सन् १९४८ को अप्रिल-मे महिनाको अक्षय तृतीयादेखि बिपी कोइराला आमरण अनसनमा थिए जेलमा । आफूलाई अमानुषिक तवरले ६/६ महिनादेखि जेलमा राखेको प्रतिकारमा उनी अनसनमा बस्दा स्वास्थ्य स्थिति नाजुक हुँदै गैरहेको थियो । उनको स्वास्थ्य अत्यन्त नाजुक भैसकेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबमा, उनको आमरण अनसन तोडाउने मनसायले बिपी पत्नी सुशीला र आमा दिव्यासित मोहन शमशेरको वार्तालापका केही अंशको कुरा गरौँ ।
ल आउनु भो, अब तपाईंहरूको जिम्मा ।
अहँ हुन्न, जबसम्म छुट्दैन, यो सरकारको जिम्मा हो । मेरो छोरो जो सरकारको कैदी छ, कसरी मेरो जिम्मा हुन्छ ? ऊ मर्यो भने सरकार जिम्मेवार हुनुपर्छ !
होइन, सरकारको इज्जत छैन ! मोहन शमशेर कड्के !
आमाले भनिन्- यो तानाशाही सरकारको भन्दा मेरो छोराको इज्जत धेरै छ ।
त्यसो भए त तिम्रो छोरो मर्छ ।
आमाले भनिन्- मैले यही ठाउँमा आफ्नो दुलाहा सेलाएँ, म आफ्नो छोरो यहीं सेलाउन आएकी छु । धम्की नदिनु ।
२९ औं दिनमा अनसन तोड्दै गर्दा मोहन शमशेरले भनेछन् – बाहुन नानीले गाथगादी ताकेका रहेछन्, राज्य गर्नका निम्ति त पुर्पुरोमा लेखिनु पर्छ ।
आमा कड्किन् अब पुर्पुरोमा लेखेर आउने दिन गए । जनताको छोराले नै चलाउने हो गाथगादी । जग्गा जोत्नेको हो, घर पोत्नेको हो । नेपाली महिलामा रहेको चेतनाको यो उज्यालो आजको होइन, झन्डै पैसठ्ठी-सत्तरी वर्ष अघिको हो ।
विसं २०१२/१३ सालतिर भक्तपुरमा स्थानीय स्तरमा मालपोत उठाउने जिम्दार परिवारको यौटा युवक थियो । जो कुत-पोत केही बुझाउनु पर्दैन भन्थ्यो । भूमिहीन किसानको आन्दोलनमा आफै होम्मिन्थ्यो । लाग्छ दीव्या कोइरालाले भनेको जसको जोत उसको पोतको खास बिरुवा हो ऊ । ऊ अर्थात् जगन्नाथ आचार्य । ०१५ सालमा भक्तपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जगन्नाथ आचार्यको त्यसताकाको चुनावको एक्सुत्रीय नारा नै थियो, जमिन कसको जोत्नेको-घर कसको पोत्नेको ।
इतिहास पढ्दा नि थाहा लाग्छ, त्यस बेलाको अर्थात् २०१५ को सरकारले भूमिसुधार आयोग बनायो, जग्गाको हदबन्दी तथा बिर्ता खारेजी गर्यो र जमिनदारी उन्मुलन गर्ने सवालमा हस्तक्षेपकारी भूमिका खेल्यो । सरकार अपदस्थ भएपछि राजा महेन्द्रका पालामा पनि बिर्ता उन्मुलन तथा भूमिसुधारका कामहरू भएको देखिन्छ । उनै जगन्नाथ आचार्यले पञ्चायतभर जेल, दमन र निर्वासनबाट जीवन गुजारे र २०४६ को आन्दोलन पछि ०४८ सालमा पुनः निर्वाचित भए ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्रालय कै जिम्मेवारी लिए । स्वाभाविक रूपमा फेरि पनि मोही, भूमिहीन र सुकुम्वासीको पक्षमा खडा भए । जमिनदारको विरुद्धमा उभिने यौटा बलियो पर्खाल लाग्छ मलाई