ईल्या भट्टराईको बहुचर्चित नियात्रा सङ्ग्रह हो – “दक्षिणायन” । २०७५ सालमा यस कृतिले उत्तम शान्ति पुरस्कार प्राप्त गरेको थियो ।

ईल्या भट्टराई नेपाली साहित्यजगतमा सुपरिचित नाम हो । भट्टराईको विषयवस्तु प्रतिको चिन्तन, मनन र विश्लेषण गहिरो छ । भावनात्मक पक्ष प्रबल छ । वैचारिक पाटो उच्च छ । भ्रमणमा जाँदा स्रष्टाका आँखाले देख्ने विषयहरू अनेक छन् । सूक्ष्म दृष्टि र मिहिन निरीक्षण नै ईल्याको नियात्रा लेखनको अमूल्य कडी हो । आफूले भ्रमण गरेका ठाउँका चौतर्फी पक्षलाई अवलोकन, अध्ययन र अनुसन्धान गरेर तयार पारिएका विषयवस्तुमा साहित्यको रङ र कला भर्न सिपालु छिन् ईल्या ।

५ वटा कथा सङ्ग्रह, ५ वटा नियात्रा सङ्ग्रह र एउटा बालकथा सङ्ग्रह लेखिसकेकी स्रष्टाको नियात्रामा आख्यानको स्वाद मज्जाले चाख्न पाइन्छ । यात्रा साहित्यमा भ्रमण गर्दै गर्दा स्रष्टाको पछिल्लो नियात्रा कृति मिसर पढ्ने सुअवसर प्राप्त भएको थियो । यात्रामा सदैव असल साथीको खाँचो हुन्छ । मलाई मिसर भ्रमण गरिसकेपछि पुनः ईल्यासँगै अर्को भ्रमण गर्ने वाञ्छा जागृत भयो ।

अहोभाग्य मेरो ! ठ्याक्कै दक्षिणायनको सुनौलो टिकट हात लाग्यो । सुदूर दक्षिणको धर्तीमा ईल्यासँगै केही दिन हराएँ । रामायण सुन्दै आएका हामीलाई दक्षिणायान शब्दावली नौलो पनि लाग्न सक्छ । भारतको दक्षिणतिरको यात्रा हो दक्षिणायन । भाषा, कला, प्रस्तुतिमा निकै खारिएकी स्रष्टाले बेग्ला बेग्लै चरणमा दक्षिण भारततिर गरेको बडो रोमाञ्चक यात्रा विवरण छ । नियात्राको बलियो धागोमा दक्षिण भारतका  महत्त्वपूर्ण शहरहरू, तीर्थस्थलहरू, तालतलैया, समुद्र, बाँध, बगैँचा, मन्दिरहरू, सिनेमा, मनोरञ्जन लगायत भाषा, धर्म, सभ्यता र संस्कृतिलाई मिहिन पाराले बडो कलात्मक किसिमले प्रस्तुत गरेकी छन् ।

नियात्राको विशेषता र सौन्दर्यले भरिएको दक्षिणायन पढ्दा नेपाल र भारतलाई तुलनात्मक रूपमा अध्ययन गर्न बिर्सिएकी छैनन् स्रष्टाले । आफूले भ्रमण गरेको शहरको रहनसहन, भेषभूषा, खानपान, बसोबास, उद्योग उत्पादन, कृषि रोजगारी, राजनीति, इतिहास, देवीदेवता, भूगोल, पर्यावरण, समाज, बजार, व्यवसायलाई नियात्राभरि उल्लेख गरेकी छन् ।

कामको खोजीमा भारत पसेका नेपाली युवाहरूलाई जता देख्दा पनि उमङ्गित भएकी छन् । कतै  नेपाली युवा अनौठो आवाज निकालेर पहरेदारी गरेको देख्छिन् । कतै पिरोलिन्छिन् त कतै आनन्दानुभूति पनि गर्छिन् । दक्षिणभारतको भ्रमणमा पनि ईल्याको मुटुमा देश दुख्छ । दक्षिण भारतमा नेपाली कामदारको अवस्था सोचेको भन्दा राम्रो देखेर म पाठक पनि दङ्ग पर्छु ।

