परको झ्यालबाट घामको सानो झुल्को हामी बसेको कोठासम्म पुगेको थियो । फलामे डन्डाका ढोका हुँदै, उज्यालो भित्तामा ठोकिएको थियो । त्यहीँ उज्यालोले फलामे ढोकाको आकृति भित्तामा बनाइरहेको थियो । म एकटकले त्यहीं भित्ताको आकृति हेरिरहेको थिएँ ।
केही क्षणको प्रतीक्षापछि मेरो अघि इन्स्पेक्टर र उनको छेउमा एक पुरुष प्रहरी बसे । मेरो छेउमै हल्दार्नी उभिइन् ।
“सायरा अब यो संसारमा रहिनन् । उनले हिजो आत्महत्या गरिन् ।” कोठाको सन्नाटा चिर्दै इन्स्पेक्टरले पहिलो अभिव्यक्ति दिए ।
घरबाट पुलिसभ्यानमा हाल्दासम्म सायराकाबारे सामान्य सोधपुछका लागि मात्रै भनेका थिए । तर अहिले इन्स्पेक्टरले अचानक त्यसो भन्दा म छागाँबाट खसे झैं भएछु । पेट बाउँडिएर मुखमा उलुक्क पानी आए जस्तो भयो ।
मितिनीको फोन देखाउँदै, “कल हिस्ट्रि हेर्दा मृत्युको केही हप्ता अघि मात्रै उसको मोबाइलबाट तपाईंलाई मेसेज गएको देखिन्छ तर तपाईंले रिप्लाइ दिनुभएको छैन, किन भन्नुस् ?” इन्स्पेक्टरले मेरो उत्तरको अपेक्षा गरी हात बाँधेर बसे ।
इन्सपेक्टरको तारन्तार प्रश्नले मलाई निरस पार्दै गयो । इन्स्पेक्टर के के बर्बराउँदै थिए मेरो मस्तिष्कले केही मेसो पाउन सकेन ।
छेउकी महिला प्रहरीले झ्याप्पै कुम समाउँदै “सुन्दै हुनुहुन्छ, केही गाह्रो त छैन ।” भनेसि मात्रै झसङ्ग भएँ ।
“कसरी, किन….” म छक्क पर्दै उल्टै मितिनीको मृत्युबारे उनीहरूलाई सोध्न थालें । एकचोटिमा सुनेनन् कि लागेर दोस्रो पटक नि सोधें । मितिनीले मृत्यु नै वरण गर्दा नि मलाई मेरो प्रश्नका उत्तर दिनु तिनले आवश्यक ठानेनन् ।
मनमा दुःख त लाग्यो तर त्यहीं दुःख आँखाबाट प्रष्फुटन हुन सकेको थिएन । उनीहरूका मुखबाट मेरा प्रश्नको उत्तर नफुट्नु र मेरा आँखाबाट मितिनीका लागि आँसु बग्न नसक्नु उस्तै लाग्दै थियो मलाई, कतैबाट पहिरो आई खोलाको मूल बन्द गरिदिए जस्तै ।
उता पुलिस मेरो जवाफका लागि हतारिरहेका थिए, मेरो मनस्थितिमा के गुज्रिंदैथ्यो वास्तै नगरी ।
“बितेका केही महिनामा तपाईंहरू बीच राम्रै गफ भएको देखिन्छ । फेरि बीचमा गफगाफ छैन, पछि सायराबाटै तपाईंलाई बढी सम्पर्क गर्न खोजिएको देखिन्छ । यो बारे प्रष्ट्याउनु पर्यो । ल, छिट्टो भन्नुस्, समय छैन… ।” उनीहरूको हतारोले म जबर्जस्ती यथास्थितिमा आउन बाध्य भएँ ।
“केही समय यता मितिनी आफैं मसँग बोल्न आउनुभयो । त्यस अघि हाम्रो खासै गफगाफ थिएन ।” मितिनीको अचानक मृत्युको खबर स्वीकार्न नसकेर मेरो बोली काँप्दै थियो ।
गफगाफ भएका केही समयमै उहाँले मसँग २ लाख पैसा माग्नुभयो ।
त्यत्रो पैसा भन्दै शुरूमा म आत्तिएको थिएँ ।
प्रतिक्रियामा उहाँले भन्नुभयो, “यत्रो समय केही गर्न सकिएन मितिनीज्यू, केही साथीहरूको सल्लाह र साथ लिएर एउटा व्यापार गर्ने सोच छ । बस दुई महिनाको कुरा हो । म तपाईंको पैसा फकाइहाल्छु । घरमा मीतबा, आमा र मेरा तिर कसैलाई नभन्दिनु होला ।”
मैले के को व्यापार पनि सोधिनँ । दुई महिनापछि कताबाट पैसा जुट्छ, त्यो पनि सोधिनँ, बस उनलाई चाहिएको छ र मैले दिनु छ भन्ने मात्रै मनमा लिएँ ।
केही दिनमै मैले आफूसँग जागीर खाएर बचाएको १ लाख ५० हजार र मामाघरको हजुरबुवासँग ५० हजार मागेर उनलाई दिएँ ।
पैसा लिए लगत्तै मितिनीले दिनहुँ जसो फोन गर्न छोड्नुभयो । मैले फोन गर्दा म व्यस्त छु पछि बोलौंला भन्दै काट्नुहुन्थ्यो । मैले पनि त्यति ध्यान दिन पाइनँ । तर पछि उहाँले पैसा फर्काउने कुरामा पनि त्यस्तै ल्याङ गर्नुभयो । एक, दुई गर्दै धेरै महिना बिते, मितिनीले पैसा फर्काउनु भएन । कत्ति फोन गर्दा पनि उहाँले अनेकौं बहाना पार्नुभयो । घरमा कसैलाई भन्ने आँट पनि भएन । मितिनीको घरमा भनूँ कुरा घुमेर यहीं आइपुग्थ्यो ।