जगन्नाथ आचार्य । उद्योगका लागि जग्गा ओगटेर उद्योग नचलाउने आफ्नै मन्त्रीमण्डलका सदस्यहरू, पञ्चायतका हस्तिहरू, राजपरिवारका सदस्यहरू लगायतको जग्गा खोस्ने, एक परिवार एक लालपुर्जा प्रणाली विकास गर्ने, जग्गाको हवाई सर्भे गर्ने, जग्गाको तथ्याकंलाई कम्प्युटर प्रणालीमा लैजाने, भर्पाइ र कबुलियतनामा नभए पनि सँधियार बुझेर मोहियानी हक कायम गर्ने जस्ता कदम चालेर चर्चाको शिखरमा पुगेकै बेला आफ्नै सरकार स्वयं नै जमिनदारको हित रक्षामा उत्रिएपछि उनले मन्त्री पदबाट राजीनामा दिन बाध्य हुनुपर्यो ।
‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गर्ने अर्का एकजना विद्रोही नेता र उनले गरिब किसानका पक्षमा उरेलेको चेतनाको बिगुल पनि सम्झिरहेछु म यतिखेर । हो त, १५ वर्षमै भारतबाट मेट्रिक पढेर घर डडेलधुरा अमरगढी फर्केको ठिटो गाउँमा स्कूल खोल्छ, दलित बस्तीमा सहभोज गर्छ, आफ्नै घरमा आन्दोलन र संघर्ष गर्छ, २००६ सालमै तत्कालीन कांग्रेस पार्टीको सदस्य ऊ २००७ सालको क्रान्तिलाई धोका भन्छ, पार्टीबाट अलगिन्छ मुक्ति संघर्ष गठन गर्छ र भूमिहीन किसानका पक्षमा पहाड बनेर उभिन्छ । त्यसताकाको उसको चेतनाको दियो तपाईं कल्पना गर्नुस्- बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबको दिन आयो, ठालुको काल आयो । ऊ अर्थात् भीमदत्त पन्त ।
मलाई लाग्छ, दीव्या कोइराला, विश्वेश्वरप्रसाद कोइराला, भीमदत्त पन्त, जगन्नाथ आचार्य आदि नपढी आतोओडा पढ्दा कुनै मज्जा आउन्न । आतोओडाको भावभूमी पनि त्यही हो । उनीहरू सफल भएको भए वा त्यो चेतनाको आलोक झापाको सन्थाल बस्तीसम्म पुगेको भए आतोओडा लेखिन्थेन वा लेखिए पनि यो रूपमा लेखिन्थेन ।
बन्न त त्यसपछि पनि धेरै पटक गरिब सुकुम्बासी र मजदुरहरूको नारा फलाकेर नथाक्ने धेरै पार्टीका सरकारहरू बने । भूमि आयोग, सुकुम्बासी आयोग, दलित आयोग केके बने बने तर ती सब आयो-गयो मात्रै भए, मात्र कार्यकर्ता पाल्ने मेसो बन्यो ।
अब आउनुस् आतोओडामा । सुदूर पूर्व झापाको दक्षिणी भूभागतिर बसोबास गर्ने सीमान्तकृत सन्थाल जातिको पहिचान र अधिकार दुवै नपाएका भुइमान्छेहरूको गाउँघरको कथा हो आतोओडा । यसका अधिकांश पात्रहरू भूमिहीन सुकुम्बासी छन् । नाम पनि सन्थाल जातिका चलनचल्तीकै नामहरू छन् जस्तै फूलमुनी, सुराही, बुधीन, लुखी आदि । छन्, कोही तिनैसित यदाकदा जोडिन आउने अन्य समुदायका केही पात्र पनि छन् । सेना, प्रहरी, नेता तथा जमिनदार मुखिया त हुने नै भए । कुनै त्यस्तो स्वैरकल्पना, अतिरिक्त मसला र अतिरंजना खास केही छैन, सामान्य सरल रेखामा छ, आख्यान ।
