बिहान पाँच बजे होइन आठ बजे उठें । हिजो बेलुका साथीहरूसँग पिएको मदिराले अहिलेसम्म टाउको रिङ्ग्याइरहेको थियो । त्योभन्दा बढ्ता त मलाई ग्लानि महसुस भइरहेको थियो । मैले अत्यधिक मदिरापान गरेको थिएँ र गोपनीयताको सीमा नाघेर बोल्न मलाई कुनै सङ्कोच लागेको थिएन । म साथीहरूको उक्साहटमा लागेर हो या मनको पीडा ओकल्न उपयुक्त लागेर हो, त्यस्तो बेला चाहेकोभन्दा बढी खुल्छु । जब सामान्य अवस्थामा फर्किन्छु अनि पश्चात्तापको भुमरीमा जल्न थाल्छु । पिएको भोलिपल्ट हरेक बिहान म अबदेखि पिउँदिनँ भनेर मनमनै सोच्छु र आफैँलाई धिक्कार्दै काममा लाग्छु । परन्तु विगत केही वर्षदेखि मेरा अधिकांश साँझ मधुशालामा बित्न थालेका छन् ।
जिन्दगीको धेरै समय गाउँमै बिताए पनि काम विशेषले बेलाबखत राजधानी पनि गइरहन्थें । पाँच छ महिनादेखि मेरो मनमा एउटा कुरा खेलिरहेको थियो । यता साहिँलीको भट्टीमा तुम्बा तान्नु र सहरका झकिझकाउ रेस्टुरेन्टमा हार्ड ड्रिङ्क गर्नुमा के भिन्नता होला भनेर मनमा कौतूहल थियो । काठमाडौँ जाँदा जसरी पनि त्यस्ता आकर्षण रेस्टुरेन्टमा छिर्ने विचार गरेको थिएँ । त्यसैले गाउँमा खाएको उधारो नतिरी पैसाको जोहो गरेर म राजधानी छिरेको थिएँ ।
केही दिन भेटघाट, गफगाफ र दौडधुपमै व्यस्त भएँ । धनी साथीहरूको सङ्गतले म शहरलाई उनीहरूकै नजरले शालीनतापूर्वक नियालिरहेको थिएँ । काठमाडौँ पुगेको छैटौं दिन घाम क्षितिजमा डुबेको एक घण्टा ज्यादा भएको हुँदो हो । म सुनधाराबाट आरएनएसीको बाटो हुँदै जमलतिर लम्किंदै थिएँ ।
“ए दाइ यता सुन्नुस् त”
म आवाज आएतिर फनक्क फर्किएँ, कारण त्यो स्वरमा त्यस्तो विशेषता थियो जसको छनक यसै पाइहालिन्छ । ती षोडशीको पहिरन र श्रृङ्गारपटार विशिष्ट खालको थियो पेसा सुहाउँदो । मैले खासै चासो दिइनँ तर उनी आफ्नो मूल्य घटाउँदै थिइन् । मलाई रक्सीको तलतल लागेको थियो त्यसैले उनलाई बेवास्ता गरेर अगाडि बढेँ ।
धेरै अगाडि बढ्दा पनि रक्सी खाने ठाउँ नभेटेपछि मैले हिँडाइको गति अझ तेज पारें । मूल सडकबाट भित्र छिरें र दायाँतर्फको रेस्टुराँमा पसें । चम्किलो कलेजी रङको भित्तो, मधुरो प्रकाश र प्राय टेबलहरू खाली थिए । केही क्षणमा नै टिमिक्क परेको सेतो सर्ट र नीलो मिनिस्कर्ट लगाएकी वेट्रेस अर्डर लिन छेउमा आइन् र मैले भनेअनुसार टिपेर हिँडिन् ।
म सुनौलो रङले भरिएको गिलास अगाडि रेस्टुराँको कुनामा थिएँ र सामान्य औपचारिकता पूरा गरेर ती वेट्रेस सामुन्नेको मेचमा आएर थ्याच्च बसिन् । मेरा मातिएका नजर गिलासमा भन्दा उनीतिर सोझिए । उनको हाउभाउ, कुरा गर्ने शैली, पोटिला स्तन र आधा नछोपिएका तिघ्रामा मेरो विशेष ध्यानाकर्षण भयो । नबाँधिएको थलथले कपालमा हल्का चम्किलो रातो मेहन्दी लगाइएको थियो र त्यो रातको मधुर रङ्गिन प्रकाशमा अनौठो तरिकाले टल्किएको थियो । रातराता ठिक्कका सपाट गाला, झण्डै अलिक साना आँखा, चुच्चो नपरेको नाक र लवजले उनी मङ्गोलियन पुर्खाकी सन्तति हुन् भनेर ठम्याउन मलाई कुनै कठिनाइ परेन ।