फेरि एकदिन उनकै फोन आयो । कुराकानीमा उनले अलिक डराएजस्तो स्वरमा भनेकी थिइन्, “मितिनीज्यू तपाईंलाई पैसाले आपत परेको छ, मलाई थाहा छ तर के गर्नु त्यस व्यक्तिले पनि मलाई फर्काउन समय लाइरहेछ ।”
“को व्यक्ति ? कस्तो कामलाई पैसा माग्नुभयो, मैल त्यो पनि नसोधी आँखा चिम्लेर पैसा दिएँ । तर तपाईंले मलाई धोका दिनुभयो । नराम्ररी फसाउनु भयो ।” मैले उनको प्रतिक्रियासम्म नकुरी भनेको थिएँ, “किन फोन गर्नुभयो आज ? तीन महिनादेखि न मेरो फोन उठाउनु भयो न मेसेजको रिप्लाइ नै । आज फोन गर्नुको पनि केही मतलब त होला नि, के फेरि पैसाले पुगेन ।”
यति भन्न नपाउँदै उतैबाट, “हो नि मितिनीज्यू” आयो । उनले सजिलै बोलेको शब्दले म झनै आक्रोशित भएँ ।
“कत्रो आँट तपाईंको मितिनीज्यू ! तपाईंले कसरी सोच्नुभो, म तपाईंलाई विश्वास फेरि गर्छु भनेर !”
यति भनेर मैले फोन काटें । बोल्न त उनी खोज्दै थिइन् तर मैले मौका दिइनँ ।
“के का लागि त्यत्रो पैसा आवश्यक थियो सायरालाई, एक त नबुझी पैसा दिनुभयो, फेरि फोन गर्दा उसको कुरै सुन्नु भएन । के यहाँ तपाईंको गल्ती छैन र ?”
“गल्ती छ सर, तर यस्तो होला भन्ने अड्कल नै थिएन मलाई ।”
त्यसपछि उनले फोन गर्दा मैल उठाउनै छाडें । फोन नउठाउने पालो मेरो भए झैं भयो । फोनको बेवास्ता गरेसि एकदिन उनको मेसेज आयो । बोल्दाबोल्दै त्यो मेसेज प्रहरीले सायराको फोनबाट मलाई सुनायो ।
“मितिनीज्यू सरी । मैले गर्दा तपाईंलाई धेरै तनाव भयो । तर परिस्थिति नै त्यस्तै भयो । अहिले मलाई थप पैसा चाहिएको छ । तपाईंले पहिले नि सहयोग गर्नुभयो र तपाईं बाहेक मलाई सहयोग गर्ने कोही पनि छैन । म सबै पैसा फिर्ता गर्नेछु । प्लिज, मेरो विश्वास गर्नुहोस् । हाल मलाई थप एक लाख चाहिएको छ ।”
“यसको रिप्लाइ किन गर्नुभएन ।” मेसेज पढिसकेर फेरि केरकार गरे ।
“खै, मैले मेसेज पढें मात्रै । कुनै प्रतिक्रिया दिनु जरूरी लागेन । उनले मागे जति पैसा मसँग थिएन पनि । पहिलै धोका दिएको मान्छेलाई फेरि विश्वास गर्न पनि सकिनँ ।”
“तपाईंलाई लाग्दैन, त्यो फोन उठाएको भए वो मेसेज रिप्लाइ गर्या भए शायद उनको स्थिति थाहा पाउन सकिन्थ्यो कि ! त्यस्तो कदम चाल्नबाट रोक्न सकिन्थ्यो कि !” फोन नउठाउनु मेरो गल्ती हो भनेर उनीहरू एउटै प्रश्नले बारम्बार घोच्दै थिए ।
“मृत्युबारे तपाईंले भन्नासाथ दिमागमा पहिले त्यहीं फोनबारे विचार आयो । उनको आत्महत्याले बरु यति सशङ्कित हुन्नथे होला सर, जति उनको मृत्युअघि कल आउनु तर मैले नउठाउनुले भएको छु ।” मैले लामो स्वास फेर्दै पश्चातापले रापिएको मुटुलाई राहत दिदै बोलें ।
“तपाईंहरू मितिनी–मितिनी ! तर मितिनी जस्तो नजिक भएर बोलेको देखिन्न, यहीं केही महिना यताबाहेक । तपाईंहरूको सम्बन्ध कस्तो थियो ।” इन्स्पेक्टर हाम्रो सम्बन्ध केलाउन इच्छुक देखिए ।
“मितिनीसँगको मेरो सम्बन्ध एक दशक पुरानो हो । म एक दुई वाक्यमा यस्तै थ्यो भनेर टुङ्ग्याउन सक्दिनँ, सर । धेरै भोगाइ छन् यो सम्बन्धमा मेरा ।”
“तपाईंलाई लागेका सबै कुरा भन्न सक्नुहुन्छ ।” इन्स्पेक्टरले मलाई आफ्ना कुरा राख्न ठाउँ दिए ।
“मितिनीका बाबा, हरिहर अंकल बुवासँगै आर्मीमा हुनुहुन्थ्यो । कामकै सिलसिलामा उहाँहरूको मिल्ने साथी हुनुभयो । आफ्नो मित्रतालार्इ बढवा दिनकै लागि बुवाले अंकल र वहाँको परिवारलाई हामी नजिकै ल्याउनुभयो । सायरासँग मेरो पहिलो पटक त्यहीं भेट भएको थियो । तर भेट हुनु अगावै बुवाले हजारौं पटक तेरो साथी आउँदै छिन्, सँगै स्कूल जान्छिन् भनेर भन्नु भइसकेको थियो ।”
एक दिन गाडीमा टन्नै सामान लोड गरी आन्टी-अंकल र सायरा आए । सायराले मलाई देख्नासाथ चिनेको हाउभाउमा बोलेकी थिइन्, “हाइ, सम्वृद्धि होइन र ?”
