सर्जकहरू घटनालाई कलात्मक पुनः सिर्जना गर्ने सामर्थ्यमा हुन्छन् । सर्जकलाई पार्ने प्रभावको सापेक्षमा जुनसुकै घटनालाई कलात्मक लेप गरी नयाँ रूप दिन सक्छन्, लुकेको घटना र हराएका पात्रलाई पुनः अस्तित्वमा ल्याइदिन सक्छन् । त्यसका लागि घटना, परिवेश र पात्रहरूसँग गहिरिएर खेल्नु पर्दछ । सर्जक लालगोपाल सुवेदीले त्यसै गरेका छन् । उनका डेढ दर्जन सिर्जना विधागत र विषयगत विविधताले त्यही बताउँछ ।

लालगोपाल सुवेदी मूलतः कवि हुन् । ‘फूलको देशमा छन्दकविता सङ्ग्रहबाट साहित्यमा प्रवेश गरेका कवि । प्रथम पहिचान स्थापित हुन्छ भने झैँ साहित्यानुरागीहरू उनलाई कवि पहिचानमा चिन्ने गर्दछन् । तर उनको कविपरिचय विस्तार भएर निबन्ध, गीत, समालोचनासम्म फैलिएको छ । विषयवस्तुका आयाममा पनि विविधता पाइन्छ । भूगोलभन्दा माथि बाट काव्यमा गीति चेतको प्रयोग गर्ने सुवेदीको ‘राहुल-यशोधरा संवाद’ पहिलो गीतिनाटक हो । गीतिनाटक यौगिक विषयविधा हो, जहाँ गीत, सङ्गीत र नाटक संयोजित भएर चौथो विधा जन्मिएको हुन्छ । गीत, सङ्गीत र नाटकका आआफ्नै विशेषता हुन्छन् । तिनै विशेषताको सम्मिलनले धारण गर्ने संरचना, प्रस्तुति शैली, दृश्यात्मकताले विशिष्ट प्रभाव उत्पादन गर्ने भएकाले गीतिनाटकको अर्थवत्ता बेग्लै रहेको हो ।

दार्शनिक अरस्तु नाटकलाई जीवनको अनुकरण (प्रतिबिम्बित) भनेका थिए । उनले मानवमनको विरेचन गर्ने दुःखान्त (ट्रेजेडी) लाई नाटक भन्न रुचाएका थिए । उनका अनुसार दुःखान्त नाटक गम्भीर स्वभावमा पूर्ण तथा सुनिश्चित आकारमा तयार पारिएको मानव कार्यको अनुकरण हो जसमा सुन्दर भाषाशैली र दृश्यात्मकता हुन्छ । नाटकका विख्यात सर्जक शेक्सपियरले भने मानव व्यवहारको प्रतिविम्बन गर्ने दर्पणलाई नाटक भनेका छन् । द्रष्टा अरस्तु र स्रष्टा शेक्सपियरको भनाइको सार एकै छ । त्यो हो जीवनको अनुकरण वा प्रतिविम्ब, जुन अभिनेय सजीवतामा जीवन्त हुन्छ । अन्य विधामा त्यो अवस्था उपलब्ध हुँदैन ।

नाटकका सन्दर्भ पूर्वीय परम्परा निकै पुरानो छ । यसले रसानुभूति वा काव्यानन्द साहित्यको आधारमूल्य मन्छ । त्यो रसानुभूति सिर्जना गर्न नाटक अन्य विधाभन्दा यस अर्थमा बढी प्रभावकारी हुन्छ कि यसको दृश्यसंयोजन, संवादशैली र चरित्रव्यापारले अन्य विधाभन्दा प्रस्तुतिलाई सम्प्रेष्य बनाएको हुन्छ । गीतिनाटक झनै प्रभावोत्पादक हुने हुनाले पूर्वीय सभ्यताको आदिग्रन्थ ऋग्वेददेखि नै गीतिकाव्यले महत्व पाउँदै आएको हो । सामवेद गीतिऋचाहरूको सङ्ग्रह हो ।

यो स्तुति गीतमा बाँचेको छ । ईश्वरको स्तुति गीतसँगै बिस्तारै राजा/ठुलाबडाको प्रशस्ति गाथा हुँदै गीतिकाव्य, गीतिनाटकको विकास हुँदै आयो । त्यस्तै पश्चिमी साहित्यमा पनि लिरिक (सङ्गीत), ओड (गीत) र ब्यालेड (नाचगीत) विकास भएको पाइन्छ । पूर्वीय काव्यपरम्परा रसवादी र पश्चिमी चाहिँ अभिव्यञ्जनवादी देखिन्छ तर दुवैको साझा मूल्य भने प्रभाव हो । शब्दलाई छन्द, लय र गेयुलभ अभिव्यक्तिमा पुर्‍याई दर्शक मनलाई उच्च प्रभाव पार्नु गीतिनाटकको विशेषता हो ।