त्यो साँझ पिउने र गफ गर्ने दुवै काममा तिनले भरपुर साथ दिइन् । तर जसरी साथीहरूसँग खुल्थेँ त्यसरी खुल्न सकेको थिइनँ ।अप्रकट रूपमै मनभरि कुरा खेलाइरहेको थिएँ । केही घण्टाअघि टुँडिखेलको बारमा प्रस्ताव राख्ने केटी र अहिले मेरोसामु बसेकी बेराको तुलना गरें । निकै बेर बसें र निकै रक्सी पिएँ । केही रमाइला र केही अश्लील कुराहरू भए तर रात बिताउने कुरा न मैले गरें न त उसले नै गरी ! बरु अघिकै केटीले कति सजिलैसँग कुरा गर्दै आफ्नो शरीरको मूल्य निर्धारण गरेकी थिई । बिल तिरें र फिर्ता पैसा उसैलाई टिप्स छोडेर बाहिर निस्केँ।
आजको रात मेरो वास लैनचौर बस्ने एउटा साथीकोमा निधो भएको र मलाई त्यता जान अबेला हुन लागिसकेको थियो । मूल सडकमा निस्केपछि मेरो मन साथीको कोठातिर जानै मानिरहेको थिएन । घरी थलथले कपाल भएकी हिस्सी परेकी रेस्टुराँकी बेरालाई सम्झन्थें त घरी रत्नपार्कमा ‘ए दाइ यता सुन्नुस् त’ भन्ने तरुनीलाई सम्झन्थें ।
रातो रानी फूले झैँ साँझमा,
तिमी फुल्यौ कलेजी माझमा ।
मनको रहर, कान्छीलाई घुमाउने …
डेनी डेङ्जोम्पाको गीत गुनगुनाउँदै म फेरि रत्नपार्कतिर लागें ।
साँझमा बोलाउने केटीलाई धुईंपत्ताल खोजें, अहँ भेटिनँ त ।
बरु अनेक रूप र रङका फरक खालका मान्छे भेटें । स्वर केटाको तर शारीरिक बनोट दुरुस्तै केटी ! मेरो छेउमा आएर इत्तरिंदै अश्लील कुरा गर्न थाले । मलाई उनीहरूको व्यवहार ठ्याप्पै मन परेन, आकर्षित हुने त कुरै भएन । मन नपरेर कहाँ सुख पाउनु र ! उनीहरूमध्ये एकले त मेरो शरीरमा कताकता छुन, समाउन पो खोज्छन् बा ! म उदेक मान्दै त्यहाँबाट छिटोछिटो हिँडे, हिँडे के भन्नु भागें । अलिक पर पुगेर पुलुक्क पछाडि फर्केर हेरें धन्न पछ्याएनन् । मनभरि कुरा खेलाउँदै म आएकै बाटो फर्किएँ र अघिकै रेस्टुराँमा एक प्याक थपेर रातकी रानीसँग गफिने विचार गरें ।
म रक्सीले झ्याप्प हुँदै गइरहेको थिएँ । मेरो तन कान्तिपथमा पाइला नाप्दै थियो तर मन भने देशका गन्नेमान्यहरूको घरपरिवार र जीवनशैलीमा पुगेर अड्किएको थियो। राष्ट्रकवि माधव घिमिरेले पत्नी गौरीको वियोगमा खण्डकाव्य नै लेखेर प्रख्यात भए । उनीहरूको अजम्बरी प्रेमले पाएको वाहवाही सेलाउन नपाउँदै बूढाले दोस्री श्रीमती भित्र्याए । त्यसैगरी धरावासी र आचार्यले पनि उमेर ढल्केपछि पुनः विवाह गरे । म मातेकै तालमा सही ! उनीहरूको व्यवहार देखेर छक्क परेको थिएँ । पत्नी वियोगमा दुखी हुने उनीहरू पनि घाउ खाटा बस्न थालेपछि म जसरी यसैगरी सडकमा भौँतारिए या भौँतारिएनन् ! अनि पतिको निधनपश्चात त्यही घरमा पत्नीले दोस्रो श्रीमान भित्र्याइन् भने समाजले के भन्दो हो ! म नसाको जोशमा थिएँ तथापि यस्ता प्रवृत्तिप्रति रोष र घृणा पैदा भइरहेको थियो।
रेस्टुराँमा नपुग्दै अलि वरबाटै ठम्याएँ, बन्द भइसकेको रहेछ । आफैँलाई अभागी ठानें र धिक्कारें । उमेरमै जीवनसङ्गिनीले साथ छोडेपछि रक्सी निर्विकल्प साथी र सहारा भएको थियो मेरो । मनको व्यथा हराउँछ भनेर साथीहरूको भनाइमा लागेर म एक नम्बरको पियक्कड भएको थिएँ । यसरी मातेर हिँड्दा पनि ममा यति होस चाहिँ थियो, मैले नखानुपर्ने चीज खाएँ !
