पुस्तक पढेपछि थुप्रै प्रश्न र आशङ्काहरू मनमा उठ्छन् – कर्म, धर्म, शास्त्र के हो ? त्यसबाट के सिकिरहेका छन् ? कति विकृत भएर गइरहेछ समाज ? संग्रहका प्रत्येक लघुकथा उदाहरण दिन लायक छन् ।

 

‘सपना कतिपय’ भित्रका लघुकथाहरूको सर्जक हुन् कुमार काफ्ले । ‘हजार सपना’ नामक उपन्यास यसअघि २०७२ सालमै नेपाली साहित्यको क्षेत्रमा भण्डारण गरिसकेका काफ्लेको करिब एक दशकपश्चात् यो पुस्तक प्रकाशित भएको छ । पुस्तक प्रकाशन गरिनु महत्वपूर्ण कुरा त हुँदै हो तर त्यसभन्दा बढी महत्व पुस्तकभित्रका सिर्जनाहरूले दर्शाउँछन् । आख्यानकार कुमार काफ्लेका लघुकथामा समसामयिकता छ । उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ । उनले लघुकथामार्फत विकृति र विसङ्गतिलाई सुकृति र सुसङ्गतिमा हिंडाउन प्रयास गरेका छन् ।

 

पुस्तक भित्रका लघुकथाहरू स्वयम् बोल्छन्- दमोसफलमा बसेर तुलनात्मक रूपमा प्रसार-प्रचारको क्रममा अलिक पछाडि धकेलिएको देखिए पनि यो स्तरीय लेखन उनको कलमलाई लोकप्रिय बनाउने माध्यम बनेको छ । वास्तवमा स्रष्टालाई परिचय दिलाउने भनेको व्यक्तित्व होइन उसको सिर्जना हो भन्ने तथ्यलाई यी लघुकथाहरूले पुष्टि गरेका छन् । सम्पूर्ण लघुकथाहरू यथार्थमा आधारित छन्, जसको मूल बिन्दु ‘कथानक’ लाई कुनै पनि लघुकथाले बेजोडसँग पक्रेको छ ।

पुस्तकको दोस्रो कथा ‘पार्सल’ को अन्तिम दृश्यले आजको आर्थिक विपन्न समाजको छर्लङ्ग तस्वीर देखाएको छ, जुन अत्यन्त हृदयस्पर्शी छ- ‘…प्रतीक्षाको घडी सकियो । ३ बज्यो । प्रतीक्षित पार्सल पनि आइपुग्यो । उनीहरूको अगाडि रातो रातो बाकस आइपुग्यो । त्यो बाकसमा शेखर चिरनिद्रामा लीन थियो ।’

यो सानो लेखाइमा ठूलो महाकाव्यले दिन सक्ने क्षमता समेटिएको छ । हेर्दा छोटो एउटा घटनाको कथा तर गहिरिएर पढ्दा मान्छेको पूरै जीवनको आख्यान । कथाका पात्र शेखरको जन्म, उनको बिहे र रोजगारीको सिलसिलामा विदेश प्रस्थान, त्यहाँबाट घरव्यवहार धानेको र अन्ततः उनी स्वदेश फर्कने कुर मात्रैले पनि छाएको खुशी यावत् घटनाको सामान्य प्रस्तुतिले समग्रमा खास गरेर हाम्रै देशको कथा बोलेको छ यसले । वास्तवमै लघुकथाको परिभाषामा भनिने ‘अन्तिममा झट्का दिनुपर्छ’ भन्ने मान्यतालाई बकाइदा यो कथाले आत्मसात् गरेको छ ।

शीर्षक कथा ‘सपना कतिपय’ मा आजको विघटित पारिवारिक तस्वीर छ । समाजमा देखिएको आमाबाबुको सपनासँग तिनका सन्तानको चरित्र पटक्कै मेल खाँदैन, समाजको यो वास्तविकता बडो हृदयस्पर्शी तवरले यसमा आएको छ । आमा सिकिस्तै बिरामी हुँदाको अवस्थामा शहरका छोराले-‘बूढाबूढी भएपछि यस्तै त हो नि ! औषधिले काम गर्दैन’ भन्ने वाक्यलाई शहरमा बिरामी छोराका हालत देखेर लेखकले सटिक व्यंग्यका साथ आमाको मुखबाट भन्न लगाउँछन्- ‘बूढाबूढी भएपछि ओखतीले काम नगरे पनि उमेरमा त गर्छ छोरा । ल जाम् अस्पताल !’

