कवि श्री कोमलप्रसाद भट्ट (कोमल भट्ट) ज्यूको जन्म चन्द्रागिरि नगरपालिका- १३, पुरानो नैकाप,काठमाडौँमा भएको हो । हाल उहाँ अमेरिकाको न्यु योर्क बसोबास गर्दै आउनुभएको छ । सानैदेखि विलक्षण प्रतिभाका धनी कोमल भट्ट विद्यालय स्तरमा अध्ययन गर्दादेखि नै नेपाली साहित्यमा आफ्नो कलम चलाउँदै आउनु भएको हो । जीवनको साँढे तीन दशक शिक्षण पेसामा बिताउनु भएका कविज्यू काठमाडौँको एउटा सरकारी विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो साथै मा वि स्तरमा नेपाली भाषा शिक्षण गर्नु हुन्थ्यो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गर्नु भएका कविज्यूले काठमाडौँ शिक्षा क्याम्पसमा सहायक प्राध्यापकको रूपमा पनि १० वर्ष अध्यापन गर्नु भयो । युग बोलेका देश बोलेका मीठा मीठा छन्दोबद्ध रचनाले पाठकको मन जित्न सक्नु कविज्यूको विशेषता हो । कविज्यूका अनगिन्ती छन्दोबद्ध कविता ,गजल तथा गीतहरू सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरूमा प्रकाशित हुँदै आएका छन् । अनेसासद्वारा आयोजित कविता प्रतियोगितामा कविज्यूले २/२ पटक नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्राप्त गर्नुभएको छ ।

प्रस्तुत छ, उनै सरल स्पष्ट र मृदुभाषी कवि कोमल भट्टसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेको साहित्यिक संवादको सम्पादित अंश; 

 

साहित्य पोस्ट परिवारको तर्फबाट तपाईंलाई हार्दिक स्वागत छ !

हजुर हार्दिक धन्यवाद !

साहित्य सिर्जनाको यात्रा कस्तो चलिरहेको छ ? साथै अचेल अरू के केमा व्यस्त  हुनुहुन्छ ?

साहित्य सिर्जनाको यात्रा अनवरत चलिरहेको छ। साथै आजभोलि स्वअध्ययनमा बढी व्यस्त हुन थालेको छु । त्यस बाहेक विभिन्न साहित्यकारहरूका कृतिहरू पढ्ने तथा घर परिवार एवं व्यक्तिगत काममा व्यस्त छु ।

साहित्य प्रतिको आकर्षण कसरी सुरु भयो ?

साहित्य र सङ्गीत भनेको यस्तो विषय हो जसमा अनायासै आकृष्ट हुन पुगिँदो रहेछ  । मेरो साहित्य लेखनको थालनी ६/७ कक्षामा पढ्दादेखि नै भएको थियो  । त्यति बेला विद्यालयमा प्रत्येक शुक्रवार साहित्य सम्मेलन हुने गर्थ्यो र मैले नियमित रूपमा भाग लिने गरेको थिएँ । यस बाहेक महाकवि देवकोटा,कवि शिरोमणि लेखनाथ पौडेल, बालकृष्ण सम, भिमनिधि तिवारी, गुरुप्रसाद मैनाली आदिका रचनाहरूले सानै उमेरदेखि औधी प्रभाव पारेका थिए र साहित्य लेखनमा प्रेरणा दिएका थिए। अझ शिक्षण पेसामा लागेपछि थप अध्ययन गर्ने अवसर जुऱ्यो । आफ्नै नेतृत्वमा प्रत्येक हप्ता साहित्य सम्मेलनको आयोजना गरिन्थ्यो । नियमित रूपमा आफ्ना रचना सुनाउने अरूका रचना सुन्ने क्रियाकलापले साहित्य लेखनमा तीव्र अभिरुचि पैदा गरायो । अध्यापनका  क्रममा नेपाली भाषा नै आफ्नो प्रमुख विषय भएकोले साहित्यमा झुकाव झन्झन् बढ्दै गयो । मलाई लाग्छ आजसम्मको लेखन यात्रा यसैको उपज हो ।

साहित्यप्रति तपाईंको धारणा  के छ ?