नाटक अन्य विधा भन्दा जटिल काम हो, किनकि यो दृश्यकाव्य हो । पूर्वीय परम्परामा दृश्यकाव्यमा गीत अनिवार्य तत्व मानिन्थ्यो । गीतिकाव्य र गीतिनाटक एकै होइनन्, तर मञ्चनयोग्य कथात्मक गीतिकाव्यले गीतिनाटकको रूप धारण भने गर्न सक्दछ । सामवेद गीतिकाव्यको आदि स्रोत भएजस्तै कालिदासको अभिज्ञान शाकुन्तल र भवभूतिको उत्तर रामचरित्र गीतिनाटकका आदि प्रयोग हुन् । जयदेवको गीतगोविन्द ‘गीतहरूको गीत’ भनेर पश्चिमी जगतबाट समेत औधी प्रशंसा पाएको काव्य हो । यी सबै प्रयोगका आधारमा ध्वनि, प्रतिबिम्ब र रस गीतिनाटकका तीन पक्ष हुन् ।

लालगोपाल सुवेदीको ‘राहुल-यशोधरा संवाद’ लाई यिनै आधारमा विवेचना गर्नु सान्दर्भिक हुन्छ । किनकि यो गीतिनाटक पूर्वीय परम्परामा आधारित छ, पूर्वीय कथावस्तु, पूर्वीय दर्शन र पूर्वीय आदर्श नै यसको नाट्यवस्तु हो । नाटकमा उसका दर्शकलाई त्यहाँका घटना र पात्रहरू कृत्रिम भन्ने स्पष्ट थाहा हुन्छ । तर नाटककारले उद्देश्य, अभिनय, अभिव्यञ्जनाबाट उनीहरूलाई काव्यानुभूति (आनन्द) दिएको हुन्छ । गीति अभिव्यक्तिसाथको दृश्य संयोजनले त्यो अनुभूति सहज बनाउँछ । दुःखान्त गीतिनाटकले दर्शक/पाठक मनलाई समानुभूतिमा पुर्‍याएर मनको विरेचन गर्दछ । यस अवस्थामा दर्शकहरू नाटकबाट प्रभावित हुन्छन् । पूर्वीयहरू यसलाई दुःखमा पनि सुखको अनुभूति (दुःखसुखको अनुभूति) भन्दछन् भने पश्चिमीहरू स्वसापेक्षिक आनन्द (क्याथर्सिस) भन्न रुचाउँदछन् । ‘राहुल-यशोधारा संवाद’ यो प्रभाव उत्पादन गर्न सक्षम छ । ध्वनि, प्रतिविम्ब र रसको संयोजन गर्न नाटककार सफल देखिएका छन् ।

नाटकको विषयवस्तु बुद्ध दर्शन हो । एसियाका ज्योतिका रूपमा चिनिएका सिद्धार्थ गौतम अहिंसा र सत्कर्म शिक्षाका अद्वितीय दार्शनिक, साधक र सिद्धात्मा थिए, त्यसैले उनी बुद्ध कहलिएका हुन् । उनले मानव समाजका लागि मात्र अहिंसाका सिद्धान्त प्रतिपादन गरेनन्, समस्त प्राणी र चराचरका लागि दर्शन दिएका छन् । खराब नगर्नु, सत्य गर्नु, मन स्वच्छ राख्नु बुद्धवाणी हो, जसले मानव सभ्यता संवर्द्धन गर्न बल दिन्छ । तर स्वयम् सिद्धार्थ गृहस्थी र राजकीय व्यवहारबाट भने अलग बनेर वैराग्य (सन्यास) वरण गर्न पुगे ।

सही बुझाइ, सही विचार, सही बोली, सही कर्म, सही जीवन, सही प्रयास, सही चिन्तन र सही निष्ठाका बुद्धवाणी आफ्नै प्रेयसी यशोधरा, पुत्र राहुल, माता प्रजापति गौतमी र पिता शुद्धोदनका लागि व्यावहारिक भएनन् । सिद्धार्थ गौतम एसियाका दीप बनेर प्रकाशमा आए पनि यशोधरा त्यस भित्रकी लुकेकी पात्र हुन् । सिद्धार्थ गौतमलाई त्यहाँ पुर्‍याउन उनले गरेको योगदान र जीवन समर्पण कहीँ देखिएको छैन । पतिको उद्देश्य पूरा गर्न यशोधराको जीवन उत्सर्ग भएको छ । पुत्र राहुलको मातृ वात्सल्यका लागि उनको यौवनमय जीवन बितेको छ । परिवारको दायित्व पूरा गर्नु नै उनको जीवन बनेको छ । महानहरू परिवारको दायराबाट माथि हुन्छन् भन्ने सिद्धार्थको सन्देश छ, महानहरू निजी स्वार्थहरू समर्पण गरेर अरूका लागि आदर्श बन्दछन् भन्ने यशोधराको शिक्षा छ ।