अर्काको जमिन कमाएर न जन्मको न कर्मको ठेगान भएका, एक किसिमले हरुवा-चरुवाको कथालाई टिपेर उनीहरूको रहनसहन, विभिन्न संस्कार, रीतिरिवाज आदिलाई उनीहरूकै बोलीचालीको भाषामा पस्किएर लेखिएको गाउँघरको दुखदायी तर संघर्षको कथा हो आतोओडा । सन्थालहरूको जीवनसंघर्षका अधिकांश पक्षहरू उधिनेर, गहिरो अध्ययन र अनुसन्धान गरेर तिनका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक लगायत मनोविज्ञान, प्रेम, त्याग, समर्पणको बहुआयामिक पक्षलाई जीवन्त तवरमा शब्दमा उतार्नु त्यति सजिलो पक्कै होइन । अझै उनीहरूकै शैली र परिवेशमा । यस अर्थमा उपन्यासकार जानुका खतिवडा एक सफल आख्यानकार हुन् । उपन्यासमा उनीहरूको कथा मात्र हैन, उनीहरूको समग्र जीवन संघर्षको गाथा लेखिएको छ ।
‘आतोओडा’ उपन्यासमा सन्थाल जातिकी अलिक हठी र आफ्नो अस्तित्व खोज्न चाहे जस्तो देखिने आख्यानकारले केन्द्र वरपर राखेकी पात्र छे फूलमुनी । उसैको पहिलो लोग्ने सुराही छ, जसको अल्पायुमै मृत्यु भएका कारण देवर पर्ने बुधिनसँग दोस्रो विवाह भएको छ । बुधिन पनि उपन्यासको अर्को केन्द्रीय पात्र हो । ऊ सानैदेखि अरूको घरमा बसेर काम गर्नुको सट्टा आफैले केही न केही गर्नुपर्छ भन्ने सोच राख्छ । उसको दाजु तुरसा, यस्सो देखिन्छ विद्रोहको झिल्का लिएर ।
किताबका दुईचार पन्ना पढिनसक्दै मारिन्छ । त्यति छिट्टै किन मारिएको होला ? पाठकले यसरी पनि सोच्न सक्छ । त्यसको नजानिँदो स्वभाव बुधिनमा देखाउन खोजिएको छ कताकति तर अत्यन्त दुर्बल ढंगले । सन्थाल जातिका अन्य केही पारिवारिक पात्रका अलावा केही साहुमहाजन, सरकारी कर्मचारी, नेता, पुलिस, सेना आदि पनि आतोओडाको उत्तरार्धतिर भेटिन्छन् । उनीहरूको खास काम भनेकै सन्थाल जातिका गरिब मजदुर कमैयाहरूलाई दुःख दिने हो भन्ने मात्रै देखाइएको छ ।
ठाउँ ठाउँमा यौटै खण्डमा पनि केही चिन्हले छुट्याएर फरक समयका कुराहरू सम्झेकी छे फूलमुनीले, यसले पाठक झुक्किन्छ कथानकमा । सन्थाल जातिको पहिचानको समस्यासँगै आख्यानमा कताकति उक्त जातिको चाडपर्व मनाउने शैली, जन्म तथा मृत्युसंस्कार, तथा विवाहपद्धति आदि पनि आएका छन् । विवाहको प्रसंगमा एक ठाउँमा छ –
‘सिन्दूर हाल्ने बेला भएको थियो । सुराहीलाई पनि तियाङले काँधमा उचाले । दुवै पक्षका जगमाझी हातमा पानीको लोटा लिएर उभिएका थिए । लोटामा राखेको आँपको पातले फूलमुनि र सुराहीलाई एकअर्कालाई पानी छर्किन लगाइयो । त्यसपछि सिन्दूर हाल्ने पालो आयो ।’
कथामा एकदम कम उल्लेख भएको पात्र तुरसाले राति हुँदो जमिनदारहरूको घरबाट अन्नपात ल्याएको थाहा पाएपछि उसको बाबुले भन्छ, ‘आफैले खेती गरेर थन्काइदिएको अन्न आफैले चोर्न थालिस् ?ֹ’
‘रोपेको पनि हामीले, गोडमेल गरेको, काटेर थन्काको पनि हामीले, फेरि उब्जनी सप्पै उनको मात्र कसरी भो ?’
