“एक्सक्युज मी प्लिज ।” एउटा युवा आवाजले उसको ध्यान भङ्ग गर्‍यो ।

सागरको तटमा एक्लै घुम्न आएको छ ऊ, क्यानडामा । “यस प्लिज” जवाफ दियो । दुईचार प्रश्नोत्तरपछि दुवैलाई दुवै नेपाली भएको कुरा थाहा भयो ।

“हजुर प्रतापपुरको प्रोफेसर प्रतापनारायण गोस्वामी होइसिन्छ नि ?” युवा अति शिष्ट भएर प्रस्तुत भयो ।
“भनेपछि जेन्टलम्यानले मेरो उपन्यास “डमरु” पढेजस्तो छ, मेरो बारेमा अरू के के थाहा छ बाबुलाई, हेर्दा त सिनेमाको नायकजस्ता छौ । को हौ ?”

“सर, मैले नेपालमा रहँदा नै पढेको थिएँ, हजुर यहाँ खाइराइड काका राजेन्द्र कार्की मार्फत् थाहा पाएँ, हजुर यहाँ हुनुहुन्छ भनेर । भेट्न रहर थियो । मुहार पुस्तिकामा अनुरोध पठाएको छु । ७१ वर्षको उमेरमा पनि हजुर ४५ को जस्तो देखिनुहुन्छ । मेरो नाम रञ्जित अकबर खान नेपाली हो ।”

“यो कस्तो नाम हो हिन्दुस्तान र पाकिस्तान मिलाएजस्तो ?” गोस्वामीले ठट्टा गर्‍यो ।

“सही भन्नुभयो सर, लाहौरंकी साथमा खातून र दिल्लीको कुलभुषण नेपालीको बीचमा प्रेम भयो, अनि उही त हो, पक्षी, नदियाँ, पवन के झोके…जावेद अख्तर साहेबका शब्दहरू किन खेर जान्थे ।”

“म बैकुण्ठनगरको प्रोफेसर जगमोहन आजाद पनि हुँ ।”

“हजुरको परिचय यतिले पुग्दैन गुरुदेव, द्वापर युगको पार्थको दश नाम, हजुर पनि ‘दशनामी’ यो युगमा त पार्थकै पितामह, हजुर त प्रोफेसर ढुक्कनारायण चौधरी पनि हो, प्रीतम प्यारे हो, मिस्टर चट्याङ हो, हजुर के होइन र के पढाउनुभएन यो दुई दिने जिन्दगीमा ।”

“हा हा हा मिस्टर ‘हिर्दू’ आदाब, बाबुको नाम, नयाँ न्वारन ‘हिर्दू’ है ?”

“हिन्दु र ऊर्दूको फ्युजन ?”

“कमनसेन्स राम्रो छ । नजरको तृक्ष्ण अवलोकनमा राम्रो छ । बाबु त एउटा जासूसी उपन्यासको पात्र जस्तो, अझ इन्टरपोलको अफिसरजस्तो ।” अन्तिम भनाइले झस्कियो अकबर, “हैट, यी बूढा ज्योतिष त होइनन् ?”

वास्तवमा ऊ त्यही थियो, एउटा सामूहिक हत्याको केशको अनुसन्धानको सिलसिलामा ऊ क्यानडा आएको थियो, क्याल्गेरीमा ।

“गुरुदेव, आज बिदा मागें ।”

“हस् बाबु”

म पनि नातिनातिनाको कार्यक्रममा, कहिले मन्दिरमा, कहिले प्रवचन दिने ठाउँमा, धेरै ठाउँमा, उनीहरूको भेट भयो । गाढा नाता बन्यो । अकबर र प्रतापको जोडी जम्यो । अकबरले आफ्ना जीवनका धेरै उतार चढावहरू सुनायो । ३६ वसन्तमा कुदिरहेको अकबरले आफ्नी पाँचवटी प्रेमिकाहरू, उनीहरूले दिएको धोकाका बारेमा पनि बतायो ।

“बाबु, सत्य, सेवा, सुरक्षा तिमी एक प्रहरी अधिकृत हौ, मैले तिम्रो भूगोल मात्र होइन, सम्पूर्ण इतिहास पनि पत्ता लगाइसकेको छु । तिमी यहाँ एउटा सामूहिक हत्या केसको अनुसन्धानको सिलसिलामा आएका होइनौ ?” यतिखेर एउटा बारमा छन् । हल्का पेयको साथमा, वाइन । “यी पाँच भलाद्मीहरूको हत्या भएको थियो होइन २०८४ साल वैशाख १ गते टीकापुरको एउटा लजमा ?” फेसबुकमा तस्बिर देखायो ।

“अकबर हैरान, बोल्यो, अङ्कल, हजुर त प्रोफेसर मात्र होइन सर्वज्ञ जस्तो लाग्यो । यी पाँच भलाद्मीहरू वास्तवमा कुख्यात गुन्डाहरू हुन्, ठगलालहरू हुन्, पैसा र शक्तिको आडमा देखिएका भलाद्मीहरू हुन् । मलाईभन्दा बढी हजुरलाई थाहा छ । तर हजुर ७ वर्षदेखि यहाँ हुनुहुन्छ । यी सब कुराहरू कसरी थाहा भयो ?”