यसो भन्दैमा यशोधरा असामान्य नारी होइनन् । सामान्य नारीमा हुने भावना, आवेग, इच्छा र तृष्णाहरू उनमा थिए । राहुल गर्भमा आएपछि यशोधरा हर्षमा सिद्धार्थलाई भन्छिन् ः

‘स्वर्गै जितेजस्तो भा छ यो नारीलाई आज

बन्न सक्छ भोलि चक्रवर्ती राजा ।

मुसुमुसु मुस्काए नि लक्षिन बन्छ हाँसो

मेरो पेटमा हुर्किँदै छ स्वामी तिम्रो नासो ।’

नारी सुलभ प्रजनन खुसीमा पनि सिद्धार्थ निरपेक्ष लाग्छन् । यशोधरा आफ्नो खुसीमा खुसी थपिने अपेक्षामा सिद्धार्थसँग प्रेमिल हुन्छिन् तर सिद्धार्थ त्यसलाई कत्ति पनि वास्ता गर्दैनन् । पुर्पुरोमा हात लगाएर उल्टो यसो पो भन्छन् ः

‘कसरी आएछ गोदमा (कोखमा)

यो ज्यानलाई धेरै पीर पयो

मुटु मै तीखो तीर गढ्यो

नसोची कार्यको कारण

मै गर्छु यसको न्वारन

पूवै र जनमको साहू यो

यसको नामै राहू हो ।’

तर यशोधरा मनोवादमा गीत गुन्जाउँदै खुसीले गदगद छिन् । सृष्टिकर्ता नारी पुत्र प्राप्तिमा असीम खुसीमा हुन्छन् भन्ने विम्बमा यशोधरा देखिन्छिन् । शुद्धोदन र गौतमी पनि सन्तान पैदा भएकोमा प्रसन्न छन् । कपिलवस्तु राज्यभरि खुसी छाएको छ । दरबारका भरदार, कर्मचारीहरू सबै खुसी छन् तर त्यसबाट सिद्धार्थ गौतम तटस्थ छन् । मध्यरातमा यशोधराको खोपीलाई चोरले झैँ चियाएर सिद्धार्थ घर छाडेर आफ्नो बाटो लाग्छन् । सिद्धार्थको यो चियाइ पत्नी यशोधरा र पुत्र राहुलसँग बिदाइ हो । सन्यास धारण गर्ने सिद्धार्थको मनले थोरै भए पनि गृहस्थी र माया भावलाई स्थान दिएको भान यस दृश्यबाट हुन्छ । तर सांसारिक दुखबाट मुक्तिका लागि सिद्धार्थको सङ्कल्पमा सन्यास बाहेक अर्को विकल्प थिएन ।

सिद्धार्थले घर छाडेपछि कपिलवस्तु दरबार शान्त छैन । शुद्धोदन बुहारी यशोधरा पतिविहीन भएकोमा आफूलाई दोषी मान्छन् । भूलप्रति क्षमा याचना गर्छन् । गौतमी राहुलले पिताप्रेम पाउने अधिकार स्थापित गर्न सिद्धार्थलाई फर्काउन बुहारीलाई आग्रह गर्छिन् । डोरीको दुई पोयामध्ये एक टुट्दा यशोधरा व्याकुल छन् । तर सिद्धार्थको सिद्धिको बाटो छेक्ने इच्छा भने राख्दिनन् । सिद्धार्थ जोगी बनेपछि पिता दण्डपाणिले जोरी पारी मुख देखाउन नसक्ने गरी बेइज्जती भएकोमा रौद्र रूप देखाउन पुग्छन् । तर यशोधरा पितालाई यसरी सम्झाउन पुग्छिन् :

‘पछ्याउँछु गार्गी मैत्रेयी पथ

म हाँक्न सक्छु अदिती रथ

प्रिय र सत्य सावित्री पथ

जान्न म माइत एक दुई तिन

गोपा हो गोपा कै स्वामिनी ।

प्रेम हो मेरो अधिकार

वात्सल्य मेरो अधिकार

थर गोत्र राज्य अर्कै छ

छोरो हो जीवन सम्पत्ति

जीवन श्रीमान् श्रीमती

नभाँड्नुस् हाम्रो जिन्दगी ।’

