णणणअबुझ अनौठो
आमा पुलपुलाउने
बा सदैव थर्काउने
आमा फकाउन जानेकी
बा केवल तर्साउन जानेको
आमा करुणाकी खानी
बाको धम्क्याउने बानी
आमा कोकिलकण्ठी
बाको जिब्रो नै चर्को
आमा जेरी छिन् भने
बा औषधि अनिलो टर्रो
आमा मित छिन् भने
बाको कानुन निर्मम खस्रो
प्रेम त संचित पक्का होला
बाको हृदयमा पनि
खै, सम्झाउन आउँदैन कि ?

हुर्किन्छिन् जब सानी नानी
उड्न खोज्छ उसको
पखेरु मन आवारा बादलसँगै
नाप्न खोज्छन् कलिला पैताला
परिधि अनन्त सगरकै
गिद्धे आँखाबाट हे प्रभो
जोगाउनु मेरी ढुकढुकीलाई
घण्टौं प्रार्थना गर्छिन् आमा
बा तर व्यस्त सदैव काममै
ध्याउन्न उसको छेकबारमै
फिक्री त हजार लडीबुडी
खेल्दा होलान् बाभित्र पनि
अड्केकै होला छोरीमै
ज्यान त उसको पनि
खै, उजागर गर्न आउँदैन कि?

आउँछ घुम्ती जीवनमा यस्तो पनि
आफ्नो मुटु अरुसँगै पठाउनै पर्ने
धर्म कन्यादानको निभाउनै पर्ने
गीत बिदाइको गुनगुनाउनै पर्ने
सार्है कोमल हुन्छ आमाको मन
पोख्न भ्याउँछिन् पीडा विछोडको
अविरल अश्रुधारसँगै
बोल्दैन बा तर क्यै
आँखा पनि रित्ता सदैव झै
चुपचाप निहारिरहन्छ
छोरीलाई उभिएर परपरै
रोएको त पक्का होला
उसको मन पनि
खै, रुने ढङ्ग आउँदैन कि ?