“फेरि आज बिहानै कता जान लाग्नु भो “? श्रीमतीले सोधिन्।

“आज हाम्रो संस्थाको भेटघाट कार्यक्रम छ। त्यहीँ जान लागेको।” उसले जवाफ दियो।

” काम जान पर्दैन ?” फेरि प्रश्न  खप्टाइन् श्रीमतीले।

“कुरा मिलाएकाे छु ।” उसले भन्यो।

श्रीमती आफै फत्फताउन लागिन्, “यस्तो चालाले घर व्यवहार कसरी चल्छ ? संस्थाको काम भन्दै आफ्नो रोजगारी नै माया मारेर। घरमा आएको बिलहरू कसरी तिर्ने ? आफ्नो आर्थिक अवस्था कमजोर बन्दै गइरहेको छ। ”

श्रीमतीको गनगनसँग दिक्क मान्दै -“आउँछ नि बिल, तिर्दै गरुँला। समाजमा बसेपछि सामाजिक उत्तरदायित्व पनि निभाउनु पर्छ। “भनेर ऊ निस्क्यो।

श्रीमतीले पनि उसले सुन्ने गरी भनिन्, “…हो, समाजको उत्तरदायी बन्नुपर्छ तर आफ्नै घर उजाड बनाएर होइन।”

त्यो रात श्रीमान् घर फर्किएनन्। कल गर्दा बोली लटपटिएको सुनियो। उसले अड्कल काटी । सीमाको बुवाले आज पिएको छ भनेर।

===

श्रीमती कामबाट आइपुगी। श्रीमान् पनि भर्खरै कामबाटै आएर बसेका रहेछन्। घरमा श्रीमानलाई देख्दा उसलाई खुसी लाग्यो र मनमनै सम्झी। कति दिनपछि आज हामी घरमा सँगै भएछौँ। उसले हत्तपत्त लुगा फेरी र खाना पकाउने तयारीमा जुटी। श्रीमानलाई माछा मन पर्ने हुनाले आज माछा पकाउँछु भन्ने सोची । श्रीमान् चाहिँ भने बाहिर निस्कने तरखरमा थिए ।

त्यो देखेर  उसले सोधी, “फेरि कता नि ?मैले माछा पकाउन ठिक्क पार्दै छु। आज त डिनर परिवारसँगै बसेर खान पाइयो भनेकी त !”

“अनि तिमीहरू खाओ न ! आज मिटिङ छ हाम्रो। म भरै जति बेला आए पनि पस्केर खाइहाल्छु नि !”

श्रीमानको यस्तो जवाफले उसकाे मन कटक्क भयो। उसले सुँकसुँकाउँदै भनी, ” विदेशमा बस्नुको सास्ती त छँदै छ त्यहीँ माथि परिवार साथै भएर पनि साथै नभएजस्तो पीडा अझ असह्य हुँदो रहेछ। मौका मिल्दा पनि सँगै बसेर खाना खान नपाउनु भनेको कस्तो बाध्यता हो ? तपाईंलाई परिवारको कुनै माया,आफ्नोपन छैन। समाज, संस्था, दुनियाँको हाइहाइ यही नै प्यारो छ। तपाईंलाई समस्या पर्दा यी सङ्घसंस्था अघि बढ्लान् ? पर्दा त परिवार नै अगाडि बढ्नुपर्छ। छोरीले पनि चित्त दुखाइरहेकी छ। उसकाे जन्मदिनमा पनि तपाईं घरमा बस्नु भएन। अरूकै घरको भेलामा जानु भो। सामाजिक कार्यकर्ता हुँदैमा   समर्पित हुनै पर्छ भन्ने के छ ? आफ्नो घरको उत्तरदायित्व चाहिँ हुँदैन ? तपाईंले यसकाे परिणाम राम्रो भोग्नु हुन्न याद गर्नू। ”