दक्षिणायनमा कतै कतै कल्पना, भ्रान्ति, अनुमान र शङ्काको प्रयोग गरेकाले नियात्रा निकै रोचक भएको छ । कतै अचम्म अचम्मका सत्य घटना घटेका छन्, जो पढ्दा अविश्वसनीय जस्तो लाग्छ । ईल्या मनोरञ्जनका लागि मात्र हिँडेकी छैनन् । आफूले भ्रमण गरिरहेका ठाउँका प्राकृतिक, सांस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक विशेषताहरूबाट पाठकलाई परिचित गराउँदै ती ठाउँका निकै जानकारीहरू सहजै दिएकी छन् । साथै ती ठाउँहरूप्रति पाठकहरूलाई कहिले पुग्यौँ भन्ने उत्सुकता, जिज्ञासा पैदा गराउन सफल भएकी छन् । स्रष्टाले यात्रालाई मनोरञ्जनका साथै हृदयरञ्जनका रूपमा लिएकी छन् । त्यसैले पूर्ण आनन्दमा गरिएको यात्रा वर्णनले पाठकको हृदय छुन्छ ।

यात्रामा अरू पनि छन् तर ईल्याको मस्तिष्कमा घुमेका विचार र विमर्श पढ्दा म बारम्बार विस्मित हुन्छु । श्रद्धा, शान्ति र समर्पणले गरिएको यात्रा पवित्र हुन्छ अनि साधनाले सिर्जना गरिएको साहित्य उत्तम नै हुन्छ, त्यसैले त उत्तम शान्ति पुरस्कार प्राप्त गरेछ दक्षिणायनले । भ्रमणमा आएका स्थानहरूको स्वरूपलाई शब्दको क्यामेराले चित्रात्मक बनाउन सफल भएकी ईल्या । दक्षिणायनको गतिशील यात्राले पाठकलाई सजिलै बगाउन सक्नेछ । ईल्याका शब्द, शिल्प र कलाको जादुले दक्षिणायन दक्षिण भारतको दर्पण बनेको छ ।

२० वटा शीर्षकमा दक्षिणायन फैलिएको छ । स्पाइस जेटबाट केरलाको भ्रमणको योजना पूर्वनिर्धारित नै हुन्छ । आठ जोडी हिँडेका छन्, यात्रामा दुई जोडी नेपाली छन् । तर यात्राको अन्तिम समयमा स्पाइस जेट उपलब्ध नभएपछि एयर इन्डियाको फ्लाइटबाट यात्रा आरम्भ हुन्छ । मौसम जाडोको छ । दिल्ली बाक्लो कुहिरोको च्यादर ओढेर बसेको छ । दिल्लीको चिसो स्वागतले ईल्या काठमाडौँको बाल्यकालको समय र जाडो स्मरण गर्न पुग्छिन् । मुटु कमाउने जाडोमा नियात्राकारको दृष्टि पर्छ, एउटी पहेँलो कान्जिवरम सारी र ठुटे बाहुला भएको चोलो लगाएर सजिएकी । ईल्याले तत्काल सुन्छिन् फेसनले ङ्याकेर हायलकायल भएको विवेकको चीत्कार ।

दिल्लीबाट कोची पुग्दाको अनुभूति बडो रोमाञ्चक छ । ईल्या यसरी भावनात्मक रूपमा व्यक्त हुन्छिन्, ‘झन्डै तीन घण्टा लाग्दो रहेछ दिल्लीबाट कोची पुग्न । काठमाडौँबाट बैंकक पुगेजत्तिकै । उडिरहेको जहाजमा मन्द आवाजमा मीठो धून बजिरहेको छ । म पखेटाविना नै माथि आकाशमा छु  उडिरहेकी । अविराम यात्रा । आँखा अगाडि अनन्त आकाश । देखिँदैन कतै क्षितिज । तल सररर्र दृश्यहरू दौडिरहेका छन् । ती बेपत्ता वेगमा छुट्दै पनि छन् हाम्रै तिरका जस्ता पहाडहरूको भूभाग थियो । दक्षिण भारतको आग्नेय चट्टानको लम्बेतान डेक्कन पठारको शृङ्खलालाई मैले खासमा सम्झिनुपर्ने कुनै कारण पनि थिएन । ( पृ-१४)  – हृदयभरि अनेकौँ विचारहरू मन्थन गर्दै हिँडेकी छन् स्रष्टा ।

समुद्रबाट आएको पानीले बनेको सानासाना निला तालहरू आकाशबाटै दृष्टिगोचर हुन्छ । पगोडा शैलीको कोची विमानस्थलमा यात्रीहरू सकुशल अवतरण गरेपछि दक्षिणायनको यात्रा विधिवत् आरम्भ भएको छ । नरिवलको जङ्गल आकर्षक देखिन्छ । नियात्राकार भन्छिन्, ‘जहाँ जे उपलब्ध हुन्छ त्यहाँ त्यही फल भगवानलाई अर्पण गरिन्छ ।’

