घनश्याम न्यौपाने ‘परिश्रमी’ नेपालका चर्चित गजलकार मात्र नभएर गजलमा पहिलो विद्यावारिधि गर्ने व्यक्तित्व पनि हुनुहुन्छ । उहाँको जन्म २०१५ साल असार १४ गते गण्डकी अञ्चलको स्याङ्जा जिल्लाअन्तर्गत श्रीकृष्ण गण्डकी गा.वि.स.२ बलाम नित्यडाँडामा भएको हो। पिता रुक्मागत न्यौपाने र माता तारादेवी न्यौपानेको कोखबाट जन्मिनुभएका ‘परिश्रमी’ विद्यार्थी जीवनदेखि नै साहित्य साधनामा लाग्नुभयो । नवलपरासीको वर्दघाटमा स्थायी बसोबास गर्नुहुने ‘परिश्रमी’ २०५९ देखि रूपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा अध्यापन पेसामा संलग्न हुनुहुन्छ । परिश्रमीसँग साहित्यपोस्टका लागि सर्वज्ञ वाग्लेले गर्नुभएको कुराकानीः

–तपाईंले त गजलमै विद्यावारिधि गर्नुभयो हगि ?
हजुर । संयोगवश गजलमा विद्यावारिधि गर्ने पहिलो नेपाली बन्ने सौभाग्य मलाई प्राप्त भएको छ ।

–गजलमा नै विद्यावारिधि गर्नुको कारण ?
नेपाली गजलको पुनर्जागरणको चरणमा यसको सैद्धान्तिक पक्ष निकै कमजोर थियो । म पनि पुनर्जागरण कालको पहिलो चरणमा नै गजलमा प्रविष्ट भएको थिएँ । गजल लेख्ने क्रममा मैले उर्दु र हिन्दी गजलहरू पढ्न थालेँ भने यसको सिद्धान्तको अध्ययनमा पनि म लागेँ । त्यतिखेर नेपालीमा गजलबारे सैद्धान्तिक ज्ञान दिने पुस्तक त के, सामान्य लेखहरूको पनि अभाव थियो । यसका लागि हिन्दीमा लेखिएका तथा देवनागरीमा लिपिमा छापिएका उर्दुका सैद्धान्तिक किताबहरू किनेर पढ्न सुरु गरेँ । अध्ययनका आधारमा नेपालीमा गजलबारे सैद्धान्तिक आलेख र समीक्षाहरू पनि लेख्न थालेँ । गजलको सिर्जना र समालोचना दुवैतिर म डुब्न थालेँ । अब मैले नेपाली गजलका लागि आजसम्म कसैले नगरेको काम गर्नुपर्छ भन्ने लाग्यो । यसैका लागि मैले अध्ययनको दायरालाई फराकिलो बनाउने सन्दर्भमा विद्यावारिधि उपाधिहेतु मानसिकता बनाएँ र सफलता पनि पाएँ । मूलतः नेपाली गजललाई सिर्जनात्मक ढङ्गबाट मात्र होइन, अपितु सैद्धान्तिक दृष्टिले पनि सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले मैले गजलमा विद्यावारिधि गरेको हुँ ।

–वास्तवमा तपाईं गजलको आधिकारिक व्यक्ति हुनुहुन्छ । के हो गजल भनेको ?
गजललाई परिभाषित गर्दा विभिन्न आधार अवलम्बन गर्नुपर्ने हुन्छ । प्रथमतः गजल ईसाको सातौँ शताब्दीतिर अरबी भाषिक र साहित्यिक धरातलमा नारी वा प्रेमिकालाई केन्द्रमा राखी शृङ्गारिक शैलीमा प्रणयभाव अभिव्यञ्जन गर्ने काव्यको एक पृथक् प्रविधाका रूपमा यसको जन्म भएको थियो । अरबबाट यो त्यस युगको फारस, अहिलेको इरान हुँदै भारतीय भूमिमा आयो र हिन्दी तथा उर्दुमा विस्तार भयो । बिस्तारै संसारभरि विभिन्न भाषाका साहित्यमा यसले प्रवेश पायो भने लोकप्रिय पनि हुँदै गयो । आरम्भमा माथि भनेझैँ शृङ्गारिक शैलीमा प्रणयभाव अभिव्यञ्जन गर्ने काव्यको एक पृथक् प्रविधाका रूपमा यसको जन्म भएको भए पनि क्रमशः सुफी सन्तहरूले यसलाई ईश्वरभक्तिको माध्यम बनाए । यसरी विषयवस्तुको साँगुरो घेरालाई भत्काउँदै गजलले सामाजिक सरोकारका हरेक विषयलाई आफूमा समेट्न थाल्यो । यसर्थ अब आजको गजल प्रेमको साँगुरो घेराबाट बाहिर निस्केको छ ।