उसकाे यस्तो रवाफी चालाले श्रीमती आजित बनिसकेकी थिइन्। उसले आफ्नो श्रीमानलाई सम्झाउने पनि गर्थी तर नितेशले भन्ने गर्थ्यो -“हेर सीमा विदेशमा आएर पनि समाज, संघ, संस्थाबाट इज्जत पाउनु भनेको असम्भव कुरा हो। हेर त त्यो ललित नेपालमा हुँदा कलेजको प्राध्यापक थियो। उसलाई कति इज्जत गर्थे सबले। मलाई कसले चिन्थ्यो र ! त्याे बेला ? तर आज ऊ घण्टे काम गर्नमै व्यस्त छ। उसलाई न समाज, संघ, संस्थाले चिन्छ न कसैले इज्जत नै दिन्छ। ऊ त नेपथ्यमा बिलाइसक्यो अब। उसका अगाडि, मात्र डलर छरपस्ट होलान्। खोइ उसकाे अस्तित्व आज ? उसकाे अगाडि मेरो शान, मान हेर त !” श्रीमानको यस्तो अभिमानयुक्त कुराहरूले उसकाे मुखमा बुजो लाग्थ्यो।

उसलाई सर्काएर, फुर्क्याएर डोनेसन गर्न लगाइरहे संघ संस्थाहरूले। उसले पनि क्षणिक फुर्क्याइको भरमा दिल खोलेर संघ,संस्थालाई सहयोग गर्न थाल्यो। थोरै समयमै ऊ चर्चित बन्न थाल्यो। अब भने उसलाई विभिन्न संघ, संस्थाले अध्यक्षको पद पनि भिराउन थाले। अध्यक्ष पदको मान, सम्मानले ऊ संघ, संस्थाप्रति अन्धभक्त बन्न थाल्यो। उसले आफ्नो घर, परिवार र व्यवहारभन्दा बाहिरी नाम र वाहवाहलाई प्राथमिकता दिन थाल्यो।

===

हो आज त्यसैको नतिजा भोगिरहेछ उसले। बाहिरी आडम्बर दुनियाँमा रमाउने हुँदा उसले आफ्नो निजी जीवन र आफ्नो व्यवहार नै भुसुक्कै बिर्सियो। आफ्नो परिवार गुमायो। खै त !आज ऊ एक्लिएको बेला उसका त्यतिका इष्टमित्र, संघ, संस्थाहरू ? ऊ यसरी रनभुल्लमा जीवन गुजारिरहेको छ।

उसले एउटा ग्यास स्टेसनमा काम गर्न थालेको छ। एउटा साधारण मजदुर बनेर, जबकि ऊ अमेरिका आएर आफै स्थापित बनिसकेर एउटा सफल व्यवसायी बनिसकेको मान्छे। हजारौँ नेपालीहरू जो नयाँ नयाँ आएर काम खोज्दै भौँतारिरहेका हुन्थे। त्यस्ताहरूको सहारा बनेर काम दिलाइदिने, विद्यार्थीहरूलाई आफ्नो स्टोरमा काम दिएर उनीहरूको गुजारा चलाइदिने। आज उही नै घण्टे काम गरेर बाँच्न विवश छ। यो सबै हुनुको पछाडि उसैको कु नियत र छोटो बुद्धि थियो।

आज नितेश निःशब्द बनेर एकोहोरो  भइरहेको छ। ऊ सोच्दै छ, सामाजिक उत्तरदायित्व निभाउने हुँदा उसले आफ्नी श्रीमतीलाई गुमाउनु पर्‍यो। अरूको लहैलहै र उँचाइमा लागेर घर व्यवहार तहसनहस भयो। छोरा र छोरी पनि पराई भए। कमाएका पैसाहरूको लेखाजोखा नै भएन।

नितेश आजकल सोच्ने गर्छ। आफ्नो देश नै फर्कूँ कि ? के गरूँ ? यो विदेश हो। यहाँ आफूले कमाउँदा मात्र हो खान बस्न पाइने। कमाउन छाडेको भोलिपल्ट सडकमा पुगिन्छ। यसरी ऊ दोधारे जीवन बाँच्न बाध्य छ।