केरलामा नरिवल ज्यादै फल्छ । त्यसैले नरिवल चढाउने संस्कृति भयो तर आज नरिवल नफल्ने नेपालका कन्दरामा पनि नरिवल चढाउने संस्कृति पुगेको छ । मसला र मसाजको लागि निकै प्रसिद्ध रहेछ केरला । समुद्रको सौन्दर्य बढो लोभलाग्दो छ । यात्रामा पुगेका शहरहरूको विशेषता, बाटोघाटो, होडिङ बोर्डले देखाएको समृद्धि, कृषि उत्पादन, पर्यटन, व्यापार व्यवसायलाई मिहिन तरिकाले नेपालसँग तुलना गर्दै यात्रा अगाडि बढेको छ ।

‘सुदूर दक्षिणको धरतीमादेखि, फुलनदेवी सम्मको शीर्षकमा यात्राको मिहिन वर्णन छ। सहर र सभ्यताको साङ्गोपाङ्गो चित्र उतारेकी छन् । प्रकृतिको स्वरूप कति जीवन्त किसिमले शब्दद्वारा अभिव्यक्त भएका छन् ।  कला, संस्कृति, प्रकृतिले धनी रहेछ दक्षिणभारत । पर्यटकले धानेको रहेछ भारतको दक्षिणी क्षेत्र । कति सचेत नागरिक । ड्राइभरको चेतना पनि उच्च स्तरको छ । सुन्दर र सफा छन् सडक र शहरहरू ।

मन्दिरभित्रको भव्यता र स्वच्छता अनुकरणीय छ । मन्दिरमा निमेषभर मात्र उभिन दिएको प्रसङ्गले मन्दिरमा उपस्थित भक्तजनहरूको आङ्कलन गर्न सकिन्छ । ठाउँठाउँको प्रकृति कति सुन्दर । केराको पातमा खाना खाने चलन पर्यावरणीय दृष्टिले कति राम्रो । मकर सङ्क्रान्ति दक्षिण भारतमा पनि भव्यताका साथ मनाइँदो रहेछ । नरिवलको तेलमा पकाएको खान मिठो नहुने कारणले नियात्राकारको मन सशंकित छ । तर आजको रूपान्तरित बजारमा सूर्यमुखी तेलमा पकाएको खाना चाख्दै नियात्राकार कथकलीको नृत्यमा निमग्न हुन्छिन् । सचेत मानव हृदय बोकेर गएकी नियात्राकारका दृष्टि कथकलीको कथालाई पनि गहिरिएर विमर्श गर्न थाल्छ ।

हरेक शहरको सभ्यतालाई आखिर भाषा, साहित्य, सङ्गीत, कला र संस्कृतिले नै बचाएको हुन्छ । नौलो नौलो संस्कृति हेर्न विभिन्न देशबाट पर्यटकहरू दक्षिणायन आएका छन् । थक्कडीको हात्तीहरूको प्रसिद्धि पनि उल्लेखनीय  रहेछ ।

केरलाको भूगोलमा रमाएको मनले अझ देवीदेवतालाई भेट्न पुग्छ मीनाक्षी मन्दिरको वास्तुकला, सौन्दर्य, अद्वितीय, अतुलनीय र अद्भुत रहेछ । मन्दिरको गोपुरमा भएको कलाकारिता वर्णनातित छ । ईल्याको शब्दाङ्कनले मलाई जिज्ञासु बनायो । मैले पनि प्रविधिको प्रयोग गरेर रामेश्वरम, उडिसाको सूर्य मन्दिर र मीनाक्षी मन्दिर, अन्डमान नोकोबार, कालापानी,एलेप्पी, नील द्वीप, ह्याभलक द्वीप, इलेफेन्ट बिचको दृश्यात्मक भ्रमण हातैमा गरेँ ।

अहो ! अद्भुत रहेछ मन्दिरको वास्तुकला । प्रकृतिको सुन्दरता । प्रविधि र विकाशको उत्कृष्टता प्रायः नियात्राभरि मठमन्दिरको दर्शन, समुद्रको निलो पानीमा डुबुल्की  गाउँदै नुनिलो पानीमा गरिएको उत्सव, टापुको सौन्दर्य, मन्दिर र मूर्तिको विशेषता, श्रद्धा, आस्थालाई ईल्याले उठान गरेकी छन् ।