संग्रहका लघुकथाहरू पढ्दा लाग्छ-कथाकार काफ्ले पत्रकार जस्तो, जो समाजलाई हरेक कोणबाट रिपोर्टिङ गरिरहे जस्तो एक सचेत नागरिक हुनुको कर्तव्य निभाइरहेछन् । हुन पनि लेखकले पुस्तकभित्र ‘आफ्नो कुरा’मा लेख्छन्- ‘लघुकथा लेखनको मेलोमा मैले भेट्टाएका, देखेका, भोगेका अनुभूतिहरूलाई समाजमा वर्षौंदेखि रहेका पीडा र उत्पीडन सहेर सङ्घर्ष गरिरहेका जुझारु मान्छे र मानवताका कथा-व्यथालाई, समस्त प्राणी र वातावरण संरक्षणका सवाललाई उधिन्ने कोशिश गरेको छु ।’

यसरी, कलम बोकेर लेखनदासले जस्तो तमसुक-कविता/कथा लेख्नेहरूका भीडबाट अलग्गै हटेर आफ्नो अनुहार देखाएका छन् कुमार काफ्लेले ।

अर्को शब्दमा भन्ने हो भने, लेखकका रूपमा भिन्नै पहिचान बनाउनुको मूल कारण यो हो, कि उनका कथाका पात्रहरूले कथाका मर्मलाई सुन्दर रूपले न्याय दिलाउन सक्षम छन् । जस्तो कि- ‘अतिक्रमण’ लघुकथाका मूल पात्र बिर्खमान घर्तीको बेजोड प्रस्तुति छ । पुरानो (झुर) नेपाली कागजको नागरिकता प्रमाणपत्रप्रति उनका अनजान छोराले गरेको घृणाको प्रतिक्रियामा उनले देखाएको राष्ट्रियता निकै गौरवपूर्ण छ । आफू जन्मे-हुर्केको माटोको सुगन्धलाई राष्ट्रियतासँग यसरी-‘उसले एकमुठी माटो उठाएर सुँघ्यो, केही मिसिए झैँ लागे पनि अझै त सुवास नेपाली नै थियो’, जोडिदिन सक्नु लेखकको कौशल प्रशंसनीय छ । तर, लेखकले लघुकथाहरू जति राम्रा लेखेका छन् सम्पादन पक्ष अलिक कमजोर देखिन्छ । कतिपय पृष्ठहरूमा सामान्य शब्दहरूसमेत त्रुटिपूर्ण छन् ।

लेखनमा प्रगतिशीलता लेखकको ध्येय देखिन्छ । त्यसो त, कलम समाएपछि समाज सुधारोन्मुख लेखन गर्नु लेखकको धर्म नै हो । अधोगति-उन्मुख भएर कसैले लेख्दैन, कदाचित् लेखे भने स्पष्टतः तिनलाई लेखक कहलाइँदैन, अनैतिक, भ्रष्ट वा विवेकहीनका रूपमा सम्बोधित हुन्छ । यस अर्थमा, कथाकार काफ्ले लेखकको कर्तव्यबाट एक इन्च पनि डग्मगाएका छैनन् । उदाहरणका लागि- ‘मृत्युघर’ लघुकथा एउटा झलक हो । संस्कृति वा परम्पराका नाममा कुसंस्कारको विरुद्ध कथाका आफ्नो पात्र रतनदेवीमार्फत लेखक बोल्छन्- ‘छाउगोठमा हुँदा त मलाई, म मान्छे जस्तै लागेन आमा !’

कहीँ-कतै चुट्किलाजस्ता लाग्ने तर रोमाञ्चकारी गहनता मिसिएको ‘दाउ’ जस्ता लघुकथाहरू पनि यसमा संगृहीत छन् । यो कथामा सामाजिक चरित्र भ्रष्ट भएका एक पात्र जुवाडे धने कतिसम्म निकृष्टताको उदाहरण भएर प्रस्तुत भएका छन् भने जुवा खेल्ने लतमा सबै रकम हारेर खल्ती रित्याइसक्दा पनि ऊ जुवा खेल्न छाड्दैन । आफ्नी श्रीमतीका नाक-कानका गहनासमेत हार्छ । यो थाहा पाएर उसकी श्रीमती बेस्सरी रिसाउँछिन् । तर, धने बडो सहजताका साथ भन्छ-‘नरिसाऊ हर्केकी आमा, ठ्याप्पै नरिसाऊ ! मैले त युधिष्ठिरले जसरी तिमीलाई दाउमा राखेर हारेको छैन नि !’

यो लघुकथा पढेपछि थुप्रै प्रश्न र आशङ्काहरू मनमा उठ्छन्- कर्म, धर्म, शास्त्र के हो ? त्यसबाट आजका मान्छेले के सिकिरहेका छन् ? कति विकृत भएर गइरहेछ समाज ? संग्रहका प्रत्येक लघुकथा उदाहरण दिन लायक छन् । समग्रमा, साहित्य बिग्रँदो/भत्कँदो समाजको जीर्णोद्धार गर्ने एउटा गतिले औजार हो । यही मेलोमा कुमार काफ्लेको ५४ वटा भिन्न-भिन्न कथानक लिएर आएको पुस्तक ‘सपना कतिपय’ भित्रका लघुकथाहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्न सक्नेमा पूर्णतः विश्वास गर्न सकिन्छ ।