“यो युवकलाई चिनिन्छ ?” एउटा प्रहरीको तस्बिर देखायो । “यो त मेरै अफिसको एस.पी. हो, मोदनलाल परियार ।”

“मेरो धर्मपुत्र हो । यसको यो दुनियाँमा म बाहेक, हाम्रो परिवार बाहेक कोही पनि छैनन् । हुर्काएको, पढाएको, बढाएको, यहाँसम्म पुर्‍याएको हाम्रो परिवारले हो । कुरा बुझियो ?” पसिना चिट्चिट्, अकबरको । “गुरुदेव, यो तस्बिर चिन्नुहुन्छ ?” अकबरले एउटा तस्बिर देखायो ।

“मज्जाले चिन्छु, मेरो मितज्यू, प्रोफेसर आनन्द, कुमार मित्तल, हाम्रो भेट यही क्यानडामा भएको थियो, हाम्रो अनुहार पनि मिल्छ, जुम्ल्याहा जस्ता, हाम्रा परिवारका सदस्यहरू पनि झुक्किएका, पहिलो पटक, मेरो र उनको धेरै कुरा मिल्ने । उनी महाराष्ट्रबाट आएका, भारतीय नागरिक । हाम्रो दोस्ती गहिरो भयो, अनुरुप त्रिभुजहरु भएकाले ।”

“गुरुदेव” अलि गम्भीर भएर बोल्यो अकबर, वैशाख एक गते २०८४ साल, जुन लजमा सामूहिक हत्या भयो, त्यो रात, मित्तलजी पनि टीकापुरको त्यही लजमा, सी सी टिभीमा, फुटेजमा यो तस्बिर देखियो, पूरा अनुसन्धान भयो, एक महिना नेपाल घुम्न क्यानेडियन पासपोर्टमा मित्तल नेपाल गएका, र यो घटना घटित भएको १५ दिनपछि क्यानडा फर्किएको रेकर्ड सङ्कलन भयो, अनुहार हजुरसित मिल्ने, यही भएर …” ममाथि अनुसन्धान गर्न तिमीलाई इन्टरपोलले यता खटायो ।

बर्खुर्दार, मेरो पहिलो दिनको मजाकमा नै तिमीले लख काटेनौ. मलाई सबै कुरा थाहा थियो भनेर ? यहाँ आएर प्रोफेसर आनन्द कुमार मित्तलको परिवारलाई भेट्यौ । थाहा पायौ,ऊ २०८३ साल पुस महिनाको २८ गते नै अलौकिक संसारमा गइसकेको छ । एउटा लास कसरी यहाँबाट नेपाल पुगेर हत्यारा बन्न सक्छ ? चक्कर लागेन ?”

“गुरुदेव, यसको मतलब ?…”

“पख अकबर पख, मलाई एउटा वचन दिन्छौं ?”

“यदि हत्यारा पत्ता लाग्छ भने म हजुरलाई जस्तो वचन दिन पनि तैयार छु गुरुदेव !” लौ सुन पूरा कथा, म टीकापुर क्याम्पसको क्याम्पस प्रमुख थिएँ, ती पाँच स्वर्गवासी आत्माहरू बज्रलाल, वन्चकलाल, कंसलाल, दुर्योधनलाल, र शकुनिलाल भएर मलाई र सञ्चालक समितिको अध्यक्ष रामनाथ रेग्मीलाई ज्यानको धम्की दिएर क्याम्पसको पच्चीस लाख रुपैयाँ लूटे, भवन निर्माणको भुक्तानीको दिन रकम निकासा गरेर अफिसको दराजमा मेरै संरक्षणमा थियो । लुटे । कतै भनेमा ज्यान लिने धम्की दिए । त्यही तोडले अध्यक्षजी मुटु फुटेर…..” बोल्न सकेन प्रताप ।