यशोधरा सचेत रूपमा मनलाई बाँध्न सक्छिन् तर अवचेत/अर्द्धचेत रूपमा रहेका दमित इच्छा र यौन चाहनाले सपनामा पनि उनलाई सताउन पुग्छ । राहुलको किशोर अनुहारमा सिद्धार्थ देख्ने भ्रम हुर्किएको छ । तर सचेत मन ती इच्छालाई दमित बनाउन सक्षम छ । पति निष्ठामा रहेकी यशोधरा पतिले गृह त्याग गरेपछि शृङ्गार समेत नगर्ने प्रणमा छिन् ।

राजकुमारले मनको रहर नमार्न र आफूसँग प्रेम गर्न यशोधरालाई राखेको प्रस्तावलाई आफूप्रति कुनै कुदृष्टि नराख्न आग्रह गर्छिन् । पानीजस्तै सग्लो भएर बुद्धपथलाई अँगाल्दै ज्ञानी बन्ने उनको अभीष्ट छ ।  जुन अभीष्ट परिस्थिति र पतिप्रमेबाट सिर्जित भएको हो । राजकुमारको प्रेम प्रस्ताव, शुद्धोदन र दण्डपाणिसँगको संवादमा उनले दिएको प्रतिक्रियाले यशोधराको आदर्श, समर्पण, पतिप्रेम, वात्सल्य र कर्तव्य परायणलाई देखाएको छ । नाटककार यशोधराको यही व्यक्तित्वलाई उधिनेर स्थापित गराउने उद्देश्यमा छन् ।

‘राहुल यशोधरा संवाद’ मा पूर्वीय नारी चेतको उल्लेख पाइन्छ । बुद्धकालीन समयमा रहेको नारी स्वायत्तता र सशक्तीकरणको विषयलाई यशोधराको माध्यमबाट व्यक्ति गरिएको छ । यशोधराका संवाद, सोच र संस्कारले बुद्धकालीन नारी चेतनाको स्तर उच्च थियो भन्ने देखाएको छ । जवान नारीमा रहने प्रेम, आशक्ति र सौन्दर्य जस्ता कुरालाई सिद्धार्थको सिद्धि प्राप्तिमा तगारो बनाउनु हुन्न भन्ने उच्च सोच यशोधराले देखाएकी छन् । कपिलवस्तु दरबारको बगैँचामा यशोधराले सिद्धार्थलाई आग्रह गरेकी थिइन :

‘तिमी आकाश जस्तै राजा । म चाहिँ धरती

सयौँ जुनी बाँचेजस्तो हाम्रो पिरती ।

न त खुसी न त दुःखी तिम्रो मुहार

एक बार त खोल न हो मनको दुवार ।’

तर सिद्धार्थ यशोधराको आग्रहलाई महत्त्व दिँदैनन् । बरु सम्झाउन थाल्छन् :

‘पिरतीमा हुन्न प्यारी स्वार्थी अभिलासा

धेरै धेरै अर्थ दिन्छ नबोलिने भाषा

सबैभन्दा ठुलो दुःख आफ्नै अहङ्कार

छोड्न मन लागेको छ राजदरबार

कल्प कल्प कथिदै छ दुःखमाथि दुःख

कस्तो गरी ल्याऊँ प्यारी सबको मनमा सुख ।’

सिद्धार्थ यशोधरालाई मात्र सुख दिन चाहँदैनन् । दरबारको यशएयासमा रमाउन चाहँदैनन् । न राहुलको पिता, शुद्धोदनको पुत्रको रूपमा उनीहरूलाई मात्र सुख दिन चाहन्छन् । संसार किन दुःखी छ र त्यसको कारण र निदान के हो भन्ने ज्ञानको खोजीमा उनी लाग्न चाहन्छन् । यसलाई यशोधरा सहर्ष स्वीकार र सहयोग गरेकी छन् । उनको त्याग र समर्पणले सिद्धार्थमा बुद्धत्व प्राप्तिमा सहयोग मिलेको छ । उनको दृढता, स्वाभिमान र विचारले उनमा छुट्टै शक्ति दिएको छ, जुन सीता, सावित्रीको भन्दा कम छैन । नाटककारले नजानिँदो रूपमा पश्चिमी नारीवादी आन्दोलनलाई यशोधरामार्फत चुनौती दिइरहेका छन् । आदर्श र संस्कारप्रतिको समर्पणमा पनि नारीहरू महान् हुन सक्छन्, जुन पश्चिमी समाजमा पाइँदैन भन्ने साङ्केतिक पुष्टि नाटकमा पाइन्छ ।