अर्को कुरा गजल कथ्यका दृष्टिले विभिन्न स्वायत्त, तर संरचनाका दृष्टिले कुनै न कुनै बहर र काफिया तथा रदिफको एउटै जमिनमा रहेर लेखिने सेरहरूको माला हो । यसका हरेक सेर अर्थ र भावका दृष्टिले पूर्णतः स्वायत्त हुन्छन् भने बहर र काफिया बन्धनले भने एउटा सूत्रमा बाँधिएका हुन्छन् । गजलका सेरहरूमा थोरै शब्दमा धेरै कुरा भनिएको हुन्छ । सेरहरू चोटिला, चमत्कारपूर्ण र सूत्रजस्ता हुनु गजलको विशेषता हो । यसबारे मैले झन्डै तीनदशकपहिले लेखेको सेर यहाँ पेस गर्दछु–

जुन सेरले दिल छुँदै छुँदैन
लेखेर त्यस्तो गजल हुँदैन

–नेपालमा गजलको विकास कसरी भएको छ ? र नेपाली गजलको भविष्य कस्तो छ ?
नेपाली गजलका जनक मोतीराम भट्ट हुन् । मोतीमण्डलीका सबैजसोले त्यस बेला गजल लेखेको देखिन्छ भने शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगरलगायतले गजलमा सक्रियतापूर्वक कलम चलाएका थिए । यसपछि महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, नीलहरि शर्मा ढकाल, गुरूप्रसाद मैनालीहरूले पनि फाट्टफुट्ट गजल लेखेको देखिन्छ । खासगरी जिगरपछि गजललेखनमा सुषुप्ति आएको थियो । नेपाली गजलको पुनर्जागरण २०३६ तिरदेखि भयो । ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनु व्राजाकी, धर्मोगत शर्मा तुफानहरूले गजलको पुनर्जागरणमा भूमिका खेलेका हुन् । यस चरणमा रवि प्राञ्जल, घनश्याम परिश्रमी, बुँद राना, श्रेष्ठ प्रिया पत्थरलगायतका दर्जनौँ गजल स्रष्टाको उदय भएको देखिन्छ । वास्तवमा यस चरणका गजलकारहरूले बहरलाई अवलम्बन गरी गजल लेखेको देखिन्छ । यसै बिच मैले गजलमा बहरको कुरा उठाएँ र केही गजल बहरमा पनि लेखेँ । तर बहर नबुझ्नेहरूको भिडमा म एक्लो बृहस्पति हुनु परेको थियो त्यो जमानामा । बिस्तारै बूँद राना, सनतकुमार वस्ती, केशवराज आमोदी, गोविन्द विनोदीहरूले छन्दबाट प्रभावित किसिमको बहरमा गजल लेख्न थाले । घनेन्द्र ओझाको नेतृत्वमा अनाम मण्डली गठन भएपछि केही छन्द बुझ्ने÷छन्दमा कविता लेख्ने युवाहरूले छन्दमा नै गजल लेख्न सुरु गरे । देवी नेपालले यस समूहलाई गुरुको भूमिका निर्वाह गरेको देखिन्छ ।

अनाम मण्डलीभित्रकै उत्पादन आवाज शर्मा बहरको गहन अध्ययनमा लागेपछि वास्तवमा मैले २०४४ तिर नै उठाएको आवाजले सार्थकता पायो । त्यसो त नेपाली गजलमा संरचनात्मक दृष्टिले प्रशस्त विवादहरू छन् । गजलमा बहर चाहिँदैन भन्ने एउटा जमात आज पनि छ । बहरबिनाको गजल हुनै सक्तैन भन्दै बेबहरका रचनालाई चारु नाम दिएर एकातिर देवी पन्थीले सिद्धान्त नै बनाएर यसको प्रचारप्रसार गर्दै हिन्दीमा समेत पु¥याएको पाइन्छ भने बेबहर गजललाई गीतल नाम दिनुपर्ने मुरलीधरको पुरानो आग्रहलाई अवलम्बन गर्नेहरू पनि छन् । यसरी नै बेबहरमा लेखिएका गजल शैलीका रचनालाई आधुनिक गजल भनेर नामकरण गरिएको पनि देखिएको छ । यी तीनवटै अभियान संस्थागत रूपमा अगाडि बढेका छन् । तर पनि वास्तवमा गजलका लागि बहर अपरिहार्य रहेछ भनेर बुझेका र बहरमा नै गजल लेख्दै आएकाहरूको अभियान उत्तिकै सशक्त छ । बहरबद्ध अर्थात् खास गजलको उन्नयन र संवद्र्धनहेतु अब नेपाली गजलको यान विपथनबाट राजमार्गमा गुड्दै छ । गायनका क्षेत्रमा भने नेपाली गजल भरखर, भरखर आरम्भको सोपानमा टेक्दै छ । गजल गायकीको ज्ञान भएका सङ्गीतकार र गायकहरूको भने अभाव छ । तर पनि नेपाली गजलको भविष्य राम्रो नै देखिन्छ ।