‘जमिन तेरा बाउको हो त ?’
‘तिम्रा बाउको त थ्यो त बाबा किन जगाउन सकेनौ ? हडमबाले तेत्रो दुख गरेर झोडा फाँडेर बनाको जमिन हाम्रो कत्ति नभर उन्को मात्रै कसरी भो ? फेरि त्यो जमिनमा सप्पै काम हामीले गरेपछि फलेको अन्न हाम्रो नभर उनको कसरी ?’
यस्तै यस्तै संवाद पनि छन् आतोओडामा ।
जहाँ तुरसा भन्छ – ‘हडमबालाई कहिले डर देखाएर, कहिले फकाएर मालिकले कागतमा बूढी औँलाको छाप हान्न लगाए । हडमबालाई कागत पढ्न आउँदैन थियो । अलिअलि गर्दै सप्पै जमिन उनको भयो । बजारको जमिन लिएर चप्रामारीको पाखो बारीमा छाप्रो हाल्न दिएका थिए । त्यो पनि त पहिले त हडमबाकै थियो । तर कागज थिएन । कागज कसरी बनाउने पनि थाहा थिएन । बाबा र हप्पनबालाई पनि पढ्न लेख्न आएन । दशतिर ठोकर खाएपछि उनीहरू बोल्न नसक्ने भएका थिए ।ֹ’
तर त्यो विद्रोहको झिल्को बल्न नपाउँदै निभ्यो । रातो झण्डा बोकेको आरोपमा सेनाले समातेर लागेको महिना दिनपछि उसको लास भेटियो । तुरसाले रातो झण्डा गाडेको जमिनको जमिनदार पछि त्यही झण्डाको बाटो भएर झण्डा हल्लाएर चिल्लो गाडी चढ्ने भयो । त्यस्तो कडा तुरसाको भाइ बुधिन त्यति निरीह कसरी बन्यो होला है !
सामान्य पाठकलाई पनि सहजै लाग्छ कि, तुरसाको क्रान्तिलाई जुनकिरी जस्तो देखाइएको छ । फूलमुनीलाई सुरुमा हठी, निडर, निर्भीक जस्तोजस्तो देखाउन खोजिए पनि उसलाई पनि समयक्रम सँगै निरीह देखाइएको छ । बुधिन मनमा विद्रोह पाल्छ तर अहँ कहीं आफ्नो हक अधिकारको कुरा गर्दैन । त्यत्रा मजदुर, किसान तथा कमैया मुक्ति आन्दोलनका खेती गर्ने पार्टी, संगठन तथा एनजिओ/आइनजिओ को कतै नामोनिसान देखिन्न । तिनीहरू कहाँ छन् हँ ? कागजमा ?
