ने अवस्था ज्यादै चुनौतिपूर्ण छ । आउनै चाहँदा पनि ठूलै विद्रोह गरेर आउनुपर्ने अवस्थाको सिर्जना हुन्छ। आफ्नो परिवारको साथसहयोग पाउनुको साटो कतिको त आफ्नो घरव्यवहार त्याग्नुपर्ने अवस्थासम्म नबनेको होइन । त्यो अवस्थाबाट बल्ल सदनसम्म अर्थात प्रतिनिधित्व गर्ने ठाउँसम्म पुग्छन् । पुगे पनि त्यहाँ उसका कुराको सुनुवाइ बिरलै हुन्छ । पुरुषकै कुरा र निर्णयलाई समर्थन जनाउने र ताली पिट्ने काम भएको अवस्था छ ।
धार्मिक पक्षः
धार्मिक पक्ष यस्तो छ कि ,धर्मशास्त्रहरु जम्मै मानवको ढुङ्गेयुगमा बनेका छन् र आँखा चिम्म गरी तिनैलाई पूजा गरिँदैछ अझसम्म । ती जम्मैले पुरुष सत्तालाई उच्चस्थान र महिलापक्षलाई तल झार्ने काम गरेका छन् । त्यो समयमा शायद पुरुषले महिलालाई कमजोर बनाउनकै लागि मात्र धर्मशास्त्र बनाएका हुन् कि जस्तो लाग्छ । जस्तो स्वस्थानीकै कथालाई लिऊँ , त्यहाँ एउटी पाँचवर्षे बालिका सत्तरीवर्षे बृद्ध पुरुष त्यसमा पनि गाँजाभाँड, खाएर मात्ने मतुवालाई पतिपरमेश्वर भनेर पूजा गरेको, ऊसँग सम्बन्ध गाँसेर उसकै आदर्श पत्नी बनेको कथा छ । नारीको जन्म पुरुष भोग्यको लागि मात्र हो र ठानिएको छ ।
धर्मशास्त्रले यसलाई नै बढावा दिइरहेको पाइन्छ । त्यही स्वस्थानी व्रत लिन पाउँदा अहिलेसम्म पनि अधिकांश महिलाहरु आफूलाई गौरवशाली ठान्दै आएको अवस्था छ। यस्तै गरी कहीँकतै पूजाआजा जस्ता धार्मिक कार्य भयो भने पुरुषको उपस्थिति शून्यप्रायः र महिलाहरुको भिड देखिनुको कारण पनि यही हो कि धर्मशास्त्रले महिलाहरुमा भ्रम सिर्जना गर्दिएको छ। परपुरुषसँग लाग्ने महिला अर्को जन्ममा गएर … बन्छे, केके गरी भने के के बन्छे जस्ता कुरा पुराणमा यस्तो कुरा फलाकिन्छ ।
भन्ने बेलामा आधाआकाश महिला भनिए तापनि व्यवहारचाहिँ परम्परा धान्ने जिम्मेवारी पूरै आकाश महिलाको हो जस्तो गरिँदै आएको अवस्था छ ।
त्यस्तै अर्को चित्त नबुझ्दो नियम छ । एउटी छोरीमान्छे जन्मेपछि अर्काको गोत्रमा परिणत हुनुपर्छ । जोसँग रगतको साइनो जोडिएको छ। रक्तसमूह मिल्छ। उसैले पिण्डदान गर्न नहुने, दागबत्ती दिन नहुने, काजकृयाजस्ता हरेक कर्ममा छुनसमेत नभई अलग रहनुपर्ने । पराइघरमा गएर जोसँग न वंश, गोत्र मिल्छ न रगत मिल्छ। उसैले गरेको दान दक्षिणबाट पितृपार तर्नेजस्ता पुराना धार्मिक नियमहरु अझसम्म बिरालो बाँधेर श्राद्ध गरेको पाराले चलिरहेका छन्य । यसको विरोध गर्ने साहस जुन महिलाले गर्छे धेरैको नजरमा आलोचनाको पात्र बन्न पुग्छे । यस्तो विभेदपूर्ण धर्मशास्त्रलाई पूजा गर्न बाध्य छौँ हामी अझै ।
राजनितिक परिवर्तनको मात्रै आवश्यकता ठानियो, धार्मिक परिवर्तनको आवश्यकता छ कि छैन गम्भीर भएर सोच्ने बेला आएको छ ।
सामाजिक पक्षः
सामाजिक पक्ष पनि महिलामुक्ति विरोधी नै देखिन्छ ।