शायद उनलाई पनि मेरोबारे धेरै पटक भनिएको थियो होला । स्कूलमा भर्ना हुनेदेखि लत्ताकपडा र किताबहरू किन्न र उनलाई अगाडिका विषयवस्तु बुझाउन म आफैं लागिपरेको थिएँ । उनमा पढाइ लेखाइप्रति उत्सुकता र जाँगर कम देख्थें । कक्षामा ध्यान दिएर नसुनिदिनाले उनलाई पाठ्यक्रमका कुरा बुझाउन मलाई हम्मेहम्मे पर्थ्यो । पढाइभन्दा बढी उनका अन्य अलौकिक इच्छाका गफ हुन्थे ।
भन्थिन्, “मेरो बाबा त भन्नुहुन्छ, पढाइ त ठीकठीकै होस्, फेल नभए भइहाल्यो नि ।”
उनका कुरा सुन्दा मलाई पनि पढाइप्रतिको जाँगर मर्ला कि भन्ने डर हुन्थ्यो । उनलाई जस्तो पास मात्रै भए हुन्छ भन्ने किसिमको स्वतन्त्रता थिएन मलाई । मेरो बुवालाई त म प्रथम नै हुनुपर्थ्यो, अझ पहिलो एक्जाम भन्दा बढी ग्रेड ल्याएर । म बुवालाई मनमनै गाली गर्थे, जेमा पनि अब्बल र उत्कृष्ट खोज्ने वहाँले मलाई कस्तो व्यक्तिको साथ लगाइरहनु भएको छ भनेर, अत्यन्त निष्क्रिय र अरूकै भर पर्ने खालको ।
“सायराका राम्रा पक्ष चाहिं के थिए तर ?” इन्स्पेक्टर सायराको चरित्र बुझ्न उत्साहित भए ।
“सायराका धेरै कुरा राम्रा थिए । उनी झट्टपट्ट बोल्न सक्थिन्, आफूलाई हेप्नेलाई जवाफ फर्काउन पछि पर्दिनथिन् । उनमा नेतृत्व गर्ने खुबी पनि राम्रो थियो । खेलमा पनि अग्रसर थिइन् । उनलाई गफिन, र घुम्न मन पर्ने । भेटेको केही समयमै हामी धेरै फरक छौं भन्ने भइसक्याथ्यो मलाई ।”
“व्यक्तित्वका हिसाबले तपाईंहरू यति फरक हुनुहुँदो रहेछ, फेरि तपाईंहरूको सम्बन्ध कसरी भयो ?”
“सायराका परिवार हामीमा बिस्तारै हावी भइसकेका थिए । पारिवारिक जमघटमा पनि उनीहरू उत्तिकै सरिक हुन थालेका थिए ।
लाग्दथ्यो हरिहर अंकल र बाबा सानैमा छुट्टिएका, एउटै आमाका छोरा हुन् जो फेरि भेटिएर वर्षौंवर्षका माया खन्याउँदै थिए । उनीहरूको प्रगाढता त ठीकै पनि थियो, देख्नेका लागि माया, सद्भाव र मित्रताका उदाहरण तर सायरा र म पनि यसै सम्बन्धका चक्रव्यूहमा होमिंदै थियौं ।”
फेरि एक दिन भाइको बर्थडेमा कसैले वहाँहरूको मित्रताको तारिफ गरिदिएछ, बुवाले नि फुरुक्क परी सबैका अगाडि भन्नुभएछ, “हामी र हाम्रो मित्रता यो जुनी मात्र होइन पुस्तौंपुस्तासम्म चलिरहनु पर्छ कि कसो हरिहर ?” हो नि हो भन्दै हरिहर अंकल र बुवाले एकआपसमा डिंक्र चियर्स गर्नुभएको थियो ।
“सायरा र सम्वृद्धिको मीत लगाइदेऊ न त त्यसो भा । अबका पुस्ता त यिनै हुन् ।” सारदा आन्टीले खुलेआम सबै अगाडी प्रस्ताव राखिन् ।
म अवाक भएको थिएँ, भित्रभित्रै रीस उठेर मुख रातोपीरो पनि भयो । नभन्दै बाबालाई आन्टीको प्रस्ताव मन परिहाल्यो । एक वचन हामीसँग अनुमति लिनु पनि जरूरी ठान्नु भएन उहाँले र तुरुन्तै निर्णय लिनुभयो,
“ठीक छ नि । यिनीहरूको स्कूल पनि एउटै र अब मिलेर भविष्य पनि बनाउँछन् सँगसँगै ।”
सबैजना खुशी थिए । आफैं सम्बन्ध गाँस्दिंदै र सम्बन्धमा गाँसिने व्यक्ति पनि खुशी छन् भन्ने भ्रम पाल्दै ।
“सायरालाई चाहिं इच्छा थियो कि थिएन त यो सम्बन्धमा ?” सायराका कुरा पनि म मार्फत बझ्न खोज्दै थिए ।
“सायराकी मम्मीले त्यो भन्दै गर्दा मेरा नजर सायरालाई नै खोज्दै थिएँ, ऊ पर कुनामा यसै ठिङ्ग उभिइरहेकी थिइन् । सबै कुरा सुनिरहँदा र देख्दा समेत उसका मुहारमा कुनै प्रतिक्रिया थिएन, न कुनै उत्साह, न कुनै आपत्ति । उसलाई यो सम्बन्धले केही फरक परेको देखिएको थिएन । हुन पनि उसलाई मसँग जोडिन पाउँदा फाइदा उसैलाई थियो ।”
“किन, कस्तो फाइदाको कुरा गर्दै हुनुहुन्छ ?” सायराप्रतिका मेरा हरेक चिडचिडापन मूल्याङ्कन गर्दै, त्यसलाई कसरी उसको मृत्युसँग जोड्न सकिएला भन्नेमै उनीहरू तल्लीन थिए ।
उनीहरूको आशंका बुझेर आफू संयमित हुँदै भनें, “घण्टौं लगाएर होमवर्क म गर्थें, उसलाई मेरा कापी सार्न एक मिनेट पनि लाग्दैनथ्यो । मेरोबाट सारेर आफ्नो काम हो भन्न उसलाई लाज पनि थिएन । फाइदै त हुन् नि, हैन र सर !”