••• ••• •••
त्यसपछि म फेरि अघि भेटिएका समलिङ्गीहरूलाई भेट्न हिँडें ।
जे अगाडि छ त्यसलाई लत्याउने र गुमेपछि पुनः त्यसकै प्राप्तिमा लाग्ने मानवीय स्वभाव ममा पनि लागू भयो र म फर्कीफर्की कहिले पेशेवर केटी त कहिले रेस्टुरेन्टकी बेराको खोजीमा भौँतारिरहेका थिएँ । झन् अहिले त अघि रिस उठेका मान्छेकै खोजीमा हिँड्दै थिएँ, उनीहरूबाट उम्किन म केही बेरअघि भागेको थिएँ ।
त्यता नि अबेला भएछ क्यारे ! कसैलाई भेटिनँ । अथवा भेटेर पनि मैले चिनिनँ कि जँड्याहालाई उनीहरूले भाउ दिएनन् । निराश भएर सडक नाप्दै थिएँ, म त एक्कासि गर्ल्याम्म लडें !
निकै बेरपछि पछाडिबाट मेरो कुममा कसैले हात राखे झैँ लाग्यो । बिस्तारै उसले मलाई उठायो । भन्नै परेन हात कति नरम थिए ! जस्तो फूल वा कपास हुन्छ । म पछाडि फर्कंदा सडकमा फैलिएको मधुरो प्रकाशमा एउटी परम सुन्दरी मन्द मन्द मुस्कुराइरहेकी थिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरा हात समातेर आफूतिर तानिन् र आफ्ना तात्ताता ओठ मेरो ओठमा जोडिन् । मलाई कताकता डर लागेजस्तो भयो, लाज बढेर आयो र म किंकर्तव्यविमूढ भएँ । उनले त मलाई डोर्याएरै कताकता लिएर गइन् । केही छिनमा हामी सजावटमा कुनै कमी नभएको सुन्दर कोठामा पुग्यौं । त्यसपछि उनले मेरा कपडा क्रमशः उतारिदिइन्, मलाई बिस्तारामा सुताइन् र उनी पनि सुतिन् ।
म बिहान घाम झलमल्ल लागेपछि उठें । थकाइले ज्यान फतक्क गलेको थियो ।
म बिउँझेको देखेपछि विपिन भन्दै थियो, “हिजो राति मैले तँलाई कहाँकहाँ मात्रै खोजिनँ ! बल्लबल्ल जमलनेर लडिरहेको भेट्टाएँ, छेउमा दुई तीनवटा कुकुरहरू पनि सुतिरहेका रहेछन् । त्यसपछि के भयो तँलाई थाहा छ ?”
मैले आँखा मिच्दै भनें, “त्यसपछि मलाई एउटी अप्सरा आई र मुलायम हातले समातेर डोर्याउँदै आफ्नो कोठामा लिएर गई ।”
मैले कुरा टुङ्ग्याउन नपाउँदै ऊ मरिमरी हाँस्न थाल्यो, “हा हा हा…, त्यही भएर पो रहेछ राति तँ मलाई बलजफती करणी गर्न खोज्दै थिइस् ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।