धेरै ठाउँमा सन्थाल जाति विशेषले बोल्ने भाषाको प्रयोगले पाठकलाई सरसर्ती नतान्न पनि सक्छ, बेलाबेला किताबको पुछारको पानो पल्टाउँदै, रोकिंदै अघि बढ्नु पर्छ, कतिपय त विषय प्रसङ्गले बुझिन्छ तर पनि पाठक रोकिन्छ पटक पटक । यो समस्या यस्तै प्रकृतिका अन्य कैयन् कृतिहरूको साझा समस्या हो, त्यसलाई त्यसैगरी बुझ्नु पर्छ भन्ने लाग्छ, मलाई । काव्यिक भाषा शैली छ, सुन्दर कवितात्मक बिम्ब पनि छन् ठाउँ ठाउँमा, कतै मिलेजस्तो कतै नमिले जस्तो पनि । यस्तैयस्तैमा किताब सकिएको पत्तै पाउन्न पाठक ।
प्रेम अजर अमर विषय हो, सम्भवतः सबभन्दा बढ्ता लेखिएको विषय पनि । आतोओडाको सूक्ष्म पठन गर्दा फूलमुनिको सुराही र बुधिनसित अनि बुधीनको लुखी र फूलमुनीसित प्रेमको अनौठो सूत्र भेटिन्छ । यसको मनोवैज्ञानिक पठन गर्ने हो भने कतै आत्मिक जस्तो देखिन्छ प्रेम । कतै सामान्य घरजम, वाध्यात्मक, र काम चलाउ जस्तो मात्रै लाग्छ ।
आदिवासी संथालहरू पुस्तौंदेखि माटोसित खेल्दै आएका छन् । जमिनदारको घरमा हलीमुजुरी गर्नु उनीहरूको जीवन पद्धति बनेको छ । श्रीमती/छोराछोरीहरू पनि जमिनदारकै घरमा घरेलु कामदार बसेका छन् । ती मध्ये केहीले चुहिने भने पनि गोठ पाएका छन्, र आफूलाई अरूभन्दा अलिक भाग्यमानी सम्झेका छन् । केहीले त्यही पनि पाएका छैनन् । पानी पर्दा रातभर जागा बसेको, जमिनदारको गोठमा डिंगाहरूसित वार्तालाप गरीगरी रात काटेको, जमिनदारको परिवारले फाल्न ठिक्क पारेका थांगनाथराहरूको एकसरो बिस्तारा त्यही पनि पानीमा डुबेको, र त्यस्तै पनडुब्बी भान्छामा मुसा-ढोंगी-माछाको खान्की यस्ता कैयन् विरह लाग्दा प्लट छन् आतोओडामा ।
त्यति हुँदाहुँदै पनि सन्थाल जातिका मान्छेहरूको न जन्मस्थानको कुनै ठेगाना छ, न कुनै निस्सा छ उनीहरूसित । बर्षेनी कामकै सिलसिलामा बास फेरिरहने घुमन्ते जातिका यी मान्छेहरू, मान्छे कम र काम गर्ने मेशीन बढ्ता लाग्छन् । बाबुआमा स्थायी बासका लागि सङ्घर्ष गरिरहेकै बेला छोराछोरीहरू पनि घर बनाइ नै खेलिरहेका छन् । लाग्छ, सन्थाल जातिका बच्चाहरूमा पनि घर प्रतिको मोह छ । नहोस् पो किन ?
आफ्नै माटोमा पसिना पोखेर माटो जस्तै बनेका उनीहरूसित माटो त छ तर त्यसको स्वामित्व छैन । जन्मले र कर्मले खास त्यो माटोको नागरिक त उनीहरू नै हो तर उनीहरू कसैसित पनि नागरिकता नामको कागज छैन । कामकै सिलसिलामा काम र बास सर्दा सर्दा दिक्क फूलमुनी रगत पसिना बगाएर, आफ्नो हाड घोटेर जम्मा पारेको दुईचार पैसामा आफ्ना खसी, कुखुरा, अन्नपात सबै बेचेर भने पनि जहाँ सकिन्छ त्यही आफ्नो बास बनाउन कसिन्छे, त्यो पनि आफूले बसेको गोठसहितको जग्गा जमिनदारले अर्कैलाई बेचेपछि । धेरै पछि दूर गाउँमा अलिकति जग्गा त भेटिन्छ त्यो दाममा तर मालमा जाँदा नागरिकता हुन्न । त्यही कागजको पछिपछि दौडिन्छ बुधिन, तर अहँ केही जोर चल्दैन उसको । कति नेता भेट्छ, जमिनदार भेट्छ, उसकै दाजु तुरसाको बलिदानीको रातो झण्डाको बाटो भएर कुर्चीमा पुगेको वडा अध्यक्ष उल्टै भन्छ – तँ यै ठाउँमा जन्मेको, बसेको केही प्रमाण छैन । नेपाली नै होस् भन्ने आधार पनि छैन, नागरिकताका लागि सिफारिस गर्न मिल्दैन ।