यसरी नितेशले विचलित बनेर प्रवासमा जीवन चलाउन थालेको पनि केही वर्ष बितिसकेको थियो। ऊ छोरा/छोरीहरूबाट पनि टाढा भइसकेको थियो। कैले त लाग्थ्यो उसलाई आत्महत्या नै गरूँ कि ! जस्तो नै। फेरि आफै सम्हालिन्थ्यो ऊ। मान्छेबाट गल्ती हुन्छ नै। मैले श्रीमती गुमाउनु भनेको मेरै मूर्खता र एकोहोरो सोच अनि अरूको प्रशंसाको भोको हुनुको कारणले हो। मैले यो बुझ्ने कोसिस गरिनँ कि पहिला आफ्नो घर,परिवार र आफ्नो जीवन अनि मात्र बाहिरी दुनियाँ भनेर।
म अरूकै भरौटे भएर अरूकै इशारामा हिँडेँ। आज त्यसैको परिणाम भोग्दै छु। आफ्नी जीवन सङ्गिनी गुमाए पनि मेरा सन्तान त छन्। एक दिन मलाई अवश्यै माफ दिएर भेट्न आउनेछन्। मैले बाँच्नु पर्छ। फेरि खुट्टा टेक्नु पर्छ। मैले हार खानु हुन्न। म अझै साहस बटुलेर अघि बढ्छु। म अझै केही गर्छु भनेर ऊ अगाडि बढ्न खोजिरहेछ। तर शरीर कमजाेर छ। मन, मस्तिष्क धरमर छ।

आज उसको बिदा । कोठामै बसेर सरसफाइ गरिरहेको छ। खाना कति बेला पकाएर खाने ? उसलाई पत्तो नै छैन। सफाइ गर्ने क्रममा उसले पुरानो एल्बम पल्टाएर हेर्छ। जुन उसकी श्रीमतीले सुरक्षितसँग राखेकी रहिछन्। एल्बम पल्टाउँदै जान्छ। श्रीमतीका तस्बिरहरू मुस्कुराई रहेको देख्छ। कुनै कुनै तस्बिरमा उनीहरू दुवै जना अँगालोमा बाँधिएका। कुनै कुनै तस्बिर पूरै परिवार खुसीले झुमी रहे झैँ देखिन्छन्। ऊ तिनै तस्बिरहरूमा हराइरहेको हुन्छ।

त्यति नै बेला मोबाइलको रिङ् बज्छ। यसो हेर्छ अननोन भन्ने शब्द देख्छ। उसले दिकदारीकाे साथ उठाउँछ। एउटा युवाको आवाज सुनिन्छ।

-“हेलाे यो कसको नम्बर हो ?” यताबाट उसले जवाफ दिन्छ।

-” मेरो म नितेश सापकोटा”।

फोनमा केही क्षण शून्यता छाउँछ। केवल मौनताभित्र लामो सास फेरेको मात्र आवाज सुनिन्छ।

उसले फेरि सोध्छ, “को बोलेको ? चाँडो बोल न के काम छ ?”

उताबाट सुस्केरासहितको आवाज आउँछ, “म तपाईंकै पराई छोरा आर्जन बोलेको। भोलि मम्मीको श्राद्ध छ। आज एक छाके। ”

त्यति भनेर फोन काट्छ।

नितेश फेरि शून्यतामा टोलाउन पुग्छ। सम्झिन्छ जे भए पनि छोराले सम्झिएको रहेछ । खबर दियो आफ्नी आमाको श्राद्धको। अमेरिकामै हुर्किए पनि उसकी आमाले पुरै नेपाली संस्कार सिकाएकी थिई आफ्ना छोराछोरीलाई। हामी दुई भएर पनि त मेरा आमा, बुवाको श्राद्ध गर्थ्यौं। जुन कुरा छोरा छोरीलाई पनि थाहा थियो।