–गजलको विषयमा कुरा चल्दा तपाईंले बहरको पनि प्रसङ्ग ल्याउनुभयो । के हो बहर भनेको ? बहरबिना गजल हुन्छ कि हुँदैन ?
बहर अरबीको बह्र शब्दको आगन्तुक रूप हो । यसको अर्थ हो छन्द । संस्कृत परम्पराका विविध छन्दहरूबाट बहर पूर्णतः प्रभावित देखिन्छ । यसको यहाँ विस्तृत चर्चा गर्नु सम्भव छैन । गजलको पहिलो सर्त हुन्छ गायन । त्यो पनि नवशास्त्रीय शैलीको । आधुनिक गीत, लोकगीत गाएजस्तो हुँदैन गजल गायकी । गजल गायनका लागि नै बहरहरू बनाइएका हुन् । अर्थात् बहरमा निर्दिष्ट लयलाई अक्षरशः पालना गरेर गजल गाउनुपर्छ । यसर्थ बहरबिनाको गजलको कल्पना गर्न सकिँदैन ।

–छन्द र बहर भनेको एउटै हो पनि भन्छन् । के फरक छ यी दुईमा ?
बहर भनेको छन्द हो भन्ने कुरा माथि आइसकेको छ । तर संस्कृतका पिङ्गल छन्दमा कठोरता हुन्छ, लेखनका आधारमा गणहरू प्रभावित हुन्छन् भने बहरमा उदारता हुन्छ , उच्चारणका आधारमा अर्कानको वजन प्रभावित हुन्छ । उदारता भन्नाले बहरमा हुने लचकतालाई बुझ्नुपर्दछ ।

–बहरमा हुने लचकता भनेको के हो ? स्पष्ट पारिदिनुहुन्छ कि ?
राम्रो प्रश्न गर्नुभयो । लचकताले कथ्य भाषालाई सम्बोधन गर्दछ । यसमा मात्रागिरावट, मात्राचढावट, मात्रामिलावट, हर्फे इजाफी, लोपजस्ता नियम लागु हुन्छन् । जस्तैः छन्दमा गगन, सगर, कलम, शिशिर क्रमशः १११ अर्थात् तीन लघु मानिन्छन् । मन, दिल, वन, शिर क्रमशः ११अर्थात् दुई लघु मानिन्छन् । तर बहरमा गगन, सगर, कलम, शिशिर उच्चारणका आधारमा क्रमशः १–२ अर्थात् लघु र गुरु मानिन्छन् । मन, दिल, वन, शिर उच्चारणका आधारमा क्रमशः २ मात्रा अर्थात् गुरु मानिन्छन् । यसै गरी बहरमा आवश्यकता अनुसार ईऊएओ र शब्दान्तमा आलाई समेत गिरावट गरेर १ मात्रा अर्थात् लघु मात्रामा प्रयोग गर्न सकिन्छ । यसलाई मात्रा गिरावट भनिन्छ । यसरी नै बिचका अडानहरूमा र मिसराहरूका अन्तमा रहेका १ अर्थात् लघु मात्राहरूलाई २ अर्थात् गुरु मात्रामा चढाउन सकिन्छ । यसलाई मात्रा चढावट भनिन्छ । लगातार आउने र सँगसँगै उच्चारणमा बाधा नपर्ने १–१ अर्थात् दुई लघु मात्राहरूलाई २ अर्थात् गुरु मात्रामा प्रयोग गर्न सकिन्छ । यसलाई मात्रामिलावट भनिन्छ । यसरी नै हात, रीत, केश, रूप दाँत, कोश जस्ता सामान्यतः अन्तमा हलन्त जस्तै उच्चारण हुने शब्दहरू मिसराहरूको अन्तमा प्रयोग भएका अवस्थामा २–१ अर्थात् गुरु र लघु भार नमानी २ मात्र भार मानिन्छ । यसलाई हर्फे इजाफी भनिन्छ । गजलमा शब्दहरू व्याकरणको नियम अनुसार लेखिन्छन्, तर केही शब्दहरूको उच्चारण छोटोमा गर्नुपर्ने हुनसक्छ । जस्तैः अहिले पहिरो , पहारिलो जस्ता शब्दहरू बहरमा प्रयोग भएको अवस्थामा उच्चारण ऐले, पैह्रो, पारिलो गर्नुपर्ने पनि हुनसक्छ । यसलाई लोपको नियम मानिन्छ ।

