कथा धेरै पहिलोको होइन । एका देशमा यौटा ‘देश’ थियो । देश धनी थिएन तर सन्तुष्ट थियो । जनताहरू मेहनती थिए । आफ्नै श्रम पसिना खर्चन्थे । आफ्नै मेहनत र बुद्धिले काम गर्थे, कमाउँथे र रमाउँथे पनि । एकादेशका ती जनताले काम गर्न पटक्कै पछि सर्दैनथे । एउटालाई दुःख पर्दा अकाले सहयोग गर्थ्यो, एउटा खुशी हुँदा अर्को रमाएर बाँच्दथ्यो । समाजमा मेलमिलाप थियो, शान्ति थियो । चोर डाँकाहरू थिएनन् त्यसैले रातिको समयमा पनि ढोका खुल्ला राखेर ढुक्कसँग त्यहाँका जनताहरू सुत्थे ।

टुकीको उज्यालोमा विद्यार्थीहरू पाठ घोक्थे, झ्याउरेको तालमा ठिटाहरू मादल ठोक्थे । खेतहरूमा लहलहाउँदा बाली झुल्थे । जङ्गल हराभरा हुन्थ्यो र जङ्गलमा जीवजन्तुहरू निर्विघ्नताका साथ डुल्थे । बिहान साँझ चराहरूको चिरबिर र धर्मशास्त्रहरूका मन्त्रहरू सुनिन्थ्यो । बसुधैव कुटुम्बमलाई त्यहाँका मानिसहरूले मूल मन्त्र बनाएका थिए त्यसैले सबै सुखी थिए, सम्पन्न नभए पनि अभावग्रस्त थिएनन् ।

एक्कासि एक हुल मान्छेहरू एकादेशमा आइपुगे । एकादेशको अवस्था देखेर उनीहरू आश्चर्य चकित भए । जनताहरूले गर्ने मेहनतलाई उनीहरूले पागलपनको संज्ञा दिए । शान्तिपूर्ण समाजलाई अन्धकार युगको उपमा दिए । सारा देशलाई नै पागलहरूको बस्ती भनेर ती मान्छेहरूले घोषणा गरिदिए । पागलहरूको उपचार गर्न देशमा थुप्रै अरू मान्छेहरू पनि भित्रिए । कसैले जनतालाई करेन्टको झट्का दिई दिई उपचार गर्न थाले । कसैले एकादेशको पुनर्निर्माण गर्न भनी नयाँ नक्सा कोर्न थाले । ती मान्छेहरूले कोदालो छोडेर झण्डा बोक्न सिकाए, मै खाऊँ मै लाऊँ भन्ने मन्त्र घोक्न सिकाए । एकताको नाममा जनताहरू जात, धर्म, भाषा, लिङ्ग र आस्थाको आधारमा बाँडिए .

विकासको नाममा अमूल्य वन जङ्गलहरू फाँडिए । देश सिँगार्न भनेर विदेशबाट थोत्रा र कमसल सामान ल्याइयो । देशका उद्योगधन्दा बन्द गरियो । जताततै नोकरीमा आफ्ना चाकडीवाजहरू भरियो । एकादेशको विकास र आधुनिकीकरणको निम्ति भनेर विदेशीहरूले “करोडौँ डलर बराबरको ऋण सहयोग गरे । आधुनिक बन्न पाइने भने भनेर जनताहरू मख्ख परे अनि आफ्नो काम, धर्म र मर्म छोडेर आगन्तुक मान्छेको शरणमा परे ।

० ० ० ०

र परिणती-

जनताहरू आपसमा खुट्टा तानातान गर्न  थाले । आगन्तुक मान्छेहरू मोटाउँदै गए अनि जनताहरू अभावमा मरिरहे । काम नगरी खान खोज्ने प्रवृत्ति बढ्यो, मेहनत गर्ने बानी घट्यो । देशमा विदेशीहरूको चलखेल बढ्दै गयो । देश भित्रै जनताहरू दास बन्न थाले । स्वदेशी उद्योग धन्दा बन्द भए । सरकारले सहयोग गर्न छोडेकोले कृषि उत्पादनमा ह्रास आयो । देशभरि हत्या, हिंसा, आतङ्क, गरिबी र महँगी बढ्दै गयो । जनतालाई लडाएर आगन्तुकहरू मस्तसँग कुर्सीमा निदाइरहे । अभाव ग्रस्त जनताले बाँच्न पाउने पुकार गरे । आगन्तुकहरूले उनीहरूको कुरा सुनेनन् ।

त्यसैबीच कसैले जनतालाई बन्दुक थमाइदियो । बन्दुक पड्कन थाले । जनताले जनतालाई मार्न थाले । स्कुल, अस्पताल, कार्यालय बन्दै गए, पुल, टेलिफोन टावर ढल्दै गए । जताततै बम र बन्दुकका आवाज सुनिन लाग्यो । बाटोघाटोमा एम्बुस पड्कन लागे । बलिया नाङ्गाहरू देश छोडेर भागे,  भाग्न नसक्ने बन्दुकको पछि लागे । देशभरि शान्ति सुरक्षा कतै भएन, मर्ने बाँच्ने ठेगाने भएन । अनि एकादेशको त्यो देश साँच्चै नै पागलहरूको देश भयो ।

र एकादेश ठ्याक्कै त्यस्तै भयो, जस्तो अहिले हाम्रो नेपाल छ यो ।