कपिल सरले एकदिन शुरूमै सायराको कपी जाँच्दा उहाँलाई उत्तर साह्रै मन परेछ जुन मेरोबाट सायराले हुबहु सारेकी थिइन् । सायरालाई उठाएर यो उत्तर तिमीले लेखेको हौ भनेर सोध्दा उनले मलाई एक झल्को हेरेर ‘हो सर’ भनिन् । सरले सबै क्लासलाई उभ्याएर उसको लागि ताली बजाउन लाए । सायराको हुबहु सारेको भन्दै क्लासका अधिकांशले गाली खाएका थियौं । मैले पनि त्यो मैले लेखेको भनेर भन्न सकिनँ ।
फेरि अर्को दिन प्रताप सरले अंग्रेजीको कापी जाँच्दा कक्षाका तीन चौथाइको एउटै उत्तर भेट्नु भएछ । उहाँले त्यस उत्तरको रचनाकर्ता को हो भनेर धेरै बेर सोध्दा कसैले बोल्न सकेनन् । मैले त्यसपछि डराउँदै भनेको थिए कि त्यो मेरो उत्तर हो भनेर । सरले पनि उत्तर त राम्रो छ नानी तर यसरी अरूलाई सार्न दिनु भएन भन्नुभयो । सबैले तिम्रै सारेसि खै त अरूको मौलिकता । आइन्दा एउटै उत्तर भेट्टाए कापी सिधैं धुजाधुजा पार्दिन्छु, याद गर्नु सबैले भन्दै चेतावनी दिनुभयो । एक मनले ढुक्क पनि भएको थिएँ कि सायरा वा अरूले मेरो उत्तर सारेर आफ्नो हो भन्ने दाबी गर्न पाउने छैनन् भन्नेमा ।
“अनि त दबाब कम भयो होला नि, शिक्षकले नै चेतावनी दिएसि हैन ?” इन्सपेक्टरले बाँकी कुरा सुन्ने हतारोमा बोले ।
“कहाँ हुनु र सर ! त्यति हुँदा नि सायरालाई सिकाउने दबाब त छँदै थियो । उसलाई अर्को तरिकाले सोचेर सिकाउनु रे, भाव एउटै भए पनि शब्द चयन अर्कै गरेर सिकाउनुपर्ने रे ! म त भागेर पनि ऊ बाट बचेर लुक्ने ठाउँ कतै पाउँदिनथें ।”
स्कूल सकियो होमवर्क सार्न घरैमा ! स्कूलमा पनि एउटै बेन्चमा, ए देखि जेठसम्म सिकाउनुपर्ने । मीत लाएपछि त हरिहर अंकलले स्कूलमै प्रधानाध्यापकसँग कुरा गरेरै हामीलाई एउटै बेन्चमा राख्दिनू, सायरालाई पनि पढाइमा सहयोग हुन्छ भन्नुभएछ ।
अझ एक्जाममा त सायराकी आमाले मेरै घरमा अड्डा बनाइदिन्थिन् सायराको ! सँगै पढाउनु रे, उठाउनु रे मैले जानेका कुरा उसले नि बराबर थाहा पाउनु पर्ने रे । साँच्चै सायरा र उनकी आमा किलकिलेमा अड्केका हड्डी भइसकेका थिए मेरा लागि ।
सायराले सोचे जस्तो भएन त अघि नै घरसम्म पोल पुगिसक्थ्यो । एकदिन स्कूल सकिएसि उनी खेलमै मस्त थिइन्, म अरू साथीसँग आएँ । पछि सारदा आन्टी मम्मीकहाँ भन्न आइपुगिहाल्नुभएछ, “मितिनीलाई एक्लै छोडेर घर आउनुभएछ, के को हतारो रहेछ, सम्वृद्धिलाई । एउटै परिवार अनि सँगै घर हुँदा नि !”