–अहिले नेपाली गजलका सन्दर्भमा घनु बहरको खुब चर्चा छ । कस्तो हुन्छ यो घनु बहर भनेको ?
घनु बहर मेरा शिष्य गजलकार ध्रुव गजुरेलले बनाउनुभएको नयाँ अर्कानबाट बनाइएको बहर हो । उहाँले अचानक मलाई गुरुदक्षिणा भनेर मेरो छोटो नाममा नामकरण गरी गोरखापत्रमा प्रकाशित गरेपछि यसले चर्चा पाएको हो । अहिले यस बहरमा धेरैले गजलहरू लेख्नुभएको छ ।

यसको संरचना यस्तो रहेको छ –
अर्कान–मफ्ऊलातु, फैलुन्, फऊलुन्, फऊलुन्

वजन–२२२१–२२–१२२–१२२

–गजल र बहरका बारेमा जानकारी दिने तपाईंका सैद्धान्तिक कुनै किताब प्रकाशित छन् कि ?
छन् नि, मेरो गजल सौन्दर्य मिमांसा पहिलो सैद्धान्तिक किताब हो । यसको पहिलो संस्करण २०६४ मा र दोस्रो संस्करण २०६६ मा प्रकाशित भएको थियो । अर्को बहर र गजल नामक सिद्धान्तको तीस दिनको कोर्सको किताब २०७९ मा प्रकाशित भएको छ । दुवै कृति पाठकहरूले अत्यन्त मन पराउनुभएको छ ।

–खाली समय कसरी बिताउनु हुन्छ ?
तासजुवा खेल्दिनँ, अन्य खेल र मनोरञ्जनमा पनि खासै मन रमाउन्न । फुर्सदको समय थोरै आराम गरेर र धेरै पढ्ने, लेख्ने, खासगरी गजलकै बारेमा खोज अनुसन्धान गर्ने गरेर व्यतीत गर्दछु ।

–डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?
यसको आरम्भको लामो इतिहासतिर नजाऊँ । वास्तवमा रोजगारी वा अन्य सिलसिलामा वैदेशिक भूमिमा गएका र आफ्नो श्रम, सीप, विवेक त्यहाँ नै खर्च गर्न बाध्य प्रतिभाली व्यक्तिहरूको आफ्नो मातृभूमिप्रतिको आस्था, प्रेम र सद्भावसहित आफू रहेको भूमिमा भोगेको र अनुभूति गरेका कुराहरू अभिव्यक्त गरेका रचना वा कृतिलाई डायस्पोरिक साहित्य भनिन्छ । नेपाली साहित्यमा पनि डायस्पोरिक कृतिहरू आइरहेका छन् र तिनले महŒव पनि पाएका छन् । विश्वविद्यालयहरूमा डास्पोरिक साहित्यका बारेमा पनि पठनपाठन हुने गरेको छ । यो राम्रो पक्ष हो ।

–अन्त्यमा नवस्रष्टाहरूलाई केही भन्न चाहनुहुन्छ कि ?
साहित्यकार सजिलै बन्न सकिँदैन । रहरले मात्रै कुनै व्यक्ति कवि÷स्रष्टा बन्दैन । हिन्दीमा एउटा उक्ति छ–जहाँ नपहुँचे रवि, वहाँ पहुँचे कवि । कविर्मनीषी, परिभूः स्वयंभू,÷ अपारे काव्य संसारे कविरेक प्रजापति÷न कवेः वर्णने मिथ्या कविः सृष्टिकरः परः जस्ता संस्कृतका उक्तिहरूले पनि कवि वा स्रष्टाको महŒवमाथि प्रकाश पारेका छन् । हरेक स्रष्टामा सामान्य मान्छेहरूको भन्दा फरक, धारणा, दृष्टि र चिन्तन हुनुपर्छ । स्रष्टा त्यो मात्रै हुनसक्छ जसमा सघन संवेदनशीलता र श्रुति, दृष्टि, अनुभूति तथा भावना, कल्पना र विचारलाई कलात्मक रूपमा अभिव्यञ्जन गर्ने कला र क्षमता हुन्छ । नवसर्जकहरूले लगन र साधना तथा अभ्यास र अध्ययनबाट आफ्नो प्रतिभालाई खार्न र परिष्कार गर्न चुक्नु हुँदैन । अन्यथा मुकुन्दशरण उपाध्यायले एउटा कवितामा भनेजस्तै लेखेर मात्रै कविता हुँदैन । नवस्रष्टाहरूले पारसमणि प्रधानका यी पङ्क्तिहरूको मर्म र भाव पनि बुझ्नु पर्दछ –

कवि कविता होस्, कविता कवि होस् तब पो कविता हुन्छ
शब्द थुपारीकन के हुन्छ, भाव भए पो हुन्छ !