साहित्य लेखन भनेको समाजमा रहेका विसङ्गति विकृतिका विरुद्धमा आवाज उठाउनु हो । साहित्यले समाजमा रहेका कुप्रथा अन्त्य गर्न र सामाजिक जनचेतना फैलाउने कार्यमा अति महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । जनमानसलाई सुपथ र कुपथ सुझाउने कार्य साहित्यले नै गरेको हुन्छ । साहित्य विना सङ्गीत हुन सक्दैन, रस हुन सक्दैन, अलङ्कार हुन सक्दैन । कुनै पनि व्यक्तिको सिर्जनात्मक अभिव्यक्तिको मूल्याङ्कन गर्ने साधन पनि साहित्य नै हो । साहित्य बेगर यो संसार संसार जस्तो हुँदैन मृत प्राय:देखिन्छ । मानव जीवन प्रकृतिको अनुपम उपहार हो । साहित्यिक जीवनको एकातिर आनन्दमय पाटो पनि छ अर्कोतिर केही चुनौती र समस्याहरू पनि छन्  जीवन अनुभवहरूको सँगालो हो ! भोगाई र अनुभवबाट सिक्दै अगाडि बढ्नु पर्छ जस्तो लाग्छ ।

नेपाली भाषा साहित्य र साहित्यकारको भविष्य कस्तो देख्नुहुन्छ ? 

नेपाली भाषा साहित्य निरन्तर परिष्कृत हुँदै अगाडि बढिरहेको छ । पछिल्लो समयमा देश तथा विदेशमा रहेका युवा पुस्तामा पनि साहित्यिक संलग्नता र मोह देख्दा नेपाली भाषा साहित्यको भविष्य अत्यन्त उज्ज्वल छ जस्तो लाग्छ। जहाँ सम्म साहित्यकारको भविष्यको कुरा छ  यसैलाई आय आर्जनको पेसा र जीविकोपार्जनको आधार बनाउन सक्ने स्थिति भने अझै भैसकेको छैन । साहित्य क्षेत्र सरकारबाट पनि सबैभन्दा उपेक्षित क्षेत्र हो । नेपाली भाषाको अन्तर्राष्ट्रियकरण बृहत् नभएकोले नेपाली भाषीहरूको सीमित दायरामा पनि पाठक वर्गमा साहित्यिक लेख रचना र पुस्तकहरू किनेर पढ्ने बानीको विकास नभएसम्म साहित्य लेखनलाई भविष्यसँग जोड्न सजिलो छैन । यो पेसा भन्दा पनि सोखको विषय हुन पुगेको जस्तो प्रतीत हुन्छ । साहित्यकारको सुनिश्चित भविष्यका लागि अझै कुर्नु पर्ला भन्ने लाग्छ ।

अनेसास जस्तो साहित्यिक संस्थालाई कसरी हेर्नु हुन्छ ? अमेरिका जस्तो व्यस्त ठाउँमा साहित्यको सेवा पनि गर्नु भएको छ र घर परिवार यो कसरी समय मिलाउनु भएको छ ?

प्रवासमा रहँदा मातृभाषाको संरक्षण र संवर्द्धन गर्ने अभियानको प्रमुख सारथि अनेसास एउटा महत्त्वपूर्ण संस्था हो । यसलाई विशुद्ध विचारका साथ सुदृढ र सङ्गठित गरेर अगाडि लान सके अझै राम्रो हुने कुरामा दुई मत नहोला । प्रवासमा रहँदा समयको अभाव उचित माहौल र साहित्यिक सामग्रीहरूको कमी हुनाले गर्दा साहित्य लेखन सजिलो छैन । तर जहाँ इच्छा त्यहाँ उपाय भने जस्तो आफ्ना रहर र चाहनाहरू परिपूर्तिको लागि मान्छे जति सुकै कठिन परिस्थितिको सामना गर्न पनि तत्पर रहन्छ यो शाश्वत कुरा हो । समुचित समय मिलाएर लेख्नु पर्ने हुन्छ र लेखिँदै छ ।

 साहित्यलाई  राम्राे बनाउन के गर्नु पर्छ जस्तो लाग्छ ? 