हाम्रो परिवारले परिश्रम पनि मिलेर गरेका थियौँ। छोरा, छोरीले पनि आफ्नो कर्तव्य पथ छाडेका थिएनन्। राम्रैसँग पढे। श्रीमतीले घरको कामकाज सकेर पनि आफ्नो व्यापार व्यवसायमा मलाई पुरै भरोसा दिन्थी। पैसा पनि कमाएर घर जोडिसकेका थियौँ। जे होस् नेपाली समाजमा हाम्रो दह्रिलो र राम्रो छाप थियो। तर म भने आफ्नो परिवारको खुसी र सुखभन्दा बाहिरी नाम र चर्चाको भोको बनें। घर परिवारको कुरा सुनिनँ। आफ्नो मनमौजकीमा हिँडेर आज न मेरो त्यो सुखी र खुसी परिवार रह्यो, न मेरो बाँच्ने कुनै आधार रह्यो। आफ्नी जीवन सङ्गिनीले पनि डिभोर्स माग्नुको कारण मेरै कमजोरीले हो। आखिर उसले अन्तिम सास पनि मेरो अनुपस्थितिमा फेरेर जीवन सिद्ध्याई। न मैले उसलाई अन्तिम बिदाइ गर्ने मौका पाएँ। न उसले पोइ।

यस्तै विगतका कुराहरू सोच्दै नितेश झोक्र्याई रहेको थियो। अलिक परबाट रोशन र रवीन आइरहेको देख्यो उसले। धेरै समयपछि पुराना संस्थाका साथीहरू देख्दा उसलाई एक प्रकारको मनमा खुसीको तरङ्ग छाए झैँ भयो। जे भए पनि ऊ सामाजिक प्राणी भएर साथीभाइबिच हातेमालो गरेर बाँच्न रुचाउने मान्छे। आफ्नो तन, मन, धन सम्पूर्ण समर्पित गरेर बाँचेकै पनि हो। अझसम्म पनि त त्यो समाज, संघ, संस्थामा मेरो कामको मूल्य होला नि ! त्यसैले त साथीभाइले अझै सम्झिँदा हुन् रत रवीन र रोशन मलाई भेट्न आएका होलान्।

ऊ केही आशावादी भएर हराएको मुस्कान ओठमा लिएर उनीहरूको बाटो हेर्दै थियो। तर ती दुईले त नितेशतिर हेर्दै नहेरी अर्को बाटोतिर लाग्दै भनिरहेका थिए। -” रविन त्यो नितेश पनि यतै कतै बस्छ रे नि ! त्यो पनि सखापै भयो है ?संघ, संस्थाको पछि लागेर। उसलाई यसो फुर्क्याई दिए जे गर्न पनि तयार हुने। अहिले त घरबार नै बिल्लिबाठ भएर खै! यतै कतै बसेको छ भन्ने सुनिन्छ। ”

-“रोशनको कुरा सुनेर रवीनले  भन्दै थियो।-” त्यस्तै हुन्छ। पहिला आफ्नो घर परिवार,आफ्नो व्यवहार अनि पो अरू  !त्यो नितेश आफ्नो घर परिवारलाई कहिल्यै महत्त्व नदिने। जहिल्यै बाहिरको बास। जसले फुर्क्यायो त्यतै लाग्यो ,पैसा छर्‍यो। कमाएको पैसाले पनि कति पो थामोस् ?आफूलाई कत्ति न ठुलो अभियन्ता र समाज सेवी ठान्थ्यो। त्यही भएर श्रीमतीले डिभोर्स मागेकी रे अन्त्यमा मरण पनि अर्कै ठाउँमा भएछ बिचरीको । सहनुको पनि सीमा हुन्छ नि !घरकाले कति सम्झाउँदा पनि नलागेर आखिरमा श्रीमती पनि अलग भएकी रे। अहिले चेत्दै होला। ”

यस्तै कुरा गर्दै तिनीहरू अगाडि बढ्दै थिए। नितेशलाई औडाहा भयो र उसले तिनीहरूलाई बोलायो। तर तिनीहरूले पुलुक्क हेरेर पनि नसुने झैँ गरी अगाडि बढे तर आएनन्।