“बररर…अकबरका पनि नयन फेवा र रारा भए ।” अकबर, अपराध त्यति मात्र हो र, स्नातकमा पढ्ने पाँच चेलीहरुलाई अपहरण गरी जङ्गलमा  लगे…ज्यान लिएनन्, निर्मला पन्त बनाएनन् । चेलीहरू मसित आएर रोए । कानून र समाजको शरणमा गए, गरीबका छोरीहरु, उनीहरू जमिन्दार, मन्त्रीको आफन्त । कसले छुने ? उनै साँढे भए । पाँच मध्ये दुर्योधनललाल क्याम्पसमा सञ्चालक समितिको अध्यक्ष बनेर आयो, दलको निर्णय । चार जनालाई सदस्यमा नियुक्त गर्‍यो । राजनीतिभित्र अपराध होइन, अपराध भित्र राजनीति भयो । पाँच जना राम्रो पढाउने सहकर्मी साथीहरु अमेरिका उडे । आधा चेलाचेलीले क्याम्पस बदले, केही उडे । मैले पनि राजीनामा दिएँ ।

यस्ता अपराधीहरुलाई ठेगान लगाउने पात्र हत्यारा हुन्छ कि “संभवामि युगे युगे” हुन्छ अकबर बाबु ?”

“मलाई यी सबै कुराहरू पनि थाहा छ गुरुदेव । ती पाँच भस्मासुरहरुको सपूर्ण जीवनलीला थाहा पाएँ दाजी हिम्मतबहादुर थापाजी मार्फत्, उहाँले मन लगाएर सबै सत्य बताउनुभयो । हजुरलाई त ‘दशावतार’ भन्नुभयो । चेलाचेलीहरुको भगवान् र समाजको बत्ती भन्नुभयो । तर, कानून हातमा लिने अधिकार त………”

“अरे अकबर, कानून, कानून, कहाँ छ, कानून ? रामनाथ रेग्मीको परिवार टुहुरो हुँदा कहाँ थियो कानून ? पाँच पाँच कुमारीहरुको अस्मिता लुटिदा कहाँ थियो कानून ? कानूनको राज्य कहिले थियो नेपालमा ? सधैं फटाहा र लुटेराहरुको राज होइन ? त्यसै बोक्छ मान्छेले बन्दूक ? त्यसै ठोक्छ गोली ? ती पाँच चेलीहरुको आफू सहोदर दाजु भएको कल्पना गर, रामनाथ रेग्मीको आफैं छोरो भएको कल्पना गर । यस्तो अवस्थामा के गर्छ मिस्टर ‘हिर्दूले’ ? गीता, कुरान, बाइबल पढेर बस्छ ? “म पनि त्यही गर्छु सर जुन मित्तलनाथथारी अजनवीले गर्‍यो ।”

“त्यसो भए उसलाई भेटे के गर्छौ त ? मैले चाहेमा यो असंभव कार्यलाई संभव बनाउनसक्छु ।”

“गुरुदेव, ती महापुरुषको पाउमा यो माथा राख्छु, अल्लाह, खुदा, कसम, श्रीकृष्ण, परवरदिगार भनेर, हजुरको कसम, अल्लाहकी कसम ।”

“लौ, माथा पाउमा राख्न परेन, ती पाँच नराधमहरुको यमराज तिम्रै सामुन्नेमा छ । उपन्यासकार कुशवाह कान्तको उपन्यास लाल रेखा र जनाजाको ‘मिस्टर शर्मा’ जस्तै त्यो रात दश गोली ठोक्ने शिकारी अरू कोही थिएन, यही प्राफेसर प्रतापनारायण गोस्वामी थियो । पिस्तौल तिम्रै विभागको थियो, उही मेरो धर्मपुत्रले उपलब्ध मात्र गराएन, मलाई बन्दुक चलाउन पनि सिकायो । ‘हत्यारा प्रोफेसर’ तिम्रो सामुन्नेमा छ । गिरफ्तार गर्न सक्छौ ।”

“हे भगवान्, यो कसरी संभव हुन्छ ? हजुर त त्यतिखेर क्यानाडामा हुनुहुन्थ्यो । क्यानडाबाट टीकापुरसम्म हान्न मिल्ने गोली कसले बनायो ?”

“वाइन थप्ने ?” एक बोतल वाइन मगाए । “मृत मित्तलले हत्या गर्न सक्छ त ?” प्रतापले प्रश्न गर्‍यो ।

“सर, म अब संपूणर् सत्य जान्न चाहान्छु । मैले सत्य जानेर केही फरक पर्दैन । धेरै भारतीय प्रमाण-पत्रहरु, शैक्षिक, नेपालमा, नक्कली भए पनि नक्कली सावित गर्न सकिन्न । हजुरलाई यी कुराहरू मलाईभन्दा बढी थाहा छ । हजुर हत्यारा भए पनि संसारको कुनै पनि कानूनले छुनै सक्दैन । प्लिज सर !” टाउकोमा हात राख्यो प्रतापले अकबरको । बोल्यो, “मिस्टर अफिसर, तिम्रो मेरो भेट भएजस्तै सागर तटमा मित्तलको र मेरो भेट भयो । पहिलो भेटमा नै यति गाढा नाता भयो कि ‘मितवा’ भन्न थालियो । दोहोरो सद्भाव । म हिन्दी गीत गाउने, ऊ सुन्ने । एक, दुई, तीन गर्दा गर्दै धेरै दिनहरु बिते । आनन्द सिनेमा आनन्द राजेश खन्ना जस्तै विन्दास स्वभावको मित्तल एक दिन बडो गम्भीर देखियो । म पनि उदास भएँ ।”