कुनै दिन सायरालाई सार्न वा सिकाउन अलिक उदार नभए फेरि पनि गुनासो मम्मीकहाँ पुगिहाल्थ्यो । “एउटा उत्तर सिकाइदिंदैमा मितिनीले उछिन्छिन् भन्ने लाग्छ क्यारे हाम्री सम्वृद्धिलाई । हाँ…हाँ.. ।”
उहाँको हाँसोमा पनि दरिलो व्यङ्ग्य हुन्थ्यो । मम्मीसँग चर्को स्वरमा कुरा गरे जसरी मैले पनि सुनौं भन्ने उहाँको ध्येय स्पष्ट हुन्थ्यो ।
“तपाईंलाई यस्तो सम्बन्धमा पार्दिंदा किन केही बोल्नुभएन, बुवा त मित्रतामा अन्धो नै हुनुहुन्थ्यो, मम्मीलाई त भन्न सक्नुहुन्थ्यो होला नि ।” इन्सपेक्टरले मेरो पक्षका कुरा सुन्न चाहाना देखाए जस्तै गरी सोधे ।
“बुवाको शासन उपर बोल्ने आँट कसैको थिएन । मम्मीले नि मेरो कुरा बुझ्नु त हुन्थ्यो तर बुवा अघि बोल्ने आँट उहाँको थिएन ।”
बेलाबेला म मम्मीसँग मनका भडास पोख्थें, “बुवालाई अंकलसँग सम्बन्ध बढाउन थियो, परिवारलाई नजिक ल्याउनु भयो । नजिक भएर मात्रै भएन हाम्रो समेत सम्बन्ध गाँसिदिनुभयो ।”
“यो सबैमा मलाई के ठीक लाग्छ कसैले सोधेन । सबैलाई आफ्नै दुनो सोझ्याउनु छ, बुवालाई आफ्नो मित्रता बढाउनु छ, सायरालाई होमवर्क सार्ने साथी चाहिया छ ।”
“मलाई के भन्छेस्, बाउले यसो झिल्को पाए भने नि, सास बाँकी राख्दैनन् । आज ठूलो स्वरले बोलिहालिस्, आइन्दा ख्याल गरेस्” मम्मीलाई यति मात्रै वास्ता थियो, मैले केही बिराएर बुवाको गाली वा कुटाइ खानु नपरोस् । मलाई कत्ति गाह्रो भइरहेछ, यो सम्बन्धका कारण देख्दादेख्दै नि केही गर्न सक्नुहुन्थ्यो ।
त्यसपश्चात एक चोटि फ्रेन्डसिप डेमा मैले विनकाको लागि आफैंले बचाएको पैसाले घडी किनेको थिएँ । क्लासमा पछि हल्ला भएछ । विनका र म बच्चा देखिका साथी, दिए पनि के हुन्थ्यो र ! मितिनीले बुवालाई सबै सुनाइदिनु भएछ । वहाँको अनुसार त्यस्तो महत्त्वपूर्ण गिफ्ट मैले वहाँलाई दिनुपर्ने रे, विनकालाई होइन ।
बुवाले त्यस दिन मलाई त्यत्रो खर्च गरेर उपहार किनेकोमा खूब गाली गर्नुभयो । त्यस दिन म पनि बुवासँग मज्जाले मुख लागेछु, “जेमा पनि मितिनीका कुरा सुन्ने, अब त सास पनि उसैले भने मात्रै फेर्नु होला । कहाँको जङ्गलीसँग मीत लाइदिएर, मलाई बरबाद पारिदिए ।”
बुवाले एक झम्टाइमै मेरो कपाल समाएर, “अलिक मुख समालेर बोल्, स्वतन्त्रता धेर भको हैन तँलाई ।” म उम्किएर मम्मी पछाडि लुक्न पुगें ।
“तरुनी छोरीलाई कुट्न लाज लाग्दैन ।” आमा चर्किनुभयो ।
“मुख फर्काकी हेर् न तेरी छोरीले, समालेर राख् यसलाई । कुन दिन जाली मेरो हातबाट ।” बुवा फनक्क फन्केर जानुभयो ।
मलाई अगाडि तान्दै आमाले भन्नुभयो, “किन मुख चलाउनु परेको तँलाई । बाउको बानी थाहा छँदै छ तँलाई ।”
“अनि हो त ! म कहिलेसम्म झेल्नु तिनलाई । मैले आफ्नै खुशीले केही गर्न नपाउने, अरूसँग मिल्न, बोल्न नपाउने रे ! यी यसरी स्कूलका हरेक कुरा घरमा पोल लाइदिने । आज त बुवाले नि हात हाल्नुभो मलाई, म त यहाँ बस्दिनँ । यहाँ नै नबसेसि, बाउआमा नै नमानेसि, त्यो मितिनीको सम्बन्ध त के नि !”
मैले यति भन्दा आमाको मुहारमा डर, शंका र असुरक्षाका मिश्रित भावना देखें ।
त्यस दिन विगत एक वर्ष देखिन झेलेका भडास पोख्न र मम्मीको ढाडास एकैचोटि पाएकी थिएँ मैले ।
बुवा र म एक वर्ष जस्तो बोलेनौं त्यसयता । बुवाले मितिनीकै कारण मलाई हात हाल्नुभयो त्यो कुरा मैले भुल्नै सकिनँ । मलाई हात हालेको पश्चतापबाट बुवा आफैं नि मुक्त हुन सक्नुभएन । त्यस दिनको घरको झगडा छरछिमेक हुँदै हरिहर अंकलको परिवारसम्म पुग्यो । त्यसपछि उहाँहरू बीच बोल्ने, आवतजावत गर्ने निकै पातलिंदै गयो ।
त्यस लगत्तै बुवा मिसनमा पर्नुभयो, एक वर्षको लागि । बुवा र मेरो सम्बन्ध चिसिएको सायराकै कारण भन्ने सायराका परिवारले नि बुझ्दै गए । बिस्तारै सायरा र आन्टीले मेरो बुवाका आडमा ममाथि जमाउँदै गरेको प्रभुत्व अब जमाउन पाइँदैन भन्ने बुझ्दै गए ।
हाम्रो मितेरी सम्बन्ध नामकै मात्रै हुन थाल्यो, नजिक भएर नि टाढा भए झैं । स्कूलमा पनि म उनीसँग बस्न छोडें । मलाई उनीसँग बस्न दबाब दिने पनि त्यसपछि कोही थिएनन् । पछि उनीहरू आफै त्यहाँबाट सरेर गए ।
“त्यसो भए के, तपाईं र सायराको परिवारको सम्बन्ध पूरै ठप्प भइसकेको थियो ?”
