कुनै बेला म फगत बालक थिएँ
बा मेरा शील–सदाचारका प्रतिपालक

उनी आकक्लझुक्कल नै मुस्काउँथे
उपहार सदैव नयाँनौला ल्याउँथे
बदमासी गरे कि दण्ड दिन्थे
झापड सँगसँगै माया बरु दोब्बर प्याउँथे

सानिध्यता उनको अतिशय प्रिय
अलि फुर्सद हुँदा साइकलमा आफ्नो

उनी नित नयाँनौला ठाम लैजान्थे

काम सकेर उनी राति नफर्किँदासम्म

ब्यग्र आँखा मेरा ढोकैतिर हुन्थे

उनकै थालमा सँगै खान औधी रुचाउँथेँ

ओछ्यानमा उनकै कथा सुनी निदाउँथेँ

 

समयले कोल्टो फेर्यो

एक दिन म ठूलो मान्छे भएँ
नाम–दामसँगै व्यस्तता मस्त कमाएँ

मेरा होइन, राती बाका आँखा व्यग्र हुन थाले

तदनन्तर ढोकातिर जान थाले
आँखा जुध्यो कि ओइरो उनी

प्रश्न प्रवचनको लगाउन थाले
कहाँ थियौ, कता जाँदै छौ

फर्किदा चिसो ह्वात्तै बढ्ने छ

न्यानो लुगा लगाए, न्यानो हुने छ
यो पहिरन त झनै सुहाएन

बरु त्यो लगाए, ज्यान आकर्षक बन्ने छ
यो के खा’को, त्यो किन खाँदैनौ

चाँडै ओछ्यानमा पस, किन मान्दैनौ
बिहानीको हिँडाइमा किन जाँदैनौ

औषधि खान बिर्सेका त छैनौं नि

यही शैली तिम्रो ठीक छैन है

उसो बोल्दा पनि हुन्थ्यो नि

जमाना ठीक छैन जोगिएर हिँड्नु

किन ठुस्स परेको, सञ्चो छैन कि ?

कुनै लफडा कसैसित बल्झ्या छ कि ?

बासित केही लुकाउन खोज्दै छौ कि ?

चलिरहन्थ्यो उनको अनाहक गनगन

दिक्क हुन्थेँ म, साथमा मेरी जहान !
नातिनातिनीअगाडि जारी रहन्थे

उनका बुढ्यौली भजन प्रवचन

अलि पसिना आयो कि भन्छौ ऐया

अलि घोच्यो कि चिच्याउँछौं, मरे बा

सुन्छौ भने सुनाउँछु हाम्रा संघर्ष गाथा

तिम्लाई के था ठूलाबडाहरूका बेथा

पसिना धूलो धुवाँ हुन्थे हाम्रा असल साथी

भुइँमै बसेर चिसोतातो खाने आनीबानी

आहा, उतिबेलाका छिमेकी पो छिमेकी

अहिले पो भएछ मुर्दारहरूको बस्ती

अनि, नातागोतामा खोट थिएन क्यै

अहिले पो मुकुण्डोधारी वरिपरि

जो भेट्यो उसैको दुई जिब्रे बोली

जता आँखा गयो उतै कुरी कुरी

अथकित गफ उनका यस्तै हुन्थे

म चाँहि अलि टाढाटाढा नै रहन्थेँ

यात्रा समयको अनवरत नै रह्यो

कुद्दै गरे म यात्रु पनि सँगसँगै

हजुरबाको कित्तामा पुगेदेखि

म नितान्त फरक जन्तु भएछु

भविष्यको योजना गुन्दिनँ अचेल

अतीतका गीत गुनगुनाउने भएछु

सुन्ने मान्छे मात्र भेट्नु पर्यो मैले

अलप भएका दिन, बिर्सिएका कथा

उराठलाग्दा यस्तै गफमा हराउने भएछु

सन्ततिले रूचाओस्, नरूचाओस्

अर्ति उपदेशको झरी लगाई राख्ने भएछु

अतीतको गर्भमा हराएका बालाई

सम्झेर आँसुको भेल बगाउने भएछु

सबैलाई लाग्दो होला, म बुढो भएछु

कुरो भित्री यति मात्र हो कि

म आफ्ना बाजस्तै हुँदै गएछु ।