बुद्ध दर्शनको अन्तिम साध्य वैराग्य (सन्यास) हो । तर आधुनिक समाजले बुद्धलाई वैराग्यको स्रोत होइन, शान्तिको साधना बनाएको छ । प्रश्न उठ्न सक्छ, के शान्ति र सन्यास (वैराग्य) एकै हो ? के वैराग्यले वृत्ति दिन्छ, सन्यासले संसार चल्छ ? सिद्धार्थ सन्यासका प्रतीक हुन्, सन्यास नै सिद्धि हो । सन्यास शान्ति र अहिंसाको द्योतन गर्छ । संसार बुझ्नुको अर्थ स्वार्थको समर्पण गर्नु हो, जुन परिवारमा रहेर बुद्धले गर्न सकेनन्, वा गर्न सकिँदैनथ्यो । यस अर्थमा बुद्धले सन्यास गर मात्र भनेको होइन, मानव समाज तृष्णाको लालसाले निमानवीकृत नबनोस्, सांसारिक दुःख, भोग र लालसामा लिप्त नबनोस् भन्ने सन्देश दिएका छन् ।

फराकिलो मन, स्वच्छ विचार र सत् व्यवहारलाई केन्द्रमा राखेर अष्टसिद्धि बुद्धवाणीले यही भनेको छ । बुद्धवाणीलाई व्यवहारमा उतार्न भने साह्रै  गाह्रो छ । गीतिनाटकले अप्रत्यक्ष रूपमा यही सन्देश दिएको छ । तर गीतिनाटक बुद्ध दर्शनभन्दा नारी आदर्श, अझ भनौँँ ‘यशोधरा आदर्श’ उल्लेख गर्न उद्यत छ । सीता, द्रौपदी, कुन्ती, सावित्रीहरू समाजमा स्थापित छन् । यशोधराहरू समाजमा दबेका छन्, दबाइएका छन् । लुकेका आदर्शलाई प्रकाश पार्नु नाटककारको उद्देश्य देखिन्छ ।

राहुल-यशोधरा संवाद भनिएता पनि दुई पात्र बिचको संवादमा मात्र गीतिनाटक दोलायमान छैन । शुद्धोदन, गौतमी, सिद्धार्थ, दण्डपाणि, माता, राजकुमार सँगको संवाद पनि नाटकको अभिन्न भाग हुन् । सबैभन्दा बढी संवाद त यशोधराले आफैसँग गरेकी छन् । यशोधराको मनोवाद (मनोलाेक) ले नै नाटकलाई उत्कर्ष, आरोह, अवरोह र फलाप्तिमा लगेको छ । अभिनयमा  दृश्यविधान र उपमा-उपमेय योजनले यसलाई जरुर थप पुष्टि गर्छ । संवाद, कथनहरू, घटना-परिघटनाहरू यशोधराको वरिपरि घुम्छन् । अझ भनौँ उनको मनोवादको संसारलाई, दृष्टिदर्शनलाई उजेल्याउन नै ती चलायमान छन् । राहुल दोस्रो पात्र हो, तर पनि मुख्य पात्र यशोधराको भूमिकाको प्रबलीकरणका लागि उ पनि चरित्र कार्यमा नै सीमित छ, जसरी अरू पात्रहरू छन् ।

लुकेको सत्य के हो भने बुद्ध दर्शनमा नारी पात्र, नारी साधकहरूलाई लुकाउन, दबाउन भनेको छैन, जसरी अरू केही धर्मसंस्कृतिमा देखिएको छ । यहाँ पनि व्यवहारमा यशोधरा जस्ती नारी आदर्श, दर्शनको स्रोत, साधनाकी अधिष्ठात्री, पति परायण, कर्तव्यबाेधी, मानव मूल्यकी खानी पात्रलाई कहिल्यै प्रकाशमा ल्याइएको छैन । पुरुष पात्रसँगको आबद्धतामा अस्तित्व विलय गरिएको छ । नाटकले धरती र आकाशको उपमा दिएर दुवैलाई समान स्थानमा राखेको छ । यस अर्थमा नाटककारले यशोधराप्रति मात्रै न्याय गरेका छैनन्, इतिहासप्रति न्याय गरेका छन् ।

गीतिनाटकको पूरै आस्वाद गरिसक्दा यो सुखान्त हो कि दुखान्त भन्ने निष्कर्षमा पुग्न गाह्रो हुन्छ । दुखान्त नाटकको वकालत गर्ने दार्शनिक अरस्तु यसका ६ तत्त्वहरू उल्लेख गर्दछन्-कथानक, चरित्र, विचार, भाषा, सङ्गीत र प्रदर्शनी । कथानकमा अन्विति पाइन्छ । चरित्रहरू एउटा सिलसिलामा कार्यव्यापार गर्दछन् । यस अर्थमा राम्रो क्रियान्विति पाइन्छ । तर कथानक उत्कृष्ट हो कि निकृष्ट भन्न सकिँदैन । यशोधरालाई केन्द्रबिन्दुमा राखेर हेर्दा उनीमा विस्मय र विपत्ति देखिँदैन । सुरुमा विस्मय भाव देखिन्थ्यो तर घटनाक्रम अघि बढ्दै जाँदा यशोधराको चेतनाले त्यसलाई थिचेको छ ।