“त्यस्तो पनि थिएन । बोलचाल नै नहुने भन्ने थिएन । तर पहिले भन्दा एकदमै कम । पछि आफ्नो मित्रता सुदृढ गर्न परिवारलाई होम्नु गल्ती मान्नुभयो कि बुवा र अंकल नि !”
बुवाले समयसमयमा मितिनीबारे मसँग सोधिरहनु हुन्थ्यो । तिमीहरू टाढै भए नि गफगाफ चाहिं गर्दैगर्नू भन्नुहुन्थ्यो । उहाँको इच्छा पहिले जस्तो धेरै नजिकको नभए नि, बोलेर सहज हुने सम्म त होस् भन्ने थियो । बुवासँग सम्बन्ध सुदृढ हुँदै जाँदा, उहाँ पनि यो सम्बन्धबारे लचिलो हुँदै जानुभयो ।
एक हिसाबले वहाँबाट टाढा हुँदा मलाई पनि धेरै राहत भएको थियो । कसैको भार मबाट हटेर गएको झैं भएको थियो ।
“अनि अब त भार धेरै कम भयो होला हैन ।” इन्सपेक्टरले व्यङ्ग्य प्रहार गरे ।
सायराका विगतका कमजोरीले आफूलाई ज्यादै प्रभावित पारेको साबित गर्दागर्दै नि, उनीहरूका नजरमा सायरा नै पीडित थिइन् । मृत्युका आडमा सायरा नै सबैका अगाडि निर्दोष र पीडित देखिइरहेकी थिइन् । लाग्दै थियो, कसैले मलाई नसुनिदिएकोमा उनी मलाई कतैबाट गिज्याउँदै खित्का छाडेर हाँस्दै थिइन् ।
“सर म कति स्पष्टीकरण दिऊँ कि मितिनीको आत्महत्यामा मेरो कुनै संलग्नता छैन । अझ तपाईंहरूका प्रश्नले मेरो आत्मग्लानि अझै बढाइरहेको छ । प्लिज, म माथि यति ज्याजती नगर्नुस् ।”
मेरा अनुहारमा चिन्ताका रेखा कोरिन थाले । बल्ल आत्मग्लानिले आँसु बग्न थाले जुन मितिनीको आत्महत्याको खबर सुन्दासम्म नि झर्न सकेका थिएनन् ।
लाग्यो मरेर जानेलाई भरपूर सद्भावना देखाउँदै थिएँ, बचेकालाई शंका र दोषको रापले जिउँदै जलाउँदै थिए ।
“सधैं वहाँको सम्मान गर्नुपर्ने, उहाँलाई पढाउनु पर्ने मैले । म जेजेमा राम्रो थें, त्यसमा उहाँलाई पोक्त पार्नुपर्ने रे ! उहाँ छाडी अर्कोलाई मैले साथी बनाउनु नहुने रे ! आज आफू मरेर जानुभयो, मलाई नै दोषी पारेर । उहाँ यस्तै हठी हुनुहुन्थ्यो, मलाई जहिले फसाउने । आज सधैंका लागि फसाएर जानुभयो । म के गरूँ ।” घुँक्कघुँक्क, सुँक्कसुँक्क रुवाइ यथावत् थियो । एकछिन यहीं आवाजले चार पर्खाल बीचको कोठा गुञ्जायमान रह्यो ।
“पानी लिनुस् !” भन्दै महिला प्रहरी मेरो अगाडि ठिङ्ग उभिइन् । गिलास पक्रिंदा उनको अनुहार हेरें । उनका आँखा दया र करुणाका भावले ओतप्रोत देखें जुन केही बेर अघि सम्म शंकाले संकुचित देखिन्थे । सबै जना म साम्य नहुञ्जेल चूप रहे । म अलिक सकुशल भएको अड्कल गर्दै इन्स्पेक्टरले अलिक असजिलो मान्दै सोधे, “के कारण सायरा तपाईंसँग पुनः जोडिन खोज्नुभयो होला ?”
“थाहा छैन सर । कारण वा रहस्य जे थ्यो, वहाँसँगै मेटिएर गयो ।” मेरो स्वरमा अघिको रुवाइको कम्पन अझै थियो ।
“तपाईंलाई गरेको कल वा मेसेज पश्चात् उहाँको कोहीसँग नि सम्पर्क भएको देखिन्न ।”
प्रहरीले मितिनीको मृत्यु ममा टुङ्ग्याउन लाग्या झैं लागेर आशंकाले भनिहालें, “अनि वहाँको व्यवसायमा संलग्न अरूहरू ?”
“तपाईंको मितिनीले भने अनुसार उहाँको कुनै व्यवसाय वा पार्टनर देखिन्नन् । व्यवसायको मतलबले पैसा मागेकै देखिन्न ।”
“देख्नुभयो नि सर, वहाँले मलाई कसरी अन्योल र धोकामा राख्नुभयो । म पनि त पीडित नै हुँ, वहाँबाट । कसले बुझिदिने ?”