समाजमा पुरुष र महिलालाइ हेर्ने दृष्टिकोण आकाश जमिन फरक छ । ठूलो कुरा किन लिनु सानो कुरालाई नै लिऔँ न , छोरीलाई जन्मेर हातखुट्टा लाग्नेबित्तिकै सानोतिनो काममा आमालाई सघाउन प्रेरित गरिन्छ तर छोरालाई के कुरामा प्रेरित गरिन्छ त भन्दा उफ्रिन, डुल्न, खेल्न, पढ्न, कुद्नजस्ता मानव विकासका हरेक क्षेत्रतिर प्रेरित गरिन्छ । उसले लाउने कपडासमेत छोरीलाई धुन लगाउने, खाकै थालमा चुठ्न लाउने गरिन्छ । जताततै छुट पाएपछि मात्तिएर बदमासतिर लाग्यो भने पनि भन्ने गरिन्छ—“छोरोमान्छे यस्तै हो नि ।”
छोरा र छोरी बराबर कष्ट सहेर जन्माएको हुन्छ, दसधारा दुध ख्वाउने हुर्काउने तरिका उही हुन्छ तर छोरीप्रतिको सोच फरक हुन पुगेको हुन्छ । छोरी जन्मनासाथ हरेक छोरीका बा-आमालाई नपढ्ली कि, राम्रो काम गर्न सक्ने नहोली कि , शाहसी र निडर नहोली कि भन्ने चिन्ता हुनुको सट्टा गतिलो घर पो नभेट्ली कि, बिकामे संस्कार सिक्ली कि,अर्काको घरमा पति सासुससुरा नन्ददेवर लगायत पराइको घर रिझाएर खान सक्ने नहोली कि भन्ने कुराको चिन्ताले सताउन थाल्छ । अझ भनौँ न छोरीको भ्रुण पत्ता लाएर भ्रुणहत्या गर्नेको सङ्ख्या पनि कम छैन समाजमा ।
प्रमुख कुरा त एउटी महिला विवाहपछि अर्काको घर जानु नै महिलालाई हिंसाातिर धकेल्नु हो। महिला शोषणको खुल्ला प्रमाण यहीँबाट छर्लङ्ग हुन्छ । किनभने जब एउटी महिला बिहेपछि अर्काको घर प्रवेश गर्छे । त्यहाँ ऊ ल्याइएकी झुत्री कहलिन्छे । बिहे भएर अर्काको घर गइसकेपछि उसका सम्पूर्ण इच्छा, चाहना र रहरको अन्त्य हुनपुग्छ भन्दा फरक पर्दैन । उसले एउटी निरीह प्राणीझैँ दाम्लामा डोरिनुपर्ने हुनपुग्छ । यहाँ जा, त्यहाँ नजा, यो गर त्यो नगर ,यसो भन त्यसो नभन ,यस्तो लुगा लगा त्यस्तो नलगा अरे ।
एउटी घरेलु कामदारको रुपमा रहनुपर्ने हुन्छ उसले । आफ्नो लोग्ने र लोग्नेका परिवारलाई खुसी पार्ने,रिझाउने, सन्तानलाई कसरी हुर्काइबढाइ गर्ने, जहिले तहिले घरभित्रको सुसेधन्दामा जोतिइरहनुपर्ने जस्ता कुरामा मात्र परिश्रम गर्नुपर्ने र दिमाग पनि त्यसैमा लगाउनुपर्ने हुन्छ । त्यति गर्दा पनि अपजसकै भारी मात्र बोक्नुपर्ने, अन्यत्र सोचविचार गर्नेतिर मन जाँदैन । जसले गर्दा बिहेअघि चल्दै गरेको आफ्नो पढाइ पूरा गर्ने जाँगरसमेत मर्न जान्छ धेरै महिलाको ।
लोग्नेले जतै गएर जोसँग हाँसखेल गरे पनि मौका पर्दा कसैसँग अन्यत्रै रात काटेर आए पनि समाजले उसलाई छुट दिन्छ । उखानै बनाइन्छ मर्दका दशओटी भन्ने । तर स्वास्नीको त्यही व्यवहार थाहा पायो भने सह्य हुँदैन । त्यसैको जिम्मा लाएर पठाउनुपर्छ भन्दै औँला उठाउँदै कस्सिन्छ समाज पनि ।