‘मेरो हडमबाले यो ठामको झोडा फाडेर बस्ती बसाका रे ? ….मालिक तेती यौटा कागत बनाइदिनु बोरू म वर्षभरि तपाईंको घरमा हली बसुम्ला ।’ केही जोर चल्दैन बुधिनको । कति दिनपछि केही जोर नचलेर छोराछोरीको जन्मदर्ता गरेर कागतको पछि लाग्न छोडेर सामान्य घरेलु कागजमा अलिकति जग्गा किनेर छाप्रो हाल्छ । बडो दुखले ठड्याएको त्यही छाप्रो नि बनेर सर्न नभ्याउँदै उसको रहन्न, उसलाई बेचिएको जग्गा सबै बाटोमा पर्छ भनिन्छ । फेरी ऊ माटोमै मिल्छ, तर माटो उसको हुँदैन । उता चुनावी गीत घन्की रहेछ: धरतीपुत्र हे वीर किसान हो–जमिन हुन्छ जोत्नेको !
विसं २०२८ ताका भारतको पश्चिम बङ्गालको राज्यको नक्सलवादी आन्दोलनको प्रभावमा झापा जिल्लामै ‘वर्गशत्रु खत्तम अभियान’ चलेथ्यो । खासमा त्यो पनि जम्मा गरेको अन्नपातको समानुपातिक वितरण वा गरिब मजदुरहरूमा सम्पूर्ण रूपमा बाँडिनु पर्छ भनेर चलेको भनिन्छ सुरुमा । पछि जे जसरी जता मोडिए पनि । सन्थालहरूको बस्ती त्यहाँबाट कता पर्छ ? कि यो कथा त्यो भन्दा अघिको हो ? के त्यसको कत्ति पनि प्रभाव परेन सन्थालहरूमा ? दीव्या कोइराला, भीमदत्त पन्त वा जगन्नाथ आचार्यहरूले चलाएको हावासम्म पनि पुगेन सन्थाल बस्तीमा ।
अनि, झापामा बनेको सबैभन्दा अग्लो भ्युटावरबाट देखिन्न संथाल बस्ती । फेरि, मुलुकका सबैभन्दा ठूला भनिएका पार्टीका नेताहरू देखि सरकार प्रमुख तथा सरकारका जिम्मेवार निकायमा झापा छुटेको छैन जस्तो लाग्छ । र पनि यस्तो दुर्दशा ? पाठकले यसरी पनि सोच्न सक्छ आतोओडा पढिरहँदा । कतिपय पात्रहरूको नाम त्यहाँका उक्त समुदायका विभिन्न समयका अगुवाहरूसित पनि मिल्छ । फूलमुनी र बुधिन जस्तै साँच्ची के सन्थाल जातीका सबै मान्छेहरू देउताको गाई तथा रेडपाण्डा जस्तै सुधा प्राणी नै हुन् ? यति निरीह किन बनाइएको होला सन्थाल समुदायलाई ? कि, उनीहरू सबै यस्तै निरीह हुन् ?
यति हुँदाहुँदै पनि भाषा सरल, सहज र मिठास छ । यसले सन्थाल जातिको दुखको कथा र जीवन संघर्षसँगै उनीहरूमा रहेको प्रेम, त्याग, समर्पण र सम्बन्धहरूको जीवन्ततालाई सजीव ढंगले उतारेको छ । यस अर्थमा आतोओडा अधिकारविहीनहरूको जीवन कथा हो, पहिचानविहीनहरूको संघर्षको नालीबेली हो । म निर्धक्कसित भन्न सक्छु, कृति पठनीय छ र संग्रहनीय छ ।
पोखरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।