निरन्तर साधना अभ्यास र अन्य साहित्यिक पठन सामाग्रीहरूको अध्ययनले आफ्नो लेखन स्तर राम्रो बनाउन सकिन्छ ! भाषागत शुद्धता कलात्मक शैली विधागत स्पष्टताले साहित्यिक सम्पन्नता चुलिन्छ साथै लेखकको लेखले समाजको निष्पक्ष वकालत गर्न सके सिङ्गो साहित्यको स्तरोन्नति र लोकप्रियता बढ्छ भन्ने मलाई लाग्छ ।

अर्को कुरा साहित्यलाई राम्रो गर्न साहित्यकारलाई प्रोत्साहन दिनु पनि हो । देशका कुना कन्दरामा रहेर आफ्नो लेखनीलाई निरन्तरता दिइरहेका तर कता कता हराएका लेखकहरूलाई खोजी खोजी हौसला प्रदान गर्न सके निश्चय पनि उनीहरूको प्रतिभा तथा साहित्यले  मौलाउने अवसर पाउँथ्यो ।

अहिले तपाईंले सोचे जस्तो लेख्न र अध्ययन गर्न सक्नु भएको छ ?

मैले भन्दा पनि पाठकले पढ्न चाहेजस्तो पाठकले सोचेजस्तो लेख्न सकेको छु कि छैन भन्ने कुरा प्रमुख हुन्छ । लेखकले  जीवन र जगतकाे प्रभावबाट सिर्जित भावनालाई आफ्नो लेखमा पोख्ने हो ! म आफ्नो रचना सोचेजस्तो नभए सम्म प्रकाशनमा ल्याउन चाहन्न । अध्ययन गरेर कहाँ सकिन्छ र ? सोचे जति अध्ययन गर्न नपाए पनि आफ्ना लेखहरूप्रति भने पूर्ण सन्तुष्ट छु ।

कृति प्रकाशनतिर पनि ध्यान दिनु भएको छ कि ?

झन्डै आधा दर्जनभन्दा बढी कृति प्रकाशनको सामग्रीहरू भएर पनि विभिन्न कारणवश प्रकाशनको संयोग जुरेको छैन । एउटा “कोमल मुनाहरू “(छन्दोबद्ध कविता,गजल र मुक्तक सङ्ग्रह)प्रकाशनको तयारीमा छु । आशा गरौँ स्नेह र सद्भावको प्रतीक स्वरूप यो कृति छिटै जन समक्ष आउनेछ । म विशेष गरी छन्दोबद्ध कविता गजल तथा मुक्तक लेख्न रुचाउँछु र लेखिरहेको छु । यसबाहेक स्वतन्त्र गजलहरू,गीतहरू तथा मुक्तकहरू पनि प्रशस्तै लेखेको छु । अनुकूल परिस्थिति मिलाएर सबै कृतिहरू एकैसाथ प्रकाशित गर्ने इच्छा लागेको छ । त्यसैको प्रतीक्षामा छु ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ?

सबै विधाका साहित्यिक पुस्तक लेख र रचनाहरू पढ्ने गरेको छु। धेरैजसो बहुचर्चित लेखकका बहुचर्चित कृतिहरू पढ्ने गरेको छु । सामाजिक परिवेश , ऐतिहासिक घटनाक्रम प्रकृति , सामाजिक सेरोफेरो तथा जीवन र जगत्सँग आधारित सिर्जनाहरूमा बढी चाख लाग्छ ।

तपाईंलाई साहित्य लेख्न प्रेरणा दिने तत्त्वहरू के के हुन् ? 

साहित्य र समाजको बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । समाजभित्र रहेका रोग, भोक, अशिक्षा, अभाव, उत्पीडन, असमानता, विभेद, हत्या हिंसा, हस्तक्षेप, कु प्रवृत्ति, कुसंस्कार,अधर्म,अत्याचार आदि जस्ता कुराहरूले मेरो मानसपटलमा सधैँ आक्रमण गरिरहेका हुन्छन् । अनवरत रूपमा मर्मान्तक पनि बनाउन पुग्छन् । वास्तवमा भन्नु पर्दा मलाई साहित्य लेख्न घचघच्याइने तत्त्वहरू यिनीहरू नै हुन् । जसलाई मैले मेरो लेखनीको प्रेरक तत्त्व पनि ठानेको छु ।

साहित्य र जीवनबिचको सम्बन्धबारे तपाईंको विचार के छ ?