“पैसा जस्तो कुरामा ध्यान पुर्याउनु पर्थ्यो तपाईंले पनि । यत्तिकै दिने ! तपाईंको मन नजिकको मान्छे नि हुनुहुन्न रहेछ वहाँ त । किन यत्रो पैसा दिनुभयो ? आफ्नो गल्ती चाहिं देख्नुहुन्न ?” इन्स्पेक्टर अहिले सम्मकै चर्को आवाजमा बोले ।
“हो सर, गल्ती भयो मेरो ! वहाँलाई दोस्रो पटक मौका दिनु गल्ती भयो । तर मलाई के थाहा वहाँ आफ्नो मतलबका लागि मसँग आउनुभएको हो भनेर । बोल्न आउनु भयो, बोल्दै जाँदा वहाँ पहिले भन्दा फरक लाग्यो मलाई नि ! हामी बीच गफगाफ नि राम्रै भयो । विश्वास जाग्यो । विश्वास गर्नाले म फसें सर !” इन्स्पेक्टरको हप्काइले मैले पनि डर मान्दै भनें ।
“तपाईं फस्नु भएको हैन बरु तपाईंका कारण अर्काको जिन्दगी बर्बाद भएको छ । पैसाले सहयोग गरेर अनि पछि नबोलिदिएर झनै वहाँलाई मर्कामा पार्नुभयो, तपाईंले । वहाँ के मर्म लिएर तपाईंसम्म आउनुभएकोथ्यो, त्यो बुझ्नुपर्थ्यो तपाईंले । शायद, आफ्नै परिवारका सदस्य वा वहाँको घरको कसैसँग त भन्नुपर्थ्यो । कतैबाट समस्याको हल पो हुन्थ्यो कि !” यसपटक इन्स्पेक्टर बसेको ठाउँबाट उठी मसँग आँखा जुधाउँदै आफ्ना कुरालाई जोड दिंदै बोले ।
इन्स्पेक्टरका पछिल्ला कुराले अत्यन्तै पश्चताप र आत्मग्लानि महसूस भयो । कहीँ कतै इन्स्पेक्टरको कुरा हो कि जस्तै लाग्यो । मैले थोरै समझदारी देखाएको भए शायद यस्तो स्थिति आउने थिएन कि भन्ने लाग्यो ।
अन्ततः आफैंलाई अपराधी बोध गर्दै घ्वाँघ्वाँ रुन थालेछु । रुँदा रुँदै कसैले मलाई सोधपुछ कक्षबाट बाहिर निकालेछ । पुलिस थानामा आउने फर्किने जोकोही मलाई हेर्दै हिंड्दै थिए ।
अझै पनि म त्यो माहोल सम्झिन्छु पानी परिसकेर एक तहले वातावरण सफा र हरित देखिएको थियो र पनि बादल चाहिं भारी र काला नै थिए । लाग्दैथ्यो, मेरो मन जस्तै गह्रुँगो भएर बसिरहेका थिए ।
एकछिनमा मम्मी र बुवा पनि पुलिस थानामा हस्याङफस्याङ गर्दै आउनुभयो । मैले त सोच्या थिएँ दोस्रो पटक केरकार होला, प्रतिप्रश्न गरिएला, सकभर बुवाले पहिले जस्तै कपाल नि समाउनु होला तर बुवाले बडो करुणा भावले मलाई घर हिंड् भन्नुभयो । मितिनीलाई रिजाउन कुनै प्रयास चुक्नै हुँदैन जस्तो गर्ने मेरा बुवा, मितिनीलाई त्यत्रो हानी पुग्दा पनि मलाई एक शब्द नि भन्नुभएन ।
“नाइँ, मितिनीलाई हेर्नु छ एकपटक, मलाई त्यहाँ लग्नुहोस् ।” घर जाने कुरा नकार्दै भन्न थालें ।
“यो समय उनीहरूलाई भेट्न सम्भव छैन । अलिक घटना साम्य होस् ।” बुवाले भन्नुभयो ।
मितिनीका परिवारले नि मलाई नै दोषी सोचिरहेका होलान् भन्ने अड्कल गर्दै म आफूलाई सबैको नजरमा अपराधी महसूस गर्न थालें । आत्मग्लानि, अफसोच र पश्चतापको भुमरीमा घुम्दाघुम्दै कत्तिखेर चेत गुम्यो पत्तै भएन ।
* * *
बिहानीले कोठै उज्यालो बनाउँदा नि मेरो निद्रा उघ्रिएको थिएन । मम्मीले भान्साबाट घाम झुल्केर पुर्पुरो माथि पुग्दा नि यिनीहरूको निद्रा नखुल्ने भन्दै कराउँदा पो झसङ्ग भएँ । मोबाइल खोली टाइम हेर्दा ७:२५ भएको रहेछ ।
उठ्ने बित्तिकै मोबाइल चलाउने बानी पर्या, शुरूमै इन्ष्टाग्राम खोले र त्यहाँका स्टोरी हेर्न थालें । समिताको स्टोरी पल्टियो, एकदमै थकित मुन्द्रामा उसको फोटो थियो र सँगै केही हरफ शब्दहरू नि थिए ।
हरफमा कुनै एक शब्द ‘गिभिङ्ग अप’ लेखेको देखें । मैले रोक्न खोज्दा खोज्दै नि स्टोरी स्क्रोल भएर अन्त सर्यो । हत्तपत्त ब्याक गरे तर त्यो स्टोरी पुनः भेटिनँ । उसैको प्रोफाइलमा खोज्दा नि भेटिएन, हटाइसकिएको रहेछ ।
समितालाई सरसर्ती चिन्दा पहिले कलेजमा सँगै पढेको साथी भनेर मात्रै चिन्थें । ऊ विदेशिएको पनि धेरै समय भइसकेको रहेछ । एक मनले सोचें, अनवरत काम, आफन्तबाट टाढा अनि बिरानो ठाउँ, कति उराठलाग्दो होला ! उसको तस्वीर र लेखाइमार्फत उसको मनस्थिति केही बुझें जस्तै लाग्यो । अझ त्यो स्टोरी हटाइसकेकाले शंका झनै बढ्यो उसलाई केही अप्ठ्यारो छ कि भनेर । एकचोटी त बोलाउन पर्छ जस्तो लाग्यो र मैले हाइ टाइप गरें ।
एकछिन कुरेसि उसले नि हाइ लेखिन् । फेरी आफैंले सोधें, ‘के गर्दै छौ ?’