बल्ल नितेश  छाँगाबाट खस्यो। त्यही साथीहरू हुन्। उसलाई संघ,संस्थामा अनेक आश्वासन दिँदै ,फुर्क्याउँदै भित्र्याउने। कहिले कहीँ रातभर बाहिर बाहिर रात बिताउन पनि उक्साउने। आज तिनीहरूले नै देखे नदेखे झैँ गर्न थाले। उल्टै खुच्चिङ मच्चाउँदै कुरा काट्न थाले। के गर्ने ?जब सबै थोक गुमायो उसले तब चेत खुल्यो। अब न पछुताएर फाइदा ,न त झोक्राएर नै समस्याको समाधान हुने। यसरी उसका हरेक पल बित्दै छ निस्सासिंहै,अत्तालिँदै अनि छटपटिँदै।

आज ऊ आफ्नी स्वास्नीको मृत्युको २ वर्षको वार्षिकी गर्दै छ। टेबलमा सीमाको तस्बिर मुस्काई रहेको छ। सयपत्रीको मालाले उसको तस्बिर सजाइएको छ। केही फलफूलहरू थालमा राखेर धूप सल्काउँदै उसले मृत तस्बिर लाही माफी माग्दै छ।-“सीमा मलाई माफ गरिदेऊ,मैले तिमिप्रति ठुलो अन्याय गरेँ। अहिले म पापको प्रायश्चित भोगी रहेछु। तिम्रो आत्मालाई शान्ति मिलोस्। थाहा छ मलाई तिमीले कहिल्यै माफी दिने छैनौ। मैले परिवार र पैसाको महत्त्व बुझिनँ। मेरो एउटा स्वार्थीपन र उच्च महत्त्वाकाङ्क्षाको कारणले मैले एउटा सुखी र खुसी परिवार गुमाउन पर्‍यो। तिम्रो आत्माको चिर सान्तीको कामना। “यति भनेर फूल के चढाउँदै थियो ऊ।

ढोकाको घण्टी बज्यो। ढोका खोलेर हेर्दा बाहिर घरबेटी उभिएको रहेछ र भनी रहेको थियो। -” अब तिमीले यो कोठा खाली गरिदिनु पर्छ। समयमा भाडा पनि दिँदैनौ। तिमीले घर भाडा पनि दिन सक्दिनौ जस्तो लाग्दै छ। एक हप्तामा कोठा खाली गर्दिनु। ”

उसले झलझली फेरि सम्झियो आफ्नो घर हुँदा उसलाई बाहिरतिर रुमल्लिनु नै मन पर्थ्यो। घरमा एक दिन बस्न परे छटपटी हुन्थ्यो। श्रीमतीले घरमा पनि समय बिताउनु न भन्दा अनेकौँ बाहान बाजी गरेर बाहिरिएको यति बेला सम्झना गर्दै मुटु दुखाई रहेछ उसले। जाओस् त कहाँ जाओस् ?उसको जाने ठाउँ छैन। पुराना हितैषीहरू सब बिराना बने। कोही नजिक हुनु त परै जाओस् बोल्नसम्म गाह्रो मान्न थालिसकेका छन्। सबैले उसैलाई दोषी ठानेर अनेक भनिरहेका छन्।

ऊ अचेल सोच्न बाध्य छ। परिवारभन्दा आफ्नो कोही नहुँदो रहेछ अनि श्रीमतीभन्दा नजिक आफूलाई माया गर्ने र साथ दिने अरू कोही नहुँदो रहेछ। हो …यसरी नितेशको जीवन एक्लोपन र उदासीमा बितिरहेको छ यो समय। ऊ विगतका उल्लासमय पारिवारिक झझल्कोहरूलाई आँखामा टाँसेर, एउटा बाउ, एक श्रीमानको अधुरो कर्तव्य मनमा साँचेर बाँच्न बाध्य छ अचेल।