सामान्य दर्शक/पाठकले विस्मय विपत्ति रहेको जस्तो बोध गरे पनि स्वयम् यशोधराको बोधमा सिद्धार्थको सिद्धि प्राप्तिका लागि ती सहयोगी छन् । बरु नारी निष्ठा, कर्तव्य र वात्सल्यमा यशोधरा जाज्वल्य छन् । न उनले दुर्गति नै भोग्नुपरेको छ । सुरुका केही दृश्यमा प्रेमिल उद्वेगहरू छन्, सिद्धार्थले छाडेपछि स्वप्नदोष, पानीमा आफ्नो अवचेत तहमा भावातिरेक जस्तो लाग्छ तर सचेत तहमा त्यसो केही देखिँदैन, फलाप्तिमा दुःख वा दुर्गति छैन । आदर्श स्थापित छ । ससुरा शुद्धोदन, पिता दण्डपाणि, प्रजापति गौतमी, राहुल, राजकुमार सबैलाई आदर्श र कर्तव्यको पाठ सिकाएकी छन् । गीतिनाटकको अन्त्य बुद्धले राहुललाई अँगालोमा लिँदै सारिपुत्रसँग कमलको फूल लिएर राहुलको हातमा राखिदिएर कमण्डलु थमाएपछि हुन्छ । यति बेला मन्त्र सन्देश दिइन्छ :

‘बुद्धम् शरणम् गच्छामि

सङ्घम शरणम् गच्छामि

धम्मम् शरणम् गच्छामि’ । 

‘राहुल-यशोधरा संवाद’ मनोविज्ञानमा आधारित गीतिनाटक हो । यसका संवाद र दृश्यले मात्र होइन, त्यसको वातावरण संवादमा लक्षणा र विम्बहरूले पनि पात्रहरूमा मनोवैज्ञानिक भुतभुतीमा रुमलिएका छन् । देखिएको भन्दा मनभित्रको समस्याहरू गहन छन् । पोखिएका भन्दा मानसपटलको मन्थन गहन छ । मनोविज्ञानको धेरै कोण छन्, एकै विषयमा गतिशील छैनन् ।

यशोधरामा नारी मनोविज्ञान छ । सुरुमा उनी प्रेम अनुरागमा मनभित्र दौडिएकी छन् । छोरो राहुल जन्मेपछि मनमा खुसीका तरङ्गहरू फैलिएका छन् । मातृ मनोविज्ञान हुर्किएको छ । सिद्धार्थले घर छाडेपछि भने चेतनाले पारिवारिक कर्तव्य र आदर्शको लागि भित्रभित्रै द्वन्द्वमा छिन् । मन र मस्तिष्कको द्वन्द्व छ । दमित इच्छा-एष्णाहरू पानीको छायामा, सपनामा, राहुलका चेहरामा देखिएका छन् तर सचेत मनले ती भावनाहरू दबाइएका छन् ।

राहुलमा बाल मनोविज्ञान छ । पिताप्रेमका अभावमा त्यो अरू गहिरो देखिएको छ । यसले पिताप्रेम र संरक्षकत्व पाउने बाल अधिकार त्यो मनोविज्ञानले देखाएको छ । सिद्धार्थमा हुर्किएको वैराग्यको भाव मनोविज्ञानको अर्को पाटो हो ।

यशोधरा, राहुल, राजदरबारप्रतिको सुषुप्त अनुराग छ तर समस्त प्राणगतलाई सुख दिने ज्ञानको खोजी कसरी भन्ने पक्ष सचेत क्रियामा छ, जसको यात्रा सन्यासमा टुङ्गिएको छ । शुद्धोदन आफूले यशोधरालाई सिद्धार्थसँग विवाह गरिदिएकोमा प्रायश्चितमा छन् । दण्डपाणिमा जवानीमा छोरी पतिविहीन बनेकोमा आक्रोश छ । राजकुमारमा यौनोद्वेल देखिएको छ । उनको यस अर्थमा सबै पात्रहरू आआफ्नै मनोद्वन्द्वमा छन् । गीतिनाटकका दृश्य, संवाद, आङ्गिक हाउभाउ र परिवेशले यो मनोविज्ञानलाई केही हदमा देखाइरहेको छ । तर मनोस्थितिलाई दृश्यमा अवतरण गराउनु निकै जटिल कुरा हो ।