उसले ‘ब्रेकमा छु, खाजा खाँदै’ लेखिन् ।
त्यसपछि मेरो रिप्लाइमा ‘ए, ए’ रह्यो । समिताले नि केही बोलिनन् । साँच्चै हामीसँग बोल्ने कुरै थिएनन् । बोल्नु पनि के र ! ऊबारे म त्यति जानकार थिइनँ र मबारे ऊ । कलेजमा नि हाम्रो सेक्सन अलग थियो ।
राती मैले उनलाई फेरि मेसेज गरें । “हाइ ! के गर्दै छौ ?”
मलाई हतार थियो उसलाई के भएको होला भनेर जान्न र मसँग उसलाई उपयोगी सल्लाह थियो भने दिन पनि । त्यसको उत्तर उसले भोलिपल्ट मात्र दिइन् । उत्तर अलिक ठाडो थियो,
“मलाई थाहा छ, त्यो मेरो स्टोरी तिमीले देख्यौ । यदि त्यै देखेर मसँग बोलिदिनुपर्छ लागेको भए, प्लिज डन्ट डु इट । आई याम ओके !”
म पनि कति मूर्ख यत्तिका दिन उसको अस्तित्व छ भन्ने सोचमा नि नहुने तर एकदिन अचानक उसको पोष्ट देखेसि उसलाई साथी वा साहारा चाहिएको अनुमान लगाउने । फेरि मैले मात्र सोचेर मात्र नि भएन उसको पनि मसँग बोल्ने इच्छा हुनुपर्यो । समस्या साट्ने र समाधान खोज्ने त परकै कुरा थिए । एकछिन त किन बोलेछु लाग्यो पनि ।
उठेर बुवा भएसम्म पुगें । अचानक मेरो मुखले बितेका तीन वर्ष अघिको कुरा बोल्न पुगेछ,
“बुवा, अहिले मितिनी आमा र बुवा बोल्न थाल्नुभयो, तपाईंहरूसँग ?” एक टकले पत्रिका पढिरहनुभएको वहाँ मलाई पुलुक्क हेरेर पुन: पत्रिका ध्यान दिन थाल्नुभयो ।
“भन्नु न बुवा साँच्चै भनेको,” फेरि दोहोर्याएँ मैले ।
“छैन छैन, किन बोल्थे उनीहरू । यत्रो प्रयास गर्दा त बोलेनन् भने हामी किन बारम्बार झुक्ने, नगरेको गल्तीलाई ।” बुवा पत्रिका तिरै हेर्दै उत्तर दिनुभयो ।
यत्तिका समय बित्दा नि मितिनीको परिवारले मलाई अझै दोषी ठानेका रहेछन् सोचेर दुःख लाग्यो ।
“तँ अझै यस्तै सोच्दै बस्छेस् क्या हो । कति पटक भनिसकें त्यसलाई नराम्रो सपना सोचेर बिर्सिदे भनेर ।”
बिर्सिदे भन्न सजिलो थियो बुवालाई तर वहाँलाई के थाहा कि त्यो विगतले मलाई पूर्ण रूपले बदलिदिएको छ भनेर । त्यस घटना पश्चात् मैले जान्दाजान्दै कसैले आफूलाई हानी नगरोस् भन्नेमा म अत्यन्तै सजक हुन थालेको थिएँ । समिताकै सन्दर्भमा म बढी सम्वेदनशील हुन पुगेछु । लाग्यो कि उसको दुःख देख्दादेख्दै मैले केही गर्न नसक्या भएँ र कथमकदाचित उसले गलत कदम चाल्या भए, म आफूलाई जिम्मेवारी ठान्नेथिएँ । कहिले अर्काको मामिलामा पर्न अनि बोल्नै नखोज्ने म अचेल जानी जानी होमिन खाज्ने भएको छु ।
साँच्चै अरूलाई गर्नुपर्छ भन्ने भावले मलाई कहाँसम्म पुर्याउँला, थाहा छैन । तर यति थाहा छ कि मितिनीको मृत्युको पश्चताप म आज पनि भोगिरहेको छु । उनलाई समयमै जोगाउन नपाएको र उनको कुरा नसुनिदिएको पश्चताप आज पनि बोकेर हिंडिरहेको छु । शायद, कति उदार र सहयोग भाव निर्वाह गरेसि म आफूलाई मितिनीको मृत्युदोषको जेलबाट मुक्त गर्छु होला ! अन्योलमा छु र अनुत्तरित पनि ।
मोबाइल टिङ गर्यो । खोलें । समिताको मेसेज रहेछ, “सरी ! म अलिक रूड भएँ अघि ।”
मैले नि, “केही छैन, ठीकै छ ।” मात्रै टाइप गरें र कुरा त्यहीं टुङ्ग्याएँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