साहित्य र जीवनको अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको छ । मेरो विचारमा साहित्य बिना जीवन नीरस हुन्छ र जीवन बिना साहित्य नीरस हुन्छ । साहित्य जीवनका सम्पूर्ण पाटाहरू देखाउने खुल्ला दर्पण हो जहाँबाट संसारभरिका जीवनहरूलाई देख्न र महसुस गर्न सकिन्छ ।

कुनै साहित्यिक संस्थासँग आबद्ध हुनुहुन्छ कि?

धेरैतिर संलग्नता भए पनि मैले औपचारिक रूपमा कुनै संस्थाको पनि सदस्यता लिएको छैन । माया गरेर बोलाएको ठाउँमा उपस्थित हुने गरेको छु । आफ्ना रचनाहरू वाचन गर्ने गरेको छु । कोरोनाको महामारीपछि नेपाली साहित्यको क्षेत्रमा जूमको प्रभाव अत्यधिक रूपमा देखा पऱ्यो । कैयौँ साहित्यिक समूहहरू निर्माण भए । प्रतिदिन जसो साहित्यिक कार्यक्रमहरू सञ्चालन हुन थाले  । म पनि भ्याएसम्म यस्ता कार्यक्रममा उपस्थित भएर आफ्ना रचना वाचन गर्ने गरेको छु ।

तपाईंको मन पर्ने साहित्यकार को को हुनुहुन्छ ? र किन ?

वास्तवमा कुनै पनि साहित्यकारको मूल्याङ्कन निजको कृतिको वा रचनाको आधारमा गरिन्छ । मन पर्ने र नपर्ने भन्नु भन्दा पनि आफूलाई कत्तिको प्रभाव परेको छ भन्ने कुरा प्रमुख हो । यसरी हेर्दा मलाई सर्वाधिक प्रभाव पार्न सफल साहित्यकारहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, भीमनिधि तिवारी, भूपि शेरचन, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, तारिणी प्रसाद कोइराला, जगदीश घिमिरे, पारिजात, डा तारानाथ शर्मा, रमेश खकुरेल, कोषराज न्यौपाने, भुवनहरि सिग्देल , मुकुन्दशरण उपाध्याय, डा शैलेन्दु प्रकाश नेपाल, डा नवराज लम्साल, प्रकाश पाण्डे, चन्द्रप्रसाद न्यौपाने, जयदेव गोविन्द, भवानी खतिवडा,लगायतका साहित्यकारहरू हुनुहुन्छ ।

हुन त वहाँहरू मात्र मन पर्ने अरू मन नपर्ने भन्ने कुरा हुँदै होइन । सबैको आआफ्ना विशेषताहरू छन्  कसैको कुनै कुरा मन  पर्छ । कसैको कुनै  । सबैको नाम उल्लेख गर्न सम्भावना पनि हुँदैन । कतिपय साहित्यकारका कृतिहरू पढ्ने अवसर पनि प्राप्त भएको छैन । कृतिको अध्ययन बेगर कसैको पनि मूल्याङ्कन गर्न सकिने कुरा होइन । समाजका ऐना भएका कारण साहित्यकारहरू सदा सर्वदा निष्पक्ष, स्वच्छ,सफा, बेदाग र छर्लङ्ग हुनुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईंलाई भन्न मन लागेका कुनै कुरा छन् भने ?

खासै त्यस्तो त केही छैन । वर्तमान समयमा देशमा जताततै राजनैतिक संलग्नताले व्यापकता लिँदै गएको अवस्था छ । कुनै निकाय पनि अछुतो देखिँदैन  । साहित्यिक क्षेत्रमा पनि यसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर पारेको भान हुन थालेको छ यो अत्यन्तै दुःखद कुरा हो । प्राज्ञहरूको मनोनयनमा समेत राजनैतिक प्रभाव रहनु राम्रो कुरा होइन । अतः साहित्यिक क्षेत्र विशुद्ध हुनुपर्छ । राजनैतिक प्रभावबाट विमुक्त रहनु पर्छ भन्ने मेरो भनाइ हो

अन्त्यमा मलाई आफ्ना भनाइहरू राख्ने यो सुअवसर दिनु भएकोमा यहाँ लगायत यहाँको सिङ्गो टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी सबैको साझा प्रयासले नेपाली साहित्यको जय होस् । आजीवन भाषा साहित्य सेवक बनेर सिर्जना गरिरहन सकूँ, हार्दिक धन्यवाद !