गल्लीको चियापसलमा
पुतिन वा ट्रम्पको कुरो
आज कसैले झिकेन
मोदी अथवा ओलीको
कुरो झनै उठेन

चियाचुस्कीसँगै मेरै
चर्चा हरेकको मुखमा
कस्तो अचम्म
रातारात ठूलै मान्छे भएछु
भरिभराउ छन्
घरका हरेक मेच मुढा चकटी
जो हिजोअस्ति रित्ता हुन्थे
दैलोमा पुगे छन् उनी पनि
जसका ढोका मेरा लागि बन्द हुन्थे

स्तुतिमा मेरो भरिभराउ
छन् आजका बडेबडे अखबार
समाजिक सञ्जालमा
पनि केवल म र मेरो फोटो
कस्तो अचम्म
मेरो कोही सत्रु रहेन अब
गुणगान बखानमा उनै अगाडि
जो मलाई बैगुणी भन्थे
भएछु आत्मीय उनको पनि
जो सत्तो सराप्दै हिँड्थे

किन गर्यौ हतारो यति !
कसले सक्याउला ती अपूरा काम !
अन्तरङ्ग मित्र थियौं तिमी !
बेथा मुटुको मेटाउ कसरी !
फर्किदैनौं जति कराए पनि !
यो मनलाई तर सम्झाउ कसरी !
रोदन सप्पैको यस्तैउस्तै
कस्तो अचम्म
म रातारात दामी भएछु यार
अमूल्य निधि भन्दै छन् उनी नै
जो कौडीको मान्छे भन्थे
रसाएका छन् ती आँखा पनि
जो मलाई सदैव तरेर हेर्थे

मलाई थाहा छ तर
क्षणिक हुन् यस्ता लक्षण
आँखा मात्र झिमझिम गर्नु पर्छ
गोडा थोरै हल्लाउनु पर्छ
अनि हेर्नु, सुनामीको आगमन
बुझिसक्या छु, जीवनको लीला
भैगो, अब उतै फर्किने मन छैन
तमाम उमेर बिताए
जसको खोजीमा
त्यो कस्तुरी भेटे
मृत्युको अङ्गालोमा आएपछि
सलाम छ, मृत्यु तिमीलाई
तिम्रो अङ्गालो सुन्दै आए
जस्तो भयावह छैन
भैगो, तिम्रो साथ भए पुग्छ
अब अझैं भौतारिने मन छैन ।