गीतिनाटकको संरचना अवयवका आधारमा विश्लेषण गर्दा नाटकलाई त्यति खोट लगाउने ठाउँ छैन । कथावस्तु प्राचीन छ । कपिलवस्तुका राजा शुद्धोदनका छोरा सिद्धार्थकी पत्नी यशोधराको प्रेम, पुत्र प्राप्ति, पतिको बहिर्गमन, मातृवात्सल्य, समर्पण र कर्तव्यको कथा गतिशील छ । कथा राजदरबारका यशोधराबाहेक अन्य पक्षसँग असंलग्न छ, जति पनि घटना र चरित्र कार्य भएका छन्, ती यशोधरालाई केन्द्रबिन्दुमा राख्छन् । राजा, सिद्धार्थ, राहुल, गौतमी, माता र अन्य पात्रसँग जोडिएका विषय यशोधराको कथालाई पूर्ण बनाउन, नाटकलाई उत्कर्षमा पुर्‍याउन उद्यत छन् ।

कथामा बौद्ध मिथकको हाबी छ, जुन स्वाभाविक हो । ती मिथकहरू कथावस्तुलाई ध्येयित स्थानमा पुर्‍याउन सहयोगमा छन् । तर मिथकीय संयोजन सधैँ दृश्य परिवेश शाश्वत रहँदैनन् भन्ने पक्षमा नाटककारले त्यति ध्यान दिएका छैनन् । जस्तो कि नारी र पुरुषको सम्मिलनमा प्रेमको अस्तित्व देखिने कुरा ठिक हो तर त्यस प्रसङ्गमा पुरुषलाई आकाश र नारीलाई धरतीको रूपमा लिँदा नाटकलाई दार्शनिक त बनायो, प्रेमिल दृश्यलाई जटिल बनायो । प्रेममा दर्शनभन्दा भावना, चिन्तनभन्दा उद्वेग र मानसिक भन्दा हार्दिक पक्षको हाबी हुन्छ, जुन कुरा यहाँ भुलिएको छ ।

परिवेश गीतिनाटकको कथावस्तुलाई सरल प्रतिनिधित्व गर्न सफल छ । कपिलवस्तुको तिलौराकोट राजदरबार, यशोधराको खोपी र बाग बगैँचा नाटकको दृश्यपरिवेश हो । नाटकका चरित्र कार्यमा परिवेशसाथ संयोजन गरिएको दृश्य, समय, ऋतु, साजसज्जा र प्रकृतिले नाटकलाई रसपूर्ण बनाएको छ । यशोधरा र सिद्धार्थको प्रेम संवादमा बगैँचा, पारिजातको रुखमुनि छन्, समय पनि बिहानलाई चयन गरिएको छ । यशोधराको पुत्र प्राप्तिको वर्णन गरिएको दृश्य बिहानको सूर्योदय हो, वातावरण खुसीमय छ । यशोधरा मनमनै विश्लेषित हुने, मनोवाद गर्ने समय रात, परिवेश एकान्त सन्नाटा र स्थान आफ्नै खोपी देखिन्छ । सिद्धार्थले दरबार छाडेपछि राजा शुद्धोदनले यशोधरासँग प्रायश्चित भावमा संवाद गरेको उदास दृश्यपरिवेश पनि कथा भावका लागि शाश्वत छ । दण्डपाणिले रौद्र रूपको परिवेश पनि सो अनुकूल छ ।

शुद्धोदन र गौतमीले शिशु राहुललाई खेलाएको दृश्यमा चराको कलरव छ, समय बिहानको छ । राहुलले पिँजराको चरा र दरबारको अनुशासनलाई बयान गरेको दृश्य वसन्त ऋतुको घमाइले बिहानको दरबार हो । वसन्त ऋतु र दृश्य परिवेशले लाक्षणिक अर्थवत्ता देखाइरहेको छ । राजकुमारले यशोधरालाई प्रेम प्रस्ताव राखेको दृश्य जेठको मध्यान्हको रापिलो वातावरणमा छ । बुद्धले राहुललाई अँगालोमा राखेर कमलको फूल र कमण्डलु हातमा थमाइदिएको समय भावुक सन्नाटाको छ । परिवेश, दृश्य, समय र स्थानको संयोजनले नाटकलाई प्रभावपूर्ण बनाउन सहयोग गरेको छ । यसले शिल्पसन्धानमा नाटककार औधी कुसाग्र छन् भन्ने देखाएको छ ।

नाटकमा चरित्र थोरै छन्, चरित्र व्यापार पनि थोरै छ । तर त्यसबाट भन्न खोजिएको कुरा वा विचार (उद्देश्य) चाहिँ फराकिलो छ । यशोधरा चरित्र नायिका हुन्, राहुल, शुद्धोदन, सिद्धार्थ, प्रजापति गाैतमी, दण्डपानी, अमात्य, राजकुमार, माता अन्य सहायक पात्र हुन् । यशोधराको चरित्र कार्यमा नै नाटक सुरु हुन्छ, उत्कर्ष पुग्छ र समापनतिर ओर्लिएर समाप्त हुन्छ । नाटककारले चरित्रलाई भन्दा चरित्रकार्यलाई प्रधानता दिने गरी नाटक सिर्जना गरेका छन् । पात्रभन्दा उसको कार्यले महत्ता दिन्छ भन्ने पुष्टि पनि यशोधराले लिएको छ । यस अर्थमा सर्जक सुवेदीको नाटकीय वैशिष्ट्य देखिन्छ ।