रामेश्वरमको उत्पत्ति कथा पनि निकै रोचक छ । कालापानीको इतिहास कति पीडादायी छ । अन्डमान निकोबारका टापुहरूमा आज पनि नरभक्षी वनमान्छेहरू बसोबास गर्छन् भन्ने सुन्दा आङ नै सिरिङ्ग हुन्छ ।

गोपुरले घेरिएका मन्दिरहरू बडो रहस्यमयी लाग्यो । बाहिरबाट देखिएको मन्दिरको संरचना त मात्र गोपुर रहेछ । जस्तै जानकी मन्दिर । बाहिरबाट देखिने घुमेको भव्य संरचनाभित्र छुट्टै मूल मन्दिर छ । मीनाक्षी मन्दिर पनि त्यस्तै रहेछ ।

मलाई मन्दिरहरूको चर्चा गर्दै गर्दा एउटा कुराले मस्तिष्कलाई झङ्कृत गर्‍यो – आखिर मन्दिर किन बनाइन्छ ?  ईश्वरको साकार स्वरूपमा किन मूर्ति बनाइन्छ ? अँध्यारो ठाउँमा लुकाएर मूर्तिलाई किन सजाइन्छ ? मन्दिरमा किन धन, सम्पत्ति लुकाइन्छ ? मन्दिरको दर्शन गर्दा लक्ष्मीप्रसाद देवकोटाको मानवतावादी कविता बारम्बार याद आयो । हाम्रो संस्कृतिले मन्दिर बनाएर हामीलाई कता जान संकेत गर्दैछन् ? के वास्तवमा यत्रो खर्च गरेर मन्दिर निर्माण गर्नुको अर्थ सतही रूपमा पूजा गर्नु मात्र होला त ?

मन्दिरहरूको आकार प्रकार र विशेषताले मलाई यस्तो लाग्यो आखिर हरेक जीवभित्र एउटा भव्य मन्दिर छ । जसको ढोका मनुष्यले नै बन्द गरेको छ । आजको अशान्त मानवले त्यो ढोका खोल्नेबेला आएको छ । ईश्वरको घर निर्माण गरेर हाम्रा पुर्खाले पक्कै रहस्यको काम गरेका छन् । हाम्रा पुर्खाले अनावश्यक खर्च कदापि गरेनन् मन्दिर निर्माणको रहस्य हामीले बुझ्नै सकेका छैनौँ जस्तो लाग्यो ।

सायद हरेक तीर्थस्थलहरूले भन्दै छन्, ‘हार्दिक धन्यवाद छ, यहाँ आएकोमा तर के तिमीले स्वको यात्रा गरेका छौ ? आफै भित्रको पवित्र तीर्थस्थलको पनि भ्रमण गर है, अबदेखि ।”  म झसङ्ग भएँ । अहो ! हो त संसारभरि कति आस्थाका केन्द्र छन् । हरेक धर्मावलम्बीहरू आ-आफ्ना तीर्थस्थल निर्माण गर्छन्, आखिर किन ?

नियात्राकार घरी समुद्रको हावामा नुन चाख्न खोजेर बालिका बनेकी छन् । घरी हीराको टप हराएर गम्भीर, परिपक्व नारी भएकी छन् जो पूर्ण विश्वासका साथ हीराको टप त्यो भीडमा खोज्छिन् र भेट्छिन् पनि । कहिले पैसाको पर्स हराएको छ घरी सुनको बेरुवा औँठी हराएको छ । अचम्मसँग मूल्यवान् वस्तु हराउनु र अपत्यारिलो किसिमले भेटिनु बडो रमाइलो छ । हिन्दी सिनेका रमाइला प्रसङ्ग आएको छ । मुम्बई हिँडेका बेला नेपालीहरूको वास्तविक अवस्थालाई हृदयमा लिएर ईल्याले गरेको शङ्का, उपशङ्काको प्रसङ्ग हाँस उठ्दो भएर पनि निकै गहिरो र मार्मिक छ । फुलनदेवीको गाउँमा आतङ्कित मनको अवस्था पढ्न सकिन्छ ।

अन्त्यमा भन्नु पर्दा बहुआयामिक दर्पण हो दक्षिणायन । दक्षिणायनमा ओडारदेखि ओस्कार सम्मका विषयवस्तु अटाएका छन् ।