“यार नेपाली, म अब केही दिनको पाहुना हुँ, मलाई मल्टीपल माइलोमा छ, उही सकस, उही अन्तरमनको यात्रा । म जान्छु मितवा । मेरो घरमा आइरहनु है । “उसको पीडाले हामी मज्जाले रोयौं । त्यो साँझ मज्जाले पियौं । मैले उसको फर्माइसमा १७ वटा हिन्दी गीत गाएँ । अचानक मेरो खुराफाती दिमाग सक्रिय भयो । मैले मित्तललाई आफ्नो योजना बताएँ । सम्पूर्ण कहानी सुनाएँ । ‘म इन्द्रलोकबाट टीकापुर पुग्ने नेपाली नयाँ साल मनाउन ?’ उसले मान्यो । उसले आफ्ना सम्पूर्ण कागजातहरू सुटुक्क मलाई दियो । पर्सिपल्ट अलबिदा । यता परिवारका  सदस्यहरू, मेरा लाई पनि केही पनि थाहा दिइन । ‘टोरोन्टो घुम्न जान्छु’ भनेर बहाना बनाएँ । सामाजिक सञ्जालबाट बिदा लिएको पनि ७ वर्ष भइसकेको थियो ।

कहाँ हो ? कता हौ ? सबै भन्ने त्यसैले हो । अनि यो तिम्रो अभियुक्त आनन्द कुमार मित्तल बनेर गयो नेपाल । प्रतापपुर गइन् । नयाँ नयाँ ठाउँमा घुमें । कसैले वास्ता गरेन । पैसा मसित जति भने पनि थियो । २० दिन अन्त घुमेर चैत मसान्तको दिन टीकापुर पुगें । देश चुनावमा व्यस्त थियो । राति नयाँ साल मनाउन उनीहरू पनि आए र । मैले अनुहारमा दाह्री जडान गरेको थिएँ । मात्र अङ्ग्रेजी बोलेँ । हिन्दी बोलेँ । मलाई चिनेनन् । मैले साखुल्ले बनेर दारु थप्ने प्रस्ताव राखेँ । अरूको खान फटाहाहरू थिए । मज्जाले पिएँ । फिटान ।

राति १२ बजे, साइलेन्सर फिट पिस्तौल, नजीकै बाट सबैको छातीमा दुई दुई गोली, काम तमाम । मलाई लिन, योजनानुसार, एउटा प्राइभेट कार लिएर एस. पी. परियार आएको थियो, उसले सबै सामान गाडीमा राखिसकेको थियो । लजको बील चुक्ता थियो । गोली ठोकेको तीन मिनेट भित्रमा नै म टाप, बर्दिया आएर मेरै चेलोको लजमा बसियो ।

टीकापुरमा हंकामा भोलिपल्ट समाचार भाइरल, “एक अज्ञात हत्याराद्वारा पाँच नेपाली इज्जतदार भलाद्मीहरूको सामूहिक हत्या, देशलाई अकल्पनीय क्षति, वैशाख २ गते राष्ट्रिय शोक, तीन दिन बिदा, हत्याराको व्यापक खोज, हत्यारा भारतीय नागरिक भएको आशङ्का । व्यापक प्रहरीहरू परिचालित, मृतकहरू मन्त्रीज्यूको आफन्त भएकाले झन् तीव्र अनुसन्धान, हत्यारा छिटै समाइने गृहमन्त्रालयको दावी ।”

धर्मपुत्र र मुखामुख गरियो । २ गते बिहानै मेरो जेट थियो । आरामसित पान  चपाउँदै मफलर गजल सङ्ग्रह र सम्प्रेषण ३६ औँ अङ्क पढ्दै मैले नेपाललाई “टाटा” भनें । पाँच चेलीहरूलाई सम्झिएँ । स्व. रेग्मी दाजुको नाममा दुई थोपा आँसु अर्पण गरे । कथा यत्ति हो अकबर !”

“गुरदेव, हजुरको पुण्यकर्मलाई सलाम गर्दै म पनि भोलि नेपाल फर्किन्छु । बाँकी कुरा नियम होइन विवेक प्रयोग गर्दछु । हजुरको दिमाग खतरनाक कारखाना हो । यो कुरा हामी तीन जना बाहेक कसैलाई पनि थाहा हुन्न । हजुर वास्तविक ‘दश अवतार’ नै हो, नमन गुरुदेव ।”

“आयुस्मान भवः वस्त !”