संवाद र प्रस्तुति कलापूर्ण भईकन पनि सरल छ । गीतिनाट्यमा त्यो अरू सरल हुनुपर्दछ । किनकि गीतको विशेषता नै सरल, सम्प्रेष्य हुनु हो । गीति नाट्य (गीतिकाव्य) मुनामदन सरल भएकाले नै दर्शकहरूको मनजित्न सफल भएको थियो । विभिन्न स्वरूपको गीति संरचनाले प्रस्तुति शैलीलाई परिवेसिक प्रभावपरक बनाएको छ । नाटककार दर्शक/स्रोतालाई प्रभाव पार्ने संवादशैली चाहिन्छ भन्नेमा सचेत छन् । प्रभावकारी शैली दर्शक/पाठकलाई कथा-पात्रमा एकीभूत गर्न सक्षम हुन्छ भन्नेमा सावधान छन् ।

‘राहुल-यशोधरा संवाद’ नाटक मात्र होइन, न गीत मात्र । गीतिनाटकमा कथालाई सङ्गीत-धुन र सुरबाट व्यक्त गरिन्छ । सङ्गीत, संवाद र नृत्यको संयोजनमा कथा प्रस्तुति हुन्छ । कथानक/कथावस्तु, चरित्र/पात्र, अभिनेयता, सम्बन्ध, परिवेश, संवाद, सङ्घर्ष, गतिशीलता, बिम्ब तथा मिथकहरू सुर, ताल र लयमा रहनु पर्दछ । अर्को अर्थमा गीतले कथा-संवाद बोक्नु पर्छ, सङ्गीतको कलामा लपेटिनु पर्छ । गीत र सङ्गीतको संयोजनले दृश्यलाई हार्दिक बनाउनुपर्दछ । गीति नाटक यसैको सेरोफेरोमा रहन्छ । गीतिनाटक रङ्गमञ्चीय भएर मात्र पुग्दैन । दर्शकले पात्रलाई अन्तर्बोध गर्नुपर्छ, दृश्यले सहभाव दिनु पर्दछ । यसका लागि गीत मनलाई दृश्यसम्म पुर्‍याउने सूत्र हो । कवितामा लय चेत भएर मात्र गीतिनाटकको कर्म पूरा हुँदैन ।

राहुल यशोधरा गीतिनाटक प्रेम, प्रकृति र विरह बिछोडको गीति होइन । नाकले दिने शिक्षा, सन्देश र बौद्धिक चिन्तनलाई गीतले ब्यक्ताएको छ, जुन निकै जटिल हो । नाट्य कथाको उत्कर्ष र अवसानमा गीतका आरोह अवरोह मिलाउनु अझै जटिल हो । किनकि गीतिनाटकमा गेयात्मक अभिव्यक्ति मात्र दिएर मात्र यसको साध्य पूरा हुँदैन । स्थायी अन्तराको संरचनामा घटनालाई दृश्यसापेक्षिक भाव दिनु पर्छ । नाटककार सुवेदी गीतसंरचनाको पक्षलाई सम्झौता गरेर भाव निष्पादन गर्न पुग्छन् । शब्द विन्यासले सङ्गीत संयोजनलाई सहज पार्ने आधार पनि दिन्छन् । घटना सादृश्यिक गीत-सङ्गीतको आग्रह गरिएको छ ।

यसर्थ ‘राहुल-यशोधार संवाद’ प्रयोग र परम्पराका आधारमा विशिष्ट गीतिनाटक हो । सिद्धार्थ बुद्धको व्यक्तित्वमा विलय भएकी यशोधराको पुनर्स्थापना गर्न, नारी आदर्श र कर्तव्यलाई उजागर गर्न नाटक सफल छ । घटनाक्रम र गीतिदृश्य योजनमा कथावस्तुका सिलसिला उनिएका छन् । त्यसैले गीतिनाटक स्वाभाविक बहावमा निरन्तर छ । सबैभन्दा महत्त्वपूर्ण कुरा नाटककारले ‘यशोधरा आदर्श’ को स्थापना गरेका छन् ।

कुन्ती-द्रौपदी, सीता-सावित्री, र गार्गी-मैत्रेयीको यौगिकता यशोधरामा देख्ने प्रचेष्टा गरेका छन् । यसले अरू शोध र सिर्जनालाई समेत आमन्त्रण गरेको छ ।