हुन त हरेक कालखण्डले थुप्रै राजनीतिक परिवर्तन ल्यायो तर सामाजिक परिवर्तनपट्टि अर्थात समाजको संरचनामा परिवर्तन ल्याउने कुरामा कमै सोचिए । ती परिवर्तनले सामाजिक संरचनामा पनि परिवर्तन ल्याउनुपर्थ्याे । एउटी छोरीमान्छेलाई बिहेपछि लोग्नेको घर (अर्काको घर )पठाउनु भनेकै हिंसामा धकेल्नु हो । स्त्री जब अर्काकाे घर जान्छे, तब ऊ त्यो घरको दासी हुनपुग्छे । ऊ चाहे जतिसुकै ठूलो या खान्दानी परिवारकै किन नहोस् मन परे दयाकी पात्र बन्छे नपरे ल्याइएकी झुत्री भन्दै मनलाग्दाे हिंसा गरिइन्छ । सकेसम्म गाली बेइज्जत गर्ने, कुट्ने, चिथोर्ने, मानसिक यातना दिने, घर निकाला गर्ने, कति छोरीलाई रुपियाँपैसामा तौलेर डढाउने, रेट्ने, मार्नेजस्ता जघन्य अपराध गरिन्छ । समाज नै उसको पक्षमा नभएपछि को सुन्ने उसको चिच्याहट र बिलौना ।
राजनैतिक परिवर्तनसँगै समाजको संरचनामा पनि फेरबदल भएर महिलालाई बिहेपछि अर्काको घर जाने प्रचलन बन्द गरेर छुट्टै घरको व्यवस्था गर्दिनुपर्थ्याे । त्यसो हुँदो हो त छोरीले बिहेपछि लोग्नेको घर हैन । म आफ्नो घर जाँदैछु भन्ने आत्मबल दह्राे पार्न सक्थी । हिंसित हुनुपर्ने अवस्था अवश्य घट्ने थियो होला ।
अहिलेको नयाँ संविधानले छोरा र छोरीलाई बराबर अंश दिने कुरा र यही पुरानै सामाजिक संरचनाबीच कुरा बाझिएको छ किनभने अंश लिएपछि त छोरीले छोराझैँ निर्धक्क अंश लिएर आफ्नो तरिकाले जीवनयापन गर्न पाउनुपर्थ्याे । त्याे खोइ अवस्था ? अंश त कोशेलीजस्तो पोको पारेर अर्काको घर लगिएपछि आफ्नो खुसी होला त त्यहाँ ? अवश्य नहोला । बरु आफूले माइतिमा पाएको अंश अर्कालाई बुझाएर, अर्काकै अधिनमा चल्नुपर्ने अवस्थाको सिर्जना सहजै अनुमान लाउन सकिन्न र ?
आर्थिक पक्ष:
आर्थिक पक्ष हेर्ने हो भने पनि महिलाको अवस्था प्रायः दयनीय नै छ । जब आर्थिक पक्ष कमजोर छ तब स्वतः उसको मनोबल कमजोर हुन्छ । अहिले पछिल्लो चरणमा आएर केही कतै वैदेशिक रोजगारीले गर्दा महिलाको हातमा सम्पत्तिको अधिकार आएको देखिए तापनि बहुसङ्ख्यक महिलाहरुको अवस्था यस्तो छ । जो बिहान झिसमिसैदेखि बेलुका आधारातसम्म घरव्यवहारकै काममा घोटिँदा पनि आफूलाई चाहिने आवश्यकीय वस्तु खरिद गर्ने पैसाको लागि कति गाली सहेर श्रीमानसँग हात पसार्नुपर्ने अवस्था छ । खुस परे देलान् । नपरे भन्लान्– “पाँचपैसाको कमाइ छैन, दसपैसाको खर्च । पैसाको साटो व्यङ्ग्य, गाली, हप्की, दप्की देलान् । कति छोरीमान्छेहरु यी यस्ता समस्याबाट केही राहत मिल्ला कि भन्ने सोचेर वैदेशिक रोजगारीको बाटो रोज्न पुग्छन् । त्यहाँ उनीहरु अझ बढी शोषित हुनुपरेको अवस्था पनि छ ।
यदि हरेक महिलाको श्रमको मूल्याङ्कन भइदिए, उनीहरुले दुई-चार पैसाको लागि गाली खाँदै हात पसार्नुपर्ने अवस्था आउने थिएन होला पक्कै र हिनताबोधमा बाँच्नुपर्ने अवस्थाको अन्त्य हुने थियो होला ।
त्यसैले लाग्छ, हरकाेहीले धार्मिक, आर्थिक, सामाजिक, राजनैतिक दृष्टिकाेणबाट नारीदिवस मनाउनुपर्छ । महिलामुक्तिका लागि मानिने बाधकहरू सब मिलेर फुकाउनु पर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।